‘नोबेलका लागि हान काङभन्दा राम्रो विजेता नै थिएन’
नवीन शैली, शक्तिशाली गद्य, कोमल तर गहिरो प्रभाव पार्न सक्ने शक्ति भएकाले हान काङको लेखन नोबेल पुरस्कारबाट सम्मानित भएको हो।
सन् २०२४ को साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङले पाउनुलाई कोरियाली साहित्य र एशियाली क्षेत्रकै सम्मानका रूपमा हेरिएको छ। यो पुरस्कार पाउने उनी पहिलो एशियाली महिला हुन्। उनले पाएको यो पुरस्कार अनुवाद साहित्यको विस्तारमा साना प्रकाशन गृहले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रमाण पनि भएको बताइँदै छ।
गहन काव्यिक गद्य मार्फत इतिहासका आघात र मानव जीवनका जर्जर पक्षलाई उघारेकोमा उनलाई स्वीडिश एकेडेमीले पुरस्कृत गरेको हो।
५३ वर्षीया हानको द भेजिटेरियन उपन्यास सन् २००७ मा कोरियन भाषामा छापिएको थियो। त्यसको अंग्रेजी अनुवाद सन् २०१५ मा बेलायतमा छापियो। उनको पछिल्लो कृति बेलायती प्रकाशन गृह पेन्गुइन र्यान्डम हाउस अन्तर्गतको ह्यामिस ह्यामिल्टनले प्रकाशन गरेको हो।
नवीन शैली, शक्तिशाली गद्य, कोमल तर गहिरो प्रभाव पार्न सक्ने शक्ति भएकाले उनको लेखन सम्मानित भएको हो। उनको लेखनले परम्परागत कोरियाली समाजसँग पौंठेजोरी खेल्छ।
पुरुषसत्तात्मक समाज विरुद्ध एक व्यक्तिको प्रतिरोधको कथा रहेको द भेजिटेरियनलाई हानको अहिलेसम्मकै उत्कृष्ट सिर्जना मानिन्छ। यसमा प्रयुक्त कल्पनाशीलताले धेरै पाठक र समीक्षकलाई विस्मयमा पारेको थियो। उपन्यासले मांसाहारी समाजमा रहेकी एक महिलाले मासु खान छाड्ने निधो गरेपछि यो निर्णय उल्टाउन उनले श्रीमान् र परिवारबाट भोग्नुपरेको दबाबको कथा भन्छ। जसले पितृसत्तात्मक समाजमा महिलाको नियति बताउँछ। तर दबाबसामु महिला आफ्नो संकल्पमा अडिग रहँदा अनेक घटनाक्रम विकसित हुन पुग्छन्।
हानले सबैजसो उपन्यासमा आफ्ना पात्रले गहिरो चोट भोगेको देखाए पनि त्यस मार्फत समाज र राष्ट्रकै मुद्दा उठाएको देखिन्छ।
द भेजिटेरियनले सन् २०१६ मा अन्तर्राष्ट्रिय बूकर पुरस्कार पायो। बूकर पुरस्कार जित्ने कोरियन भाषाको पहिलो उपन्यास बन्यो यो। हान र यस उपन्यासकी अनुवादक डेबोरा स्मिथ दुवैलाई बूकर विजेता घोषणा गरियो। त्यति वेला डेबोराले कोरियन भाषा सिक्न थालेको तीन वर्ष मात्र भएको थियो। अनुवादक स्मिथले पुरस्कार बापत पाएको ५० हजार पाउन्डले टिल्टेड एक्सिस प्रेस स्थापना गरिन्, जसले पूर्वी एशियाली लेखकहरूको साहित्य अनुवादको काम अगाडि बढाएको छ।
हानका अन्य दुई उपन्यास ह्युमन एक्ट्स र द ह्वाइट बूक पनि स्मिथले नै अनुवाद गरेकी हुन्। ह्युमन एक्ट्समा सन् १९८० मा दक्षिण कोरियाली शहर ग्वाङ्जुमा भएको विद्यार्थी विद्रोह दबाउन सरकारी अधिकारीले गरेको रक्तपातपूर्ण दमनको फेहरिस्त छ। ग्वाङ्जु हानको गृहनगर हो र त्यस्ता घटनाको कथानक प्रमाण उपलब्ध हुनु पनि नोबेल कमिटी प्रभावित हुने कारण भएको हुन सक्छ।
स्मिथले गरेको द भेजिटेरियनको अनुवादलाई ‘गलत अनुवाद’ को आरोप पनि लागेको थियो। उपन्यासको कोरियाली संस्करणको शैली र अन्य स्वरूप नै बिगारेको आरोप स्मिथलाई लागेको थियो। उनको अनुवादको आलोचना गर्नेमा न्यू योर्क रिभ्यू अफ बूक्सका समीक्षक तथा लेखक टिम पार्क तथा लस एन्जलस टाइम्समा लेख प्रकाशन गरेका च्यान्से युङ थिए।
स्मिथले लस एन्जलस रिभ्यू अफ बूक्समा खण्डन छपाइन्। मुख्य कुरा त, उनले गरेका सबै अनुवादमा लेखक हानले पनि सहकार्य गरेर अनुवादलाई अनुमोदन गरेकी छिन्।
हानको पछिल्लो उपन्यास ग्रीक लेसन्समा एउटा शिक्षकले आँखाको ज्योति र एक विद्यार्थीले वाक्शक्ति गुमाएको कथा छ। त्यसको अनुवाद पनि स्मिथ र ई याइवोनले गरेका छन्। हानको नयाँ उपन्यासको अंग्रेजी अनुवाद वी डु नट पार्ट आगामी वर्ष प्रकाशन हुनेछ। यसको अनुवाद याइवोन र पेगी एनियाह मोरिसले गरेका छन्।
हानको लेखनबारे स्मिथले भनेकी छन्, “उनी भाषामा असह्य तीव्रताका साथ खेल्छिन्, जसरी ज्याकलिन डु प्रेले सेलो बजाउँछिन्।”
द भेजिटेरियन प्रकाशन गर्ने पोटेबेलो प्रकाशन गृहकी तास्जा डोरकाफिसको भनाइ छ, “उनको लेखनले पाठकलाई ध्यानमग्न र चिन्तनशील बनाउँछ।”
सन् २०२५ को बूकर पुरस्कारका एक निर्णयकर्ताका रूपमा रहेका कोरियाली लेखक तथा अनुवादक एन्टन हरले नोबेल पुरस्कार कमिटीका लागि हान काङको विकल्प नै नरहेको टिप्पणी गरेका छन्। उनले भनेका छन्, “स्वीडिश एकेडेमीले हान काङभन्दा राम्रो विजेता छनोट गर्न सक्दैनथ्यो।”
(गार्जियनमा प्रकाशित सामग्रीबाट महेश्वर आचार्यले गरेको अनुवाद।)