‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
![‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’](https://www.himalkhabar.com/uploads/posts/800X600/machala_jha_1680873035.jpg)
‘मैथिली पदावलीले नै विद्यापतिको नाम चम्किएको हो। नेपाल र भारतमा मैथिली साहित्यमा उनी जस्ता कवि अर्का जन्मिएका छैनन्।’
त्रिभुवन विश्वविद्यालयकी हिन्दी विषयकी प्राध्यापक हुन्, डा. मंचला झा। पहिलो कृति महाकवि विद्यापति और नेपाल मार्फत झाले लेखकको परिचय बनाएकी छन्। भर्खरै बजारमा आएको यो हिन्दी भाषामा लेखिएको गैरआख्यान पुस्तक हो।
सन् १३८० मा जन्मिएका विद्यापतिको ८० वर्षको उमेरमा सन् १४६० मा देहान्त भएको थियो। लेखक झाले पुस्तकमा महाकवि विद्यापतिको जीवनसंघर्ष समेटेकी छन्। मध्यकालका संस्कृत र मैथिली भाषाका लोकप्रिय कवि विद्यापतिसँगै मिथिला क्षेत्रको साहित्य, संस्कृति र जनजीवनबारे हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा लेखक झासँग अनिता भेटवालले गरेको कुराकानीः
तपाईं त हिन्दी विषयको प्राध्यापक। हिन्दी भाषामा पुस्तक लेख्न अन्य विषय पनि थिए होलान्। किन महाकवि विद्यापति नै रोज्नुभयो?
म मिथिलाकी छोरी हुँ। मिथिलाको साहित्य महाकवि विद्यापतिसँगै जोडिएको छ। उनी विनाको मिथिलाको साहित्य अधुरो हुन्छ।
अर्को, महाकवि विद्यापति कोकिलकण्ठका कवि थिए। उनलाई बाल्यकालदेखि नै सुनें, गुनगुनाएँ र मनन गरें। त्यही कारण पनि उनलाई कसरी अनुसन्धान गर्ने भन्ने मनमा लागिरहेको थियो।
अहिलेसम्म विद्यापतिमाथि नेपालमा कसैले अध्ययन गरेको पाइनँ। त्यसैले मैथिली लेख्नेहरूबाटै अनुसन्धानात्मक कृति नआएपछि आफैंले यो काम गरेकी हुँ।
विद्यापतिको जन्म हुँदा नेपाल-भारत भनेर सीमाङ्कन नभएर मिथिला एउटै राज्य थियो। त्यस्तो स्वतन्त्र राज्यको गर्वमा जन्मिएका विद्यापतिबारे हिन्दीमा लेख्नुको कारण नेपाल र भारत दुवै देशका विद्वान्हरूले पनि पढ्न सकून् भनेर हो।
विद्यापति मल्लकालीन कवि। अहिलेको पुस्ताले उनलाई कसरी बुझ्नुपर्छ?
विद्यापति मिथिलाका विद्वान् हुन्। उनी मैथिल लोकसङ्गीतका गायक र गीतकार पनि थिए। मैथिली पदावलीले नै विद्यापतिको नाम चम्किएको हो। नेपाल र भारतमा मैथिली साहित्यमा उनी जस्ता कवि अर्का जन्मिएका छैनन्। त्यसैले उनलाई विश्वकविका रूपमा बुझ्नुपर्छ।
नेपाल, भारत, अमेरिका, मोरिसस, जापान, जर्मनी लगायत देशमा उनको बढी चर्चा हुन्छ। मिथिलाका गौरव र विभूतिका रूपमा सम्मान गर्नुपर्छ।
सन् १३६२ तिर मिथिला राज्यमा राजनीतिक, धार्मिक, सामाजिक उथलपुथल भई अशान्ति मच्चिएको समय थियो। त्यति वेला विद्यापति भने कविता लेखिरहेका थिए भनिएको छ? त्यो कस्तो समय थियो?
त्यो समयमा कविहरूले राजाहरूको गुणगान गाउने र बक्सिस पाउने प्रचलन थियो। महाकवि विद्यापति पनि राजा कृतिसिंह देव, जयसिंह, शिवसिंहको दरबारिया कवि पनि थिए।
त्यो वेला समाजमा हिन्दू-मस्लिमबीच फाटो देखिएको थियो। मुसलमान शासकले हिन्दूमाथि आक्रमण गरेको ऐतिहासिक दस्तावेजमा पनि उल्लेख छ।
त्यही वेला पनि उनले कृतिलता, कृतिपताका कृतिहरू लेखे। ती कृतिकै कारण राजा-महाराजा प्रसन्न भएका थिए। विपत्को समयमा पनि उनका रचनाहरूले राजाहरूलाई प्रसन्न बनाउँथे। अशान्तिको समयमा पनि निरन्तर लेखिरहेकाले नै उनलाई तत्कालीन राजा शिवसिंहले ‘अभिनव जयदेव’ को उपाधि प्रदान गरेका थिए।
सन् १४०३ मा राज शिवसिंहको राज्याभिषेक भएको थियो। सन् १४०४ मा ओइनवार वंशमाथि मुस्लिमहरूले आक्रमण गरे। त्यसपछि उनी नेपाल आएका थिए। शिवसिंह पनि सँगै नेपाल आएका थिए। तर, फेरि युद्धमा गएपछि फर्किएर आएको इतिहास छैन। उनकी श्रीमती लखिमादेवी भने विद्यापतिसँगै नेपालमा नै बसेको ऐतिहासिक दस्तावेजहरूले देखाउँछन्।
विद्यापतिले लखिमादेवीलाई सहयोग गरे। राजाको वियोगमा लखिमादेवीलाई उदास देख्दा सम्झाउने पनि गरेको पाइन्छ। त्यस वेला पनि लखिमादेवीलाई राजा फर्केर आउने आश्वासन दिंदै भावविभोर हुँदै रचनाहरू सिर्जना गरेको पाइन्छ।
विद्यापति नेपालमा रहँदा तत्कालीन शासकहरूमा पनि मिथिलाको प्रभाव परेको र एक-अर्काेलाई सहयोग गरेको भनिन्छ। त्यो कसरी सम्भव भयो?
महाकवि विद्यापतिले सप्तरीको प्रगान्नामा १२ वर्ष बिताएका थिए। त्यति वेला नै पशुपतिनाथको दर्शन गर्न आएको हुन सक्ने इतिहासका पुस्तकहरूमा अनुमान गरिएको छ। त्यो वेला काठमाडौंमा मल्ल राजाहरूको शासन थियो। त्यसअघि उनले गोरक्ष विजय नाटक पनि लेखेका थिए। त्यस नाटकमा नेपालका राजगुरू गोरखनाथ तथा उनको गुरु मत्स्येन्द्रनाथको कहानी वर्णन गरिएको छ। उनको त्यो लेखनमा त्यस वेलाको मत्स्येन्द्रनाथको यात्रा अवलोकन गरेको जस्तो पनि देखिन्छ।
मल्लकालमा कर्नाटक वंशका राजा हरिसिंह देव महाराज सिम्रौनगढमा आक्रमण भएपछि काठमाडौं आएका थिए। उनको विवाह नेवारी कन्या देवलदेवीसँग भयो। यसबाट पनि काठमाडौं उपत्यका र नेवारी सभ्यतामा मिथिलाको प्रभाव परेको देखिन्छ। इतिहासकारहरू विद्यापति पूर्वजसँगै काठमाडौं आएको बताउँछन्। त्यसपछि तत्कालीन मल्लराजामा पनि मिथिला साहित्यको प्रभाव परेको देखिन्छ।
![](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/dr.manchala%20jha/manjala%20jha%20(1).jpg)
विभिन्न समयमा तत्कालीन शासन व्यवस्था र शासकहरूका कारण साहित्य सिर्जनामा कठिनाइ भएको पाइन्छ। विद्यापतिलाई उनको समयमा लेख्नका लागि चुनौती थियो कि थिएन?
त्यो समयमा लेखकलाई अङ्कुश लगाउने गरिएको थिएन। उनलाई कहिल्यै प्रतिबन्ध लगाएको पाइएन। त्यस वेला नेपालमा साहित्यको विकास नै भएको थिएन। उनले पहिले अवधि भाषामा, त्यसपछि संस्कृत र मैथिलीमा निर्बाध रूपमा लेखेको पाइन्छ। कृतिलता र कृतिपताका अवधी भाषामा छ। ‘दुर्गा तरङ्गिणी’ देखि गङ्गावाक्यावली लगायत सयौं कृति संस्कृतमा छन्। त्यसपछि सबैभन्दा प्रशंसा भएको मैथिली पदावली कृति शृङ्गारको भक्तिभावमा छ।
लेखक तथा साहित्यकारलाई त्यो वेला धेरै सम्मान थियो। राजाहरूलाई बन्दी बनाउँदा विद्यापतिले केही विनयशील पंक्तिहरू मुस्लिम शासकहरूलाई सुनाउँदा उनीहरूले केहीलाई मुक्त गरेको पनि इतिहासमा लेखिएको पाइन्छ। मध्यकालको समयमा लेखन वा साहित्यलाई कुनै रोकटोक थिएन, बरु सम्मान दिइन्थ्यो। त्यसैले विद्यापतिले लेखिरहे। गीतिकाव्य, भक्ति र शृङ्गार, धार्मिक पथ लगायतका विधामा लेख्न उनलाई कुनै कठिनाइ भएन।
विद्यापतिलाई भक्तिकवि कि शृङ्गारकवि भन्नेमा सधै मतभिन्नता देखिन्छ। खासमा उनी के हुुन्?
विद्यापतिको सन्दर्भमा यो द्विविधापूर्ण प्रश्न छ। कहिले उनका पदावलीलाई पढ्दा यति भक्तिमा डुबिन्छ कि, लाग्छ- उनी पूरा भक्तिकवि हुन्। फेरि शृङ्गारका कविता पढ्दा लाग्छ कि उनी जस्तो शृङ्गारको कविता लेख्ने विरलै पाइन्छन्। वास्तवमा उनी भक्तिकवि पनि हुन्, शृङ्गार कवि पनि हुन्।
उनले राधाकृष्णको वर्णन गरेको हेर्दा पूरै शृङ्गारिक कवि देखिन्छन्। फेरि शिव, शाक्त, वैष्णवका कविता पढ्दा भक्तिकवि लाग्छन्। अहिले पनि मिथिलाका गाउँमा उनका कविता ‘हे भोला नाथ, कखनहरण दुःख’ भनेर भजन गाइन्छन्। त्यसैले यसमा हामीले विवाद नगरी उनलाई शृङ्गार र भक्ति दुवै विधाका कवि भनेर मान्नुपर्छ।
विद्यापतिले लेखेका मैथिली भाषाका भजनहरू अहिले पनि ललितपुरको कृष्ण मन्दिर, भक्तपुरका भजन मण्डलीमा गाइन्छन्। मैथिली भाषाका भजन कसरी नेवार समुदायले अनुसरण गर्यो?
यो सबै मल्लकालमा कविता, नाटक लेख्ने प्रचलनले सम्भव भएको हो। भारत साहित्यमा विकसित भए पनि सबैभन्दा पहिला नाटक लेखनको काम नेपालमा भएको थियो। त्यो पनि मैथिली भाषामा भएको छ। जगज्योति, सिद्धनरसिंह मल्ल राजाहरूले पनि साहित्य रचना गरेका छन्।
मैथिलीको भजन नेवारीमा गाउने प्रचलन भने मल्लकालदेखि चलेको पाइन्छ। मल्ल राजाकी छोरी देवलदेवीसँग कर्नाटक वंशका राजा हरिसिंह देव महाराजसँग विवाह भएको थियो। त्यसमा पनि कर्नाटक वंशमा राजा हरिसिंह देव महाराज सिम्रौनगढ विध्वंसपछि नेपाल आएका थिए। उनी नेपाल आउँदा धेरै मैथिली बाह्मणहरू पनि आएका थिए। ती बाह्मणको वंश नै अहिलेको भक्तपुर, ललितपुरका मिश्र, झाहरूसँग सम्बन्धित छ। पहिलादेखि नै पाटनका मन्दिरहरूमा पनि मैथिली बाह्मण नै पुजारी हुन्थे।
त्यसैले पाटनको कृष्ण मन्दिरमा मिथिलाका कवि विद्यापतिका कृष्ण-राधाका भजनहरू गाउने गरिन्थ्यो। मैले पूजारीहरूसँग पनि कुरा गरें। उनीहरूले पहिल्यैदेखि भक्तिले गाउने गरेको सुनाए। इतिहासकार सत्यमोहन जोशीले पनि यसमा मलाई सबैभन्दा धेरै जानकारी दिएका थिए।
![](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/dr.manchala%20jha/manjala%20jha%20%286%29.jpg)
इतिहासकार सत्यमोहन जोशीले केकस्ता नयाँ जानकारी दिनुभयो?
सत्यमोहन जोशीले ‘नेपाल र भारतको मिथिलाले विद्यापतिलाई बिर्सन सक्छ, तर हामी नेवारले कहिल्यै बिर्सन सक्दैनौं’ भनेका थिए। जोशीकी आमाले पाटनको कृष्ण मन्दिरमा विद्यापतिको भजनहरू गाउँदी रहिछन्। आमाले गाएको भजन सुनेर सत्यमोहन जोशी पनि भजनमा अभ्यस्त भएका रहेछन्।
अहिले पनि विद्यापतिको सङ्गीत विभिन्न पर्वहरूमा गुञ्जायमान हुन्छ। कार्तिक नाच, मत्स्येन्द्रनाथको यात्रामा पनि मैथिली मिसिएको बताएका थिए।
त्यस्तै, बखुन्डोलमा भएको नेवारी समुदाय पनि कर्नाटक वंशको हो भन्ने जानकारी दिएका थिए। अहिले पनि विद्यापतिका गीतहरू गाइने गरेको बताउँदै त्यसबारे लेखिएको पुस्तक नै दिएका थिए। त्यो पुस्तकबाटै यसमा केही भजन राखेकी छु।
अघि भारतमा भन्दा पहिले नेपालमा मैथिली नाटक स्थापित भइसकेका थिए भन्नुभयो। त्यसबारे थप बताइदिनुहुन्छ?
त्यो वेला मुसलमान शासकहरूको आक्रमणले गर्दा भारतमा भएको मिथिलाको साहित्य सबै नेपालमा ल्याएर संरक्षण गरिएको थियो। नेपालमा भने आक्रमण नभएकाले ती दस्तावेज सुरक्षित थिए। ती दस्तावेज राष्ट्रिय अभिलेखालयमा अझै पनि सुरक्षित छन्। तिनै दस्तावेजमध्ये विद्यापतिका पाण्डुलिपि छन्। जहाँबाट बिहार परिषद्ले विद्यापतिको पदावली पुस्तक नै प्रकाशन गर्यो।
भारतमा नाटकको उत्पति १८औं शताब्दीमा वृजभाषाको साहित्यबाट शुरूआत भएको मानिन्छ। जब पण्डित हरिप्रसाद शास्त्रीले नेपाल आएर अभिलेखालयमा भएका मिथिलाका नाटकहरू हेरे, त्यसपछि नाटकको संसारमा उथलपुथल आयो। उनको अनुसन्धानले नेपालमा सन् १६०० सम्म नेपालमा मैथिली भाषाका नाटक विकसित भइसकेका थिए भन्ने देखायो।
त्यससँगै डा.दशरथ ओझाले पनि भारतमा नाटक लेखन शुरू हुँदै गर्दा नेपालमा नाटक धेरै विकसित र स्थापित भइसकेको आफ्नो पुस्तकमा लेखेका छन्। त्यसैले भारतमा मध्यकालमा विभिन्न आक्रमण भइरहँदा नेपालमा भने साहित्य, नाटक विकसित भइरहेको थियो भन्न सकिन्छ।
अहिले त मिथिला क्षेत्र भारतमा धेरै र नेपालमा थोरै पर्छ। यही कारणले पनि भारतको तुलनामा नेपालमा मिथिला सभ्यता, संस्कार, साहित्य लगायतको पहुँच र अभ्यास कम भएको हो?
नेपालमा मिथिलाको गौरवमय इतिहासलाई मल्ल र शाहकालमा धेरै महत्त्वका साथ लिइएको थियो। आधुनिक कालपछि स्खलित अवस्थामा आयो। धेरै भूभाग भारतमा परे पनि मुख्य भूभाग जनकपुर भने नेपालमा नै छ। आज भारत र नेपालको मैथिली संस्कारमा केही कुराले पक्कै फरक पारेको छ। नेपालमा शासक र शोषित मनोवृति जबर्जस्ती लादिएको छ। त्यसले गर्दा मान्छे हीन भावनाले ग्रसित हुँदा धेरै कुरा ओझेलमा छन्। जस्तो, यहाँ नेपाली भाषा राष्ट्रभाषा भयो। नेपाली नबोली सुख हुँदैन।
२०६३ सालको अन्तरिम र २०७२ सालको संविधानले विभिन्न जाति, वर्ग, समुदायलाई समान महत्त्व दिने भन्यो। तर, अहिले शपथ ग्रहणमा नै विभिन्न समुदायबाट भए पनि दौरासुरुवाल, ढाका टोपी लगाउनै पर्ने गरिएको छ। यहाँ धोतीकुर्ता लगाएर शपथ खाने कम छन्। त्यो किन भन्दा अरूले के भन्लान् भन्ने हीन भावना देखिन्छ।
त्यस्तै, राष्ट्रियताको परिभाषा नै विभाजित छ। भारतलाई गाली गर्दा राष्ट्रियता बलियो हुने भ्रम देखिन्छ। त्यसले गर्दा पनि मिथिलाको संस्कार, सभ्यता, संस्कृति, गौरवमय इतिहास ओझेलमा पर्यो।
केही गल्ती मैथिली भाषाविद्हरूको पनि छ। आफूलाई मिथिलाको प्रकाण्ड विद्वान् भन्नेहरूले पनि यस क्षेत्रमा काम गरेका छैनन्। उनीहरू पनि हीन भावनाले नै ग्रसित छन्।
विद्यापतिका सन्तान नेपाल र भारत दुवैतिर छन्, क्षमतावान् पनि छन्। तर, नेपालमा यसको विकास हुन सकेन।
अहिले केही व्यक्ति लागेका छन्। जस्तो- सुन्दर झा शास्त्री, राजेश्वर नेपाल, राजेन्द्र विमल, धीरेन्द्र प्रेमर्षि लगायतले काम गरिरहेका छन्। तैपनि थप खोज अनुसन्धान हुन सकेको छैन।
विद्यापति कोष छ। नेपाल सरकारले रकम पनि दिने गरेको छ। तर, काम गर्ने हाम्रो पुस्ताको ऊर्जा नै देखिंदैन।
मिथिला सभ्यताले नेपाल र भारतलाई कसरी जोडेको पाउनुहुन्छ?
नेपाल र भारत दुवै स्वतन्त्र र स्वाधीन देश हुन्। दुवैको छुट्टै अस्तित्व छ। तैपनि दुवै देशमा सांस्कृतिक, भौगोलिक, साहित्यिक, सामाजिक, वेशभूषामा समानता छ। अझ सांस्कृतिक रूपमा जनकपुर र अयोध्यालाई राम र सीताले जोडेको छ। तर, पछिल्लो समय दुई देशबीच वैवाहिक सम्बन्ध भने कम हुँदै गएको छ। यो नागरिकताको विषयले पनि हो।
जनस्तरमा हेर्दा भारतमा नेपालीलाई सम्मान नै गरिन्छ। यसमा विद्यापति जस्ता महान् कविको रचनाले सेतुको काम गरेको छ। दुवै देशको भक्तिको भावधारा एक छ। किनभने पहिला तुलसी रामायण, अनि वाल्मीकि रामायण, मीरा, कबिर, विद्यापतिका भजन दुवै देशका घर घरमा बज्छन्।
नेपाल र भारतको राजनीतिक सम्बन्धमा उतारचढाव आउँछ, तर जनस्तरको सम्बन्धमा आज पनि उही मिठास छ। त्यसमा पनि साहित्यले जोडेको छ।
![](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/dr.manchala%20jha/manjala%20jha%20(5).jpg)
विद्यापतिका कृति अहिले पनि राष्ट्रिय अभिलेखालयमा सुरक्षित छन्। १५० पाण्डुलिपिमध्ये १३ वटाको भारतीय र एउटाको जर्मन नागरिकले अध्ययन गरेका छन्। तर, नेपालमै भएका यी दस्तावेज किन अध्ययन, अनुसन्धानको प्राथमिकतामा पर्न सकेनन्?
यो संवेदनशील र एकदमै दुःखद कुरा हो। नेपालमा अनुसन्धानको संस्कार नै देखिंदैन। केही भए पनि नेपाली भाषा साहित्यमा होला। तर, मैथिलीमा अध्ययनका लागि पहाड जति विषय छन्। कसले अध्ययन गर्ने? अहिलेको पिंढी उदासीन छ।
मैले यो पुस्तक लेखनका क्रममा अनुसन्धान गर्दा भारतका अनुसन्धाता, लेखकले नेपाल आएर विद्यापतिबारे हजारौं कृति लेखेको पाए। तर, नेपालबाट प्रकाशित एउटा मात्र पुस्तक पाए। मैथिलीका विद्वान्हरू र राज्य पनि उदासीन देखिन्छ। सरकार अस्थिर हुँदा नीति पनि अस्थिर छ। नीति नै अस्थिर भएपछि प्राथमिकता बदलिरहन्छन्। राजनीतिक खेल शुरू हुन्छ। त्यसैले साहित्य, सिर्जनामाथिको राजनीति रोकिनुपर्छ।
अहिलेसम्म मध्यकालीन मिथिला साहित्यबारे कुराकानी गर्यौं। अहिले आधुनिक मिथिला साहित्य चाहिं कुन अवस्थामा छ, के भइरहेको छ?
नेपालमा दोस्रो भाषाका रूपमा मैथिली भाषा छ। अहिले मिथिलाका केही आधुनिक कविले काम त गरिरहेका छन्, तर जति गर्नुपर्ने त्यो छैन। राज्यको पनि उपेक्षा छ। देश संघीयतामा गएपछि आधुनिक मिथिला साहित्यलाई उठाउने काम पनि प्रदेश र स्थानीय सरकारको पनि हो।
मधेश प्रदेश नै मिथिलाको गढ हो। जसको राजधानी जनकपुर हो। मिथिलाका सात वटा जिल्लामा कसरी मिथिला भाषाको विकास गर्ने भन्ने ध्यान पुगेको देखिंदैन। मधेशका मुख्यमन्त्री र संस्कृति मन्त्रीले किन यो काम गर्दैनन्? अहिलेका मिथिला साहित्यका हस्तीहरूसँग बसेर किन यसको अध्ययन, अनुसन्धान र प्रचारप्रसारमा ध्यान दिएका छैनन्? किन पुस्तकालय खोल्दैनन्?
किनभने संस्कार नै छैन। बजेटको मात्र अभाव हैन। बजेट त बर्सेनि फिर्ता हुन्छ। बरु जर्मनी, अमेरिकामा मैथिली भाषा र साहित्यको अध्ययन भएको छ। त्यसैले अब आधुनिक मिथिला क्षेत्रका सर्जकले पनि आफैं काम गर्नुपर्छ।
अन्त्यतिर, विद्यापतिको जीवनकर्मलाई खोजेर पुस्तक त प्रकाशित गर्नुभयो। पुस्तक आफैंमा एउटा उपलब्धि त हो, तैपनि यो अध्ययनका क्रममा अर्को के कुरा प्राप्त गरें भन्ने लाग्छ?
यो पुस्तक लेखनको अन्तिम समयतिर त मेरो दृष्टि गुमे जस्तो भएको थियो। सबै शून्य जस्तो लागेको थियो। अध्ययनमा डुब्नु अत्यन्तै गाह्रो काम रहेछ।
आख्यान लेख्दा चल्दैन कि, बिक्दैन कि भन्ने मात्र चिन्ता हुँदो रहेछ। गैरआख्यान र खोजका पुस्तकमा एउटा गलत कुरा आयो भने जीवनभर उत्तर दिनुपर्छ। मैले अहिलेसम्म सबैबाट राम्रो प्रतिक्रिया पाएकी छु। त्यसैले यो पुस्तक प्रकाशन बाहेक मैले केही पाएकी छु भने त्यो आत्मसन्तुष्टि हो। आत्मसन्तुष्टिभन्दा अर्को सुख केही हुँदैन।
कुराकानी सक्दासक्दै, विद्यापतिका भजनमध्ये तपाईंलाई मन पर्ने कुनै पंक्ति छन् भने सुनाउनुहुन्छ?
उनी त कोकिल कवि हुन्। आज पनि हामी कुनै शुभकार्यको थालनी गर्दा उनलाई नै सम्झन्छौं। उनले पहिले शृङ्गार कविता लेखेका थिए। जस्तोः
ससन परसे खसु अम्बर रे
देखल भनि देह
नव जलधर तर चमकए रे
जनि बिजुरि रेह
आज देखल धनि जाइत रे।
यी पंक्तिहरूले नायिकाको वर्णन गर्दै उसको शरीरको व्याख्या गर्दै प्रेम अङ्कुरित भएको बताएका छन। तर, जब उनी आफ्ना आखिरी दिनहरूमा थिए, त्यति वेला भक्तिभावको लेखन गर्न थाले। जस्तो:
कखन हरब दुख मोर, हे भोलानाथ
दुःखहि जनम भेल दुःखहि गमाओल,
सुख सपनहु नहि भेल, हे भोलानाथ
कखन हरब दुःख मोर, हे भोलानाथ।
यसको अर्थ हो- हे भोलानाथ, म त दुःखमै जन्मिएँ, दुःखमै हुर्किएँ। तिम्रै सम्झना एक मात्र हो, म अब तिम्रो चरणको सेवक हुँ। यसरी भक्तिभावले ओतप्रोत भजनहरू मिथिलाका मठमन्दिर, घरगाउँमा आज पनि गुन्जिरहेका छन्।
किताबका कुराका थप सामग्री: