कला/साहित्यशनिबार, १६ कार्तिक , २०७६

फेसन डिजाइनर प्रबल गुरुङको ‘कफी टेबल बुक’ आउँदै

हिमालखबर

विश्वप्रसिद्ध फेसन डिजाइनर प्रबल गुरुङको जीवनीमा आधारित पुस्तक आउने भएको छ । अमेरिकामा बसेर फेसन डिजाइनरका रुपमा ख्याति कमाएका प्रबल गुरुङले इन्स्ट्राग्राम मार्फत किताबको तस्वीर सार्वजनिक गरेका छन् ।

गुरुङले आफ्नो जीवनीमा आधारित ‘कफी टेबल बुक’ किताब नोभेम्बर १२ बाट उपलब्ध हुने जानकारी दिएका छन् ।

आफ्नै नामको फेसन ब्रान्ड स्थापनाको दसौं वार्षिकोत्सव मनाउने क्रममा प्रबलले किताबबारे जानकारी सार्वजनिक गरेका हुन्।

सार्वजनिक हुन लागेको किताबको तस्वीर सहित खुसी बाँड्दै भनेका छन्, "मेरो पहिलो किताब ‘कफी टेबल बुक’ आउन लागेको घोषणा गर्दा म रोमान्चित, नम्र, गर्व र सम्मान अनुभव गरेको छु । किताब १२ नोभेम्बरदेखि स्टोरमा उपलब्ध हुनेछ ।"

प्रबल गुरुङ

प्रबल गुरुङ शीर्षकमा सार्वजनिक हुने उनको किताबमा आप्रवासीको कथा र आफ्नो अमेरिकी सपना पूरा भएको कथा समेटिएको उनले लेखेका छन्।

सिंगापुरमा जन्मिएर काठमाडौंमा हुर्केका प्रबल हलिउडदेखि बलिउडसम्मका सेलिब्रेटीले रुचाएका चर्चित डिजाइनर हुन्।

पूर्वअमेरिकी प्रथम महिला मिसेल ओबामादेखि बेलायती राजकुमारी केटसम्मले उनले डिजाइन गरेको लुगा रुचाएका छन्।

प्रतिकृया दिनुहोस