कोभिड-१९ विहीबार, जेठ २२, २०७७

‘शल्यक्रियाका लागि रगत अभाव हुन थालेको छ’

हिमालखबर

‘शल्यक्रियाका लागि रगत अभाव हुन थालेको छ’

लकडाउन शुरू अवस्थामा बिरामीको चाप कम भए पनि प्रसूतीगृहमा अहिले दिनमा झण्डै ३०० जनालाई आकस्मिक कक्ष र बहिरंग विभागबाट सेवा उपलब्ध गराइरहेका छौं । साथै अस्पतालमा दैनिक झण्डै १०० जनालाई प्रसूती सेवा उपलब्ध गराइरहेका छौं।

“मेरो नाम संगीता पुडासैनी हो । म काठमाडौंको ढुङ्गेअड्डामा बस्छु । म पेशाले चिकित्सक हुँ र अहिले एम.डी.को पढाइ अन्तर्गत परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (थापाथली अस्पताल) मा रेजिडेन्ट डाक्टरको रूपमा अध्ययनका साथै कार्यरत छु ।

कोभिड–१९ का कारण अन्य अस्पतालहरूमा बहिरंग सेवा बन्द गरे पनि म काम गर्ने अस्पतालमा यो सम्भव छैन । गर्भवती, सुत्केरी र स्त्रीरोगसँग सम्बन्धित भएकाले हामी चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरू २४सै घण्टा सेवामा रहनुपर्छ ।

लकडाउन शुरू भएपछि केही दिनसम्म बिरामीको चाप कम थियो । तर अहिले दिनमा झण्डै ३०० जनालाई आकस्मिक कक्ष र बहिरंग विभागबाट सेवा उपलब्ध गराइरहेका छौं । त्यससँगै अस्पतालमा एक दिनमा झण्डै १०० जनालाई नवजात शिशु जन्माउनका लागि सेवा उपलब्ध गराइरहेका छौं । प्राकृतिक र अप्रेसन गरी दुवै खाले डेलिभरीहरू भइरहेका छन् ।

अस्पतालले कोभिड–१९ महामारीको रोकथामका लागि छुट्टाछुट्टै शल्यक्रिया कक्ष, डेलिभरी कक्ष र आइसोलेसन कक्ष स्थापना गरेको छ । ज्वरो वा खोकीको लक्षण देखिएका बिरामी आएमा छुट्टै वार्ड र अपरेशन थिएटरमा राखेर उपचार गर्छौं । र, कुनै लक्षण नभएकालाई नियमित रूपमा नै उपचार गर्छौं । अहिलेसम्म ज्वरो अथवा खोकीका लक्षण देखिएका बिरामीमा कोरोना संक्रमण भएको भने पाइएको छैन ।

उपचारको क्रममा हालसम्म कुनै पनि औषधिको अभाव महसूस गरेका छैनाैं । तर शल्यक्रिया गर्दा अत्यावश्यक पर्ने रगत भने अभाव हुन थालेको छ । रगत अभावका कारण शल्यक्रिया नै रोक्नु परेको त छैन तर सहजै उपलब्ध हुने समूहका रगत पनि पहिले नै व्यवस्था गर्नुपर्छ ।

कोभिड–१९ को महामारीका कारण अहिलेको अवस्था निकै चुनौतीपूर्ण छ । हामी स्वास्थ्यकर्मीहरू धेरै बिरामीहरूको संसर्गमा आउनुपर्ने हुनाले यदि भाइरसको संक्रमण भएको खण्डमा धेरै जनालाई सार्ने माध्यम बन्न सक्छौं । त्यसैले विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ ।

मेरो ड्यूटी समय एकचोटिमा ३० घण्टासम्मको हुन्छ । बीचमा आराम गर्नका लागि केही घण्टा फुर्सद हुन्छ । अहिले हप्ताको एक–दुई दिन बिदा पाइरहेकी छु । अस्पतालमा काम गरुन्जेल त्यति डर लाग्दैन तर घरमा गएपछि समाचारहरू हेर्दा अलि अत्यास लाग्छ। मेरो त श्रीमान् पनि डाक्टर हुनुहुन्छ । उहाँ पनि दिनभर बिरामीको उपचारमा संलग्न भएर आउनुहुन्छ ।

त्यसैले हामी दुवै जना रोग सार्ने माध्यम हुन सक्छौं भनेर धेरै सावधानी अपनाइरहेका छौं । घरमा बुवा, आमा र ८० वर्ष काटिसक्नुभएकी हजुरआमा हुनुहुन्छ । घर जाने बित्तिकै आफूलाई स्यानिटाइज गर्ने, लगाएको लुगा धुने जस्ता सावधानीका उपायहरू अपनाउँछौं ।

लकडाउन शुरू भएदेखि हजुरआमा सुत्नुहुने कोठामा काम नपरेसम्म पसेका छैनौं । हजुरआमालाई धेरैजसो त ढोकाबाट नै बोलाउने गर्छौं । किनकि हामी संक्रमण सार्ने माध्यम बन्न सक्छौं भनेर डर लाग्छ । मलाई डर लाग्दा श्रीमान्ले मनोबल बढाउनुहुन्छ, कुनै वेला म उहाँको मनोबल बढाउँछु ।

म यसभन्दा अघि बन्दीपुर अस्पतालमा काम गर्थें । त्यहाँ क्षयरोगका धेरै बिरामीहरू आउनुहुन्थ्यो । त्यतिवेला पनि सुरक्षा अपनाएर बिरामीको उपचार गरेकी थिएँ । हामी चिकित्सकहरूले अन्य समयमा पनि सरुवा रोगका बिरामीहरूलाई सेवा दिंदै नै आइरहेका हांै। तर अहिले कोरोनाभाइरसको संक्रमण फरक खालको छ किनकि यसको औषधि पत्ता लागिसकेको छैन ।
त्यसैले अलि बढी सतर्क हुनुपर्छ र आफूले आफैंलाई हौसला दिनुपर्छ । अहिलेको अवस्था अप्ठ्यारो पक्कै छ । तर यस्तै अप्ठ्यारो अवस्थामा त हो नि हामी स्वास्थ्यकर्मीहरू अग्रपंक्तिमा हुनुपर्ने र अनवरत रूपमा बिरामीको सेवा गर्नुपर्ने ।”

याे पनि पढ्नुहाेस्– 

'महिलालाई क्वारेन्टिनमा राखेर काम लगाउँदा ठग्छन् भन्नेहरुकाे कमी थिएन'

‘स्वास्थ्यसम्बन्धी प्राविधिक कुरामा हाम्रो देश धेरै पछाडि छ’

‘भान्सामा तरकारी कटौती गरेकी छु’

‘लाश उठाउने मान्छे भएनन् भनेर फोन आयो !’

'रगत अभावमा अपरेशन रोक्नु पर्‍यो'

'हाम्रो पेशा नै अरुको सेवा गर्नु र मानवता जोगाउनु हो'

'डाक्टर, नर्सलाई संक्रमणबाट बचाउने  पिपिई सिलाउन पाउँदा दङ्ग परें'

'दिनभरि क्वारेन्टिनमा बस्ने राति घर जाने गर्छन्'


कथा किन ?

अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तिमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ। संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागि हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ। जो अहिले तेस्रो महिनामा छ।

विपद् सबैका लागि उस्तै हो। तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ। हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ। यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसँग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिश हो, कथा कोरोना। २६ चैतदेखि कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा हिमालखबर पनि जोडिएको छ।

मान्छेको भोगाइ आफैमा सबैभन्दा बलियो साहित्य पनि हो। भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन्। एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ती कथाहरुले हामीमा आँट र साहस भर्छन्। अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छाैं।

संयोजक, कथा कोरोना टीम
@KathaCorona

सम्पादक
himalkhabar.com
@himal_khabar

प्रतिकृया दिनुहोस