२५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
‘अहिले नेपालबाट जति पनि वनस्पति विदेश पठाइँदै छ, ती सबै गुन्द्रुकको भाउमा गइरहेका छन्। जंगलबाट टिपेर ल्यायो, सुकायो, अनि विचौलियामार्फत व्यापारी हुँदै भारत पठायो।’
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय वनस्पति विभागका पूर्व प्रमुख प्राध्यापक कृष्णकुमार श्रेष्ठको ३८ वर्ष प्राध्यापनमा बितेको छ। श्रेष्ठका पाँच वटा पुस्तक प्रकाशित छन्। साथै तीन वटा पुस्तकको सहसम्पादन गरेका श्रेष्ठका कैयौं अनुसन्धान पत्र प्रकाशित छन्।
फ्लोरा अफ नेपालका एक सम्पादक रहेका श्रेष्ठ ‘फ्लोरा अफ पान हिमालय’ को सल्लाहकार बोर्डका सदस्य पनि हुन्। ‘राष्ट्रिय वनस्पति पुरस्कार २०७८’ प्राप्त पछिल्लो पुस्तक प्लान्ट्स अफ नेपालबारे हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा लेखक श्रेष्ठसँग महेश्वर आचार्यले गरेको कुराकानी:
यो पुस्तक प्लान्टस् अफ नेपाल कसरी तयार भयो? यसको पृष्ठभूमिबारे केही जानकारी पाऊँ न?
यो पुस्तक मसँगै प्रवीण भण्डारी र सन्देश भट्टराईको संलग्नतामा तयार भएको हो। पुस्तक तयारीमा प्रोफेसर, साइन्टिफिक अफिसर र पीएचडी स्कलर गरी तीन पुस्ताका तीन जनाको सहभागिता छ।
सन् १९९७ मा लन्डनको प्राकृतिक विज्ञान संग्रहालयमा ‘पोस्ट डक्टरल’ शोधका लागि दुई वर्ष बसेको थिएँ। त्यति वेला ‘रिप्याट्रिएशन अफ प्लान्ट इन्फर्मेशन फर फ्लोरा अफ नेपाल’ परियोजना अन्तर्गत नेपालभर पाइने वनस्पतिको डेटा तयार पारेको थिएँ। यो परियोजना त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति विभाग र लन्डनको प्राकृतिक विज्ञान संग्रहालयको सहकार्यमा भएको थियो।
त्यो डेटाको आधारमा सन् २००० मा एन्नोटेटेड चेकलिस्ट अफ फ्लावरिङ प्लान्ट्स अफ नेपाल किताब तयार पारेका थियौं। त्यो नेपालबाट प्रकाशित वनस्पति विधाका किताबमध्ये विश्वव्यापी रूपमा धेरै ‘साइटेशन’ हुने किताबमा पर्छ। नारायणप्रसाद मानन्धर लिखित प्लान्ट्स एन्ड पिपुल अफ नेपालको विश्वव्यापी साइटेसन एक हजार १४० छ भने यो किताबको साइटेशन ७७५ पुगेको छ।
यसपछि पुस्तकलाई अनलाइन डेटाबेसमा लानुपर्छ भनेर यसलाई अमेरिकाको मिसौरी बोटानिकल गार्डेनसँगको सहकार्यमा सन् २००५ मा इफ्लोरा डट ओराजी वेबसाइटमा प्रकाशित गर्यौं। यो अनलाइन संस्करणलाई अहिले पनि अनुसन्धाताले उच्च प्राथकिमकता दिंदै आएका छन्।
पुस्तक प्रकाशित भएको झन्डै दुई दशक भइसकेको छ र कैयौं नयाँ वनस्पति पनि पत्ता लागिसकेका छन्। कैयौं बिरुवाको नाम परिवर्तन भइसकेको छ। त्यसैले यसको अद्यावधिक गर्नुपर्ने देखियो। त्योभन्दा पनि डीएनए सिक्वेन्स र मोलिक्युलर अनुसन्धानमा आधारित भएर बिरुवा वर्गीकरण गर्ने पद्धति शुरू भइसकेको हुँदा त्यो डेटालाई पनि अद्यावधिक गर्नुपर्ने जरुरी देखियो। त्यही क्रममा यो पुस्तकको तयारी थालियो। नयाँ वर्गीकरण अनुसार नेपालमा पाइने वनस्पतिका अद्यावधिक विवरण प्रस्तुत गर्न धेरै समय लाग्ने र एक्लैले गरेर नसकिने हुँदा मेरा दुई विद्यार्थी पनि पुस्तक लेखनमा संलग्न हुनुभयो।
हालसम्म पुस्तकबारे केकस्तो प्रतिक्रिया पाउनुभएको छ?
गत वर्ष भदौमा पुस्तक विमोचन हुँदा पाएको प्रतिक्रियाले खुशी लागेको थियो। विमोचनका वेला नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)मा आयोजित कार्यक्रममा वरिष्ठ वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ तथा प्राध्यापक रामप्रसाद चौधरीले पुस्तकलाई ‘नेपाली वनस्पतिको इन्साइक्लोपेडिया’ भन्नुभयो। उहाँहरूको त्यस टिप्पणीले उत्साहित छौं। प्रकाशक हेरिटेज पब्लिसर्स एन्ड डिस्ट्रिब्युटर्सले पनि पुस्तकबारे राम्रो प्रतिक्रिया आएको बताएको छ।
.jpg)
पुस्तक तयार गर्न कति वर्ष लाग्यो?
पुस्तकको तयारी मैले सन् १९९७ देखि नै थालेको थिएँ, त्यसको करीब १५ वर्षपछि सन्देश भट्टराई र प्रवीण भण्डारी पनि लेखन कार्यमा संलग्न भए। अवधिका हिसाबले त २५ वर्ष लाग्यो, तर यसमा मेरो अनुभव बाहेक सहलेखकहरूको ज्ञान र परिश्रम पनि परेको छ।
किताबको तयारी कसरी भयो त?
नेपालका वनस्पतिको अभिलेखीकरण गरेर फ्लोरा अफ नेपाल प्रकाशनको महत्त्वाकांक्षी र महत्त्वपूर्ण काम थालिएको थियो। फ्लोरा अफ नेपाल १० खण्डमा प्रकाशन गर्ने नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय अन्तर्गत वनस्पति विभाग, त्रिभुवन विश्वविद्यालय अन्तर्गत केन्द्रीय वनस्पति विभाग र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको अगुवाइमा टोकियो विश्वविद्यालय र सोसाइटी अफ हिमालयन बोटनी जापानबाट र रोयल बोटानिकल गार्डेन, इडिनबरा, संयुक्त अधिराज्यको संयुक्त प्रयासबाट हामीले काम शुरू गरेका थियौं।
यसमा ६ जना सम्पादक छौं। दुई जना जापानबाट र दुई जना संयुक्त अधिराज्यका हुनुहुन्छ। नेपालबाट म र केशवराज राजभण्डारी छौं। उहाँ नेपालका वरिष्ठ वनस्पतिविज्ञ मात्र नभईकन ट्याक्सोनोमीको धरोहर नै हुनुहुन्छ।
फ्लोरा अफ नेपालका लागि चाहिने डेटा हामीले प्लान्ट्स अफ नेपाल पुस्तकमा समावेश गरेका छौं। यस पुस्तकमा नेपालको होचो ठाउँ, समुद्री सतहको ६० मिटरको उचाइमा रहेको झापाको केचनादेखि ६ हजार ४५० मिटरको उचाइमा रहेको सगरमाथा आधारशिविरमा पाइने वनस्पतिको विवरण समावेश छ। पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्मका वनस्पतिको अभिलेख पुस्तकमा छ।
फ्लोरा अफ नेपालमा त्यही काम गर्न हामीले सहकार्य गरेका थियौं। १० वर्षमा तयार गर्ने भनेर शुरू गरिएको काम २० वर्षमा एक खण्ड मात्र (भोलुम ३) तयार भयो। अर्को, तीन वटा खण्ड (भोलुम ४, ७, १०) को काम तदारुकताका साथ भइरहेको छ। सन् २०२४ को डिसेम्बरभित्र तीन खण्ड प्रकाशन गर्ने तयारी छ।
बाँकी खण्ड आउन धेरै समय लाग्ने देखियो र धेरै पाठक तथा अनुसन्धाताको जिज्ञासा समाधानका लागि हामीले यो पुस्तक तयार पारेका हौं। १० खण्डमा आउने आधारभूत जानकारी एउटै खण्डमा निकाल्ने प्रयासस्वरूप पनि यो पुस्तक तयार गरियो।
पुस्तकमा वनस्पतिको वैज्ञानिक नाम, नेपाली नाम, अंग्रेजी नामका साथै ती वनस्पति कुन उचाइमा, कुन क्षेत्रमा र त्यसको नमूना कहाँ सङ्कलित तथा कहाँ भण्डारण गरिएका छन् भन्ने जानकारी समावेश छ। नेपालमा सन् २०२२ अप्रिलसम्म प्रकाशित जति पनि वैज्ञानिक लेख, किताब र राष्ट्रिय-अन्तर्राष्ट्रिय हर्बेरियममा संरक्षित वनस्पति नमूनाको जानकारी छ। यसर्थ, अहिलेसम्म नेपालको वनस्पतिबारे निस्केका किताबमा ११ सय पृष्ठको यो पुस्तक नै अद्यावधिक हो। पछिका दिनमा अरू किताब पनि आउलान् नै, तर अहिलेलाई भने यो अद्यावधिक किताबले वानस्पतिक जानकारी उपलब्ध गराएको छ।
यहाँले फ्लोरा अफ नेपालको प्रसङ्ग उठाइहालेको सन्दर्भमा सोधिहालूँ। फ्लोरा अफ नेपालको ढिलाइ हुनुको कारण के होला?
यसका आन्तरिक र बाह्य दुई कारण छन्। फ्लोराबारे लेख्न कति गाह्रो छ भन्ने दर्शाउन म यहाँ दुई वटा उदाहरण प्रस्तुत गर्छु। चीनमा चिनियाँ भाषामा ५० वर्ष लगाएर पहिला ३० खण्डको फ्लोरा अफ चाइना तयार भयो। चिनियाँ भाषामा प्रकाशित भएकाले अन्तर्राष्ट्रिय पाठकको पहुँचमा पुग्न सकेन। सन् १९७२ मा सम्पन्न त्यो लेखनलाई अंग्रेजी भाषामा लेख्न र अद्यावधिक गर्ने काम चीनले थाल्यो।
त्यसका लागि चीनले अमेरिकाको मिसौरी बोटानिकल गार्डेनसँग सहकार्य गर्यो। त्यो काममा संसारभरका विज्ञ सामेल थिए र २५ वर्षमा आएर सन् २०१३ मा काम सम्पन्न भयो। चीन जस्तो शक्तिशाली राष्ट्रले चिनियाँ भाषाको वनस्पतिको पुस्तकलाई अंग्रेजी भाषामा अनुवाद र अद्यावधिक गर्न २५ वर्ष लाग्यो। चीन हामीभन्दा भूगोलमा मात्रै ठूलो होइन, वनस्पतिको प्रजातिका दृष्टिले पनि सम्पन्न छ। नेपालमा पाइनेभन्दा झन्डै पाँच गुणा बढी वनस्पति चीनमा पाइन्छन्।
.jpg)
अर्को छिमेकी राष्ट्र भारतको वानस्पतिक सम्पन्नता नेपालभन्दा तीन गुणा बढी छ। चीनको भन्दा झन्डै आधा संख्यामा वनस्पति प्रजाति भारतमा छन्। भारतले अहिलेसम्म फ्लोरा लेखनको एक चौथाइ काम पनि सम्पन्न गर्न सकेको छैन। भारतले सन् २०१२ पछि हालसम्म एउटा पनि खण्ड निकाल्न सकेको छैन। पूँजी, स्रोत र साधन हुँदा पनि ठूला राष्ट्रलाई फ्लोरा लेखन सजिलो छैन भने हामीलाई समय लाग्नु त स्वाभाविकै हो।
त्यसैले हामीले १० वर्षमा, २० वर्षमा लेखिसक्छौं भन्न गाह्रो छ। समय लाग्छ। यद्यपि, एउटा समयसीमा तोक्ने क्रममा सन् २०३० सम्म फ्लोरा अफ नेपालका दशवटै खण्ड तयार पार्न कटिबद्ध छौं।
त्यसो भए फ्लोरा लेखनको काम भइरहेको छ, पुस्तक प्रकाशनमा आउन समय लाग्छ भन्ने सोच्नुपर्ने हो?
मैले अघि दुई कारणले ढिलाइ भएको जिकिर गरें। मैले उल्लेख गरेका बाह्य कारण थिए भने केही आन्तरिक कारणले गर्दा पनि ढिलाइ भइरहेको छ। आन्तरिक कारणमा मुख्य कारक फ्लोरा लेखनका लागि अनुभवी विज्ञ (ट्याक्सोनोमिस्ट)को अभाव पनि हो। साथै, फ्लोरा अफ नेपालको तयारीका लागि संलग्न संस्था जसमा वनस्पति विभाग, त्रिवि वनस्पति केन्द्रीय विभाग, नेपाल विज्ञान प्रविधि प्रतिष्ठान (नास्ट)को प्रतिबद्धताको कमी छ।
संरचनागत रूपमा त्रिवि र नास्ट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग निकट छन्। वनस्पति विभाग भने वन तथा वातावरण मन्त्रालयसँग निकट छ। ती दुई मन्त्रालयको समन्वयका साथै राष्ट्रिय योजना आयोगसँग पनि समन्वय गरीकन अर्को पाँच वर्षका लागि चाहिने बजेट छुट्याएर समयसीमा तोकर काम अघि बढाउनुपर्ने देखिन्छ। यदि हामीलाई त्यस्तो दह्रो प्रतिबद्धता आउने हो भने करीब ७५ प्रतिशत काम शीघ्र नै पूरा गर्न सक्छौं। गत वर्षदेखि फ्लोरा अफ नेपालको अनलाइन संस्करण (भोलुम ७ र १०) क्रमिक रूपमा प्रकाशन भइरहेको पनि छ।
फेरि, फ्लोरा लेखनका लागि साह्रै थोरै बजेट छ। बजेटको अपर्याप्तताका कारणले पनि लेखकहरूलाई वनस्पति सङ्कलनका लागि न फिल्ड भिजिटमा जाऊ भन्न सकिने अवस्था छ न त नेपालको वनस्पति सङ्कलित विदेशी हर्बेरियममा गएर अध्ययन गर्न सक्ने अवस्था छ। आफ्नो पेशा-व्यवसायबाट मुक्त भएर फ्लोरा लेखनका लागि समय निकाल्न सक्ने अवस्था छैन।
हुन त विश्वभरि नै फ्लोरा लेखन अवैतनिक रूपमा सम्पन्न हुँदै आएको हो, तर नेपालमा कुनै पनि खालको सहयोगी प्रावधान नहुँदा फ्लोरा लेखनमा ‘इन्सेन्टिभ’ को कमी छ। तैपनि केही न केही ‘इन्सेन्टिभ’को व्यवस्था सरकारबाट गराउन भने सफल भएका छौं। यद्यपि हाम्रो फ्लोरा लेखनको काम बन्द भएको छैन, सुचारु नै छ।
प्रसङ्ग बदलौं, वानस्पतिक स्रोतलाई उपयोग गरेर हामी कसरी समृद्धि हासिल गर्न सक्छौं?
हाम्रो वानस्पतिक स्रोतबाट लाभ लिन पहिला त तिनको अभिलेखीकरण हुनुपर्यो, जसलाई हामी वानस्पतिक भाषामा खोज (एक्सप्लोरेशन), अभिलेखीकरण (डकुमेन्टेशन) र प्रकाशन (पब्लिकेशन) भन्छौं। खोज अन्तर्गत नेपालमा कहाँ कहाँ, के के वनस्पति पाइन्छन् भन्ने पत्ता लगाउने काम पर्छ। त्यसको नाम के हो, कहाँ पाइन्छ, केका लागि उपयोग हुन्छ भन्ने अभिलेख गर्ने काम त्यसमा हुन्छ। साथै, यी वनस्पतिको स्थानीय र अन्तर्राष्ट्रिय उपयोग के छ भन्ने जानकारी पनि सङ्कलन गर्नुपर्ने हुन्छ। हाम्रो गाउँठाउँमा हुने वनस्पतिलाई विदेशमा के कसरी उपयोग गरिंदै छ भन्ने जानकारी हासिल गर्दै त्यसको बजार मूल्यबारे सूचना सङ्कलन गरिन्छ।
अहिले नेपालबाट जति पनि वनस्पति विदेश पठाइँदै छ, ती सबै गुन्द्रुकको भाउमा गइरहेका छन्। जङ्गलबाट टिपेर ल्यायो, सुकायो, अनि बिचौलिया मार्फत व्यापारी हुँदै भारत पठायो। नेपालको जडीबुटी अधिकतर भारत निर्यात हुने गर्छ। त्यसरी आर्थिक समृद्धि हासिल हुन सक्दैन।
अनियन्त्रित सङ्कलनले नेपालका कैयौं वनस्पति लोप हुँदै गएका छन्, कैयौं लोप हुने खतरा पनि छ। त्यसकारण पहिला हामीले हाम्रो वनस्पति चिन्नुपर्यो, तिनका बारे जान्नुपर्यो। अनि हामीकहाँ पाइने वनस्पति जुन विश्वबजारमा राम्रो मूल्यमा बिक्री हुन सक्छ, त्यसलाई उत्पादन तथा बजारीकरण गर्दै जानुपर्छ।

जङ्गलमा भएका वनस्पतिलाई खुला सङ्कलन गर्ने अनुमति नदिई वैज्ञानिक आधारमा सङ्कलनको मापदण्ड तोक्नुपर्छ। जस्तै- जटामसी नै भनौं, त्यो पाइने क्षेत्र गोर्खादेखि, हुम्ला, जुम्ला, मुगु, दार्चुलाको क्षेत्रमा यति बिरुवा सङ्कलन गर्ने र त्यो सङ्कलन गर्दा तिनको जरा र बीउ नमासियोस् भन्नेमा सचेत हुनुपर्छ। अर्को वर्ष अर्को ठाउँमा सङ्कलन गर्ने भन्ने तालिका बनाउनुपर्छ। जथाभावी सङ्कलन गरियो भने त भोलि त्यो बिरुवाको जरै नरहने गरी मासिन जान्छ।
अर्को, सङ्कलित जडीबुटीलाई हामीले यहीं प्रशोधन गर्नुपर्छ। प्रशोधन गरेर तिनका तत्त्वहरू यहीं छुट्याउँदा तेल, औषधि, सौन्दर्य प्रसाधनका वस्तु बनाउन सकिन्छ। त्यस्तै, वाइल्ड इडिबल (खान मिल्ने जङ्गली प्रजाति)बाट मानवीय उपयोगका लागि के के बन्न सक्छ, त्यो अन्वेषण हुनुपर्छ। हामी त सबै कुरा बाहिरबाटै किनेर ल्याउने भयौं।
हाम्रा वनस्पति चिन्न नसक्दा वानस्पतिक स्रोत गुन्द्रुकको भाउमा विदेश जाने भयो र त्यसैबाट आउने उत्पादन महँगोमा किन्नुपर्ने बाध्यता छ। यो त समृद्धिको बाटो होइन। यो अभ्यासलाई चिर्नु नै पर्छ र प्रशोधनको काममा लाग्नुपर्छ। त्यसो हुन सक्दा उन्नतितर्फ अग्रसर हुन सक्छौं। होइन भने हाम्रो देश वनस्पति स्रोतको उपभोग गरेर उँभो लाग्न सक्दैन।
नेपालीले आफ्नै बुद्धिले र स्रोतले मात्र काम गर्दा अघि बढ्न गाह्रो हुन्छ। त्यसका लागि अन्य राष्ट्रहरूसँग सहकार्य गनुपर्छ। सरकार सरकारबीच तथा संस्था संस्थाबीच सहकार्य गर्न सक्छौं। अहिले भएका सहकार्य व्यक्तिगत तहमा सीमित छ। त्यसले राष्ट्रिय आवश्यकता सम्बोधन गर्न सक्दैन। त्यसैले राष्ट्रिय सहकार्य आवश्यक छ। त्यस्तो सहकार्य बहुराष्ट्रिय कम्पनी, अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग गरियो भने निश्चय नै अग्रगामी छलाङ मार्न सक्छौं।
नेपालका फर्मास्युटिकल कम्पनी वा अन्य निजी निकायसँग जडीबुटीको प्रशोधनमा सहकार्य गर्न सकिने सम्भावना कत्तिको छ?
यसलाई ‘रिसर्च एन्ड डेभलपमेन्ट’ भनिन्छ र यो काम सँगैसँगै जानुपर्छ। अनुसन्धान गर्ने संस्था भनेको विश्वविद्यालय हो। सरकार र अन्य निकायको काम चाहिं अनुसन्धानबाट हासिल निष्कर्षलाई विकासतर्फ लाने हो। यसरी सहकार्य हुन सक्यो भने अघि बढ्न सकिन्छ।
यी काम त्रिवि वा सरकार एक्लैले गरेर हुने होइन। गैससले मात्र वा निजी क्षेत्रको भरमा मात्र पनि सम्भव छैन, सबैको सहकार्य चाहिन्छ। संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यको १७औं बुँदामा पनि सहकार्यको उल्लेख छ। व्यक्ति व्यक्तिबीच, संस्था संस्थाबीच, राष्ट्र राष्ट्रबीच सहकार्य हुनुपर्छ। त्यसैले विभिन्न संस्थाबीच सहकार्य आवश्यक छ।
सबै विज्ञले नेपालको वानस्पतिक स्रोतको उपयोग गरेर धनी हुने मीठो कुरा गर्छन्। तर, काम भने उत्साहप्रद देखिंदैन। वानस्पतिक स्रोतको उपयोग गरेर धनी हुने क्रममा गाँठो चाहिं कहाँ परेको छ?
मुख्य कुरा, योजना र लक्ष्यबीच तालमेल छैन। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्य तय गरेर त्यही अनुसार योजना बनाउँदै अघि बढ्नुपर्ने हो, तर त्यसो हुन सकेको छैन। हाम्रो देशमा त्यसरी संवाद नै हुँदैन। जो चुनिएर जान्छन्, ती सबै विज्ञ हुँदैनन्। तर, विज्ञको कुरा सुनेर सबैले सहकार्य गरी एउटा निर्दिष्ट लक्ष्य हासिल गर्न गम्भीर हुँदै योजना बनाएर अघि बढेको भए यी ठूलो कुरा थिएन।
पदमा पुग्नेहरू दलगत आस्था र पहुँचको भरमा पुग्ने गरेका छन्। उनीहरूले आफ्नो आसेपासेलाई सहयोग गर्ने रणनीति अख्तियार गर्छन्। त्यसो भएपछि हामीले के नै अपेक्षा गर्न सक्छौं? योग्य मान्छे छनोट गरेर उनीहरूलाई निश्चित लक्ष्य सहित उपयुक्त पदमा पठाउँदा परिणाम राम्रो आउँछ।
विगतमा हामी जे गर्न पनि बजेटको अभाव झेल्थ्यौं, तर आज कामै गर्न असमर्थ हुने गरी बजेटको अभाव छैन। प्रत्येक मन्त्रालयसँग बजेट छ। प्रदेश सरकारसँग बजेट छ। स्थानीय सरकारसँग बजेट छ, तर कुनै निकायबीच समन्वय छैन। अबका दिनमा समन्वय हुने गरी काम गर्नुपर्यो।
व्यक्तिको सन्दर्भमा एक-दुई वर्षले ठूलो अर्थ राख्ला, तर देशको हकमा त १०-१२ वर्ष त कुर्नुपर्यो नि हैन?
हो, त्यही भएर त दीर्घकालीन, मध्यकालीन र अल्पकालीन लक्ष्य बनाउनुपर्छ। अल्पकालीन लक्ष्य हासिल गर्दै मध्यकालीन लक्ष्य हासिल गरेपछि बल्ल दीर्घकालीन लक्ष्यमा जाने हो। गफ चाहिं देशलाई सिंगापुर बनाउँछु भनेर फुर्ती लाउने तर योजना चाहिं केही छैन, यसरी त हुँदैन नि। त्यही भएर योजनाको महत्त्व छ।
योजना पूरा गर्न सामूहिक सहकार्य चाहिन्छ। त्यसो हुन सक्दा नेपाललाई समुन्नत बनाउन सकिन्छ। त्यो आत्मविश्वास हामीले लिनुपर्छ। नकारात्मकतातर्फ नजाऔं, सकारात्मक पक्ष पनि धेरै छन्, त्यसमा केन्द्रित होऔं, गर्न सकिने सम्भावनाहरू धेरै छन्।
फेरि हाम्रा विज्ञहरू नेताले जे भने पनि ‘हुन्छ, हुन्छ’ भन्नुहुन्छ रे। समस्या त्यहाँ पनि हो कि?
त्यही भएर त राम्रो विज्ञ छान्नुपर्यो भनेको। कस्तो विज्ञ हो भन्ने कुरामा पनि भर पर्छ। विज्ञको भाषणका आधारमा होइन, उहाँको क्षमता, विज्ञता र कामको नजीरका आधारमा उपयुक्त व्यक्ति छान्नुपर्यो।
यहाँलाई सोधुँला भन्ठानेका प्रश्न सोधिसकें। अन्त्यमा पुस्तकलाई लिएर यहाँको टिप्पणी केही छ कि?
किताबबारे हामीले पाएको एउटा प्रतिक्रिया ‘सबै वनस्पतिको तस्वीर सहित छोटो विवरण राखिएको भए हामीलाई वनस्पति चिन्न सजिलो हुने थियो’ भन्ने अपेक्षा पाठकको रहेको पाइयो। साथै, ‘यस्तो पुस्तक नेपाली भाषामा पनि आए हुन्थ्यो’ भन्ने पनि पायौं।
त्यसैले अहिले पुस्तकमा समावेश प्रायः सबै वनस्पतिको तस्वीर र संक्षिप्त विवरण अनलाइनमा अद्यावधिक गर्ने तयारीमा छौं। किनभने यस पुस्तकमा ६ हजार वनस्पतिको तस्वीर समावेश गर्नु सम्भव थिएन। हाल हाम्रो प्रयास अनलाइन संस्करण अद्यावधिक गर्ने रहेको छ। तर, यो काम गर्न केही समय लाग्ने देखिन्छ। यद्यपि काम शुरू गरिसकेको जानकारी गराउन चाहन्छु।
किताबका कुराका थप सामग्री: