कला/साहित्य शनिबार, कात्तिक ३०, २०७६

‘धन्न दक्षिणएशियामा काठमाडौं र कोलम्बो छन्’

हिमालखबर

दक्षिण एशियामा खुला र स्वतन्त्र बहसका लागि नागरिक चेतनाको अभिवृद्धि अरु जरुरी भएको ३० कात्तिकमा ललितपुरको पाटनढोकामा आयोजित कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।

तस्वीर : कनकमणि दीक्षितकाे ट्वीट ।

वृत्तचित्र महोत्सव ‘फिल्म साउथएशिया’को तेस्रो दिन यलमाया केन्द्रमा आयोजित ‘लिवर्टी एण्ड द स्पिरिट अफ साउथएशिया’का सहभागी वक्ताहरूले यस क्षेत्रमा विकासका मौलिक मोडेल हुनुपर्नेमा जोड दिए ।

छलफलमा हरि शर्माले भने, “समावेशिता र विकासको बहसको दायरा अरु खुकुलो र फराकिलो बनाउन आवश्यक छ ।”

छलफलमा सहभागी बंगलादेशी वक्ता अका रेजा गालिबले दक्षिण एशियाको समग्र नागरिक चेतनाको विकासका लागि संकीर्णता त्यागेर हातेमालोको उन्नत अभ्यास गर्नुपर्नेमा जोड दिए । शर्मा र गालिब सहित छलफलका अन्य वक्ताहरूमा भारतकी लक्ष्मीमूर्ति र टीका ढकाल थिए ।

आरिसलाग्दो काठमाडौं !

छलफलमा सहभागी आयशा गजदार पाकिस्तानकी फिल्म निर्मात्री हुन् । उनी मानवअधिकारको बारेमा हुने बहसहरूमा सहभागी भइरहन्छिन् ।

उनलाई काठमाडौं उत्रिएपछि बल्ल खुला र स्वतन्त्र ठेगानामा पुगेको महसुस हुन्छ, कराँची वा इस्लामावादभन्दा धेरै स्वतन्त्र।

३० कात्तिक बिहान ‘हिमाल’सँग आयशाले भनिन्, “दक्षिण एशियामा धन्न काठमाडौं र कोलम्बो छन्, नत्र यस्ता बहस कहाँ हुन्थे होला र ?”

काठमाडौंका सडकमा महिलाले सहकर्मीलाई पछाडि राखेर निस्फिक्री स्कूटर चलाइरहेको देख्दा आयशालाई उदेक लाग्छ । सडकमा पुरुषसँगै महिला काममा जुटिरहेको देख्नु पनि उनका लागि रमिता नै हो ।

“पाकिस्तानका महिला यतिको स्वतन्त्रता उपभोग गर्ने कल्पना पनि गर्दैनन्, जुन यहाँ सामान्य झैं देखिन्छ”, जारी ‘फिल्म साउथएशिया’को निमन्त्रणामा काठमाडौं ओर्लिएकी आयशा भन्छिन् ।

उनका अनुसार, पाकिस्तानका सडक, कार्यालय र सार्वजनिक स्थलहरूमा यत्तिका महिलाहरू नै भेटिदैनन् । अधिकांश घरभित्रै, पुरुषको चौकीदारीमा हुन्छन् ।

अन्तरदेशीय सीमा र राजनीतिक मुद्दामा पानी बाराबार हुँदाको नतिजा, चिरदुश्मन मुलुक पाकिस्तान र भारतका नागरिकहरूले कुनै पनि विषयमा छलफल काठमाडौं वा कोलम्बो रोज्ने गरेका छन् । यात्रा पनि सहज कहाँ छ र ?

वृत्तचित्र महोत्सवमा भाग लिन कराँचीबाट काठमाडौं आउन आयशाले मध्यपूर्वको मुलुक ओमान हुँदै आउनुपर्‍यो । भारत– पाकिस्तानले आपसी हवाईमार्गमा बन्देज लगाएको परिणाम हो यो ।

“समग्र दक्षिणएशियाका नागरिकको भोगाइ उस्तै दुरुह छ, धन्न पीडा अभिव्यक्त गर्ने मञ्च बेलाबेला काठमाडौं र कोलम्बोले दिन्छन्”, उनले भनिन्।

प्रतिकृया दिनुहोस