कला/साहित्य विहीबार, असोज २३, २०७६

भरे (कथाः राजव)

हिमालखबर

- राजव

 

राजव

हिंडेर झिङलिङ पुग्न दिनभर नै लाग्छ । मन्त्रीले हिसाब गर्दै भनेको थियो, “बिहान ६ बजे हिंड्ने हो भने साँझ् चार/पाँच बजे पुगिन्छ ।”

मन्त्रीलाई पहाड उक्लिनु र ओर्लिनुपर्ने झिङलिङको दुःख थाहा थियो । जनयुद्धकालमा धेरै पटक लुक्न, क्रान्ति गर्न झिङलिङ पुगेको थियो मन्त्री । सात–आठ घन्टाको हिसाब गर्दै उसले सुनाएको थियो, “लास्टै लाग्छ !”

यो वार्ता मन्त्रालयमा भइरहेको थियो । मन्त्रीको अगाडिका कुर्सीहरूमा सचिव, सहसचिव, अरू एकाध कमर्चारी र केही खास वरिष्ठ चम्चाहरू थिए। पार्टीले हरेक वर्ष महान् क्रान्ति दिवस मनाउँछ । त्यसको लागि देशका विभिन्न ठाउँमा नेता–कार्यकर्ता खटाउँछ । पार्टी क्रान्तिलाई आफ्नो स्मृतिमा राखिरहन र जनतालाई क्रान्ति जारी छ भन्ने भ्रम छर्न चाहन्छ ।

यो भ्रम छर्न यस पटक पार्टीले मन्त्री मङ्गलप्रसादलाई झिङलिङ पठाउने निर्णय गरेको थियो । पोहोर पार्टीले मङ्गलप्रसादलाई राजधानी नजिककै जिल्लामा खटाएको थियो । यस पटक विकट ठाउँ पठाउने निर्णय उसलाई वाहियात् लागेको थियो । तर, पार्टी बैठकमा यसको विरोधमा उसको बोली फुटेको थिएन । अँध्यारो न अँध्यारो अनुहार लिएर ऊ मन्त्रालय छिरेको थियो । मन्त्री आएको देख्ने वित्तिकै पवनपुत्र हनुमान र त्यै रूपका अन्य चम्चाहरू उसको कार्यकक्षमा हुर्रिएका थिए ।

“के भयो कमरेड र ?”

पार्टी निर्णयप्रतिको सारा क्रोध कमरेड मङ्गलप्रसादले ह्वात्तै ओकल्यो, ‘झुर भयो नि !’

पवनपुत्र हनुमानजी लगायतका चम्चाहरू प्रश्नमय आँखाले मन्त्रीको क्रान्तिकारी मुद्रामा टोलाउन थाले । मन्त्रीको आँखाबाट क्रान्तिकारी ज्वाला उठिरहेको थियो । साहस गरेर एक पवनपुत्रले सोध्यो, “के निर्णय भयो र सर र ?”

“अरू के हुनु, झिङलिङ जानुपर्ने भयो ।”

वास्तवमा निर्णय झुरै भएको रहेछ भन्नेमा पवनपुत्रहरू सहमत भए । सबै टोलाउन थाले । सचिवको लागि भने यो मन्त्रीलाई तेल घस्ने स्वर्ण अवसर थियो । पहिले आफ्नै जिब्रोमा तेल घस्दै उसले भन्यो, “चिन्ता नलिऊँ हजूर, हेलिकप्टरमा जाऊँ । म व्यवस्था गर्छु ।”

मङ्गलप्रसादले खोजेको यही थियो । भनिहाल्यो, “तपाईं भन्नुहुन्छ भने त्यसै गर्नुपर्ला ।”

त्यसपछि मन्त्रीसँग को को जाने भन्ने छलफल चल्यो । उपस्थित सबै पवनपुत्रहरू हेलिकप्टर चढ्ने भए । यो निर्णय अविलम्ब भएको थियो । हेलिकप्टर चढ्ने दिन एकाध अरू चम्चा कमरेड पनि थपिएका थिए । पाइलटलाई कसैले सोधेको थियो, “ओभरलोड हुन्छ कि पाइलट सा’ब ?”

पाइलट चम्चा लाइनकै थियो । भनिहाल्यो, “हुँदैन, हजूरहरू सबै बसिस्यो ।”

त्यस दिन एघार जनाको टोली महान् क्रान्ति दिवस मनाउन झिङलिङ उडेको थियो ।

लगभग यत्तिकै संख्याका जनयोद्धाहरूको कमाण्ड सम्हाल्दै पन्ध्र वर्ष अघि कमरेड मङ्गलप्रसाद झिङलिङ पुगेको थियो । पहिलो पटक झिङलिङ पुग्दाको त्यो वेला उसलाई क्रान्तिको लागि ठीक ठाउँमा आइयो भन्ने लागेको थियो । किनभने क्रान्तिको लागि भयानक गरीबी झेलिरहेको जातजाति, समाज र विकट भूगोल चाहिन्थ्यो ।

जहाँका जनता अपठित होउन् । भोकसँग तिनको युद्ध चलिरहेको होस् । तिनले स्याउला ओढेर सुत्नु परेको होस् । तिनका बालबच्चा कुपोषणले टाक्सिएका होउन् । छाप्रा जस्ता स्कूल होउन् र त्यहाँ पढाउने मास्टर नहुन् । यस्तै दयनीय अवस्थाको गाउँ थियो झिङलिङ । 

झिङलिङमा गरीबीको यस्तो दारुण अवस्था भएका सबै घरहरू भुजेलहरूका नै थिए । कमरेड मङ्गलप्रसादले भुजेलहरूको दुःखको सागर देखेको थियो । त्यसलाई निमिट्यान्न पार्न उसले क्रान्तिको उद्घोष गरेको थियो । त्यस दिन झिङलिङका सबै भुजेलहरू मङ्गलप्रसादको भाषण सुन्न भेला भएका थिए । मङ्गलप्रसादले भोक र अभावले सुकेका तिनको ताली खूब पाएको थियो ।

सगरमाथामा पहिलो पटक पुग्ने तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारी भए जस्तै यो विकट झिङलिङमा पहिलो पटक पुग्ने रामहरि पनेरु र एडी स्मिथ थिए । त्यो भन्दा पहिले पढे लेखेको, सुकिलो कुनै मान्छे झिङलिङ पुगेको कुनै अभिलेखमा भेटिंदैन ।

झिङलिङका भुजेलहरू पनि यस्तै भन्थे, “अलि अगाडि यहाँ एउटा खैरे साब र एक जना बाजे आउनुभएको थियो, त्यसपछि कुनै ठूला मान्छे आएको छैन यहाँ ।” खैरे साब एडी स्मिथ र उनका सहयोगी बनेर आएका रामहरि पनेरु झिङलिङमा तीन दिन बसेका थिए । त्यस अवधिमा तिनले त्यहाँका भुजेलहरूको सांस्कृतिक एवम् आर्थिक पाटो र इतिहास अध्ययन गरेका थिए ।

एडी स्मिथ अमेरिकी समाजशास्त्री र इतिहासकार हो । ऊ प्रख्यात प्राच्यविद् एडवर्ड सइदको चेलो थियो । एडवर्डले उसलाई कोलिम्बया विश्वविद्यालयमा पढाएको थियो । ऊ पहाडी जनजातिको इतिहास र अवस्थाबारे अध्ययन गर्ने सिलसिलामा नेपाल आएको थियो । त्यस वेला ऊ सनफ्रान्सिस्कोस्थित स्ट्याण्डफोर्ड विश्वविद्यालयको प्रोफेसर थियो ।

बोके दाह्रीले चिउँडो सजाएको मोटोघाटो थियो एडी स्मिथ । झिङलिङ पुगेपछि उसको दिमागको हावा खुस्किएको थियो । किनभने पहिलो पटक ऊ भयानक कष्टले बाँचिरहेका मानिस देख्दैथियो । जस्तो विकट भूगोल, त्यस्तै कष्टकर जीवन । यस्तो दृश्य देख्ने बित्तिकै उसले रामहरि पनेरुलाई भनेको थियो, “मानिसहरू यस्तो विकराल स्थितिमा बसिरहेका छन् भन्ने कल्पना पनि गर्न सकिन्न ।”

काठमाडौंको एक विश्वविद्यालयको प्रोफेसर, समाजशात्री रामहरि पनेरुले उसलाई भनेको थियो, “यथार्थहरू कल्पना गर्न सकिन्न, देखेपछि मात्र थाहा हुन्छ ।”

एडी स्मिथले भनेको थियो, “यु आर राइट प्रोफेसर, त्यस कारण म यहाँ छु ।”

एडी स्मिथले झिङलिङका भुजेलहरूबारे आफ्नो अनुसन्धान पत्रमा यस्तो लेखेको छ– ‘झिङलिङका आदिवासी जनजातिहरू नाङ्लो बुन्छन् । पेट पाल्ने उनीहरूको दरिलो काम यै हो । उनीहरूसँग लालपुर्जाविनाको दुई–चार रोपनी पाखोबारी छ । तर, त्यसमा उब्जने थोरतिनो मकै, कोदो पेट पाल्न पर्याप्त हुँदैन । त्यसकारण उनीहरू नाङ्ला बुन्छन् । यो काम उनीहरूले पुस्तौंदेखि गर्दै आएका छन् ।

नाङ्लोको लागि चाहिने कच्चा पदार्थ बाँस हो । तर, झिङलिङमा बाँसको झाङ कतै छैन । झिङलिङका बन्जर डाँडामा बाँस उम्रिने सम्भावना पनि छैन । एडीले निकै आश्चर्य मानेर गाउँलेहरूसँग सोधेको थियो, “बाँस यहाँ उब्जदैन, अनि तिमीहरूको नाङ्लोको लागि बाँस आउँछ कहाँबाट रु” “हामी तल बेसी जान्छौं साब ।”

बाँस लिन उनीहरू पाँच कोस तल बेसी झ्र्छन् । बेसीमा बाँसका झङ थुप्रै भेटिन्छन् । साहूसँग मोलमोलाइ गरेर बाँस किन्छन् र चोया बनाउन त्यहीं आवश्यक लम्बाइमा गिंड्छन् । अन्ततः आआफ्ना भारी बोकेर उनीहरू झिङलिङ फर्कन्छन् । घर आएर चोया बनाउँछन् र नाङ्ला बुन्न थाल्छन् ।

बुनेका नाङ्लाहरूको चाङ बोकी लस्कर लागेर तल राजमार्गमा झर्छन् । नाङ्लाका भारी बसहरूका छत वा ट्रकमा हालेर सदरमुकामका बजार पुग्छन्। सदरमुकामका पसलेहरूलाई थोकमा बेचेपछि पीठो, नुनतेलको कुम्लो बोकेर ती घर फर्कन्छन् ।

श्रमको यो कठिन उकाली–ओरालीको प्रक्रियाले थिलथिलिएका तिनको यस्तो हाल बुझेपछि एडी स्मिथ र रामहरि पनेरुबीच गफ चलेको थियो ।

“क्या गजब ! त्यै बाँस माथि ल्याउँछन्, त्यै तल झर्छन् ।”

“सिसिफस इन रियल लाइफ ।”

“नट इन मिथ ।”

“इन रियालिटी ।”

द्वन्द्वकालको समयमा झिङलिङका भुजेलहरूको यही दुःखको सम्बोधन गर्दै कमरेड मङ्गलप्रसादले भनेको थियो, “हाम्रो जनसत्ता स्थापित भएपछि तपाईंहरूको यो दुःख निमिट्यान्न पार्छौं । यहाँसम्म ट्रक गुड्ने बाटो तुरुन्तै निर्माण गर्छौं ।”

यो सुन्नासाथ भुजेलहरूका सिसिफस हातहरूले निकै ताली ठटाएका थिए । वर्षौंपछि उनीहरूको आँखा अगाडि जनयुद्धले आशाको झिल्को देखाएको थियो । भुजेल युवाहरू युद्धको प्लाटुनमा जोडिएका थिए । ती फेरि प्लाटुनबाट फर्किएनन्, गएको गयै भए । युद्धको दौरान सत्ताको राइफलले केही मारिए । केही बेपत्ता भए ।

एडी स्मिथ र रामहरि पनेरुले आफ्नो अनुसन्धानको क्रममा भुजेलहरूलाई सोधेका थिए, “तिमीहरू तल बेसीमा किन बसाइँ सर्दैनौं र ?”

“हाम्रो जमीन छैन हजुर तल । उहिल्यै खसहरूले खेदेर हामीलाई यता उकालिदिए ।”

जनयोद्धा कमरेडहरूले पनि देखेको यही थियो । त्यसकारण उनीहरूले भनेका थिए, “हामी यो प्रतिक्रियावादी राज्यको विभेदकारी बुर्जुवा शिक्षा व्यवस्था उन्मूलन गर्नेछौं र जनवादी शिक्षा लागू गर्छौं । तपाईंहरूका छोराछोरी, नातिनातिना सबलाई निःशुल्क शिक्षा दिनेछौं । अहिलेको संसदीय भासको सरकारले तपाईंहरूलाई घोर अन्धकारमा राखेको छ । हामी त्यसलाई चिर्नेछौं, क्रान्तिकारी उज्यालो छर्नेछौं ।” झिङलिङका भुजेलहरूलाई क्रान्तिकारी उज्यालो भनेको बिजुली बत्ती भन्ने लागेको थियो । तर, त्यसको अर्थ उनीहरूलाई लागे जस्तो होइन रहेछ । जनयुद्ध समाप्त भएपछि मात्र उनीहरूलाई क्रान्तिकारी उज्यालोको अर्थ अँध्यारो भन्ने थाहा भएको थियो ।

एडी र रामहरिको अनुसन्धान रिपोर्टले पहिरोमा परेर बेपत्ता भएका परिवारको पनि लेखाजोखा गरेको थियो । रिपोर्टमा लेखिएको थियो, ‘भुजेलहरूलाई बेंसीतिर सार्ने हो भने पर्यावरणको मात्र होइन, जीवनको पनि संरक्षण हुन्छ ।’ यो कुरोमा जोड दिंदै दुवैले आफ्नो रिपोर्टमा भिरालो जमीनमा दुःख झेलिरहेका भुजेलहरूलाई कतै सुगममा सरकारले नै जमीन उपलब्ध गराए मात्र भुजेलहरूको दिन उज्यालो हुने सुझाएका थिए ।

झिङलिङ पुगेर जनयोद्धा कमरेडहरूले पनि त्यही उज्यालो छर्ने भाषण गरेका थिए । भुजेलहरूसँग उनीहरूले प्रण गरेका थिए, “हामी तपाईंहरू सबैलाई तल झापाका फाँटमा जग्गा उपलब्ध गराउँछौं । त्यहाँका सामन्तलाई उनीहरूकै थलो खेद्नेछौं ।” यो सुनेर भुजेलहरूका भुजाहरूमा रक्तसञ्चार बढेको थियो । उनीहरूले उत्साहित भएर ताली बजाएका थिए ।

एडी र रामहरिको अनुसन्धान रिपोर्टले भुजेलहरू कसरी राज्य सत्ताको हेलामा परिरहेका छन् भन्ने केस्रा केस्राको खुलासा गरेको छ । राज्य सत्ताको खेदाइमा परेर भुजेलहरू नेपाल राष्ट्रका विभिन्न भूगोल नाघ्दै कसरी झिङलिङ पुगे भन्ने समेत तिनले आफ्नो रिपोर्टमा प्रष्ट पारेका छन्। एडी र रामहरिको सुझाव छ– ‘वर्षौंदेखि अलगथलग पारिएका भुजेलहरूलाई राज्यको मूलधारमा स्थापित गर्न जरूरी छ । शासनदेखि प्रशासनसम्म यिनलाई समावेश गरिनुपर्छ ।’

जनयोद्धा कमरेडहरूले पनि तिनलाई क्रान्तिकारी जोशका साथ नारा उराल्दै भनेका थिए, “हामी जनसत्ता स्थापित गर्नेछौं, तपाईंहरूमध्येबाटै कसैले यो देशको शासन सम्हाल्नेछ, तपाईंहरू सबै यो देशको शासन, प्रशासनको हकदार हुनुहुन्छ ।”

यो सुनेर भुजेलहरूले हात रातो हुने गरी ताली पिटेका थिए । झिङलिङका पहराहरूमा क्रान्तिकारी गर्जन गुञ्जिएको थियो । त्यसको प्रतिध्वनिले जनयोद्धाहरूको छाती भव्यतम भएको थियो ।

तर भुजेलहरूलाई राज्य सत्तामा कसरी समावेश गर्ने रु यो प्रश्नको उत्तर पनि एडी र रामहरिको रिपोर्टमा भेटिन्छ । त्यसमा उनीहरूले लेखेका छन्, ‘भुजेलहरू पूर्णतः निरक्षर छन् । तिनलाई साक्षर बनाउनुपर्छ, शिक्षित पार्नुपर्छ । यसका लागि राज्यको शिक्षा व्यवस्था तिनीहरूसम्म पुर्‍याउन जरूरी छ । अहिले त राज्यले भुजेलहरूलाई शिक्षाको पहुँच दिएकै देखिएन ।’

जनयोद्धा कमरेडहरूले पनि देखेको यही थियो । त्यसकारण उनीहरूले भनेका थिए, “हामी यो प्रतिक्रियावादी राज्यको विभेदकारी बुर्जुवा शिक्षा व्यवस्था उन्मूलन गर्नेछौं र जनवादी शिक्षा लागू गर्छौं । तपाईंहरूका छोराछोरी, नातिनातिना सबलाई निःशुल्क शिक्षा दिनेछौं । अहिलेको संसदीय भासको सरकारले तपाईंहरूलाई घोर अन्धकारमा राखेको छ । हामी त्यसलाई चिर्नेछौं, क्रान्तिकारी उज्यालो छर्नेछौं ।”

झिङलिङका भुजेलहरूलाई क्रान्तिकारी उज्यालो भनेको बिजुली बत्ती भन्ने लागेको थियो । तर, त्यसको अर्थ उनीहरूलाई लागे जस्तो होइन रहेछ । जनयुद्ध समाप्त भएपछि मात्र उनीहरूलाई क्रान्तिकारी उज्यालोको अर्थ अँध्यारो भन्ने थाहा भएको थियो ।

एडी र रामहरि फेरि झिङलिङ गएमा उनीहरूले झिङलिङको हालत उस्तै देख्नेछन् । उनीहरूले नयाँ अनुसन्धान रिपोर्ट लेख्नुपर्ने छैन । तिनले स्ट्याण्डफोर्ड विश्वविद्यालयको अभिलेखालयमा रहेको आफ्नो पुरानै रिपोर्ट कपी गरे हुन्छ । किनभने जनयुद्धपछिको झिङलिङ बदलिएको छैन । भयानक गरीबी झेलिरहेका भुजेलहरू उस्तै छन् । तिनले स्याउला ओढेर सुत्नुपरेकै छ ।

भोकसँग तिनको युद्ध यथावत् छ । तिनका बालबच्चा कुपोषणले टाक्सिएकै छन् । छाप्रा जस्ता तिनका स्कूलमा पढाउने मास्टर छैनन् । बच्चाहरूको दिन भीरमा बाख्रा चराएर बित्छ ।

यस्तो स्थितिमा क्रान्ति दिवस मनाउन कमरेड मङ्गलप्रसाद सहित एघार जनालाई राखेर उडेको हेलिकप्टर झिङलिङ पुग्दैथियो । कमरेडहरू आउँदै छन् भन्ने सूचना दिन र स्वागतको तयारी गर्न अघिल्लो दिन नै बेंसीका केही कमरेडलाई झिङलिङ खटाइएको थियो । हेलिकप्टर थुम्कोमा अवतरण हुनासाथ कमरेड मङ्गलप्रसादको टोलीलाई स्वागत गर्न भुजेलहरू ओइरिउन् भनेर आवश्यक निर्देशन सहित तिनलाई खटाइएको थियो ।

तर, हेलिकप्टरबाट कमरेडहरू ओर्लिंदाको दृश्य त्यस्तो थिएन । त्यहाँ कमरेडहरूको स्वागतमा चरो, मुसो प्रकट भएको देखिएन । अपेक्षित स्वागतको कुनै निसान थिएन ।

यो हाल देखेर कमरेड मङ्गलप्रसादको टाउको झ्नन्न गरेको थियो । एकछिनपछि उसको लागि अर्को झ्ट्का थपिएको थियो । ऊ महिला, पुरुष र केटाकेटी लगायत चालीस, पैंतालीस जनाको हुल आफूहरूतिर क्रूद्ध मुद्रामा सोझिदै तलबाट उक्लिरहेको देख्दैथियो । उनीहरू हरेकको हातमा लौरो थियो । यो देखेर कमरेड मङ्गलप्रसादको सम्पूर्ण टोलीकै मथिङ्गल खल्बलिएको थियो ।

जुलूस बिल्कुल मौन आक्रामक रूपमा अगाडि बढिरहेको थियो । स्थिति खतरनाक देखेपछि क्रान्तिकारी टोली हेलिकप्टरतिर दौडिएको थियो । जुलूस थुम्कोमा पुग्दा हेलिकप्टरले आकाशमा उँचाइ लिइसकेको थियो ।

भित्र क्रूद्ध मुद्राको मन्त्रीलाई एक क्रान्तिकारी भन्दै थियो, “भरे ह्विस्की तान्ने हो कमरेड !”

प्रतिकृया दिनुहोस