अन्तर्वार्ता/विचार बुधबार, फागुन २८, २०७६

'मर्नेसम्मको सोच आयो !'

हिमालखबर

'मर्नेसम्मको सोच आयो !'
डा. गंगा पाठक

- डा. गंगा पाठक (५८), मनोविद्

भर्खरै ३६ वर्षमा हिंडिरहेकी थिएँ । त्यस महीना लगातार १२/१३ दिनसम्म रक्तस्राव भइरह्यो । अत्यधिक रक्तस्रावलाई लिएर म जँचाउन भने गइनँ । तर थाहै नपाई ममा विस्तारै परिवर्तन देखिन थाल्यो ।

मलाई एकदमै रिस उठ्न थाल्यो, विशेषगरी श्रीमान्सँग । नजिक बस्नै मन नलाग्ने । लाग्थ्यो– मलाई उसले बुझ्दैबुझ्दैन ! माया गर्दैन ! एकान्त खोज्दै कहिले पशुपतिनाथको जङ्गल, कहिले भद्रकालीको मन्दिर पुग्न थालें । काम पनि बोझ जस्तो लाग्ने ! मर्न पाए पनि हुने, बाँचेर के काम भन्नेसम्मको भाव आउँथ्यो ।

एकदिन खाना खाएपछि श्रीमान् ओछ्यानमा आउनुभयो । सुतिरहेकी म एकाएक छटपटिएछु, मुट्ठी कसेर, दाह्रा किटेर झम्टिन खोजेछु । उहाँ आत्तिनुभयो र सम्हाल्नुभयो । ममा एकाएक आएको असामान्य अवस्थाले हामी दुवैलाई स्तब्ध बनाइरह्यो ।

केही समय अफिस पनि गइनँ । एकदिन मैले ‘होम साइन्स’ की शिक्षिकालाई यसबारे भनें । कुरा सुन्नेबित्तिकै उहाँले मेरो उमेर सोध्नुभयो । र, भन्नुभयो– यी त सबै महीनावारी बन्द हुने लक्षण हुन् ।

तर तिम्रो उमेर त भा’छैन । त्यसपछि मैले एब्नर्मल साइकोलोजी पुस्तक पल्टाएँ । त्यहाँ मेनोपज सिन्ड्रोमबारे छुट्टै विषय नै रहेछ । पढ्दा लेखिएका लक्षणहरू सबै मिलेको अनुभव गरें ।

धेरै काम लथालिङ्ग भएकोले मैले ध्यान गर्न जाने योजना बनाएँ । एक महीनाका लागि भारतस्थित एक प्राकृतिक ध्यान शिविरमा गएँ । ध्यानबाहेक शिविरमा मानसिक स्वास्थ्यबारे पनि बुझाइन्थ्यो । एकदिन महीनावारी बन्द हुँदा हुने मानसिक स्वास्थ्यबारे पनि पढाइ भयो जसले गर्दा मलाई महीनावारी बन्द हुन लागेको थाहा पाएँ । दैनिक ध्यान, योग, स्वस्थ आहारले म शान्त हुँदै गएँ ।

एक महीनापछि मलाई लिन फर्किएका श्रीमान्लाई आफूमा देखिएको सबै लक्षण रजोनिवृत्तिको भएको बताएँ । उहाँले सबैभन्दा पहिले ‘आफ्नो भूमिका के हुन्छ’ भनी सोध्नुभयो । मलाई औधी खुशी लाग्यो । त्यसपछि सधैंका लागि मेरो महीनावारी बन्द भयो ।

सम्बन्धित सामाग्रीहरू:

आफ्नै शरीर बुझिएन

छोराले भनेपछि पो थाहा पाएँ !

मर्नेसम्मको सोच आयो !

श्रीमानकाे सहयोग नै औषधि

रजोनिवृत्ति प्रजनन् क्षमताको अन्त्य हो, यौन जीवनको होइन 

बेवास्तामा ‘महीनावारी बन्द’, जोखिममा महिला स्वास्थ्य

प्रतिकृया दिनुहोस