‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
‘राम्रो काम नगर्नेलाई भोलि चुनावमा हराउन सक्छौं। मन नपरेको कुरा नेतासँग त भन्न सक्छौं। हाम्रो यो स्वतन्त्रता गुम्न दिनु हुँदैन। यो गुम्यो भने अहिलेको भन्दा झन् ठूलो खाडलमा पर्छौं।’
माओवादी सशस्त्र विद्रोहमा लामो समय बिताएका व्यक्ति हुन् कृष्ण माबुहाङ। राजतन्त्र मान्ने परिवारमा जन्मेहुर्केका उनी युवावस्थामा सशस्त्र संघर्षमा लागे। त्यस क्रममा उनी जेल पनि परे।
उनै माबुहाङले भर्खरै पुस्तक ल्याएका छन् माओवादी जनयुद्वः कैदी नम्बर ५१ को बयान। यो किताबसँगै लेखन र सशस्त्र संघर्ष यात्रामा केन्द्रित रहेर हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा लेखक माबुहाङसँग उर्मिला गम्वा थारूले गरेको कुराकानीः
यो पुस्तकले लेख्ने सोच कसरी बन्यो?
शान्ति सम्झौतापछि पार्टी सरकारमा पनि गयो। संविधानसभा निर्वाचनमा विजयी भयो, ठूलो पार्टी बन्यो। नेताहरू कति जुटे, कति फुटे। मैले पनि पार्टी छोडें, बाहिरै बसें। पार्टी बाहिरै भए पनि देशको राजनीतिक दृश्य हेरिबसें।
त्यो समयमा थुप्रै पुस्तक पढें। माओवादी युद्धबारे पनि थुप्रै किताब आए। तर, जति नै कष्ट गरे पनि हामी जस्ता युद्धमा होमिएका जनताका छोराछोरीको त हिसाबकिताब केही भेटिनँ। लेख्नेले पनि लेखिदिएन, भन्नेले पनि भनिदिएन।
ठूलाबडाको मात्रै पढ्नुपर्ने! यो संसारको रित हो जस्तो लाग्यो। ठूलाबडाको जीवनी पढ्नुपर्ने, तिनीहरूले घ्यूभात खाएको पनि पढ्नुपर्ने, तिनीहरूले घोडा चढेको पढ्नुपर्ने। यस्तो इतिहास पढ्दापढ्दा वाक्क भएँ।
यस्तै इतिहास त हिटलरको पनि पढ्न मन लाग्दैन। त्यहाँ मरेका पुलिसबारे लेखिंदैन, गरीबका छोराछोरीबारे लेखिंदैन। यो पूँजीवादी संसारमा जितको कुरा दामसँग जोडिने रहेछ। पैसा पाए सबैको फोटो पनि खिच्यो, इतिहास पनि लेखिदियो। लुगा लगाइदियो, टाईसूट पनि लगाइदियो, खुट्टा पनि धोइदियो। यस्तो खालको चिन्तनले म निकै दुःखी भएँ। यस्ता किसिमका किताब पढ्दा धेरै घोरिएँ।
ठूलाबडाका किताब आए। आमजनताका छोराछोरीको कहीं नाम पनि लेखिएन। एउटा सपना बोकेर मुलुकले, समाजले केही पाउँछ कि भनेर हिंडे, शहादत प्राप्त गरे, छोराछोरी टुहुरा भए, तर उनीहरूको रेकर्ड छैन। न लेख्नेले लेख्छ न त सुन्नेले सुन्छ न भन्नेले भन्छ।
यो सबैबाट वाक्क दिक्क भएपछि आफैं लेखूँ भन्ने लाग्यो। तर, के लेख्ने, कसरी लेख्ने थाहा थिएन। जे देखियो, जे भोगियो, जे सुनियो, जे जे भयो, त्यही लेख्ने सोच बनाएँ र लेख्न थालें।
मैले भोगेको, हिंडेको, खाएको, लाएको कुरा लेखेकाे हुँ। जहाँ जहाँ हिंडें, जहाँ जहाँ कार्यक्रम भयो, जहाँ जहाँ युद्ध भयो, जहाँ जहाँ घटना भयो ती सबै सकेसम्म बटुलें। आफूसँग नभएको अरूबाट बटुलें। तीन वर्षपछि किताब तयार भयो।
यसको नाम कसरी जुराउनुभयो?
नाम त तीनपल्ट फेरें। शुरूमा ‘मुन्से’ भनेर लेखें। जुन ‘मुन्से’ पात्र छ त्यसैको नामबाट राखेको थिएँ। त्यो मलाई चित्त बुझेन।
त्यसपछि ‘चोट’ बनाएँ। ‘सपनाको चोट’ बनाएँ। चोट त धेरैले खाएका हुन्छन्। मायाका चाेट, परिवारका चोट हुन्छन्। यो नामले पनि बोक्न सकेन।
त्यसपछि साथीभाइसँग सल्लाह गर्दै जाँदा माओवादी जनयुद्धः कैदी नम्बर ५१ को बयान तयार भयो।
‘कैदी नं. ५१’ चाहिं किन?
भूमिगत रहेको समयमा भारतको पश्चिम बंगालमा थिएँ। अखिल क्रान्तिकारीको केन्द्रीय कमिटीको सदस्य टीका पोखरेल भाइ र म रेलवे स्टेशनमा बसिरहेका थियौं। जाडो महीना थियो, ठन्डीमा टुक्रुक्क बसेका थियौं। चिसो-चुरोट पिउन मन लागिहाल्थ्यो। टीकालाई भनें- जाऊ भाइ, माथितिर चुरोट उडाउँदै छन्। एक बट्टा ल्याऊ, हामी पनि खाऔं। टीका पनि चुरोट लिन गयो।
तर, कस्तो संयोग परेको रहेछ भने ती चुरोट खाने त हामीलाई निगरानी गरेर बसेका प्रहरी रहेछन्। टीका चुरोट मात्र लिएर आएन, सँगसँगै ६-७ जना पनि आइपुगिहाले। अनि झ्याप्प समातेर गाडीमा मिल्काए। हामी सबै प्रहरीको कब्जामा परिहाल्यौं। तलतिरकोे चौकीमा लगेर राखे, हात बाँधे।
हामी पक्राउ परेपछि बंगालका नागरिक हेर्न आए, सानो भीड नै लाग्यो। उनीहरू ‘नेपालका राजा मार्ने यिनै हुन्’ भन्ने सोचेर हेर्न आएका थिए।
त्यसपछि सिम्ला होटलमा लगे। त्यसको छैटौं तलामा राखेर बयान लिए। अन्ततः हामीलाई बंगालको जेलमा पठाए। बंगालको जेलमा कैदी नं. ५१ चाहिं म थिएँ। त्यही भएर किताबको नाममै ‘कैदी नं. ५१’ राखें।
माओवादी सशस्त्र द्वन्द्वमा केन्द्रित भएर पुस्तक लेख्नुभएको छ। द्वन्द्वले दुःख मात्रै दियो भन्ने गरिन्छ। तपाईंलाई के लाग्छ?
पछिल्लो समय माओवादी भनेर समाजमा नकारात्मक रूपले हेर्ने गरिएको छ। माओवादीलाई ‘लुच्चाहरू, कुखुरा चोरी खानेहरू, अर्काको भकारीको चामल चोर्दै खानेहरू, अर्काको पैसा लुटेर खानेहरू’ इत्यादि आरोप-प्रत्यारोप लगाइयो, अझै पनि लगाइँदै छ। तर, त्यस्तो होइन। मान्छेहरूका सपना थिए। उनीहरूको संघर्ष थियो, बलिदान थियो र त्याग थियो। तर, यतिकै लागेर मरेका हैनन्, उनीहरूका महान् सपना थिए।
माओवादी जनयुद्धबारे जथाभावी बोल्दा मलाई अझै पनि रिस उठ्छ। अहिले म माओवादी पार्टीमा छैन। कुनै पनि माओवादीको संगठनमा छैन। तर, गरीब जनताका छोराछोरीप्रति जुन दुर्वचन, शब्द मान्छेहरू बोल्छन्, तीप्रति मलाई घृणा लाग्छ।
अहिले पनि सुशासन छ त? लूटपाट, ठगी, अत्याचार र शोषण त छ नि। माओवादीलाई गाली गर्नुभन्दा समाजमा भएका अत्याचार विरुद्ध लडेर देखाउनुहोस् न। अझै पनि छ त कुशासन, अत्याचार। खै त त्यस विरुद्ध बोल्न सकेको?
त्यसैले यो किताब माओवादी जनयुद्धबारे लेखिएको भए पनि माओवादीको मात्रै कुरा छैन। यो मेरो मात्रै दस्तावेज होइन। यो कुनै एउटा पार्टीविशेषको दस्तावेज पनि होइन। यो मुलुकमा भएको घटनाको दस्तावेज हो। त्यो घटना कति पीडाजनक थियो, कति कष्टकर थियो, कति आपत्तिजनक पनि थिया भन्ने पनि हो। यो त मुलुकले, तपाईं-हामीले भोगेको घटना हो जुन आउँदो पुस्तालाई काम लाग्छ।
यसमा काल्पनिकता कति मिसाउनुभएको छ?
यसमा काल्पनिक कुरा छैन, तर काल्पनिक लाग्ने जस्ता घटना छन्। जस्तो- लमजुङ युद्ध भयो। सेना र माओवादीको युद्ध भयो। त्यहाँ म थिइनँ। त्यो घटनाबारे पनि लेखेको छु। यस्तै, एघारौं र बाह्रौं युद्धको प्रसङ्ग पनि छ। रूपा युद्धमा शहादत प्राप्त गर्छे। मैले उनलाई एघारौंं युद्धसम्म तानेर लगेको छु।
पुस्तकमा मुन्से र रूपाको प्रेमकथालाई द्वन्द्वसँगै देखाउनुभएको छ। यदि रूपा फर्केर नआएकी भए कस्तो हुन्थ्यो मुन्सेको जीवन?
त्यो चाहिं अलि फरक कुरा भयो। रूपा र मुन्से एउटै पार्टीमा काम गरिरहेका वामपन्थी हुन्। रूपा चाहिं उपेक्षित हुन्छे। पार्टी छाडेर पढ्न काठमाडौंतिर लाग्छे। रूपा हिंडेपछि मुन्से पनि पार्टी त्याग्छ। मैले यथार्थ लेखेको छु। अब अगाडि जीवन कस्तो हुन्छ भन्ने भविष्यवाणी त गर्न सकिंदैन नि।
मुन्से र रूपाको प्रेमकथाले सशस्त्र द्वन्द्वमा लागेका मान्छेको जीवनलाई कत्तिको प्रतिनिधित्व गर्छ?
समाजमा यस्ता पात्र थुप्रै भेटिन्छन्। हामीले खोज्यौं भने शतप्रतिशत मेल खाने मान्छे पनि भेट्न सकिन्छ। रूपा नामको नभए पनि अर्को नामको भेटिएला। एउटा राजनीतिक विचार मेल खाने र नखानेमा फरक पर्छ। रूपा र मुन्से सामान्य परिवारका मान्छे हुन्। तैपनि उनीहरूको राजनीतिक चेतनाले गर्दा जीवन सम्बन्ध पनि गाँसिन्छ। त्यो सामान्य अवस्थादेखि लिएर क्रान्तिसम्म पनि पुग्छ।
उनीहरूबीच प्रेम हुन्छ। प्रेममा भए पनि उनीहरू सँगसँगै बस्ने र हिंड्ने अवस्थामा हुँदैनन्। रूपा छुट्टै लडाइँमा थिइन्, मुन्सेको कार्यक्षेत्र अलग्गै थियो। मुन्से हाडखोर भाँचिएर बाँचेको हुन्छ। रूपा लडाइँमा शहादत प्राप्त गर्छे। अधुरो जीवन हुन्छ।
यसमा तपाईंको अनुभव तथा भोगाइ लेख्नुभएको छ। यसलाई संस्मरणात्मक शैलीमा लेख्न मिल्थ्यो, तपाईंले आख्यान जस्तै बनाउनुभएको छ, किन?
आफ्नाबारे धेरै मान्छेले धेरै लेख्छन्, व्यक्तिगत विषय उठाउँछन्। आफ्ना बाबुका नाममा, आफ्नो नाममा धेरै मान्छेले धेरै लेखेका पनि छन्। मैले यसलाई व्यक्तिगत बनाउनै चाहिनँ। यो मुन्से र रूपा जस्तै हजारौं साथीको सम्झनामा लेखेको हुँ। रूपा र मुन्सेको नाम दिए पनि यो धेरै साथीको कुरा हो। त्यसैले संस्मरण बनाउन चाहिनँ।
तपाईंका आफन्त त सुरक्षा निकायमा पनि थिए। उनीहरू विरुद्ध बन्दूक उठाएको माओवादीमा लाग्नुभयो। पारिवारिक रूपमा कत्तिको गाह्रो भयो?
यो त वैचारिक पक्ष हो। एउटै परिवारमा पनि श्रीमान्-श्रीमती, छोराछोरीका फरक विचार हुन सक्छन्। कहीं न कहीं बाध्यताले पनि बाँचिएको हुन्छ, जोडिएको हुन्छ र त्यो सम्बन्ध तोडिएर जान पनि सक्छ। यस्तो त मेरो मात्र होइन, धेरैको हुन्छ। दुई भाइमा एउटा सेनामा भर्ती भएको छ, अर्को माओवादी लडाकू भएको पनि छ।
माओवादीमा एउटा छोरा लडाकू भएर भिडिराखेको छ। एउटी छोरी माओवादीमा कुदिरहेकी छ, अर्की छोरी सेनामा भर्ती भएकी छ। यो देशैभरि खोज्नुस् न, यस्ता उदाहरण थुप्रै छन्। यो त राष्ट्रिय युद्ध हो, गृहयुद्ध हो, महयुद्ध हो। एउटै परिवारका सदस्य उताउता लाग्न सक्छन्।
तपाईंले घरको एउटा कोठामा लेनिन, मार्क्सको तस्वीर टाँसिराख्दा अर्कातिर बुबाको कोठामा राजारानीको तस्वीर थियो। यस्तो अवस्थामा बुबासँगको सम्बन्ध कस्तो थियो?
बुबा पुरानो पुस्ताको हुनुभयो, म नयाँ पुस्ताको परें। कम्युनिस्टहरू प्रायः भन्ने गर्छन् नि- निम्न पूँजीवादी चिन्तन। पुरानो पुस्ताका मान्छेमा त्यो चिन्तन हुन्छ नै। मार्क्सवादी प्रायः यस्तो हुँदैन। अहिले त पुरानोभन्दा नयाँ झन् खत्तम भइसकेका छन्। पुरानै सदर होस् भन्ने अवस्था छ।
बुबासँग हिंडेपछि एउटा सांसद देख्यो, नमस्कार गर भन्यो। अर्को सरकारी कर्मचारी भेट्यो, नमस्कार गर भन्यो। त्यही भएर बुबासँग हिँड्दैनथें। हामी तिनीहरूको सत्ता सखाप पारेर नयाँ सत्ता ल्याउने सोच बोकेर हिंडेका मान्छे भयौं। बुबासँग वादविवाद गर्ने कुरा आएन। बुबाको आफ्नो बाटो छँदै थियो, मेरो आफ्नो बाटो थियो।
पञ्चायत, बहुदल, सशस्त्र विद्रोह र लोकतान्त्रिक गणतन्त्रसम्म पुग्दा सबै व्यवस्था हेर्नुभयो, राजनीति गर्नुभयो। अहिलेको राजनीति र देशको अवस्था हेर्दा कस्तो लाग्छ?
देशको अवस्था त म मात्र होइन, सबैले भन्छन्- झुर भयो। यसको विकल्प छैन। विकल्प नभएर नै सबै बसिरहेका छन्। अगाडि जाऔं, भ्रष्टाचारका खानी छन्; पछाडि फर्किऔं, रक्तपिपासुका खानी छन्। को फर्किन्छ?
पछाडि फर्किऔं, पारसको हातमा पारिन्छ; अगाडि बढौं, भ्रष्टाचारीको हातमा परिन्छ। अब नेपाली जनता कहाँ जाऊन्? मैले हेर्दा त शुभ सङ्केत छैन। राजनीतिमा राम्रो मान्छे नभएको महसूस भइसकेको छ।
राजतन्त्रमा विश्वास गर्ने परिवारमा हुर्केको मान्छे गणतन्त्रका लागि भनेर ज्यानको वास्ता नगरी लाग्नुभयो। अहिले फेरि एकथरीले राजतन्त्रको कुरा गर्दा कस्तो लाग्छ?
जुन दिन राजा वीरेन्द्र ढले त्यही दिन राजतन्त्र पनि ढल्यो। दोस्रो जनआन्दोलनसम्म आउँदा सकियो पनि। राजतन्त्र भन्दा आशा गर्ने चिज केही छ र? पारसको अनुहार हेर्नुहोस्।
अब नेपाली जनताले आफ्नो टाउकामा कुनै चिज राख्दैनन्। खुट्टामुनि राख्नुपर्छ। अब जनताले केही नपाए पनि नेतालाई पैतालामुनि त राखेका छन्। राम्रो काम नगर्नेलाई भोलि चुनावमा हराउन पनि सक्छौं।
राम्रो गर्नेलाई फेरि जिताउन पनि सक्छौं। नेतासँग त मन नपरेको कुरा भन्न सक्छौं। हाम्रो यो स्वतन्त्रता गुम्न दिनु हुँदैन। यो गुम्यो भने अहिलेको भन्दा झन् ठूलो खाडलमा पर्छौं।
पुराना पार्टीसँग दिक्क लागे जस्तो कुरा गर्नुभयो। नयाँहरूसँग केही आश छ?
एउटा देशको पीडा जनताको पीडा हो। केही गर्ने भिजन भएको, उद्देश्य भएको, चरित्र भएको, नैतिक रूपमा इमानदार, दर्शन भएको मान्छे भेटिंदैन। पुराना पार्टी र नेता त सबै उस्तै छन्, देखिहाल्यौं। कांग्रेस, एमाले लगायत पार्टी पुराना भइसके। राजतन्त्रको झन कुरै नगरौं। सबै देखी-भोगी सक्यौं। त्यसैले पछाडि फर्किनु ठीक छैन। अब नयाँ नै हो चाहिने।
नयाँको कुरा गर्दा बालेन साह र हर्क साम्पाङ फरक देखिएका छन्। जनतासँग जोडिएका छन्। हाम्रा कुनै नेता फरुवा बोकेर जनतासँगै काममा गएको देख्नुभएको छ त? हर्कले त्यो गरेका छन्।
अर्को, बालेन। उनी शक्तिशाली मान्छेसँग नझुकेर काम गरिरहेका छन्। अझै गर्न त बाँकी छ, तर अहिलेसम्म जनतासँग जोडिएर काम गरिरहेका छन्। अब चाहिने यस्तै नयाँ हो।
अन्तिममा पुस्तककै प्रसङ्ग जोडौं। राजनीतिप्रति युवाको आक्रोश देखाउनुभएको छ। नयाँ पुस्तालाई के सुझाव दिनुहुन्छ?
राजनीति र युवाबीच अत्यन्तै गहिरो सम्बन्ध हुन्छ। युवा राजनीतिदेखि पर गयो भने राजनीति नै विरूप हुन्छ। युवा बेगरको राजनीतिको अर्थ छैन। युवा र राजनीति शरीरका अङ्गअङ्गमा भएको मासु र नसा जस्तै हो। राजनीतिलाई युवाले सम्हाल्न सकेन भने अरूले सम्हाल्न सक्दैन।
अहिले युवा विदेश पलायन भइरहेका छन्। सबै एकै ठाउँमा अडिँदैनन्। घरव्यवहार पनि चल्दैन। तथापि, युवा पलायन भए भने राजनीतिको अर्थ छैन। अहिले बालेन र हर्कहरू आउनुमा युवाकै हात छ। आउँदो चुनावमा नयाँ लहर आउन सक्छ। भाषण गर्ने मात्रै होइन, फरुवा बोकेर जनतासँगै पहाड फुटाउँछु भन्ने आँट भएका युवा राजनीतिमा आउनुपर्छ।
किताबका कुराका थप सामग्री: