कोभिड-१९ सोमबार, वैशाख २९, २०७७

'महिलालाई क्वारेन्टिनमा राखेर काम लगाउँदा ठग्छन् भन्नेहरुकाे कमी थिएन'

हिमालखबर

'महिलालाई क्वारेन्टिनमा राखेर काम लगाउँदा ठग्छन् भन्नेहरुकाे कमी थिएन'

“नमस्कार, म चन्दा विष्ट। मैले रेडियो नेपालमा काम गर्न थालेको २२ वर्ष भयो । रेडियोमा बोल्दा बोल्दै देशमा आएका धेरै संकटहरु पार गरियो। संकटकाल, भूकम्प अथवा नेपाल बन्द। जस्तोसुकै बेलामा पनि घरबाट रेडियो जान केही कुराले छेकेन।

कोभिड-१९ को महामारीका कारण चैत ११ गतेबाट देशमा लकडाउन शुरु भयो। रेडियोमा सँगै काम गर्ने साथीहरुले घरबेटीले कचकच गर्न थालेको, आउन जान समस्या भएको गुनासो राख्नुभयो। रेडियो व्यवस्थापन समीतिले १४ चैतबाट उहाँहरुलाई रेडियोमा नै बस्ने व्यवस्था मिलायो। त्यसपछि समितिले लकडाउनका कारण कर्मचारीले कार्यालयमै क्वारेन्टिइनमा बसेर काम गर्नुपर्ने निर्णय पनि गर्‍यो । मनमा कता कता नरमाइलो पनि लाग्यो । हाम्रो ६ जनाको संयुक्त परिवार हो। लकडाउनले गर्दा बाह्र वर्षपछि सबै परिवार एकै ठाउँ सँगै भएका थियौँ। मलाई रेडियोमा जान मन नै थिएन ।

मेरी छोरीले ‘मम्मी, देशलाई विपद् परेको बेला घर बस्ने हैन काम गरेर देखाउने समय हो। मलाई पनि कतै 'भोलेन्टियर' भएर काम गर्न जान मन छ तर कतै मिलेको छैन। तपाईँले त देशका लागि विपद्को बेलामा काम गर्नु पर्छ’ भनेर म भित्र उर्जा भरिन। ससुरा बुवा पनि पहिला आर्मीमा हुनुहुन्थ्यो। उहाँले ‘सरकारी सेवामा भएको मान्छे देशमा आपत परेको बेला जस्तो सुकै काम गर्न पनि पछि हट्न हुन्न’ भन्नुभयो। मलाई परिवारको साथ भएपछि अलि आँट आयो। व्यवस्थापन समितिले जति दिन पनि बस्नु पर्ने हुनसक्छ भनेर खबर गरे अनुसार नै म आफ्नो सामानहरु लिएर कार्यालय गएँ।

हामी दोस्रो लटमा  २८ जना थियौं। जसमध्ये म सहित ५ जना महिला थियौँ। प्रविधिज्ञ मिनर्भा ब्रजाचार्य, समाचारमा डेला प्रसाईं र रत्ना वली शर्मा अनि कार्यक्रमतर्फ भने म र रिता तिमल्सिना थियौँ। रेडियोको काम कसरी गर्ने भन्ने कुनै डर थिएन । डर थियो त बस्ने, खाने र हाम्रो सुरक्षाको। तर, रेडियो नेपालको व्यवस्थापन समितिले हाम्रो सहजताका लागि कुनै कसर बाँकी राखेन। खानेकुरा देखि लिएर सरसफाईका सामान र महिनावारी व्यवस्थापनका लागि 'स्यानिटरी प्याड'सम्मको व्यवस्था गरिदियो। जसले गर्दा हामीलाई हाम्रो काममा मात्रै केन्द्रित हुन सजिलो भयो।

विहान साढे चार बजे उठेर स्टुडियो जाने र साँझ ६ बजे कोठामा फर्कने गर्‍याैं । काम भन्दा अरु कुराको केही सोच्ने कुरै भएन । महिलालाई क्वारेन्टिनमा राखेर काम गर्न लगाउन हुँदैन। काम ठग्छन् भन्नेहरुको पनि कमी थिएन। तर त्यसो भन्नेहरुलाई हामीले कामप्रतिको हाम्रो लगनशीलता र प्रतिबद्धता देखाउन सफल भयौं। यसले गर्दा सबैको मुख नै थुनियो।

रेडियाे नेपालमा २१ दिन क्वारेन्टिनमा बसेर काम गर्ने महिला रेडियाेकर्मीहरु ।

हामीले देशैभरबाट कोरोना संक्रमणको जोखिम र रोकथामका लागि भइरहेका पहलहरुका बारे प्रत्यक्ष प्रसारण गर्यौं। नगरपालिका तथा गाउँपालिकाका प्रमुख उपप्रमुखसँग टेलिफोनमा कुरा गर्यौं। उहाँहरुको अनुभवले हामीलाई पनि उर्जा दिन्थ्यो।

कहिलेकाहीँ भने मन अत्तालिन्थ्यो । घाँटी दुख्दा, टाउको दुख्दा, जिउ तातो हुँदा पनि कोरोना संक्रमण पो भयो कि भनेर डर लाग्थ्यो । तातो पानी कहिल्यै छुटेन । कुनै सामान छोएर हात धुन बिर्सियो भने ओहो मेरो लापर्वाहीले रेडियो नै सिल गर्नुपर्ने अवस्था आयो भने के गर्नु? भन्ने कुरा मनमा आइहाल्थ्यो । साथीहरुलाई पनि त्यस्तै हुँदो रहेछ । हामी एकअर्कासँग अनुभव साटासाट गरेर पनि आफ्नो मन हलुका बनाउँथ्यौं ।

एक्काइस दिन क्वारेन्टिनमा बस्दा व्यक्तिगत कार्यतालिका नै केही भएन। सधैं रेडियोको मात्रै काम हुन्थ्यो । घरमा विहान बेलुका कुरा हुँदा श्रीमानले धेरै नै हौसला दिनुभयो। ‘तिमी केही चिन्ता नगर्नु, आफ्नो राम्रो ख्याल गर्नु' मात्रै भनिरहनुभयो । जसले गर्दा मलाई काम भन्दा अरु कुरामा कुनै ध्यान नै गएन । कहिलेकाहिं त म आफू युद्धमा गएको सिपाही जस्तो पनि लाग्यो। मलाई आफैँले गरेको कामबाट एकदमै गर्व छ ।

हिजो ‍(२८ वैशाख) २१ औ दिन, क्वारेन्टाइनमा बसेर काम गर्ने हाम्रो पालो सकियो । घर जान पाइने भयो भनेर सबै साथीहरु एकदमै खुशी भयौं । नयाँ टिमका साथीहरु कार्यालयमा हाजिर हुनुभयो । म पनि एक्काइस दिनपछि घर आएँ । घर पुगेपछि छोरीहरु मेरो छेउमा आउने कि नआउने भनेर एकछिन त अलमलमा परे । तर तुरुन्तै ख्वै के सोचे कुन्नि उनीहरुले मलाई अंकमाल गरे र भने 'मम्मी, वि आर प्राउड अफ यू !'”


याे पनि पढ्नुहाेस्– 

‘स्वास्थ्यसम्बन्धी प्राविधिक कुरामा हाम्रो देश धेरै पछाडि छ’

‘भान्सामा तरकारी कटौती गरेकी छु’

‘लाश उठाउने मान्छे भएनन् भनेर फोन आयो !’

'रगत अभावमा अपरेशन रोक्नु पर्‍यो'

'हाम्रो पेशा नै अरुको सेवा गर्नु र मानवता जोगाउनु हो'

'डाक्टर, नर्सलाई संक्रमणबाट बचाउने  पिपिई सिलाउन पाउँदा दङ्ग परें'

'दिनभरि क्वारेन्टिनमा बस्ने राति घर जाने गर्छन्'


कथा किन ?

अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तिमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ। संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागि हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ। जो अहिले तेस्रो सातामा छ।

विपद् सबैका लागि उस्तै हो। तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ। हाम्रो देशमा महिलाविपन्न वर्गसिमान्तकृतअपांगता भएका व्यक्तिहरुलैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ। यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसँग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिश हो, कथा कोरोना। २६ चैतदेखि कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा हिमालखबर पनि जोडिएको छ।

मान्छेको भोगाइ आफैमा सबैभन्दा बलियो साहित्य पनि हो। भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन्। एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ती कथाहरुले हामीमा आँट र साहस भर्छन्। अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छाैं।

संयोजक, कथा कोरोना टीम
@KathaCorona

सम्पादक
himalkhabar.com
@himal_khabar

 

 

 

 

 

प्रतिकृया दिनुहोस