कला/साहित्य सोमबार, मंसिर ९, २०७६

जयललिता बनिन् कंगना, 'थलाइवी' को फस्ट लुक र टिजर सार्वजनिक

हिमालखबर

जयललिता र उनको चरित्रमा अभिनेत्री कंगना रनौत

भारतको तमिलनाडु राज्यकी पूर्व मुख्यमन्त्री जयललिताको बायोपिक 'थलाइवी' को फस्ट लुक र टिजर सार्वजनिक गरिएको छ। फिल्ममा प्रमुख भूमिकामा रहेकी कंगना रनौतलाई अनुहार र हाउभाउमा दुरुस्तै जयललिताका रुपमा प्रस्तुत गरिएको छ।

चुनौतीपूर्ण चरित्रमा जीवन्त अभिनयबाट आफूलाई साबित गर्दै आएकी कंगनाको यो पछिल्लो फिल्मप्रति पनि दर्शक र समीक्षकको अपेक्षा धेरै रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

जयललिताको चरित्रलाई न्याय गर्न कंगनाले तमिल भाषा, भरतनाट्यम सिक्नेदेखि उठ्ने-बस्ने हरेक तौरतरिकाबारे अभ्यास गरेको बताइएको छ।

फिल्मको घोषणा हुने वेलामै कंगनाले आफ्नो कहानी जयललितासँग मिल्दोजुल्दो रहेकी बताएकी थिइन्। 

जयललिता राजनीतिमा लाग्नुअघि कलाकारितामा लागेर ख्यातिप्राप्त अभिनेत्री बनेकी थिइन्। आफूले पनि जिन्दगीमा सबै कुरा संघर्षले पाएको बताउँदै कंगनाले भनेकी थिइन्, "मेरो कथा जयललितासँग धेरै हदसम्म मिल्छ, तर सफलताको मामिलामा उनको कथा मेरो भन्दा ठूलो छ।"

ए एल विजयले निर्देशन गरेको 'थलाइवी' हिन्दी, तमिल, तेलुगु गरी तीन भाषामा प्रदर्शन गर्ने जनाइएको छ। फिल्म २६ जून २०२० मा रिलिज हुनेछ। - एजेन्सी

प्रतिकृया दिनुहोस