कला/साहित्य बुधबार, मंसिर ११, २०७६

पिपलबोटमा ‘जोकरको बन्दुक’

हिमालखबर

कुनै समय न्यूरोडको पिपलबोट साहित्यकारहरुको जमघट हुने थलो थियो । पञ्चायतकालमा विभिन्न साहित्यिक आन्दोलनको सुरुवात पिपलबोटबाटै भयो । साहित्यकारले पिपलबोटलाई नयाँ नाम दिए, स्ट्रीट एकेडेमी ।

अहिले पनि न्यूरोडको न्हछे गल्लीमा पर्ने न्हुच्छे महर्जनको चिया पसलमा हरेक साँझ साहित्यकारहरु भेला हुन्छन् । उनीहरु यसलाई ‘स्ट्रीट एकेडेमी’ अर्थात पिपलबोट जमघटकै निरन्तरता मान्छन् ।

उक्त चिया पसलमा १० मंसीरमा भने पुस्तक विमोचन भयो । साहित्यकारहरु पुरुषोत्तम सुवेदी, बुद्धिसागर, नयनराज पाण्डे र शार्दूल भट्टराईले कवि विमल निभाको नयाँ कविताकृति ‘जोकरको बन्दुक’ विमोचन गरे ।

विमोचनको फोटो कोही आगन्तुकले खिचिदिए । त्यहाँ उपश्थित साहित्यकारले फोटो सामाजिक सञ्जालबाट सार्वजनिक गरे ।

पिपलबोट जमघटमा आफ्नो कृतिको अनौपचारिक विमोचन गरेको कवि निभाले बताए । तर, आफूले विमोचनको औपचारिक कार्यक्रम पनि नगर्ने उनको भनाइ छ । कवि निभाले भने, “विमोचनको अर्थ प्रकाशित भएको जानकारी दिनु हो, अनौपचारिक विमोचनबाटै प्रकाशन भएको जानकारी भइसक्यो ।”

उनको यो तेस्रो कविताकृति हो । यसमा ६० वटा कविता संग्रहित छन् । अधिकांश कविता २०७५ सालमा तीन महिनाको अवधिमा लेखिएको उनले बताए ।

आफू प्रगतिवादी चेतका साथ कविता लेख्ने भएकाले नयाँ संग्रहका कविता पनि त्यसैको निरन्तरता भएको निभाको भनाइ छ । यसअघि उनका ‘एउटा बाहुला नभएको बुसर्ट’ र ‘आगोनेर उभिएको मानिस’ कवितासंग्रह प्रकाशित छन् ।

साहित्यकार शार्दूल भट्टराईले कवि निभा विशिष्टताकै कारण नेपाली कविताका पर्यायका रुपमा उभिएको उल्लेख गरेका छन् । पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो । १४४ पृष्ठको पुस्तकको मूल्य रु.२५० छ ।

प्रतिकृया दिनुहोस