‘मुन्धुम मानव सभ्यताको इतिहास हो’
‘मुन्धुम कुनै समुदायको धार्मिक ग्रन्थ मात्र नभई यो मानव सभ्यताको इतिहास हो। सामाजिक संस्कार र संस्कृतिको मुहान हो।’
मुन्धुम अध्येता डीबी आङ्बुङ मानवशास्त्र र भाषा विज्ञानका विद्यार्थी हुन्। आङ्बुङले सम्पादन तथा अनुवाद गरेको पुस्तक याक्थुङ साम्जिक मुन्धुम प्रकाशित भएको छ। मुन्धुमका विविध पक्ष र पुस्तकबारे हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा आङ्बुङसँग धनबहादुर फागोले गरेको कुराकानी:
मुन्धुमको खोज, अध्ययन तथा लेखनमा कमै मात्र लागेको देखिन्छ, तपाईंलाई चाहिं के कुराले यस विधामा आकर्षित गर्यो?
अहिलेको विज्ञान र प्रविधिको युगमा मुन्धुम जस्ता उहिलेका कथा कुथुङ्ग्रीको खोज-अध्ययन गरेर के पाइन्छ भन्ने मानसिकता छ। तर‚ हामीले हरेक कुराको विगत, जरा वा मुहान थाहा पाएनौं भने त्यसको वर्तमान र भविष्य बुझ्न सकिंदैन। त्यसैले म मुन्धुम अध्ययनमा आकर्षित भएँ।
अर्कातर्फ‚ ग्रामीण क्षेत्रमा हुर्के-बढेको मैले सानो हुँदा देख्ने, बुझ्ने र जान्ने भनेको मुन्धुमका कथा-कुथुङ्ग्री, संस्कार र संस्कृति सम्बद्ध गतिविधि थिए। गाउँघरमा अग्रजहरूले विभिन्न अनुष्ठानमा मुन्धुम वाचन गर्दा यो के गरेका होलान्? के भनेका होलान् भन्ने जिज्ञासा लाग्थ्यो। त्यही जिज्ञासा मेटाउन यो क्षेत्रमा लागें।
आम मानिसले मुन्धुमलाई किरातहरूको धार्मिक ग्रन्थ भनेर बुझ्छन्। मुन्धुम भनेको के हो?
मुन्धुमलाई धार्मिक ग्रन्थका रूपमा बुझिएको छ‚ त्यो एक दृष्टिकोणबाट सही छ। तर, मुन्धुम कुनै समुदायको धार्मिक ग्रन्थ मात्र नभई यो मानव सभ्यताको इतिहास हो। सामाजिक संस्कार र संस्कृतिको मुहान हो। किनकि‚ मुन्धुममा जीवनदर्शन, भाषा, सौन्दर्य, समाज, संस्कृति, मानव सभ्यता र शास्त्रको विकास के कसरी भए भन्ने कुराको झलक पाइन्छ।
हाम्रा मानव पुर्खाहरूले जिउने र विकसित हुँदै अघि बढ्ने क्रममा केकस्ता दुःखसुख बेहोरे? उनीहरूको जीवनमा के-कस्ता अविस्मरणीय घटनाहरू घटे? ती घटनाहरूबाट भावी पुस्ताले शिक्षा लिनुपर्छ भनेर उनीहरूले त्यसलाई कथाका रूपमा सुनाउँदै आए। कर्मकाण्ड र अनुष्ठानहरूमा सुनाउँदै अभ्यास गर्दै आए। त्यो वेला लेख्ने चलन थिएन। यही मौखिक मौलिक ज्ञान निर्माण र हस्तान्तरणको परम्परा नै मुन्धुम भयो।
मुन्धुममा विभिन्न ज्ञान-शास्त्रको झलक पाइन्छ भन्नुभयो, कसरी?
सबैभन्दा पहिले मुन्धुम कसरी इतिहास र ज्ञानको स्रोत हो भन्ने जान्न आवश्यक छ। इतिहास भनेको मानव पुर्खाहरूको उद्विकासदेखि अहिलेसम्म भएका घटनाहरूको सँगालो हो। मुन्धुममा आकाश‚ धर्ती‚ बोटबिरुवा र जीवजन्तुको सृष्टि कसरी भयो भन्ने वर्णन छ। यस्तै‚ सृष्टि भएपछि मानव हाँगाबिंगा कसरी छुट्टिए र फैलिए? उनीहरूले के-कस्ता दुःखकष्ट बेहोरे? उनीहरूको जीवनमा के-कस्ता परिवर्तन आए? सम्पूर्ण वर्णन छ।
यो याक्थुङ साम्जिक मुन्धुममा ‘माङ्गे़न्ना’‚ ‘तङ्सिङ तक्मा’ र ‘नाहाङ्मा’ भन्ने मुन्धुम पनि समावेश छ। ती मुन्धुमहरूमा मानव पुर्खाहरू सहज ठाउँको खोजी गर्दै जाँदा डाँडाकाँडा, खोलानाला पार गर्दै हिंडेको वर्णन छ। विभिन्न जीवजन्तु र अन्य समुदायका मान्छेसँग भिडन्त गर्दै आएको कथा छ। उनीहरूसँग घुलमिल गर्दै विभिन्न सभ्यता विकास गरी अहिले बसोबास गरिरहेको ठाउँमा पुगेको विवरण उल्लेख छ। ती ठाउँहरूमा आआफ्ना यक् वा गढ निर्माण गरी बसेको बयान छ। त्यसैले मुन्धुम इतिहास हो।
अब‚ मुन्धुम कसरी ज्ञानको मुहान हो भन्नेतर्फ जाऔं। मुन्धुम अनुभव तथा घटनाहरूको सँगालो हो। त्यसैले मुन्धुम ज्ञान हो। ज्ञान भनेको ज्ञानेन्द्रियबाट प्राप्त अनुभव हो। ज्ञान मान्छेबाट मात्र होइन, विभिन्न जीवजन्तु, चराचुरुङ्गी र कीरा-फट्याङ्ग्राबाट पनि लिन सकिन्छ। ती हाम्रा ज्ञानका स्रोत हुन्। त्यसैले तिनीहरूलाई पनि ज्ञानका गुरु मान्न सकिन्छ र पर्छ भन्ने कुरा मुन्धुममा आउने घटना विवरणले देखाउँछन्।
पूर्विय होस् वा पश्चिमा, सबै सभ्यताको उदय नदी किनारमै भएको मानिन्छ। मुन्धुम निर्माण गर्नेहरूको सभ्यताको उदय चाहिं कहाँ भएको रहेछ?
मानव पुर्खाहरू आजभन्दा लाखौं वर्षअघि आजको अफ्रिकाबाट समूह बनाएर निस्किए। उनीहरू पानी, खानेकुरा उपलब्ध हुने र सुरक्षा महसुस हुने ठाउँमा बस्न थाले। यही क्रममा मेसोपोटामिया, सिन्धु र ह्वाङ्हो जस्ता सभ्यताको विकास भयो। मुन्धुमलाई मान्ने समुदायको पुर्खा, जसलाई मंगोलोइड पनि भनिन्छ‚ उनीहरूको सभ्यताको विकास नेपालको उत्तर-पूर्व अहिले चीनमा पर्ने कैलाश मानसरोवरतिरबाट उत्पन्न भई पूर्व बग्ने ह्वाङ्हो र याङ्सी नदी किनारमा भएको मानिन्छ। हजारौं वर्षअघि ह्वाङ्हो नदी किनारमा याङ्साओ र माजायाओ गरी दुईवटा सभ्यताको विकास भयो।
याङ्साओ सभ्यतामा आजका धेरै मंगोलोइड समुदायको भाषा, संस्कृति र मुन्धुम विकास भएको देखिन्छ। करीब पाँच हजार वर्षअघि उनीहरू त्यहाँबाट केही पश्चिमतर्फ माजायाओ सभ्यता निर्माण गर्न पुगे। त्यहाँ साइनो-टिबेटन भाषाबाट टुक्रिएर टिबेटो-बर्मन वा आजका धेरै हिमाली भाषाहरूको विकास भएको देखिन्छ। उनीहरूले याङ्साओ सभ्यतामा नै माटाका भाँडाकुँडा बनाउने र कोदोको खेती गर्न सिके।
त्यही समुदायको एउटा हाँगो छुट्टिएर माजायाओभन्दा अलि तल अहिलेको चीनको सिचुआन र युनान प्रान्ततिर पर्ने याङ्सी वा याङ्जे नदी किनारमा पुगेर थप सभ्यताको विकास गरे। त्यही ठाउँमा कतिपय मुन्धुम निर्माण भए। ती मानव पुर्खाले त्यहाँ धान खेती गर्न सिके र धाननाच संस्कारको विकास गरे। त्यहींबाट मानव समुदाय कालान्तरमा उत्तर-पूर्व वा पूर्वका पहाडी भेगमा आएर बसोबास गरेको देखिन्छ।
मुन्धुमलाई आफ्नो ज्ञानको स्रोत मान्ने विशेषतः किरात वा याक्थुङ लिम्बूजातिले त्यहीं सभ्यताको ज्ञानलाई अँगालेका छन्। याक्थुङहरूले सोही ह्वाङ्हो र याङ्सी सभ्यताको निरन्तरताका रूपमा अहिलेको लिम्बुवानको तमोर नदी वा इम्बिरी याम्धाःङ्वालाई नयाँ सभ्यताको रूपमा विकास गरेका हुन्।
मुन्धुम कुन कालखण्डमा क-कसले विकास गरे?
मुन्धुममा उल्लेख भएका घटनाहरू तोकेरै यो कालखण्डको हो भनी यकिनसाथ भन्नसक्ने अवस्था त छैन। तर, मानवशास्त्रीय, पुरातात्त्विक र भाषाशास्त्रीय दृष्टिकोणबाट हेर्दा करीब दशौं हजार वर्ष सेरोफेरोको हो भनी अनुमान लगाउन सकिन्छ। किनभने, १३-१४ हजार वर्षअघि हिमयुग थियो र ती ठाउँ हिउँले ढाकिएका थिए।
हाम्रा पुर्खाहरूका लागि पहिले हरेक कुरा नयाँ भए। त्यही नयाँ कुरा वा आफूले भोगेका घटनालाई कथाका रूपमा बुने र सुनाउन थाले। त्यसरी मुन्धुमको विकास भएको पाइन्छ। मुन्धुममा करीब दशौं हजार वर्षदेखि एक डेढ सय वर्षअघिका घटना समेत मुन्धुमका रूपमा समावेश भएको पाइन्छ।
मुन्धुमी ज्ञान अनुसार समाज निर्माण भयो। मुन्धुमले कस्तो समाजको परिकल्पना गरेको छ?
मुन्धुमले यस्तै प्रकारको समाज हुनुपर्छ नभने पनि केही सङ्केत भने गरेको छ। आकाश, धर्ती, जीव, जनावर, वनस्पतिको उत्पत्ति भएपछि मात्र मानिसको उत्पत्ति भएको मुन्धुममा उल्लेख छ। त्यसैले मानिस यो धर्तीको पछिल्लो सृष्टि हो। अन्य जनावरभन्दा विवेकी भएकाले जीवजन्तु र वनस्पतिको रेखदेख, संरक्षण तथा संवर्द्धन गर्ने दायित्व मानवको हो भन्ने आसय मुन्धुममा पाइन्छ।
मुन्धुममा शुरूका देवता महिला स्वरूपको भएको उल्लेख छ। त्यसले समाज मातृसत्तात्मक भएको सङ्केत गर्छ। मुन्धुमी पात्रहरूमध्ये कोही ठूलो, सानो, उँच, नीच भएको देखिंदैन। उनीहरूबीच अन्तरक्रिया भएको र आपसको अस्तित्वलाई स्विकारेको पाइन्छ। कसैको अस्तित्वलाई नामेट बनाएर बाँच्नुपर्छ भन्ने सिकाउँदैन। मानव मानवबीच मात्र होइन, जीवजन्तु र चराचुरुङ्गीबाट पनि सहयोग लिएर बाँच्नुपर्छ भन्ने शिक्षा मुन्धुमले दिएको छ। विशेषगरी मुन्धुमी पात्रहरूले सोच्ने दृष्टि र व्यवहार गर्दा मध्यममार्गीय दृष्टिकोण अपनाएको पाउँछौं।
वनस्पति‚ जनावरको सृष्टि भइसक्दा पनि धर्ती नसुहाएकाले मानवको सृष्टि गरिएको भन्ने मुन्धुममा उल्लेख भएको पाइन्छ। मानवलाई किन यति महत्त्व दिइएको रहेछ?
यसमा एक सौन्दर्यशास्त्र र अर्को मानवीयताको कारण देख्न सकिन्छ। मुन्धुमअनुसार, धर्तीमा खोलानाला सृष्टि गरिए पनि सुहाएन। त्यसपछि बोटविरुवाको सृष्टि हुन्छ। यसरी नै धर्तीलाई सुहाउँदिलो बनाउन पशुपन्छीको सृष्टि हुन्छ। तैपनि धर्ती सुहाउँदिलो हुँदैन।
त्यसैले तागेरा निङ्वाफुमाङ र पोरोक्मी यम्भामी भन्ने देवताले सल्लाह गरी विवेकशील मानवको सृष्टि गरिन्छ। शुरूमा मानवलाई सबैभन्दा राम्रो र श्रेष्ठ बनाउन खोज्छन्। तर, त्यस्तो बन्दैन। अरू प्राणी जस्तै बनाउँदा मात्र मानवको सृष्टि हुन्छ। त्यसैले मुन्धुममा मानवलाई मात्र पनि सर्वोत्कृष्ट मानेको पाइँदैन।
मुन्धुममा मुजिङ्ना खेयङ्नाले पुरुषविना नै सन्तान जन्माएको कथा छ। अहिलेको सन्दर्भमा यो घटनाले महिलाहरू आफ्ना लागि आफैं निर्णय गर्न सक्षम छन् भन्ने सन्देश दिन खोजेको हो?
इतिहास र मुन्धुमलाई वर्तमान अवस्थाभन्दा पनि त्यति वेलाकै परिस्थिति अनुसार बुझ्नु राम्रो हुन्छ। किनभने, अहिलेको समयको आधारमा हेरियो भने त्यो घटनालाई अन्याय हुन्छ। मुजिङ्ना खेयङ्नाको पालामा बच्चा फलानाको हो वा होइन भन्ने ठूलो मुद्दा थिएन। त्यसैले बच्चा कसको हो भनेर सोधनी पनि भएन।
तर‚ पहिलो पटक पेटमा बच्चा बसेपछि मुजिङ्ना खेयङ्ना भने अचम्म पर्छिन्। के भएको होला भनी तागेरा निङ्वाभुमाङ्लाई सोध्छिन्। तागेरा निङ्वाभुमाङ्ले ‘म तिमी जस्तै हो’ भन्छन्। उनले ‘सपनामा जे देख्छौं त्यही भएको हो’ भन्छन्।
यस घटनाबाट मुन्धुमले परिकल्पना गरेको ईश्वर सर्वज्ञानी र सबैभन्दा शक्तिशाली पनि होइन भन्ने सङ्केत गर्छ। सबै कुराको ज्ञान मान्छे स्वयमले आफ्नो विवेकले हासिल गर्न सक्छन् भनेको छ। अर्थात् ज्ञानसत्ताको निर्माण ईश्वरले नभई मानवले नै गर्छ भन्ने मुन्धुमले बताउँछ। त्यही भएकाले मानवलाई माङ्सा अर्थात् देवसन्तान वा देवताको पनि बिँडो थाम्नेजन भनिएको होला। अलि पछि हाङ्सा अर्थात् राजसन्तान पनि भनिएको छ।
हाङ्साको सन्दर्भ आयो। हाङ भनेको राज्यसत्ता सञ्चालन गर्ने व्यक्ति हुन्। त्यसो भए मुन्धुमले राज्यको परिकल्पना पनि गरेको होला नि?
मुन्धुमले राज्य यस्तै हुनुपर्छ भन्ने ठोस परिकल्पना गरेको त छैन। यद्यपि‚ त्यसको सङ्केत भने गरेको छ। ‘तङ्सिङ तक्मा मुन्धुम’ मा लामो यात्रा वर्णन छ। त्यहाँ माङ चोःत्लुङ (सिद्धिस्थल), हाङ चोःत्लुङ अर्थात् नेतृत्व वा राजकाज गर्ने स्थलको वर्णन छ। उक्त मुन्धुममा उल्लेख भएको यात्रामा एउटा साम्बा (गुरु) हुन्छन्। उनका आङ्लाङ्गोबा र साङ्लाङ्गोबा भन्ने सहयोगी हुन्छन्। उनीहरू कोही अगाडि वा कोही पछाडि नभई सँगै यात्रा गर्छन्। एकापसको रेखदेख गर्दै यात्रा गर्छन्।
यात्राका क्रममा पशुपन्छीको पनि सहयोग लिन्छन्। विभिन्न पेशा अँगालेका व्यक्तिहरूको सल्लाह अनुसार अघि बढ्छन्। यसले एक जना व्यक्ति मात्र सर्वोच्च हो, उसकै नेतृत्वमा रहनुपर्छ भन्ने देखाउँदैन। यहाँ त सामूहिकताको कुरा गरिएको छ। नेतृत्वकर्ताले सबैलाई समान व्यवहार गर्नुपर्छ‚ सबैको सहयोग र सल्लाह र विवेक अनुसार चल्नुपर्छ भन्ने सन्देश छ।
समाज परिचालनबारे उल्लेख भएको मुन्धुममा अर्थतन्त्रबारे चाहिं के छ?
मुन्धुमले हरेक चिजको मूल्य हुन्छ भन्ने शिक्षा दिएको छ। यस्तै‚ सित्तैमा कसैको परिश्रम उपयोग गर्नु हुँदैन भन्ने पनि सन्देश दिएको छ। यदि कसैले सित्तैमा दिए वा लिए त्यसको मूल्य कुनै कालखण्डमा बुझाउनुपर्छ भन्दछ।
उदाहरणका लागि कुनै व्यक्तिको मृत्यु भएपछि मृत शरीर गाड्नुअघि माटो खरीद गर्नुपर्ने संस्कार लिम्बूहरूमा छ। मुन्धुममा माटोका धनीलाई खाम्बोङ्बा लुङ्बोङ्बासा भनिन्छ। मृत शरीर गाड्नुअघि उनीहरूको स्वीकृति लिनुपर्छ। उनीहरूसँग माटो माग्नुपर्छ। मानव आकाश, जल, जमीन सबैको धनी होइन, त्यसका आ-आफ्नै धनी छन्। त्यसैले विना मूल्य वा मान मनितो नगरी त आकाश, जल, जमीनको पनि उपयोग गर्नु हुँदैन भन्ने शिक्षा मुन्धुमले दिएको छ।
मुन्धुममा कुनै कुरा विना मूल्य उपभोग गर्नु हुँदैन भन्ने उल्लेख भए जस्तै अन्य नैतिक शिक्षा के के छन्?
मानव अन्य जीवजन्तुभन्दा केही विवेकी, बुद्धिमान् भए पनि चराचर जगत् उसको मात्र होइन भन्ने शिक्षा मुन्धुमले दिएको छ। यस्तै, अग्रज तथा महिलालाई सम्मान गर्नुपर्छ भन्ने उल्लेख छ। प्रकृति, सृष्टि र ज्ञानको हिसाबले पुरुषभन्दा महिला अग्रज हो भनी उल्लेख गरिएको छ। किनकि‚ महिलालाई ज्ञान र सृष्टिको पनि स्रोतका रूपमा लिइएको छ।
मुन्धुममा हाडनाता सम्बन्धबारे व्यापक उल्लेख भएको पाइन्छ। यस्तो सम्बन्धले घरपरिवार मात्र नभई समाजलाई नै बिटुलो बनाउने, बिथोल्ने उल्लेख छ। एकले अर्को व्यक्तिसँग कसरी र कस्तो व्यवहार गर्ने? मान्छेले पशुपन्छीसँग पनि कस्तो व्यवहार गर्ने भन्ने शिक्षा पनि मुन्धुमले दिएको छ। मान्छेले आफ्नो जीवन चलाउन मानव मात्र नभई पशुपन्छीको समेत सहयोग लिएको पाउँछौं। तर, त्यो सहयोग सित्तैमा लिनु हुँदैन भन्नेतर्फ पनि सजग गराइएको छ।
प्रायः ‘मुन्धुम’ मात्र सुन्दै‚ पढ्दै आइएको थियो। तपाईंले सम्पादन गर्नुभएको पुस्तकको नाममा मुन्धुमको अगाडि ‘साम्जिक’ राखिएको छ। साम्जिक भनेको के हो?
मुन्धुमले शास्त्र भन्ने बृहत् अर्थ दिन्छ। साम्जिकले भने मुन्धुमलाई विशिष्टीकृत गर्छ। साम्जिक शब्द ‘साम्’ र ‘सिक्’ शब्द मिलेर बनेको हो। साम् भनेको आत्मिक कुरा र सिक् भनेको ज्ञान हो। यसरी मुन्धुम विषयगत, आत्मगत वा आध्यात्मिक ज्ञान हो भन्ने जोड दिन पनि साम्जिक शब्द राखिएको हो।
करीब दुई हजार पृष्ठको पुस्तक सम्पादन तथा अनुवाद गर्दा के-कस्ता अप्ठ्यारा बेहोर्नुभयो?
मुन्धुमलाई मान्ने समुदायमा हजारौं वर्षसम्म गुरुले चेलालाई मुन्धुम सुनाउँदै आएका थिए। यही क्रममा एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै आएको थियो। यसरी हस्तान्तरण हुँदा एकातर्फ मुन्धुमका कतिपय कुरा हराउँदै गयो। अर्कातर्फ पछिल्ला पुस्तामा मुन्धुमबारे चासो घट्न थाल्यो। यसबाट मुन्धुम जान्ने पुस्ता सकिएसँगै मानव जगत्लाई नै ज्ञान दिने र अतीतलाई बुझ्ने मुन्धुम हराएर जाने सम्भावना बढ्यो।
त्यसैले मुन्धुम बचाइराख्न लिखित स्वरूपमा ल्याउनुपर्छ भनेर ताप्लेजुङको तमोर खोला, मेवा खोला र फावा खोलातिरका अग्रज, मुन्धुमका अभ्यासकर्ता य़ेबा पूर्णबहादुर तबेबुङ 'कमल'‚ य़ेबा खड्कबहादुर इधिङ्गो‚ साम्बा बुद्धिराज मादेन‚ फ़ेदाङ्मा मेघराज इधिङ्गो र युमा भक्तिदेवी फुरुम्बो लगायतको समूह मुन्धुम सङ्कलनमा लाग्नुभयो। आफूले जानेको टिपोट गर्नुभयो। त्यसलाई पुस्तकको स्वरूपमा ल्याउन अनुवाव, सम्पादन र संयोजन कार्यको आवश्यक थियो। त्यही क्रममा यो जिम्मेवारी मलाई आइपुग्यो।
यही सेरोफेरोमा काम गरिरहेकाले मैले उहाँहरूको प्रस्तावलाई स्वीकारें। यसअघि नेपालीमा कहिलै अनुवाद नगरिएको कतिपय याक्थुङ भाषाका शब्दलाई नेपालीमा अनुवाद गर्न धेरै कठिन भयो। कुनै शब्द, अनुच्छेद अनुवाद गर्न त हप्तौं घोरिनुपर्यो। धेरै अग्रजसँग सोधपुछ गर्नुपर्यो। यसका लागि महिनौंसम्म लेखकहरू रहेको ठाउँ झापा, उहाँहरूका गुरु रहनुभएको ताप्लेजुङ बसें। यसमा सोचेभन्दा धेरै समय र मेहनत गुज्रियो ।
लिम्बूहरू विभिन्न थुम‚ क्षेत्रमा रहेकाले मौखिक रूपमा रहँदा मुन्धुममा विविधता आयो होला, त्यसलाई पुस्तकमा कसरी सम्बोधन गरिएको छ?
मुन्धुम मान्ने विभिन्न समुदाय याक्थुङ (लिम्बू)‚ राई‚ सुनुवार र याक्खा लगायतका मुन्धुममा केही फरक छ। याक्थुङ मुन्धुममा पनि क्षेत्र तथा भूगोलको हिसाबले केही विविधता छ। त्यसलाई सम्बोधन गर्न सङ्कलकहरूले सबै थुम, क्षेत्रका मुन्धुमविद्, अभ्यासकर्तासँग छलफल गर्नुभएको छ। तर‚ यो पुस्तक मुन्धुमको उद्गमस्थल मानिने तमोर खोला क्षेत्रमा अलि बढी केन्द्रित छ।
यस्तो महत्त्वपूर्ण र हराउन लागेको मुन्धुम एउटा संस्थाले प्रकाशन गरेको छ‚ सरकारी निकायबाट सहयोग नभएकाले यसरी प्रकाशन गर्नुभएको हो?
मुन्धुम सङ्कलकहरूले यति ठूलो आकारको पुस्तक प्रकाशन गर्ने भनेर यो काम शुरू गर्नुभएको थिएन। तर‚ काम गर्दै जाँदा मुन्धुममा भएका ज्ञान याक्थुङहरूका लागि मात्र नभई सबै समुदायका लागि पनि हो भन्ने लागेपछि नेपालीमा पनि अनुवाद गर्ने सोच भयो। त्यसपछि आकार बढ्दै गयो। यो कुरा शुभेच्छुकहरूलाई सुनाउँदा आफ्नो काम आफैंले नै गर्नुपर्छ भन्ने मनकारीहरू भेटिए। हङकङ, बेलायतमा रहनुभएका याक्थुङहरूले गाँस काटेर सहयोग गर्नुभयो।
यसको आर्थिक योगदान र सङ्कलनको पाटोमा विशेष भूमिका निर्वाह गर्नुहुने महानुभावहरू युकेबाट मनबहादुर माबोहाङ, नरेन्द्र माबोहाङ, लोकेन्द्र तबेबुङ, दिलसिङ् मेन्याङ्बो र कृष्णभक्त फेम्बु हुनुहुन्छ। हङ्कङबाट विजय कङ्लिबा र शेरबहादुर लक्सम्बाको भूमिका छ। सहयोगी टीकाराम सम्बाहाङ्फे र उहाँकी श्रीमती शशीकला वनेमले आफ्ना प्रातः बुबाआमाको सम्झनामा पाँच लाख रूपैयाँसम्म सहयोग गर्नुभयो। लाख रुपैयाँ सहयोग गर्नुहुने धेरै हुनुहुन्छ।
सहयोगका लागि नेपाल प्रज्ञा-प्रतिष्ठान‚ साझा प्रकाशन जस्ता सम्बन्धित निकायमा नगए पनि स्थानीय तहमा भने सङ्कलकहरू जानुभयो। तर, ती निकायबाट पनि अपेक्षाकृत सहयोग भएन। यद्यपि, यो मुन्धुम ग्रन्थ दुःखसुख छापियो। यसरी प्रकाशित यो मुन्धुमको पहिलो संस्करण बिक्री भइसकेको छ।