अन्तर्वार्ता/विचार बुधबार, फागुन २८, २०७६

'छोराले भनेपछि पो थाहा पाएँ !'

हिमालखबर

'छोराले भनेपछि पो थाहा पाएँ !'
बबिता बस्नेत (४८), सञ्चारकर्मी

मध्यरात झसङ्ग ब्युँझदा खलखली पसिना आइरहेको रहेछ । पुसको जाडोमा यो के भएको होला ? म छक्क परें । एकछिनपछि भने शीताङ्ग भयो ।

धेरै भ्रमण गर्ने भएकाले शरीरको तापक्रम नमिलेको होला भन्ने लाग्यो । तर यो त दैनिकी जस्तै हुन थाल्यो । विस्तारै राति निद्रा नलाग्ने, शिरदेखि पैतालासम्म भतभत पोल्ने, कोही बोल्यो कि झर्को लाग्ने हुन थाल्यो, एक्लै बस्न पाए हुन्थ्यो जस्तो ।

सुत्दा पनि झसङ्ग हुने, डर जस्तो, मुटुको धड्कन पनि बढेको जस्तो । राति दुई बजेसम्म पनि निद्रा नलागेपछि म मोबाइल चलाएर यूट्यूब चलाउन थाले । मलाई अनलाइन देखेपछि अमेरिकाबाट छोराले भाइबरमा मेसेज गर्‍यो– यति रातिसम्म काम नगर्नुस्, आफ्नो केयर गर्नुपर्दैन मामु ?

भोलिपल्ट मैले आफूमा आएको सबै परिवर्तन छोरालाई भनें । छोराले भन्यो, “मामु, तपाईंलाई त मेनोपज हुन लागेको रहेछ । यस्तो वेला ‘मूड स्विङ’ पनि हुनसक्छ, केयर गर्नु, केही हुँदैन ।” ओहो ! आजकालका बच्चा कति स्मार्ट !

त्यसपछि मैले धेरै साथीहरूसँग मेनोपजबारे सोधें । उनीहरूको अनुभव पनि मेरो जस्तै रहेछ । डाक्टरकहाँ पनि गएँ । सम्पूर्ण शरीर जाँचपछि पनि केही नदेखिएपछि महीनावारी बन्द हुने लक्षण देखिएकोमा कुनै सन्देह रहेन ।

एक वर्षपछि, अहिले मेरो महीनावारी पूर्ण रूपले बन्द भएको छ । यसो सोच्छु, नियमितजसो विपश्यना ध्यान गर्ने मलाई त महीनावारी सुक्ने वेला यति गाह्रो भयो भने अरूलाई झेल्न कति गाह्रो होला ?

सम्बन्धित सामाग्रीहरू:

आफ्नै शरीर बुझिएन

छोराले भनेपछि पो थाहा पाएँ !

मर्नेसम्मको सोच आयो !

श्रीमानकाे सहयोग नै औषधि

रजोनिवृत्ति प्रजनन् क्षमताको अन्त्य हो, यौन जीवनको होइन 

बेवास्तामा ‘महीनावारी बन्द’, जोखिममा महिला स्वास्थ्य

प्रतिकृया दिनुहोस