‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
‘अहिले समाज सद्दे भए त न्याय खोज्न नेपालगन्जदेखि रुबी खानहरू किन काठमाडौं आउनुपर्थ्यो?’
जनआन्दोलनलाई लिएर घनचक्कर उपन्यास लेखेका सञ्जीव उप्रेती अहिले आफैं नागरिक आन्दोलनमा सक्रिय छन्। उनी सामाजिक न्याय, सुशासनका पक्षमा सडकबाट आवाज उठाइरहेका छन्। यसअघि उनले न्यायप्रेमी, सपनाको साबिती र मकैको अर्कै खेती मार्फत रङ्गमञ्चबाट आवाज उठाएका थिए।
घनचक्करसँगै सिद्धान्तका कुरा पनि उनको रुचाइएको पुस्तक हो। पछिल्लो समय उनले हंस उपन्यास ल्याएका छन्। त्रिभुवन विश्वविद्यालयमा २५ वर्ष प्राध्यापन गरेका उप्रेतीले अमेरिकाको ब्राउन युनिभर्सिटीबाट विद्यावारिधि गरेका छन्।
समाजका विविध विषयमा कलम चलाउने लेखक उप्रेतीसँग पछिल्लो पुस्तक हंससँगै लेखन र पठनका विविध पक्षमा केन्द्रित भएर हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा सागर बुढाथोकीले गरेको कुराकानीः
घनचक्करले धेरै पाठकलाई प्रभावित बनाएको थियो। पछिल्लो पुस्तक हंसबाट कस्तो प्रतिक्रिया पाउनुभयो?
घनचक्कर पढिसकेका पाठकले घनचक्करकै जस्तो विषयवस्तु र शैली अपेक्षा गरेका रहेछन्। ती पाठकले घनचक्कर नै राम्रो भने। कतिपयले हंसलाई औधी मन पराए। समग्रमा राम्रै प्रतिक्रिया आयो, खुशी छु।
चरालाई केन्द्रमा राखेर कथा लेख्नुभएको छ। मानिसप्रति रुचि घट्दै गएको हो?
संसारमा विभिन्न किसिमका जीवजन्तु र चरा छन्। तिनीहरूको आफ्नै पर्यावरण छ। तर, हामी फाइदामुखी संस्कृति अनुसार अघि बढेका छौं जसले गर्दा रूख, बिरुवा काट्ने, समुद्रमा फोहोर फाल्ने र हावामै प्रदूषण बढाउने काम गरेको छ।
काठमाडौंकै कुरा गर्दा पनि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा कैयौं गुणा बढी वायु प्रदूषण छ। त्यसले काठमाडौं बस्नेको आयु घटिरहेको छ। यस्तो हुनुको कारण हाम्रो सोच मानवमुखी र फाइदाकेन्द्रित भएर हो, जसले यो जगत्मा अरू जीवजन्तु छन् भन्ने बिर्सायो। मानवकेन्द्रित दृष्टिकोणलाई अलिकति विखण्डन गर्दा के होला भनेर चरालाई केन्द्रमा राखेर लेखेको हुँ।
यो उपन्यासलाई मानवको कथाबाट पनि अन्त्य गर्न सकिन्थ्यो, तैपनि चराको कथाबाट अन्त्य गरें। किनभने, मानवको संसारबारे धेरै लेखिएका छन्, यसलाई विस्थापित गर्दा अर्को खालको विश्वदृष्टि आउँछ, जसले संसारलाई नयाँ ढङ्गले हेर्न सकिन्छ कि भन्ने मेरो उद्देश्य थियो।
चराको संसारबारे लेख्न केकस्तो अध्ययन र साधना चाहिने रहेछ?
हंसका धेरै दृश्य टौदह वरिपरिका छन्। टौदहका आफ्नै सांस्कृतिक मान्यता र मिथहरू छन्। घनचक्कर लेख्ने वेला पनि त्यहाँ गइरहन्थें। टौदह गएको वेला विभिन्न चरा देखें। त्यसपछि चराको अध्ययन गर्न थालें। पन्छी संरक्षण नेपाल संस्थाको आजीवन सदस्य छु। त्यहाँका साथीहरूबाट केही कुरा सिकें। तर, म चराबारे अध्ययन गर्ने विज्ञ होइन। चरा र मान्छेको संसार बेग्लै छ, त्यसैले चराको संसार निर्माण गर्दा गाह्रो त भएकै थियो।
किताबमा मान्छेले चराको भाषा बुझ्न सक्ला भन्ने प्रसङ्ग छ। त्यसबारे मैले संरक्षणमा लागेका साथीहरूसँग सोधेको पनि थिएँ। उनीहरूले चराको भाषा नबुझे पनि हाउभाउ हेरेपछि धेरै बानी थाहा पाइने बताए। समग्रमा भन्दा केही अध्ययन, केही अनुमान र केही कल्पना गरेर लेखेको हुँ।
लेखकहरू पुरस्कारका लागि मरिहत्ते गरिरहेको वेला तपाईंले हंसलाई दिने तय भएको पद्मश्री पुरस्कार अस्वीकार गर्नुभयो नि?
अहिले म त्यता धेरै जान चाहन्नँ। जो व्यक्तिलाई मसँगै पुरस्कार दिइएको थियो, उहाँको लेखनलाई म पनि मन पराउँछु। तर, महिला हिंसामा उहाँको नाम जोडिएको भएकाले एउटै मञ्चबाट पुरस्कार लिन्नँ भनेर मैले पुरस्कार अस्वीकार गरेको हुँ।
मैले पहिले पनि पुरस्कारका लागि आवेदन दिन्नँ भनेको थिएँ। तर, पद्मश्री मैले आवेदन नदिईकन पाएँ। त्यसलाई फेरि अस्वीकार गर्नुपर्यो। त्यसपछि मलाई धेरैले सोधे- पद्मश्री जस्तै आवेदन नदिईकन कसैले पुरस्कार दियो भने के गर्नुहुन्छ? पछिल्लो विवादपछि मैले कुनै पनि पुरस्कार नलिने विचार गरेको छु। यसको मतलब मैले कुनै पनि पुरस्कारको विरोध गरेको होइन।
हाम्रो समाजमा विभिन्न किसिमको ‘सोपानतन्त्र’ छ। पुरस्कारले पनि कुनै लेखकलाई एक नम्बरको र कसैलाई नौ नम्बरको बनाउँदो रहेछ। चराचुरुङ्गीको संसारमा छिरेदेखि मानव दृष्टिकोणलाई अलिकति फरक ढङ्गले हेर्दा अहिलेसम्म कुनै चराले पुरस्कार पाएको रहेनछ। चरालाई कसैले पुरस्कार दिंदैन। उसले पुरस्कारका लागि आवेदन दिंदैन। किनकि, उसको संसारमा सोपानतन्त्र छैन। हो, बलियो चराले कमजोरलाई ठुङ्न सक्छ, बाघले मृगलाई खान सक्छ।
मानव समाजमा जस्तो ‘आइडियोलोजिकल्ली’ नै बनाएको सोपानतन्त्र छैन। कोही विशिष्ट, कोही भीआईपी र कोही आम बाघ भन्ने हुँदैन। सामान्य हिसाबले भन्दा चरालाई पुरस्कार चाहिन्न भने मलाई किन चाहियो भनेर हिंडिरहेको छु। यसको मतलब पुरस्कार लिने र दिनेलाई गलत भनेको होइन।
अहिले जुन ‘सोपानतन्त्र’ को कुरा गर्नुभएको छ, यो पछिल्लो समय महसूस भएको हो कि पहिलेदेखि नै यस्तो चेतना थियो?
यो बढ्दै गएको चेतना हो। म विश्वविद्यालयमा विभिन्न सिद्धान्त पढाउँथें। ती सिद्धान्त पढाउँदा एक किसिमको चेतना आएको थियो। जब म आन्दोलनहरूमा हिंड्दै गएँ, तब चेतना बढ्दै आयो। मैले आफैंलाई दोहोर्याएर हेर्न थालें।
जब विश्वविद्यालयबाट स्वैच्छिक अवकाश लिए, तब सोच्ने समय मिल्यो। त्यति वेला मैले आफैंलाई ‘म निम्न मध्यम वर्गीय परिवार या दलित परिवारबाट आएको भए यति चाँडै अवकाश लिई चराहरू हेर्न दूरबिन लिएर हिंड्न सक्थें होला त’ भन्ने प्रश्न गरें।
म जुन वर्गमा जन्में, जुन समुदाय र लिङ्ग लिएर जन्में, त्यसले मलाई संरचनात्मक लाभांश दियो। समाजमा विभिन्न किसिमका ‘सोपानतन्त्र’ रहेछन्, त्यसले मानिसको दैनिक जीवनलाई प्रभाव पार्दो रहेछ। कसैलाई तल र कसैलाई माथि त्यही ‘सोपानतन्त्र’ ले पार्दो रहेछ। उदाहरणका लागि अहिले सबैले लोकतन्त्र छ भन्छन्, तर संरचनात्मक लाभांशले गर्दा केही मान्छेलाई लोकतन्त्रको ‘एक्सेस’ बढी छ। आफैंलाई हेरेर विश्लेषण गर्दै गएपछि यो चेतना पलाएको हो।
काठमाडौंका खोला किनार, गल्ली र धार्मिक स्थल डुल्दै घनचक्कर लेख्नुभएको थियो, हंसका लागि पोखरी, ताल किनारमा बस्नुभयो। लेख्न शुरू गर्दा योजना बनाएरै यस्तो गर्नुहुन्छ कि संयोगले यस्तो हुन्छ?
संयोग नै यस्तो भएको हो। किनकि, मैले धेरै समय त्यस्तै ठाउँमा बिताए। हंसको कथा टौदहको पानी हेर्दै गर्दा फुरेको हो। हंस मैले विभिन्न चरणमा लेखें। विदेश यात्रा गर्दा एट्लान्टिक र प्रशान्त महासागरको किनारमा बसेर पनि लेखें। त्यस्तै, झापाको फूलमती खोलाको तीरमा हुँदा पनि यसको कथा अघि बढाएको थिएँ। योजना बनाएर नै यसरी लेखेको थिइनँ। तर, पानीको छेउमा बसेपछि मेरो कल्पनाले उडान लिंदो रहेछ। किनकि, हंस उडान र डुबानको कथा हो।
घनचक्कर प्रकाशित भएपछि पागलपनको चर्चा गर्नुभएको थियो। वेलावेला ‘पागलपन सबैमा छ, मात्रा फरक’ भन्नुहुन्छ। तपाईंको पागलपनको कारण घनचक्करको जन्म भएको भन्न मिल्ला?
हुन सक्ला। सय प्रतिशत कोही मानिस ठीक छ भने त्यो आफैंमा पागलपन हो। अरू मानिसमा जस्तै ममा पनि थोरबहुत पागलपन छ। तर, घनचक्कर मेरो आत्मकथा होइन।
हंस पढ्दै गर्दा लाग्छ, मानवीय प्रेम बेहोसीमा छ र संसार घृणाको घनचक्करमा फसेको छ। त्यस्तै, घनचक्करमा पनि मान्छेको विवशता र नियतिको संसार निर्माण गर्नुभएको छ। तपाईंको कथाको परिवेश ‘डार्क थिम’ को हुनुको कारण के हो?
कथा लेखेपछि त्यसले नै आफ्नो ‘लजिक’ पहिल्याउँछ। हंसले प्रेम कतिको सम्भव छ र प्रेम भनेको के हो भन्ने प्रश्न उठाएको छ। मुख्य कुरा मानिसले सबैभन्दा धेरै प्रेम आफैंलाई गर्छ। हामी आत्मकेन्द्रित प्रेममा परेका छौं, त्यसको जालोबाट मुक्त हुन सकेका छैनौं। त्यसले पनि एक किसिमको पागलपन सिर्जना गर्छ।
अर्को, अधिकांश मान्छे ‘मैले नाम र दाम कमाएँ, म यो हो, त्यो हो’ भन्ने सोच्छन्। हामी आफैंभित्र कैद छौं। कुनै व्यक्तिले आफूलाई मात्र सबैभन्दा धेरै प्रेम गर्छ भने अरूलाई कसरी प्रेम गर्न सक्छ? प्रेमको सीमितता छ। यस्तै कुरा भन्न विभिन्न तहमा लेखेको छु। जसले गर्दा यस्तो हुन गयो कि!
घनचक्कर लेख्ने वेला जनआन्दोलन चलिरहेको थियो। हत्या, हिंसा बढेको थियो। त्यो अँध्यारो समयबारे लेख्दा कथाहरू ‘डार्क थिम’ मा गएका हुन सक्छन्।
घनचक्करको प्राध्यापक पात्रलाई ‘म ठीक छु’ भनेकै आधारमा अस्पतालबाट डिस्चार्ज गरिन्छ। अर्को दिन विश्वविद्यालयको प्रश्नपत्र जाँच्न सिफारिश गरिन्छ। तपाईंले पुस्तकमा यस्तै गरी हाम्रा सार्वजनिक संस्था र संरचनालाई व्यङ्ग्य गर्नुभएको छ। पुस्तक लेखेको १५ वर्ष नाघिसक्दा हाम्रा सार्वजनिक संस्था र समाजमा केही परिवर्तन आएको देख्नुभयो?
दुःखको कुरा नै यही हो। घनचक्कर लेख्दा जनआन्दोलन थियो। जनआन्दोलन सफल भएपछि अब त लोकतन्त्र आयो, गणतन्त्र र सामाजिक न्याय आयो। अब सबै समस्या समाधान भए भन्ने थियो। उपन्यासको भाषामा भन्दा समाजका सबै पागलपन हराए, समाज सद्दे भयो भन्ने सोचेका थियौं। तर, अहिलेको बेथिति हेर्दा सामाजिक पागलपन घट्नुको सट्टा झन् झन् बढेको जस्तो लाग्छ।
अहिले समाज सद्दे भए त न्याय खोज्न नेपालगन्जदेखि रुबी खानहरू किन काठमाडौं आउनुपर्थ्यो? यो समस्या जिल्लामै समाधान हुनुपर्थ्यो। मुख्य अभियुक्तलाई नेपाली कांग्रेसले संसद्मा उठाएर जितायो पनि। यस्तो घटना कुनै सद्दे समाजमा हुन सम्भव छ र?
मिटरब्याज पीडित सडकमा आएका छन्, भ्रष्टाचार चुलिएको छ। अपराधमा समातिएका मानिस छुटाउन अनेक तिकडम चलिरहेको छ। समाजमा पागलपन घटेको होइन कि झन् झन् चुलिंदै र विस्तारित हुँदै गएको बोध हुन्छ।
घनचक्करका पात्रहरू अहिले कुन मनोदशामा छन्? त्यो किताब आजको समयमा लेखिएको भए पात्रहरूको भोगाइ बेग्लै हुन्थ्यो कि?
मलाई लाग्छ अझै बढी ‘पोलिटिकल’ हुन्थ्यो। त्यसमा पनि राजनीतिक कुराहरू धेरै छन्, तर अलिक सतही छ। त्यसमा राजनीतिक व्यङ्ग्य र बेथितिलाई प्रश्न त गरिएको छ, अप्रत्यक्ष। घनचक्कर अहिले लेखिएको भए राजनीतिक व्यङ्ग्य अलिक प्रत्यक्ष हुन्थ्यो। समाजमा पागलपन बढेको हुनाले पात्रको मनोदशा पनि उस्तै हुन्थ्यो कि!
तपाईंका चारै किताबमा आफूले बाँचेको समय र परिवेश चित्रण गर्नुभएको छ। अहिलेको लेखनमा समकालीन विषयहरू कत्तिको समेटिएको वा छुटेको पाउनुहुन्छ?
हरेक लेखकले आफ्नो समय अनुसार लेख्ने हो। हरेक लेखकले आफ्नो संसार सिर्जना गर्छ। कसले के लेख्यो र के छुटायो भन्न मलाई गाह्रो लाग्छ। किनकि, हरेक लेखकको आफ्नै विषय र शैली हुन्छ। सकारात्मक कुरा चाहिं अहिले नयाँ नयाँ लेखकहरू आउनुभएको छ। फरक फरक विषयमा कथा लेखिरहनुभएको छ।
तपाईंको बुझाइमा राम्रो लेखन भनेको कस्तो हो? कुनै पनि कृति विषयवस्तुको प्रस्तुतिका आधारमा मात्रै उत्कृष्ट हुन सक्छ?
त्यो हेरेर हुन्छ। विषयवस्तु पनि महत्त्वपूर्ण हो। विषयवस्तुलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ। संसारमा लेख्नका लागि धेरै विषयवस्तु छैनन्।
मलाई उत्कृष्ट किताब मापन कसरी गर्ने भन्न गाह्रो लाग्छ। किनकि, राम्रो किताब ‘बेस्ट सेलर’ भएका पनि छन्, बिक्दै नबिकेका पनि छन्। त्यसैले बिक्रीले उत्कृष्टता मापन गर्छ भन्ने पनि लाग्दैन। तर, कुनै किताब लामो समयसम्म केही न केहि बिकिरहेको हुन्छ। त्यसलाई विभिन्न पुस्ताका मानिसले रुचाइरहेका हुन्छन्। यस्तो लामो आयु बोकेका किताब चाहिं उत्कृष्ट किताब हो कि जस्तो लाग्छ।
अहिले समीक्षकहरू नेपाली साहित्यमा नयाँ बिम्ब सिर्जना गरिएन भन्छन्, तपाईंलाई के लाग्छ?
यो कुरामा सहमत छु। अब नयाँ बिम्बको खोजी गर्ने वेला भएको छ। नेपालमा बहुल संस्कृति छ। तर, यहाँको बिम्ब नेपाली भाषासँग केन्द्रित छ। जस्तो कि लालीगुँरास। मधेशको मानिसले लालीगुँरास देखेको हुन्न, तर त्यो पढ्नैपर्छ।
एक पटक राजनीतिक विश्लेषक सीके लालले स्कूल पढ्दा शिक्षकले ‘लालीगुँरास भनेको गुलाब जस्तै हो, तर गुलाबको जस्तो सुगन्ध आउन्न’ भनेर पढाएको सुनाउनुभएको थियो। किनकि, शिक्षकले पनि लालीगुँरास देख्नुभएको थिएन। त्यसैले अब नेपालको बहुल संस्कृतिबाट बिम्बहरू खोजेर लेखिनुपर्छ।
अब प्रसङ्ग बदलौं, तपाईं कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ?
कुन समयमा मलाई के कुराले समातेको छ भन्ने कुराले निर्धारण गर्छ। मेरो रुचि छरपस्ट छ। घनचक्कर लेख्ने वेला मेरो एक किसिमको मनस्थिति थियो, हंस लेख्ने वेला अर्कै। म ‘आर्ट ग्यालरी’ गइरहन्छु। प्रविधिसँग सम्बन्धित किताब पनि पढ्छु।
पछिल्लो समय नागरिक आन्दोलनमा जोडिएकाले देवेन्द्रराज पाण्डेको नागरिक आन्दोलन र गणतान्त्रिक चेतना किताब पढ्दै छु। त्यस्तै, अर्नेस्ट लकलाउ र चन्टाउ मफको हेजेमोनी एन्ड सोसल स्ट्राटेजीः टुवार्ड रेडिकल डेमोक्रेटिक पोलिटिक्स पढ्दै छु। म कुन समयमा के गरिरहेको छु भन्ने कुराले कस्तो किताब पढ्ने भन्ने निर्धारण हुन्छ।
मानिसले किताब किन पढ्नुपर्छ?
किताब नपढ्दा मानिस आफ्नो अनुभव र अनुभूतिभन्दा टाढा पुग्न सक्दैन। किताब पढ्यो भने मानिसले धेरै जीवन बाँच्न पाउँछ। किताबको पात्रसँग आकाशमा उड्न र समुद्रको पिंधमा पनि डुबुल्की मार्न पाउँछ। मेरो जीवनको परिधि किताब पढेर विस्तृत हुन्छ।
किताब पढेर मानिस बौद्धिक बन्न सक्छन्?
नहुन पनि सक्छन्। किताबले बाटो देखाउने हो। किताब भयङ्कर पढ्ने र परीक्षा पास हुने, तर विचार पुरातनवादी राख्ने मानिस पनि छन्। मलाई किताब र जीवन सधैं जोडिनुपर्छ जस्तो लाग्छ। मैले २५ वर्ष त्रिविमा पढाएँ। विद्यार्थीले ठेलीका ठेली थेसिसहरू लेखे। अमेरिकामा टोनी मरिसनको किताबमा अश्वेतहरूलाई कसरी देखाइएको छ भनेर थेसिस लेखे। सलमान रुश्दीको उपन्यासमा नारीलाई कसरी चित्रित गरिएको छ भनेर अनेक अध्ययन गरे। रुबी खानहरू माइतीघर मण्डलमा न्यायका लागि महीनौंसम्म बस्दा ‘जेन्डर’ का लागि थेसिस लेख्ने विद्यार्थी अथवा त्यसबारे लेखाउने शिक्षकले अलिकति पनि संवेदनशीलता नदेखाउँदा अध्ययन र जीवनमा खाडल देखियो।
सबै मानिस आन्दोलनमा लाग्नैपर्छ, सहयोग गर्नैपर्छ भन्दिनँ, तर अमेरिकाको अश्वेतहरू कसरी पेलिएका छन् भनेर ठेलीका ठेली थेसिस लेख्नेहरू रुकुम हत्याकाण्डमा ६ जना युवा मर्दा एक शब्द पनि बोलेनन्। उनीहरूलाई यो कुरा थाहा नभएको जस्तो भयो।
हामी कस्तो संसारमा बाँचिरहेका छौं? एकातिर बौद्धिकता र अर्कातिर मान्छेको दयनीय जीवन! यो बीचमा अत्यन्त ठूलो खाडल छ। त्यसैले किताब पढेर मान्छेको चेतना नै खुल्छ भन्न सकिन्न, तर बाटो चाहिं देखाउँछ। त्यो बाटोले कहाँ पुर्याउँछ भन्ने कुरा व्यक्तिमा निर्भर हुन्छ।
किताब अध्ययन र मानिसको जीवनमा खाडल हुनुको कारण के होला?
हाम्रो शिक्षा प्रणालीले हामीलाई बाहिरको समाज, राजनीति, अर्थतन्त्र र संस्कृतिलाई विश्लेषण गर्न सिकायो, तर आफैंलाई हेर्न र विश्लेषण गर्न सिकाएन। हामी सबैको विश्लेषण गर्न सक्ने भयौं, तर आफूलाई हेर्न र विश्लेषण गर्न नै चाहेनौं।
यहाँले त्रिभुवन विश्वविद्यालयमा साढे दुई दशक पढाउनुभयो। हाम्रा विश्वविद्यालय सुधार गर्नै नसक्ने गरी बिग्रिएका हुन् त?
असम्भव त केही छैन। मैले पनि झोक चलेर नै स्वैच्छिक अवकाश लिएको हुँ। विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अति भयो। यसो भन्दा एकाथरीले विश्वविद्यालयमा राजनीतिक चेत त हुनुपर्यो नि भन्छन्। हो, पक्कै राजनीतिक चेत हुनुपर्छ। समाजबारे, असमानता तथा सीमान्तीकृतबारे राजनीतिक चेत हुनुपर्छ। तर, विश्वविद्यालयमा राजनीतिक चेतको विकास होइन कि दलीयकरण भएको छ। हाम्रो विश्वविद्यालयबाट उत्पादित विद्यार्थी स्वतन्त्र रूपमा राजनीतिलाई विश्लेषण गर्ने होइन कि एमाले, माओवादी, कांग्रेस आदि भएर निस्किन्छ।
२०६२/६३ पछि विश्वविद्यालयमा दलीय राजनीतिकरण अन्त्य होला भन्न लागेको थियो, तर झन् बढेर गयो। बढ्ने क्रम जारी छ। ‘पार्टटाइम’ शिक्षक राख्दा पनि एमाले, कांग्रेस वा माओवादी राख्ने चलन बढ्यो। थेसिस गर्ने विद्यार्थी र हेर्ने शिक्षक पनि एउटै पार्टीका हुन्थे। विश्वविद्यालय चरम राजनीतिकरणले गर्दा तार्किकभन्दा पनि मारपिट र तालाबन्दी गर्ने थलो बनेको छ।
समाजको भविष्य विश्वविद्यालयको स्तरले निर्धारण गर्छ भनिन्छ। अहिले विश्वविद्यालयको हालत सुध्रिएको छैन, यो पृष्ठभूमिमा भविष्यको नेपाली समाज कस्तो देख्नुहुन्छ?
एकदमै निराशावादी भएर पनि हुन्न। परिवर्तन गर्न सचेत नागरिक लागिरहनुपर्छ। हामी नागरिकको पनि कमजोरी छ। नेतालाई गाली गरेर बस्ने मात्रै होइन, आफैं जाग्नुपर्छ। सचेत नागरिकले नेतालाई सबैतिरबाट प्रश्न गर्नुपर्छ। बेथिति विरुद्ध प्रश्न गरिएन भने यो व्यवस्था यस्तै रहन्छ।
आममानिस जो आफ्नै दैनिक संघर्षमा भागदौड गरिरहेको छ, उसलाई नेतालाई प्रश्न गरेर हिंड्ने सुविधा छैन। प्रश्न गर्ने नागरिकलाई पनि सामाजिक सञ्जालमा गालीगलौज गर्न थालिएको छ नि?
सामाजिक सञ्जालमा गालीगलौज गर्ने प्रवृत्ति एकदमै बढेको छ। किनभने, तर्क गर्न मेहनत गर्नुपर्छ। ‘यो त डलरे हो, फण्डित हो’ भन्नलाई मेहनत चाहिन्न। ‘महिला र पुरुष बराबर हुनुपर्छ, दलितलाई संरचनाको पिंधमा पार्नु हुँदैन’ भन्दा कि त ‘बराबर हुनु हुँदैन’ भनेर तर्क गर्नुपर्यो। यसरी तर्क गर्न गाह्रो छ। त्यो तर्क गर्न नमिलेपछि ‘फण्डित’ र ‘डलरे’ भनेर आरोप लगाउने प्रवृत्ति छ।
यो कुराले मलाई त्यति आश्चर्यचकित पार्दैन। नागरिक आन्दोलनमा लागेपछि यस्तो गाली आउँछ भन्ने थाहा थियो। हामीलाई चुनाव लड्नु छैन, कुनै सरकारी नियुक्ति लिनु छैन। जति सकिन्छ, सडकमा गएर भिड्ने नै हो। त्यो क्रममा गाली त आउँछ, गालीलाई स्वागत गर्ने नै हो।
यति धेरै गालीगलौज आइरहँदा कहिलेकाहीं चूप बसौं जस्तै लाग्दैन?
मलाई त त्यस्तो कहिले पनि लागेन। म त झन् ‘इन्स्पायर’ भइरहेको हुन्छु। भुइँमान्छेको न्यायको पक्षमा बोल्दा, बेथिति तथा शोषण विरुद्ध बोल्दा कसैले मलाई ‘डलरे’ भन्छ भने भनोस्। नागरिक आन्दोलनमा लाग्ने मान्छेले गैंडाको जस्तो छाला बनाएर हिंड्नुपर्छ। कतिपय मानिसको धैर्यको सीमा हुन्छ। कतिपय हाम्रा साथीहरूलाई ‘डिप्रेशन’ भएको छ। त्यसैले केही साथीहरू अहिले चूप लागेका पनि छन्।
सडकमा आइरहन के कुराले उत्प्रेरणा दिन्छ?
लोकतन्त्र र सामाजिक न्यायप्रतिको हुटहुटीले गर्दा हो। मैले नयाँ आउने साथीहरूलाई यो हाम्रो एनजीओ या राजनीतिक पार्टी होइन, पैसा आर्जन पनि हुँदैन भन्ने गरेको छु। केही साथीहरू नागरिक आन्दोलनबाट राजनीतिमा गए। त्यसमा हामीलाई कुनै गुनासो छैन। नागरिक आन्दोलनको चेतना बोकेर पार्टीमा जाने मानिसहरू अझ राम्रा नेता हुन्छन् भन्ने विश्वास छ। हामी सामाजिक न्याय र लोकतन्त्रका लागि लडिरहन्छौं। राज्यका निकायहरूले स्वतन्त्र रूपले काम गरिदिएको भए सडकमा आउनुपर्ने नै थिएन।
नेपालमा पठन संस्कृति कस्तो पाउनुहुन्छ?
किताब पढ्नेको संख्या घट्दै गएको छ। नयाँ नयाँ प्रविधि आएकाले मानिससँग समय कम छ। किनकि, प्रविधि धेरै आए, दिनको समय त २४ घन्टाभन्दा बढेन। त्यसैले किताब पढ्नेको संख्या घट्यो। अहिले मानिस पढ्ने कुरा छाडेर हेर्नेतिर ढल्कँदै गएका छन् कि भन्ने लागेको छ।
यहाँको लेखन योजना के छ?
मनमा केही विषय सलबलाइरहेका छन्। नागरिक आन्दोलनसँगै जोडेर एउटा गैरआख्यान लेख्ने सोचमा छु। त्यस्तै, एउटा आख्यान पनि मनमा सलबलाइरहेको छ। समाजमा पागलपन बढिरहेको छ, त्यसैले घनचक्करको ‘सिक्वेल’ लेख्न पनि सक्छु। तर, पक्का छैन।
किताबका कुराका थप सामग्री: