कोभिड-१९ शुक्रबार, वैशाख २६, २०७७

‘स्वास्थ्यसम्बन्धी प्राविधिक कुरामा हाम्रो देश धेरै पछाडि छ’

हिमालखबर

‘स्वास्थ्यसम्बन्धी प्राविधिक कुरामा हाम्रो देश धेरै पछाडि छ’

“म रितु अमात्य पेशाले चिकित्सक हुँ । क्लिनिकल माइक्रोबायोलोजिष्ट भएकाले संक्रामक रोगको पहिचान गर्ने, बिरामीसँगै स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउनका लागि तयारी गर्ने, यस विषयसँग सम्बन्धित पाठ्यक्रमहरू तयार गर्ने र अध्यापन गर्ने गर्दछु ।

कोभिड–१९ महामारीका कारण लकडाउन भएपछि अस्पतालको काम पनि धेरैजसो घरबाट नै गरिरहेकी छु । घरमा बच्चाहरूलाई पनि व्यस्त राख्नुपर्ने हुन्छ । एमबीबीएस पढ्दै गरेका विद्यार्थीलाई पनि पढाउँछु । उनीहरूसँग अनलाइन मार्फत कक्षाहरू लिने गर्छु ।

अरू कामसँगै अस्पतालभित्र संक्रमण नियन्त्रण गर्ने मेरो प्रमुख जिम्मेवारी छ । अरू वेलामा पनि बिरामी, अस्पतालमा कार्यरत चिकित्सक, नर्स र अन्य कर्मचारीहरूलाई अस्पतालभित्र हुनसक्ने विभिन्न संक्रमणहरूबाट जोगाउनका लागि मैले काम गर्ने गरेकी छु । हरेक अस्पतालमा ‘हस्पिटल इन्फेक्सन कन्ट्रोल कमिटी’ हुन्छ र हुनैपर्छ । म काम गर्ने अस्पतालमा म यस कमिटीको सदस्य–सचिव हुँ ।

अरू वेला पनि यसले अस्पतालसँग सम्बन्धित संक्रमण नहोस् भनेर काम गर्छ । झन् अहिले कोभिड–१९ महामारीका वेला यो काम महत्वपूर्ण भएको छ । अहिले ‘र्‍यापिड रेस्पोन्स टीम’ बनाएका छौं। यो समूहले कोरोना संक्रमित बिरामी आए भने कसरी व्यवस्थापन गर्ने, कता रिपोर्ट गर्ने भन्ने कुराको कार्यविधि बनाएर त्यसलाई सुचारु गर्न सहयोग गर्छ ।

अस्पतालमा आउने अन्य बिरामी, चिकित्सक, नर्स र कर्मचारीहरूलाई कोरोनाको संक्रमणबाट कसरी जोगाउने भन्ने तयारी र त्यसको कार्यविधिहरू बनाउने काम गर्दैछु ।

नेपाली क्लिनिकल माइक्रोबायोलोजिष्टहरूको एउटा संगठन छ । म त्यसको महासचिव पनि हुँ । स्वास्थ्यकर्मीहरूका लागि पीपीई, मास्क, पञ्जा, चश्मा आदि जस्ता सामान मात्रै भएर पुग्दैन । ती सामानको सही तरिकाले प्रयोग भएन भने कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ । स्वास्थ्यकर्मीले स्वाब संकलन गर्दा र त्यसलाई एकठाउँबाट अर्को ठाउँमा लैजाँदा पनि सही तरिका अपनाउनुपर्छ । यसको लागि विशेष विज्ञता आवश्यक पर्छ ।

स्वास्थ्यकर्मीहरूलाई तालिम त दिइएको छ तर पर्याप्त छैन । त्यसैले हाम्रो यो संगठनले भिडियोमा तालिम सामग्रीहरू बनाएर स्वास्थ्यकर्मीहरूमाझ पुर्‍याइरहेका छौं । जसले गर्दा स्वास्थ्यकर्मीहरूले पीपीई, मास्क, चश्मा प्रयोग गर्दा, स्वाब संकलन गर्दा र त्यसलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउँदा सही तरिका प्रयोग गर्न सकुन् ।

कोभिड–१९ को कारण स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई प्रयोगशाला लगायत स्वास्थ्यसँग सम्बन्धित प्राविधिक कुरामा हाम्रो देश कति पछाडि रहेछ भन्ने कुरा अहिले महसूस भएको हुनुपर्छ ।

मलेक्युलर प्रविधि पहिलेदेखि नै छ । तर हाम्रो देशमा यो विषय न त कहिल्यै पाठ्यक्रममा पर्‍यो न कुनै प्रयोगशाला बनाउँदा यी कुरालाई ध्यान दिइयो । यसमा हामी धेरै पछाडि छाैं ।

कोरोना जस्ता नयाँ–नयाँ भाइरसहरू पत्ता लगाउने भनेको मलेक्युलर प्रविधिबाट नै हो । अर्को कुरा, हाम्रो देशमा चिकित्सा विज्ञान पढाइ हुने भए तापनि यससँग सम्बन्धित अनुसन्धानहरूमा न त लगानी छ न अनुसन्धान गर्न चाहनेहरूका लागि वातावरण नै ।

यस्ता महत्वपूर्ण कुराहरू हाम्रो स्वास्थ्य क्षेत्रमा जहिले पनि बेवास्तामा नै परे । यस्ता उच्चतम प्रविधिहरू र अनुसन्धानका कामहरू पक्कै महँगा हुन्छन् । तर बेलैमा यसको तयारी गर्नुपर्नेरहेछ भन्ने कुरा यो कोभिडको महामारीले सबैलाई महसूस गराएको छ । मूल कुरा, नेपाल सरकारले यसबाट सिकेर हाम्रो स्वास्थ्य प्रणालीलाई प्राविधिक र अनुसन्धानका हिसाबले अझै बलियो र चुस्त बनाउन  ढिला भइसक्यो ।”

याे पनि पढ्नुहाेस्– 

‘भान्सामा तरकारी कटौती गरेकी छु’

‘लाश उठाउने मान्छे भएनन् भनेर फोन आयो !’

'रगत अभावमा अपरेशन रोक्नु पर्‍यो'

'हाम्रो पेशा नै अरुको सेवा गर्नु र मानवता जोगाउनु हो'

'डाक्टर, नर्सलाई संक्रमणबाट बचाउने  पिपिई सिलाउन पाउँदा दङ्ग परें'

'दिनभरि क्वारेन्टिनमा बस्ने राति घर जाने गर्छन्'


कथा किन ?

अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तिमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ। संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागि हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ। जो अहिले तेस्रो सातामा छ।

विपद् सबैका लागि उस्तै हो। तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ। हाम्रो देशमा महिलाविपन्न वर्गसिमान्तिकृतअपांगता भएका व्यक्तिहरुलैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ। यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसँग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिस हो, कथा कोरोना। २६ चैतदेखी कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा आजैदेखि हिमालखबर पनि जोडिएको छ।

मान्छेको भोगाई आफैमा सबैभन्दा बलियो साहित्य पनि हो। भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन्। एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन्। अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छाैं।

संयोजक, कथा कोरोना टीम
@KathaCorona

सम्पादक
himalkhabar.com
@himal_khabar

प्रतिकृया दिनुहोस