‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
‘मान्छे एकाग्र छैन, समाजमा छटपटी छ। म आफू एकाग्र हुनका लागि किताब पढ्छु। कल्पनाशीलताको पाटा खुल्ने हुनाले पनि पढ्छु।’
कवि बुद्धिसागरले कर्नाली ब्लुज उपन्यास प्रकाशन भएसँगै आख्यानकारको परिचय बनाए। पहिलो उपन्यासको सफलताले उनलाई पूर्णकालीन लेखक बनायो। दोस्रो उपन्यासका रूपमा फिरफिरे ल्याएका बुद्धिसागरको भर्खरै अर्को उपन्यास आएको छ, एक्लो।
उनी आख्यानसँगै फिल्म र बालसाहित्य लेखनमा पनि उत्तिकै सक्रिय छन्। पछिल्लो पुस्तक एक्लोसँगै साहित्य र लेखनमा केन्द्रित रहेर हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा उनै लेखक बुद्धिसागरसँग सागर बुढाथोकीले गरेको कुराकानीः
एक्लो सार्वजनिक भएको पाँच महीना भयो। कस्ता प्रतिक्रिया आइरहेका छन्?
किताब विमोचन भएको एक-दुई सातासम्म पाठक प्रतिक्रिया र समीक्षा दुवै राम्रो आएको थिएन। समयको बहावसँगै पाठकले कथा र पात्रहरूलाई स्वाद मानीमानी ‘इन्जोय’ गर्दै पढिसकेपछि अहिले राम्रो प्रतिक्रिया आइरहेको छ। एउटा लेखकले लामो समय कल्पेर सिर्जना गरेको सिर्जनालाई पाठकले पनि तत्कालभन्दा समय दिएर पढून् जस्तो लाग्छ। अहिले समय लगाएर पढेका पाठकबाट राम्रो प्रतिक्रिया आइरहेकाले पाठक र लेखकको भावना मिलेको जस्तो महसूस भइरहेको छ।
कर्नाली ब्लुज र फिरफिरेमा आफू जन्मेहुर्केको कर्णालीको परिवेश लेख्नु/ समेट्नुभएको छ। एक्लोमा काठमाडौंमा आएपछि देखेभोगेको परिवेश छ। लेखनको विषयवस्तु तपाईंको वरिपरि मात्र घुमेको देखिन्छ। आफूसँग जोडिएका कथा लेख्न सहज लाग्दो रहेछ हो?
धेरैले बुद्धिसागरले जे देखेको छ, जे थाहा छ, त्यही लेख्ने त हो नि भन्नुहुन्छ। लेखक भएपछि त नयाँ नयाँ कुराहरू ‘डिस्कभर’ गरेर लेख्नुपर्यो नि भन्नुहुन्छ। पाठकलाई लेखकले भोगेको र उसको जीवनमा घटेका घटना जस्ताको तस्तै लेखेछ भन्ने बनाउन सक्नु नै लेखकका रूपमा मेरो संघर्ष हो। एउटा पाठकले पढिसकेपछि लेखक होस् या कसैको जीवनमा घटेको घटना नै रहेछ भन्ने ‘कन्भिन्स’ गराउन निकै मेहनत लाग्छ।
संसारमा हरेक वर्ष कुनै एक व्यक्तिको जीवनकालभरि पढिनसक्ने किताब छापिन्छन्। त्यही पनि हरेक लेखकले अर्को किताब लेख्छ। किनकि, हरेक लेखकसँग भन्नका लागि केही न केही छ। एउटा समयको परिधि र परिवेशमा हरेक लेखकले केही चिजहरू आफ्नो नजरले देखेको छ र त्यो चिज अरूलाई भन्न चाहन्छ, तब न ऊ त्यही कथा लेख्छ।
पछिल्लो १० वर्षमा नेपालमा पनि कति धेरै किताब लेखिएका छन्। त्यो समयको समाजलाई मैले ‘यसरी देखेको थिएँ’ भन्न पनि लेख्छु।
अर्को, संसारमा धेरै कथा हुँदैनन् भनिन्छ। त्यसैले कथा कसरी भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। म त कथालाई भन्दा शैलीलाई महत्त्व दिन्छु। धेरैले ‘कथा नभएर पनि किताब हुन्छ र!’ भन्छन्। किताबमा कथा त हुन्छ नै, तर म त्यो कथा भन्ने शैलीलाई महत्त्व दिन्छु।
संसारमा म मात्रै एउटा लेखक हुन्थें भने विभिन्न विषय र शैलीमा लेख्न दबाब हुन्थ्यो। तर, पाठकलाई लेखकको विकल्प छ। एउटा पाठकले एक साता बुद्धिसागरको किताब पढ्छ भने अर्को साता अर्को लेखकको पढ्छ। सबै लेखकका आफ्नै शैली र ‘भेराइटी’ छन्। पाठकलाई भिन्न विषय र शैलीको किताबको अभाव हुन्न। एउटै लेखकमा पाठक निर्भर हुन्छन् भन्ने पनि लाग्दैन।
म लेख्दाखेरि यसरी लेखूँ, त्यो पछि गएर आपसमा जोडियोस् भन्ने लाग्छ। भीएस नयपालले गैरआख्यान लेख्दा दुनियाँ घुमेको लेख्नुभएको छ। तर, आख्यान लेख्दा त्रिनाथ समाइराख्नुहुन्छ? ओरान पामुकले टर्की किन छाड्न नसक्नुभएको? हारुकी मुराकामीले जापान बाहेक अन्तको किन नलेख्ने? हो, यसरी नै लेखकहरू आफ्नो परिवेश लेखिरहेका हुन्छन्। लेख्दा फैलिने होइन कि साँघुरिने हो। कुनै विषयमा जति साँघुरिंदै गइन्छ, त्यति नै त्यो विषयलाई सशक्त तरीकाले भन्न सकिन्छ। त्यही कारण म लेखनमा आफ्नो परिवेश दोहोर्याइरहेको छु।
एक्लोको पात्र सिरिसँग तपाईंको जीवन भोगाइ र व्यक्तित्व कत्तिको जोडिएको छ?
सानो तिनो टुक्राटाक्री कथा जोडिएका छन्। जस्तो- म डेरा लिएर बसेको हुँ। म पनि सिरि जस्तै कमजोर विद्यार्थी थिएँ र अंग्रेजीले जीवनभर मार खाएको पनि हो।
त्यस्तै, टेलिफोनको ‘साउन्ड’ रेडियोमा सुनेको पनि हो। केही विषय र भोगाइ मिल्दा छन्। यी बाहेक इन्टरनेट आउने वेलाको उथलपुथल भइरहेको समाजका केही पात्र समाएर किताब लेखेको हुँ।
यसरी मैले कहींकतै देखेका र महसूस गरेका केही पात्र टिपेकै हो, तर त्यतिले मात्रै किताब हुँदैन। आफूले भोगेका, देखेका र महसूस गरेका टुक्राटाक्री अनुभवलाई समग्रमा जोडेर पात्र बनाएर तिनको मनोदशा ‘क्रियट’ गर्न समय र साधना चाहिन्छ। किताबका हरेक पात्रमा कहींकतै लेखकको ‘डीएनए’ जोडिनु स्वाभाविक हो, तर यो शतप्रतिशत मेरै कथा होइन।
तपाईंका किताबमा पुराना स्मृति धेरै आउँछन्। वर्षौं पुराना यस्ता स्मृति कसरी समेट्नुहुन्छ?
मलाई पुरानो समयको कथा पढ्न मन पर्छ। अहिले जुन समयमा छु, त्यो समयको कथा लेख्नै मन लाग्दैन। त्यो कथा नै बन्दैन जस्तो लाग्छ। एउटा समय पार भएपछि त्यो समयको मोह जाग्दो रहेछ। २०५७ सालतिर ‘इन्टरनेट आयो रे’ भन्दा के हो के हो जस्तो हुन्थ्यो। बानेश्वरको साइबरमा गएर हेरियो पनि। टेलिफोन जोडेर क्यार्रर आवाज दिएर इन्टरनेट शुरू हुन्थ्यो। अहिले त मानव जातिको उत्पत्तिसँगै इन्टरनेट आएको जस्तो लाग्छ।
एउटा यस्तो समय थियो, त्यो वेला इन्टरनेट थिएन। ल्यान्डलाइन फोन हुन्थ्यो। विदेशबाट कसैले फोन गर्दा गाउँको पीसीओमा भीड लाग्थ्यो। अहिले त काठमाडौंमै बस्नेहरूभन्दा विदेश जानेहरू सामाजिक सञ्जालको माध्यमबाट चाँडो भेटिन थाले। त्यसैले मलाई गइसकेको समय लेख्न मजा आउँछ।
किताबमा कथा मात्र पढ्ने होइन, जोडिएका स्मृतिलाई पनि याद गर्ने हो। जीवनमा मानिसहरू सीमित अतीत दोहोर्याइरहन्छन्, तर केही मीठा घटना सम्झिँदैनन्। किनकि, ती मीठा स्मृति सम्झाउन हामीसँग ‘डिभाइस’ छैन, तर किताब पढ्दा एउटा सानो प्रसङ्गले आफ्नो पुरानो स्मृति सम्झन सकिन्छ। अहिले पढ्दा यो किताबले पाठकको स्मृति ताजा गरे पनि भविष्यमा गएर यो पुरानो समयको ‘अथेन्टिक’ किताब हुन्छ। किनकि, मानिसलाई पुरानो समयमा के भएको थियो भनेर जान्ने रुचि हुन्छ।
कर्नाली ब्लुज प्रकाशित भएको दशक नाघिसक्यो, यो बीचमा फिरफिरे र एक्लो आए। यो अवधिमा लेखनसँगै व्यक्तिगत जीवनमा केकस्ता परिवर्तन आए?
कर्नाली ब्लुज लेख्दा म अविवाहित थिएँ, (हाँस्दै) यो लेखेपछि बिहे भयो। कर्नाली ब्लुज प्रकाशित भएपछि एउटा पाठकको अंग्रेजीमा इमेल आयो। गजब भयो भनेर रिप्लाई गर्दै जाँदा बिहे नै भयो। यसलाई मुख्य परिवर्तन मान्छु म (हाँस्दै)।
फिरफिरेको वेलामा छोरी जन्मिई। एक्लोको वेला आइपुग्दासम्म लेखन चलिरहेको छ। १४ वर्ष चानचुने समय होइन।
मैले २७ वर्षको उमेरमा कर्नाली ब्लुज लेख्न थालेको थिएँ। त्यो वेला धेरैले ‘उपन्यास लेख्न भोगाइ र अनुभूति चाहिन्छ, अहिले लेख्ने वेला भएको छैन’ भन्थे। कर्नाली ब्लुजपछि पछाडि फर्केर हेर्नुपरेको छैन।
समीक्षकहरू बुद्धिसागरले कर्नाली ब्लुजको उचाइ छुने अर्को किताब लेख्न सकेन भन्ने गर्छन्। यस्तो सुन्दा कस्तो लाग्छ?
कर्नाली ब्लुज प्रकाशित भएको १४ वर्ष भएकाले धेरैले पढेको र नपढ्नेले पनि कहीं न कहीं नाम सुनेको जस्तो भइसक्यो। डेढ वर्षसम्म कर्नाली ब्लुजले पनि धेरै गाली खाएको थियो। ‘डायरी छापेर उपन्यास हुँदैन, काइट रनरको कपी’ भनेर समीक्षा पनि आएको थियो। तर, समय बित्दै गएपछि किताबका प्रसङ्गहरू बढ्न थाले। त्यसपछि यो किताब अनुवाद भयो। अनुवादले पनि राम्रै प्रतिक्रिया पायो।
फिरफिरे प्रकाशित भएको एक-दुई वर्ष धेरै गाली खाइयो। धेरैले बुद्धिसागर फिरफिरेपछि ओरालो लाग्यो भने। तर, सात वर्षपछि पनि फिरफिरेको पाठक बढ्न थालेका छन्। एक्लो आएको जम्मा पाँच महीना भयो। यो उत्तीर्ण हुन पनि तीन-चार वर्ष लाग्छ। यस्तो प्रतिक्रियालाई स्वाभाविक रूपमा लिएको छु।
तपाईंका पात्रले बोल्ने संवाद आमपाठकको जिब्रोमै बस्ने किसिमका हुन्छन्। यस्ता संवाद लेख्दै गर्दा आफैं आउँछन् कि छुट्टै साधना चाहिन्छ?
म फिल्म धेरै हेर्छु। फिल्म हेर्दा पात्र अनुसार उसले कसरी आफ्नो कुरा व्यक्त गर्छ भन्ने ख्याल गर्छु। कर्नाली ब्लुजमा नर्समाथि एउटा किशोरले लेखेको एक टुक्रे कविता छ। म त्यो वेला नेपाल प्रज्ञा-प्रतिष्ठानको कविता प्रतियोगिताको स्वर्ण पदक विजेता कवि थिएँ।
कर्नाली ब्लुजको पाण्डुलिपि पढेर एक जना दाइले ‘गोल्ड मेडल पाएको कविको कविता यस्तो पनि हुन्छ’ भनेर हटाउन अनुरोध गरे। उहाँलाई ‘तराईमा बसेको, कहिले किताब नपढ्ने, पढाइमा असफल भइराख्ने, कोर्स बाहेक बाहिरको कविता नपढेको किशोर पात्रले यस्तै कविता लेख्छ होला भनेर लेखेको कविता हो’ भनेर ‘कन्भिन्स’ गरें। किनकि, त्यो पृष्ठभूमिको किशोरले लेखेको कविता भनेर स्वर्ण पदक विजेता कविले लेखेको कविता हाल्दा विश्वसनीय हुँदैनथ्यो।
त्यो वेलादेखि नै मेरो पात्रले यो खालको संवाद भन्न सक्छ कि सक्दैन भन्ने कुरामा सचेत थिएँ। पात्र अनुसार उसको भाषा र उसको तरीकामा संवाद भन्नका लागि कोशिश गरिरहेको हुन्छु। पात्र बनाउन र पात्रको तरीकामा सोच्न साधना चाहिन्छ नै। किनकि, पात्रको पृष्ठभूमि र मनोदशा अनुसार संवाद हाल्न धेरै नै सोच्नुपर्छ।
साधनाका कुरा गर्दा एक्लो प्रकाशित हुनुअघि लेखन कार्यशालाका लागि अमेरिका पुग्नुभएको थियो। त्यो कार्यशालाले लेखनमा कति फरक आयो?
त्यो कार्यशालामा म बाहेक अन्य २६ देशका लेखक थिए। तीन महीनाभरि हामी एकअर्काले लेखेका कुराहरू ‘शेयर’ गर्थ्यौं। त्यसले अहिलेको पुस्ताले कस्तो खालको लेखन गर्दै छ, कुन स्तरमा जाँदै छ र हामी कति पछाडि छौं भनेर थाहा पाएँ।
अर्को, किताबमा छापिने हरेक लाइन प्रेमले लेख्नुपर्छ भन्ने बुझें। हरेक लाइनमा केही न केही हुनुपर्छ भन्ने महसूस गरें। सकेसम्म गन्थन कम गर्ने, लेखनको बोसो काट्ने केही तरीकाहरू पनि सिकें। त्यहाँबाट आएपछि त्यस्तो लेख्न कोशिश त गरें, सफल भएँ या भइनँ, त्यो अर्को कुरा हो।
अन्य देशको साहित्यिक माहोल कस्तो रहेछ?
एक जना स्पेनिश भाषाको कविलाई मैले तिम्रो देशमा ‘कति प्रति किताब छापिन्छ’ भनेर सोध्दा उसले ‘५०० प्रति’ भनेर जवाफ दियो। त्यति थोरै किताब छापिंदा पनि उनीहरू गम्भीर भएर लेखिरहेका छन्। कारण के रहेछ भने त्यहाँ हाम्रोमा जस्तो १०-२० हजार किताब बिक्दैमा ‘हिट’ भनेर अर्को किताब लेखाइहाल्ने र कुनै लेखकको किताब बिकेन भनेर असफल लेखक भनेर ‘ट्याग’ लगाइहाल्ने गर्दा रहेनछन्।
त्यहाँ एउटा लेखकले आफ्नो लेखनमा कति फरक लेख्यो, कति फरक ‘मेटाफोर’ ल्यायो, कुन चिजलाई इङ्गित गर्यो भनेर उसको विषयवस्तुमा आधारित रहेर समालोचना, बहस र छलफल हुनेरहेछ। जसले जे भने पनि एउटा सर्जकलाई उसको सिर्जनाभित्र बसेर गरेको प्रशंसा/आलोचना मन पर्छ। त्यो संस्कारले गर्दा लेखक खारिंदै जाने रहेछन्।
हाम्रोमा त किताबको ‘कन्टेन्ट’ भन्दा गाता यस्तो भयो भनेर पो बहस हुन्छ। एक्लोमा अनामनगरको कथा लेखेर कीर्तिपुरको ‘कभर’ किन राखेको भनेर पनि समीक्षा भयो। लेखकले हरेक किताबमा आफ्नो केही मौलिक ‘ट्रिक’ छाडेर जान्छ। केही पाठकले त्यो ‘ट्रिक’ पत्ता लगाउँदा लेखकलाई मजा आउँछ।
तीन महीने कार्यशालामा २६ देशका लेखकसँग सङ्गत गरेपछि उनीहरूले लेख्ने विषयवस्तु, साधना र शैलीमा केकस्ता समानता र अन्तर पाउनुभयो?
सामान्यतया समकालमा आफ्नो परिवेशमा जे भइरहेछ ती विषयवस्तु नै उठाउने हो। तर, लेखन शैलीमा चाहिं धेरै फरक पाएँ। कुनै स्पेनिश लेखकलाई एउटा अमेरिकी पाठकले मूल्याङ्कन गर्न सजिलो रहेछ। किनभने उनीहरूले त्यो देशका अरू लेखकको किताब पहिलेदेखि नै पढिसकेका हुन्छन्। पहिलेदेखि नै त्यो देशको पुरानो लेखकको कृति पढ्दै आइरहेको पाठकले कुनै नयाँ लेखकको कृति पढेपछि उसले त्यसको लेखनशैलीबारे थाहा पाउँछ। पुरानो र नयाँ लेखकको लेखनीमा तुलना गर्न सक्छ। त्यसले गर्दा लेखक अन्तर्राष्ट्रिय रूपमा ‘रिकग्नाइज’ हुन सजिलो छ। तर, हाम्रोमा त्यस्तो अवस्था छैन।
आफूलाई चिनाउन उनीहरूसँग पुराना लेखकको ‘लिगेसी’ छ। आफू नयाँ भए पनि मेरो देशमा यो लेखक छ भनेर उनीहरू जहाँ गएर पनि चिनाउन सक्छन्, तर हाम्रोमा त्यो अवस्था बनेको छैन। त्यसैले हामी विश्व साहित्यसँग जोडिन पाएका छैनौं।
नेपाली साहित्य विश्व साहित्यमा नजोडिनुको कारण भाषा हो कि हाम्रो स्तर नै कमजोर हो?
भाषा त भइहाल्यो। यसअघि डायमन शमशेरको सेतो बाघ अनुवाद हुँदा चर्चा पाएको हो। पारिजातको शिरीषको फूल र नारायण वाग्लेको पल्पसा क्याफेजस्ता किताब पनि अनुवाद भए। अमर न्यौपानेको सेतो धर्ती अनुवाद हुँदै छ। तर, यतिले पुग्दैन।
हामी नेपाली साहित्य विश्व साहित्यमा स्थान बनाउने किसिमको छ भनेर दाबी त गर्छौं, तर त्योभन्दा पनि महत्त्वपूर्ण त्यहाँका पाठकलाई सान्दर्भिक हुन्छ कि हुँदैन भन्ने कुरा हो। त्यसको लागि अनुवादपछि सम्पादनमा छुट्टै खालको काम गर्नुपर्ने रहेछ। धेरै राम्रा किताब अनुवाद गरेर विश्व साहित्यमा पठाउने हो भने नेपाली साहित्यको स्तर जाँच्ने मौका मिल्छ। यो काम तुरुन्तै हुने देख्दिनँ, किनकि एक वा दुई किताब विश्व साहित्यमा गएर पुग्दैन। विश्व साहित्यमा धेरैभन्दा धेरै नेपाली किताबलाई नपठाई हस्तक्षेप गर्न सकिन्न।
उपन्यासकारको छवि बन्नुअघि तपाईंं कवि हुनुहुन्थ्यो। आजकाल कविता लेख्न छोड्नुभयो, किन?
मलाई केही चिजहरू भन्नु छ, ती चिजहरू जुन विधाबाट भन्न सहज लाग्छ, त्यसैमा लेख्छु। आख्यान लेख्न थालेपछि सोचेको र भन्न खोजेको कुरा पाठकसँग पूर्ण रूपले ‘कनेक्ट’ भयो भन्ने लाग्छ। कविता हरेक दिन लेख्ने चिज होइन, तर म हरेक दिन लेख्न मन पराउँछु। मलाई कल्पनाको संसारमा हराउन मजा आउँछ।
कविता लेखन ठूलो साधना हो। लामो समय अभ्यास छुटेपछि त्यसमा फर्कन गाह्रो हुँदो रहेछ। अहिले कविता बन्न सक्ने चिजहरू उपन्यासमै हालिरहेको हुन्छु। प्रेसर कुकरमा सिठी बज्नका लागि जस्तै लेख्नका लागि केही बाफहरू हुनुपर्छ। आख्यान लेख्दा कविताहरू बाफ बनेर ‘लिक’ भइरहेको छ। अब त मबाट कविता लेखन हुँदैन भन्ने जस्तो लाग्न थालेको छ।
फिल्म लेखनतिर लाग्नुभएको छ। त्यहाँ फरक पाउनुभयो?
म पूर्णकालीन लेखक हुँ, तर सधैंभरि किताब लेख्न मात्रै सक्दिनँ। उपन्यास लेख्दै जाँदा कहिलेकाहीं ‘राइटर ब्लक’ हुन्छ, त्यो वेला यस्ता काम गर्छु। जस्तो- मैले उपन्यासको ‘फस्ट ड्राफ्ट’ लेखिसकेपछि केही समय ‘ब्रेक’ लिन्छु। त्यस्तो वेला यस्तो काम गर्छु, जसले किताबको ‘ह्याङ’ हटाएर ‘फ्रेस’ बनाउँछ।
सिनेमा जस्तो फरक विधामा काम गर्दा किताब लेखनलाई सहयोग गर्छ। सिनेमा लेखनमा छोटो समयमा धेरै कुरा भन्नुपर्छ। संवादमा ध्यान दिनुपर्छ। जसले उपन्यास लेखनमा सहयोग गर्छ। तर, क्रान्ति नै ल्याउँछु भनेर फिल्म लेखनमा लागेको होइन।
आख्यानकारका रूपमा राम्रो छवि बनाइसक्नुभएको छ। यसरी फरक विधामा लाग्दा असफल भइएला कि भनेर डर लाग्दैन?
सिर्जनाको मुख्य कर्म निरन्तरता रहेछ। संसारभर केही यस्ता उदाहरण छन्, एउटा सिर्जनाले यति धेरै प्रभाव पार्छ कि त्यसको सर्जकले अर्को सिर्जना गर्नै सक्दैन। त्यो यस्तो ‘मास्टरपिस’ भइदिन्छ कि त्यसको सर्जकले त्योभन्दा राम्रो लेख्छु भनेर घोत्लिँदा घोत्लिँदै समय गइसक्छ। त्यही भएर तपाईंको दिमागमा भएका ‘कन्टेन्ट’ हरू दिइराख्नुपर्छ।
किनकि, तपाईंको दिमागमा भएको ‘कन्टेन्ट’ गइसकेपछि न अर्को आउने हो। कुनै राम्रो हुन्छ, कुनै नराम्रो, कुनै सफल हुन्छ, कुनै असफल। १० वर्षसम्म एउटै चिज दिमागमा बोकेर राम्रो आउँछ भन्ने हुँदैन। सिर्जनाको मुख्य चिज निरन्ततरता रहेछ। सबै सिर्जना एक से एक हुनुपर्छ भन्ने छैन। मुख्य कुरा केही न केही सिर्जना भने गरिरहनुपर्छ।
कर्नाली ब्लुजले चौतर्फी प्रशंसा पाएपछि फिरफिरे लेख्ने वेलामा डर लागेको थिएन?
अलिकति ‘प्रेसर’ त थियो, तर डर थिएन। केही समयअघि मुराकामीको अन्तर्वार्ता पढेको थिएँ। उनले गरेको एउटा ‘ट्रेन’ यात्रामा एक जना फ्यान आएर ‘तँ त पाँच वटा किताबपछि ध्वस्तै भइस्, बेकार भयो तेरो लेखन’ भन्यो रे। मुराकामीले चाहिं आफूले राम्रो लेख्न थालेको त्यहींबाट हो भनेका थिए।
एउटा सचेत लेखकको सचेतता जति धेरै लेख्दै गयो, त्यति धेरै देखिन्छ। मैले कर्नाली ब्लुजभन्दा फिरफिरे र फिरफिरेभन्दा एक्लोमा थप सचेत र परिपक्व लेखन गरेको छु।
अनि बालसाहित्य लेखनमा कसरी लाग्नुभयो?
जीवनकालभरि लेखनमा भएपछि सबै उमेरसमूहले पढ्ने कथा लेख्नुपर्छ भन्ने लाग्छ। मेरी छोरी नौ वर्षकी भइन्। छोरीलाई कथा सुनाउँदा ऊ कहाँ ‘कनेक्ट’ हुन्छे र कहाँ हुन्न भन्ने थाहा हुन्छ। छोरीसँग संवाद नगरी र उसलाई दिमागमा नराखीकन बालसाहित्य लेखेको भए म ‘आउटडेटेड’ हुने रहेछु। किनकि, मैले आफ्नो बाल्यकाल सम्झेर कथा लेखें भने अहिलेका बालबालिकाले मन पराउँदैनन्।
समयसँगै धेरै कुरा परिवर्तन भइसकेको छ। म मेरी छोरीले मन पराउने, उसले सोच्ने र बुझ्ने किसिमका कथा लेख्छु। छोरीलाई कथा सुनाउने र सिकाउने बहनामा बालसाहित्यको खोजी र लेखनमा छु भन्दा फरक पर्दैन।
पूर्णकालीन लेखक भएरै होला सबैतिर हात हालिराख्नुभएको छ। खासमा पूर्णकालीन लेखक हुन कति गाह्रो हुँदो रहेछ?
सबैभन्दा ठूलो समस्या फुर्सद व्यवस्थापन गर्न बहुत गाह्रो हुने रहेछ। बरु व्यस्तता सजिलो गरी व्यवस्थापन हुँदो रहेछ। मेरो एक-दुई वर्ष त फुर्सद व्यवस्थापन गर्न नसकेर नै गयो। केही काम गरेको थियो भने बिहान उठेर जाने ठाउँ हुन्छ, तर म कहाँ जाने? अफिस आउनु भनेको धेरै सर्कलसँग जोडिनु रहेछ। पूर्णकालीन लेखकको साथी सर्कल छुट्दै जाने रहेछ।
यस्तै, आर्थिक रूपमा कहिलेकाहीं गाह्रो पनि हुने रहेछ। मासिक रूपमा तलब आउनु र एक पटक आएको पैसा धेरै समयसम्म चलाउनु फरक रहेछ। त्यो बाहेक एउटा किताब लेख्न चार-पाँच वर्ष लगायो, त्यसको हविगत के हुने हो, भर हुन्न। त्यसैले सिर्जनशील काम गर्छु भनेर जागीर छाड्ने मान्छेले काम सिर्जना गर्नुपर्ने रहेछ।
पूर्णकालीन लेखक बन्ने निर्णयले पछुताउनु त परेन नि?
त्यस्तो भएन, किनकि मेरा आवश्यकता र महत्त्वाकांक्षा धेरै छैनन्। बरु जागीर नछाडेको भए पछुताउँथें होला।
अब प्रसङ्ग बदलौं, तपाईं कस्तो किसिमको पाठक हो?
म आफूले पढ्ने किताब आफैं छान्छु। पुस्तक पसलमा गएर किताब छान्दा पढ्न र बुझ्न अलिक सजिलो हुने किसिमको किताब छान्छु। यसरी पढ्दा किताबले तान्यो भने किन्छु। कुनै लेखकले पढ्नैपर्छ भनेको किताब १५ वर्षपछि पनि पढ्छु।
पुस्तक किन पढ्नुपर्छ जस्तो लाग्छ?
किताब पढ्नु मेरो बानी हो। मान्छे एकाग्र छैन, समाजमा छटपटी छ। म आफू एकाग्र हुनका लागि पढ्छु। कल्पनाशीलताको पाटा खुल्ने हुनाले पनि पढ्छु। कथा पढ्दै जाँदा आफ्नो दिमागमा एक किसिमको दृश्य बन्छ, यो मलाई खूब मन पर्छ। कथा अनुसार आफ्नो कल्पनाशीलता भर्न छुट्टै मजा आउँछ। किताब पढ्नु मेरा लागि ध्यान गर्नु जस्तै हो, पढ्दा मलाई छुट्टै आनन्द आउँछ।
यस्तो कुनै किताब छ, जसले जीवनजगत्लाई हेर्ने दृष्टिकोण नै बदल्यो?
एउटा किताब छ, माई नेम इज रेड। त्यसको पहिलो लाइनबाट नै एउटा कुवामा भएको लासले कथा भन्न शुरू गर्छ। ऐतिहासिक विषयवस्तुमा लेखिएको किताबमा समेत यसरी कथा अगाडि बढाइएको छ। साहित्यिक लेखन यस्तो हुनुपर्छ भन्ने मेरो दृष्टिकोण यो किताबले बदलेको छ।
अन्त्यमा, आगामी लेखनको योजना के छ?
म एक पटकमा एउटा मात्र काम गर्न सक्छु। छुटेका केही कामहरू गर्न बाँकी छन्। फिरफिरे र एक्लोको अनुवादको कुरा पनि चलिरहेको छ। पहिला ६-७ वर्ष ‘ग्याप’ राखेर किताब लेखेको थिएँ। अब यो ‘ग्याप’ हटाउने गरी लेख्छु। किनकि, म पूर्णकालीन लेखकले भन्दा अरू व्यस्त मानिसले नै धेरै किताब निकालिसके।
किताबका कुराका थप सामग्री: