‘पहिले करोडौंको फूल विदेशमा बेच्थ्यौं, अहिले किनिरहेका छौं’
‘दुई दशकअघि १९ करोड रुपैयाँसम्मको पुष्प र पुष्पजन्य वस्तु निर्यात भएको थियो। अहिले प्रविधिमा लगानी र विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा निर्यात बढाउन सकेनौं।’
पुष्प व्यवसायीको संस्था फ्लोरिकल्चर एशोसिएशन नेपालले बर्सेनि पुष्प प्रदर्शनी गर्दै आएको छ। ‘स्वच्छ वातावरण तथा आर्थिक समृृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नारा सहित चैत १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीभण्डपमा २५औं पुष्प प्रदर्शनीको आयोजना गरिएको छ।
यही सन्दर्भमा आयोजक संस्था फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङसँग हिमालखबरका लागि महेश्वर आचार्यले गरेको कुराकानीः
पुष्प प्रदर्शनी चलिरहेको छ। यस पटकको प्रदर्शनीको विशेषता के हो?
प्रदर्शनीको नारा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ तय गरिएको छ। प्रदर्शनीमा ६० वटा व्यावसायिक स्टल, तीन वटा ल्यान्डस्केप स्टल, आठ वटा अफिसियल स्टल र एउटा प्रतियोगितात्मक प्रदर्शनी स्टल राखिएका छन्।
मेलामा फूलका बोटबिरुवा, कम्पोस्ट मल, बीउबीजन, ग्रीनहाउस, कृषि औजार, आधुनिक पुष्पखेती प्रविधि, जैविक विषादीका प्रदर्शनी तथा बिक्री कक्ष छन्।
मेलाको आर्थिक पक्ष कसरी व्यवस्थापन गर्नुभएको छ?
सरकारले २०७१ देखि २०७४ सालसम्म राम्रै सहयोग गरेको थियो। त्यसयता सरकारबाट उल्लेख्य आर्थिक सहयोग पाएका छैनौं। बागमती प्रदेश सरकारले पुष्प मेलालाई तीन लाख रुपैयाँ सहयोग दिने प्रतिबद्धता गरेको छ। त्यस बाहेक सरकारी, गैरसरकारी वा दातृ निकायबाट आर्थिक सहयोग पाएका छैनौं। आन्तरिक स्रोत परिचालन गरेर मेला आयोजना गरेका हौं।
हाम्रो आर्थिक स्रोत नभएका कारण र भीड व्यवस्थापनका लागि पनि टिकटको व्यवस्था गरेका छौं। सर्वसाधारणले १५० रुपैयाँ र विद्यार्थीले १०० रुपैयाँ तिर्नुपर्नेछ। प्रदर्शनीमा ५० हजार अवलोकनकर्ता आउने र रु. एक करोडसम्मको कारोबार हुने अपेक्षा छ।
पुष्प व्यवसायीले नर्सरी एशोसिएशन अफ नेपाल संस्था खोलेका छन्। ३० वर्षदेखि संगठित फ्लोरिकल्चर एशोसिएशनमा फूट आएको हो?
फ्लोरिकल्चर एशोसिएशन टुक्रेर गएको हो कि भन्ने चिन्ता देशभरका साथीहरूले गर्नुभएको छ। संस्था टुक्रेको होइन। हाम्रो संस्थामा आबद्ध केही साथीले नयाँ संस्था खोलेका हुन्।
निवर्तमान अध्यक्ष कुमारकसजू श्रेष्ठबाट आर्थिक अनियमितता भएको ठहर गर्दै ३१औं साधारणसभाले एक वर्षका लागि निलम्बन गर्यो। त्यसपछि उहाँकै अगुवाइमा नयाँ संस्था बनेको छ।
पुष्प व्यवसायको पछिल्लो अवस्था के छ?
नेपालमा पुष्प व्यवसाय २०११ सालदेखि नै शुरू भए पनि चालीसको दशकमा मात्रै नर्सरी व्यवसायले आकार लिन थालेको हो। २०४९ सालमा फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान)को स्थापना हुँदा देशभर ८० वटा नर्सरी थिए। अहिले ४८ जिल्लाका झन्डै २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय विस्तार भएको छ। पुष्प व्यवसायले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी झन्डै ४४ हजार जनशक्तिलाई रोजगार दिएको छ।
आर्थिक पक्ष केलाउँदा गत आर्थिक वर्षमा तीन अर्ब सात करोड रुपैयाँभन्दा बढीको पुष्प कारोबार भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा ३३ प्रतिशतले बढी हो। गत आर्थिक वर्षमा ६८ लाख रुपैयाँको पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात गरेका थियौं।
अर्थतन्त्र शिथिल हुँदा अन्य क्षेत्र संकटमै छन्। नर्सरी व्यवसाय भने राम्ररी चलिरहेको छ भन्दा हुन्छ?
कोभिड-१९ महामारीका कारण खुम्चिएको पुष्प व्यवसाय बल्लबल्ल गति लिंदै छ। पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत छ। यसलाई बढाउन र व्यवसाय दियो बनाउन प्रयासरत छौं।
तर व्यवसायीले मात्रै सबै काम कुरा गर्न सक्दैनौं। सरकारी पक्षबाट नीतिगत पहलकदमी नहुँदा अनेकौं समस्यासँग जुधिरहनुपरेको छ।
पुष्प व्यवसायको खास समस्या के हो?
व्यवसायीका धेरै समस्या छन्। करको पनि झन्झटै छ। ब्यांकिङ र ऋणको क्षेत्रमा पनि असजिलो भोगिरहेका छौं।
सरकारले पाँच वर्षका लागि रु.पाँच करोडको कृषि कर्जा दिन्छ। जबकि कुनै कुनै कृषि परियोजनामा पाँच वर्षमा उत्पादन नै शुरू हुँदैन। हाम्रो माग कृषि ऋणको समयसीमा दश वर्ष हुनुपर्छ भन्ने छ।
सरकारले कृषकलाई दिने ब्याज अनुदानको रकम पनि अर्थ मन्त्रालयले निकासा गरेको छैन। देशभरका कृषकले पाउनुपर्ने ब्याज अनुदान बापतको रु.१३ अर्बभन्दा बढी रकम रोकिएको छ। समग्र कृषि क्षेत्रले नै समस्या भोगिरहेकाले पुष्प व्यवसायी पनि मर्कामा छन्।
त्यसैले सबैभन्दा पहिला राष्ट्रिय पुष्प प्रवर्द्धन नीति बन्नुपर्छ। त्यसो भएमा केही न केही सहज होला भन्ने अपेक्षा छ।
फूलको आयात र निर्यातको अवस्था के छ?
आयात र निर्यातको अवस्था केलाउँदा अघिल्लो वर्ष रु.३३ करोडको पुष्प तथा पुष्पजन्य वस्तु आयात गरेको देखिन्छ। निर्यात ६८ लाखको मात्र छ।
कुनै वेला त नेपालबाट उल्लेख्य मात्रामा पुष्प निर्यात हुने गरेको थियो, किन कम भयो?
दुई दशकअघि रु.१९ करोडसम्मको पुष्प र पुष्पजन्य वस्तु निर्यात भएको थियो। अहिले प्रविधिमा लगानी गर्न नसक्दा र विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा निर्यात बढाउन सकेनौं। फेरि कोभिड-१९ महामारीका कारण केही व्यवसायी पलायन भए।
कतारमा लिली फूल निर्यात गर्दा पनि घाटा भयो कुरा सुनियो। यथार्थ के हो?
नेपालमा उत्पादित लिली फूल कतार निर्यात गरेका थियौं। तर हवाई भाडाका कारण नेपालको फूलभन्दा नेदरल्यान्ड्सबाट आएको फूल सस्तो पर्यो। फूल निर्यात गर्दा सरकारी ध्वजावाहक नेपाल वायुसेवा मार्फत हवाई ढुवानीमा छूट दिने हो भने व्यवसायीलाई अलिकति भरथेग होला, नत्र निर्यातका लागि गाह्रै छ। हाम्रो उत्पादन लागत भारत वा अन्य मुलुकको भन्दा अत्यधिक भएकाले पनि निर्यात गर्न गाह्रो छ।
ठूलो लगानी नभित्र्याउँदासम्म पुष्प क्षेत्रको विकास र विस्तार हुने देखिंदैन। यसका लागि राज्यले लगानी गर्ने र भएको लगानी संरक्षण हुने वातावरण बनाउनुपर्छ।
आयात प्रतिस्थापनका लागि गर्नुपर्ने एउटै काम भनेको उत्पादन बढाउनु हो। त्यसका लागि उपयुक्त वातावरण बनाउन राज्य अग्रसर हुनुपर्छ। भारतबाट अवैध रूपमा हुने फूलको आयातलाई रोक्नुपर्छ।
अहिले पनि बजार मागको झन्डै ८० प्रतिशत उत्पादन गरिरहेका छौं, नपुग २० प्रतिशतका लागि आयात गर्नुपर्ने हो। चैतदेखि मंसीरसम्म स्थानीय उत्पादनले नै धान्छ। यसका लागि पनि पुष्प प्रवर्द्धन नीति ल्याउनुपर्छ।
तिहारमा सयपत्री र भ्यालेन्टाइन्स डेमा चाहिने फूल त आयात नै गर्नुपरेको छ नि हैन?
सयपत्री माला केही मात्रामा आयात गर्नुपर्छ। यस वर्ष त आत्मनिर्भर थियौं। आयात रोकौं भन्दाभन्दै पनि सरकारले अलि बढी नै आयात अनुमतिपत्र जारी गर्दा किसानका फूल फाल्नुपर्ने अवस्था आयो।
भ्यालेन्टाइन्स डेमा खपत हुने परिमाण बराबरकाे गुलाफ नेपालमा नफुल्ने हुँदा आयात गर्नुपर्छ। पछिल्लो २० वर्षमा ग्रीनहाउसभित्र गुलाफखेती गरेका छैनौं। जुन वेला गरेका थियौं, त्यो वेला निर्यात बढेको थियो। नेपालमा उत्पादित गुलाफ जापान निर्यात हुन्थे।
पछिल्लो समयमा प्रविधिमा लगानी नगर्दा गुलाफ उत्पादन कम भएको छ। अर्को, पुस, माघ र फागुनमा अत्यधिक चिसोले उत्पादन कम हुने भएकाले आयात गर्नुपर्छ।