कला/साहित्य शनिबार, असोज १८, २०७६

रार (कथा: नयनराज पाण्डे)

हिमालखबर

–नयनराज पाण्डे

‘हे प्रभु, तपाईं शान्त स्वरूपको हुनुहुन्छ । शेषनागमा शयन गर्नुहुन्छ । हजुरले नाभिमा कमल धारण गर्नुभएको छ । हजुर समस्त विश्वको आधार हो । हजुर आकाश जस्तो । बादल झैं वर्ण हजुरको । हजुर देवी लक्ष्मीलाई सँगै राखेर एकान्तमा बस्नुहुन्छ । योगीहरूले हरदम हजुरकै ध्यान गरिरहन्छन् । प्रभु, हजुर समस्त विश्वकै आधार, लोककै नाथ । त्यसैले हजुरले यो संसारबाट सबै खालका भयहरू दूर गरिदिनु हवस् । हामी गरीबहरूको पनि कल्याण गर्नु हवस् ।’

 

नयनराज पाण्डे

हजारौं वर्षदेखि गरीबहरू यही प्रार्थना गरिरहेका छन् । हजारौं वर्षदेखि धनीमानीहरू पनि यही प्रार्थना गरिरहेछन् । तर, हजारौं वर्षदेखि कल्याण भने धनीमानीकै भइरहेछ । देवी लक्ष्मी यसै कुरामा असन्तुष्ट थिइन् ।

एकदिन पतिदेव अर्थात् भगवान विष्णुसित आफ्नो असन्तुष्टि व्यक्त पनि गरिन् । तर, विष्णुजीले वास्ता गरेनन् । शेषनागमा मस्त निदाइरहे ।

लक्ष्मीलाई चित्त बुझेन । उनी जुरुक्क उठिन् । उनी आफैं पृथ्वीमा अवतरित भएर गरीबको कल्याण गर्न चाहन्थिन् । पृथ्वीमा तालतलैया कम भइसकेका थिए । तिनमा कमल पनि फुल्न छाडेका थिए । लक्ष्मीलाई बस्ने ठाउँको सङ्कट भयो ।

त्यसैबेला नेपालको सूचना विभागको प्रेसबाट धमाधम कमलको फूलमा बसेकी लक्ष्मीको चित्र सहितको क्यालेण्डर छापिंदै थियो । लक्ष्मी माता तिनै क्यालेण्डरहरूमा विराजमान भइन् ।

यता, शेषनागमा शयन गरिरहेका विष्णु ब्युँझिए । तर, छेउमा अर्धाङ्गिनी लक्ष्मी थिइनन् । उनले आफ्नी पत्नी गरीबको कल्याण हेतु पृथ्वीतिर लागेको र सूचना विभागले छापेको क्यालेण्डरमा बसेको पत्ता लगाए । लक्ष्मीले गरीबहरूलाई जथाभावी असर्फी बाँडेर धनको अपव्यय गर्लिन् भन्ने चिन्ता भयो विष्णुलाई । अन्ततः उनले हातबाट असर्फी झर्न सक्ने लक्ष्मीको शक्ति हरण गरिदिए । लक्ष्मी क्यालेण्डरहरूमा शक्तिहीन भएर बस्न बाध्य भइन् ।

स्मरण रहोस्, लक्ष्मी माताको चित्र भएको क्यालेण्डर छापिंदै गर्दा बालुवाटारको प्रधानमन्त्री निवासको जग्गा माफिया, न्यायाधीश, उच्चपदस्थ सरकारी कर्मचारी, व्यापारी र नेताहरू मिलेर धमाधम भागबण्डा गरिरहेका थिए । उता, काठमाडैँदेखि निकै पश्चिम मधेशको एउटा गाउँमा भने कसैको एकधुर जग्गा पनि थिएन । सबै ऐलानीमा छाप्रो बनाएर बसेका थिए । देशमा विकासका ठूलाठूला विलासी गफ चलिरहेको बेला उनीहरू साँझकाे छाकको लागि गडहनी साग र मकैको पीठोको जुगाडमा लाग्थे ।

यो कथा, त्यही गरीब गाउँको हो । शेषनागमा मस्त सुतिरहेका र अरू तमाम भगवानहरूले नदेखेका गाउँको कथा ।

•••

रामनवमीको दिन । सतियाले बिहानै कोठाको एउटा कुनामा चामलको पीठोको ऐपन हालेर पूजा गर्ने ठाउँ सजाएकी थिइन् । अघिल्लो दिन आफ्नै हातले राम, लक्ष्मण र सीताका स–साना माटाका मूर्ति बनाइसकेकी थिइन् । बेसारमा अक्षता मिसाएर बिहानै माटाका देउताहरूलाई टीका लगाइदिएकी थिइन् । मूर्तिमा जल, फूल र एक–एक मुठी चामल चढाएपछि दियो बालेर आरती गर्दै भजन गाएकी थिइन्— भए परकट किरीपाला दिनदयाला कौसिल्या हितकारी... ।

सतियाले पूजा सकेपछि रामनरेश गाउँका अरू साथीसँगै फलामको सुइरो र पानको हरियो पात लिएर बागेश्वरी मन्दिरतिर लागेका थिए । यो दिन जिब्रो छेड्यो भने बागेश्वरी मैयाको कृपाले दुःखकष्टबाट मुक्ति पाइन्छ भन्ने विश्वास गर्थे गाउँले । त्यसैले उनले पनि वर्षौंदेखि जिब्रो छेड्दै आइरहेका छन् ।

त्यो दिन पनि उनले बागेश्वरी मैयाको पूजा गरे र मन्दिर अगाडि उभिएर फलामको मसिनो सुइरोमा पहिला पानको पात सिउरे अनि एक हातले आफ्नो जिब्रो तानेर अर्को हातले जिब्रोमुनिबाट सुइरो पसाए । जिब्रो र सुइरो समातेर तीनपल्ट मन्दिर परिक्रमा गरे । अनि मन्दिरको ढोकाअगाडि उभिएर मनमनै प्रार्थना गरे, ‘हे बाकिसोरी मैया ! अब त किरिपा गर ! हाम्रो दुःख, गरीबी दूर गरिदेऊ ! अर्को साल पनि यसरी नै मन्दिर परिकरमा गर्छु ।’

प्रार्थना गरिसकेपछि उनले जिब्रोबाट सुइरो झिके र त्यसमा सिउरेको पानको पात चपाए । जिब्रोको घाउ निको पार्ने यो प्राकृतिक तरिका थियो ।

तर, यसरी जिब्रो छेडेर गरीबी हट्दैन भन्ने कुरा रामनरेशहरूलाई कसले सम्झाइदिने ? कसले भनिदिने उनीहरूलाई, ‘गरीबी त जिउधारी कुवा हो । यसले तिमीहरू जस्ता गरीबलाई सधैं निलिरहन्छ । गरीबी त जखैया भूत हो । यसले अनाहकमा तिमीहरूलाई तर्साएर जिना हराम गरिरहन्छ ।’

•••

रामनवमीको पूजा सकेर सतिया पनि फोहोरमा प्लाष्टिक बटुल्न बजार आएकी थिइन् । फोहोर खोतल्दा खोतल्दै उनले एउटा क्यालेण्डर फेला पारिन् । पात्रोमा धनकी देवी उनै लक्ष्मीको रङ्गीन चित्र छापिएको थियो । चित्रमा विशाल समुद्रमा फुलेको कमलको फूलमाथि उभिएकी लक्ष्मीका हातबाट सुनौला असर्फीहरू झरिरहेका थिए।

सतियाले चित्रलाई ढोगिन् र फोहोरको बीचमा उभिएर निकैबेरसम्म लक्ष्मी मैयालाई हेरिरहिन् । जति हेर्दै गइन्, उनको अनुहार उति नै उज्यालो हुँदै गयो । क्यालेण्डरमा लागेको धूलो टक्टक्याइन् र जतनसाथ घर ल्याइन् ।

रामनरेश पनि क्यालेण्डर देखेर दङ्ग परे । यसपालि बागेश्वरी मैयाले कृपा गरेर उनीहरूलाई धनसम्पत्तिले परिपूर्ण गरिदिन लक्ष्मी मैयासित जोडदार सिफारिश गरिदिइन् भन्ने लाग्यो उनलाई । त्यसैले त त्यो फोटो भएको क्यालेण्डर अरूको हातमा नपरेर सतियाले नै फेला पारिन् ।

मिन्टुले पनि बप्पा र महतारी दुवैलाई यति खुशी कहिल्यै देखेको थिएन । आज बाबुआमाको अनुहारमा देखेको खुशी भोलि बिहान उठ्दा सपना भइदेला भन्ने डरले ऊ अबेरसम्म निदाएन ।

•••

‘सतियाले लछिमी मैयाले हातबाट झरझर झरझर असर्फी झरिरहेको फोटु ल्याएकी छ ।’

एकै खालको दिनचर्या, गरीबीको एकै किसिमको मार र नियति भोगिरहेका गाउँलेका लागि यो फरक खालको घटना थियो । त्यसैले बिहानसम्म गाउँभरि हल्ला फैलिसकेको थियो । गाउँभरिका महिलाहरूका हृदयमा डाहाको अग्नि बल्न थालिसकेको थियो । खसमहरूका छातीमा पनि खुर्सानी दले जस्तै भएको थियो ।

शनिश्चरीकी बडकी माई गाउँभरि डुल्दै भुत्भुताइरहेकी थिइन्, ‘हामी गाउँभरिका महतारी, मेहरारु, बिटिया, भौजी, काकी, सासू र पतोहूहरूले जिनगीभरि घरको दलिद्दर भगाउन दिवालीमा गन्नाको लट्ठीले धप्प धप्प गर्दै सुप्पा ठटायौं । लछिमी आवै, दलिद्दर जावै भनेर मैयालाई न्यौता पनि दियौं । तर आजसम्म हाम्रो कुनै पुछत्तर भएन । मैयाले सतियामाथि मात्र किरिपा गरिन् ।’

बब्बनले पनि सुने यो खबर । उनले चुलोमा आगो बालिरहेकी नैनीलाई लात हाने । ‘साली हरामिन, सतियाले लछिमी मैयाको फोटु नै फेला पारी । तँ भने घरमा एक पसेरी चाउरको भात गबर गबर भकोसेर बस्छेस् । तँजस्ती जोरु त कसैको नहोस् ।’

नैनी जण्ड थिइन् । सबै तर्किन्थे उनीसित । गाउँले कुरा काट्थे, ‘बब्बनकी जोरु सी कलासी छे । कनफुकनी र मुहँजोर पनि उत्तिकै छे । त्यसको असिल नाम त नैनी नभएर मन्थरा हुनुपर्थ्याे। गाउँमा सधैं रार मच्चाउँछे । त्यो बेलज्जीसित मुख लाग्नु भनेको गोबरको ढेरीमा पत्थर हान्नु जस्तै हो ।’

के सहन्थिन् नैनीले ! तुरुन्तै पाखुरा सुर्किंदै वचन फर्काइहालिन्, ‘दहिजरऊ, रातरातभरि तँजस्तो दुई मनको हरामीको डनलप बन्नुपर्छ । मैले यति भात पनि नखाऊँ ? तँ आफू भने दुनियाँको अगाडि डरपोकना भएर हिंड्छस्, घरमा भने अरबी घोडा बनेर मलाई लतियाउँछस् ?’

डुगडुगी बजाएर खबर गाउँभरि फैलाउने खबरी लखिरामले दिक्क हुँदै भने, ‘अब डेली सतियाले फोटुमा धूप बाल्छे । जल पनि चढाउँछे । एक न एक दिन लछिमी मैया परसन्न भैहाल्छिन् । अनि उसको मडैयामा फोटुबाट असर्फीको बर्सात हुन थाल्छ ।’

हुक्कुमले अलिक थपथाप गरेर भने, ‘हेर्दाहेर्दै रामनरेश र सतियाहरू धन्नासेठ हुन्छन् र बजारमा सिमिन्टको अङ्ग्रेजी सटाइलको दुतल्ला घर बनाएर नुकरचाकर राखेर बस्छन् । पलङ्गमा सुत्छन् । खेतीहर जमीन पनि किन्छन् । आँगनमा थ्रेसर पनि राख्छन् । अब हाम्रै आँखा अगाडि फटफटिया कुदाएर हिंड्छ रामनरेश । हाय ! उनीहरूको जिनगीमा सतजुग आउने भै हाल्यो । हाम्रो जिनगी भने गडहनी साग खाएरै बित्ने भो ।’

सतियाले पाउने सुख सम्झेर रामप्यारीलाई पनि चैन भएन । उनले पनि फलाकिन्, ‘कम्मरमा चाबीको गुच्छा लटकाएर हिंड्छे अब सतिया । हामीले रामनरेशसँग अँगुठा लगाएर उधारी लिनुपर्ने हुन्छ । यही सम्झेर मेरो हियामा दनदनाएर अगनी बलेको छ ।’

गज्जुलालले आगोमा डालडा थप्दै भने, ‘उनीहरू मालिक बन्छन्, हामी रैयत । पैसा भएपछि त नागिर्ता पनि सजिलै बनिहाल्छ । त्यसपछि उनीहरूले चुनावमा ओट हाल्न पाउँछन् । नेता बन्छ रामनरेश । सतिया पनि नेताइन् बन्छे ।’

गज्जुलालकी बुढी रमैयालाई पनि खपिनसक्नु भएको थियो । भन्दै थिइन्, ‘मलाई त रामनरेशहरूको सुख र आफ्नो जिनगीभरिको दुःख सम्झेर सियार झैं हुँआ हुँआ गरेर रुन मन लागेको छ । छातीमा हायतौबा मच्चिएको छ । दिलमा एकसाथ लू र शीतलहर चलिरहेछ ।’

मिन्टु दौडँदै आयो र सतियासित भन्यो, ‘माई, खबरी काकाले डुगडुगी बजाएर सबलाई पञ्चैतीमा बोलाएको छ ।’

•••

गाउँको बीचमा गजधम्म उभिएको पीपलको रूखमुनि सारा गाउँले जम्मा भएका थिए । रूखैमुनि डोरीवाला दुईवटा खटियामा पञ्च भलाद्मीहरू बसेका थिए । कोही सूर्ती माडिरहेका थिए, कोही कानमा राखेको बिंडी झिकेर सल्काउँदै थिए । बब्बनले सबैका लागि चिलिमको जोहो गर्दै थिए ।

पञ्चहरू बसेको खाटभन्दा पाँच हात जति पर भुइँमा देब्रेतिर पुरुषहरू र दाहिनेतिर महिलाहरू बसेका थिए । महिलाहरूकै बीचमा अपराधी झैं बसेकी थिइन् सतिया । केही महिला आफ्नो कपाल कन्याउँदै सतियातिर बडो डाहाडे पाराले हेरिरहेका थिए । सतियाको मुख रिसले कुप्प फुलेको थियो ।

पञ्चैतीमा बिरादरीको मुख्य मान्छे भएर खाटमा सबैभन्दा अगिल्तिर खुट्टा झारेर बसेका थिए रामलाल । लक्ष्मी मैयाको फोटोप्रति गाउँलेहरूको आकर्षण र ईर्ष्या देखेर उनले पुरानो उखान सम्झिए र फत्फताए, ‘एक नीम, सब घर शितलाहा । लछिमी मैयाको फोटु एउटा, वरदान भने सबैलाई चाहिएको छ ।’

पुरुषहरूको बीचतिर थिए रामनरेश । उनी यसै पनि सिधासाधा थिए । आजसम्म कसैसित उनको तँ तँ, म म पनि भएको थिएन । तर, आज उनी जस्ता भलाद्मीले पनि घुँडा कानकानसम्म ल्याएर सबैको सामु अपराधी जस्तै टुक्रुक्क बस्नु परेको थियो । क्यालेण्डर चाहिं मिन्टुले काखीमा च्यापेको थियो । मिन्टुको अनुहारमा नाईं, यो कैलेण्डर म कसैलाई दिन्नँ भन्ने भाव थियो ।

‘खै, म पनि हेरुँ त मैयाको फोटु ।’

रामलालले नै मागेपछि मिन्टुले दिन्नँ भन्न सकेन । रामलालले पहिला क्यालेण्डरलाई ढोगे । त्यसपछि बटारिएको क्यालेण्डर फुकाए र मुग्ध भएर लक्ष्मी मैयालाई हेरिरहे । तस्वीरमा हाँसिरहेकी लक्ष्मी मैयालाई देखेर उनी पनि गिजा देखाएर हाँसे ।

नैनीले कुरा निकालिहालिन् ।

‘सारा गाउँ कङ्गाल हुँदा, लछिमी मैयाले सिरिफ सतिया र रामनरेशलाई असर्फी दिन मिल्छ ?’

सतिया कराइन्, ‘किन मिल्दैन ? त्यो त लछिमी मैयाको मर्जी हो । उनले जसलाई पनि किरिपा गर्न सक्छिन् । मेरो लिलारमा लेखेको थियो, त्यही मारे मैले यो फोटु पाएँ । मेरो किस्मत चम्किन्छ भनेर तिमीहरूको करेजामा किन धायँ धायँ आगो बलेको ?’

त्यसपछि गज्जुलाल कड्किए, ‘अरे, पाेर साल बरखा नहुँदा हामी सबैले मिलेर बरखा होस् भनेर मेढक र मेढकीको शादी गराएको कुरा बिर्सिस् ?’

हो त । परार साल पूरा नौ महीना पानी परेन । पछुवा हावा कति चल्यो तर एक बुँद पनि पानी ल्याएन । कारे मेघा पानी दइदे भनेर बादलसित कति याचना गर्दा पनि पानी परेन । दक्खिन पूर्वबाट हाहाहूहू गर्दै यमराजी हावा चल्न थालेपछि त जमीन पनि पटपटी चिरा पर्न थाल्यो । कुवामा पानी सुकेर एक चौथाइ भएको थियो । गाउँलेहरूले आफ्नो छाप्राको छतमा चराहरूका लागि माटाको हाँडीमा पानी राखिदिन पनि छाडेका थिए ।

महिलाहरूले हलो जोते भने पानी पर्छ भनेर त्यसो पनि गरे । तर, साउनको अन्त्यसम्म पनि पानी नपरेपछि गाउँलेहरू मिलेर मोटामोटा भ्यागुता र भ्यागुती खोजे । दुलहा दुलहीलाई जस्तै सिंगारे । अनि बाजा बजाएर भ्यागुता भ्यागुतीको बिहे गराए ।

‘अनि बल्ल इन्दर भगवानको दिल खुस भयो, खूब झपटी हवा चल्यो र झमझम वर्षात् भयो । त्यो पानी हामीले आफ्ना लागि मात्र मागेका थिएनौं, पूरा गाउँको लागि मागेका थियौं । आजसम्म हामी सबैले एकअर्काको मरनी करनी, शादीव्याहमा साथ दिएकै छौं । हामी कसैको कसैसित वैमनस छैन । आपसमा विना स्वारथ दुःखकष्टमा साथ दिएकै छौं भने सुखमा पनि हामी सबैको बराबर हकदैया लाग्छ ।’

गज्जुलालको कुरा सुनेर सतियालाई असह्य भयो । धोती उचालेर उनी गज्जुलालमाथि झम्टिहालिन् । त्यसपछि के थियो ! आफ्नो मर्दमाथि हात हालेको गज्जुलालकी बूढी रमैयाले के सहन्थिन् ! फेरि सानो कुरामा रिसाइहाल्ने स्वभाव थियो उनको । उनी सतियामाथि जाइलागिन् ।

कतिलाई सतियामाथि रमैया त्यसरी जाइलागेको मन परेन । त्यहाँ सतियाको डाहा गर्ने मात्र थिएनन्, साथ दिनेहरू पनि थिए । उनीहरूको भनाइ थियो, ‘सतियाको मन मक्खन जस्तै नरम छ । परेको बेला हामीलाई उसले सहयोग गरेकै थिई । अब पनि उसले हामीमाथि अन्याय गर्दिनँ । आफूले पाएको असर्फी हामीलाई दिने नदिने भने उसैको मर्जी हो ।’

त्यसैले सतियाको पक्षधर ओबीलालकी बुहारी रबनी रमैयामाथि जाइलागिन् । रबनीमाथि फुलारामकी बुहारी मिन्ता खनिइन् । मिन्तासित सवितरी भिडिन् । आफ्नी जनानीलाई पिटेको देखेर मिन्ताका खसम धर्माले सवितरीको खसम हुक्कुमलाई मुक्का हाने । चुपचाप बसेको हुक्कुममाथि हात हालेको भन्दै नन्कुले धर्मालाई पछारे । त्यसपछि नन्कुमाथि फुलाराम, फुलाराममाथि ओबीलाल, ओबीलालमाथि झुकराम, झुकराममाथि लायकराम जाइलागे ।

कसले कसलाई रोक्ने ? सारा गाउँ एकअर्कासित भिडिहाल्यो । एउटाले अर्कोलाई चिथोर्‍यो । अर्कोले अर्कोलाई भुत्ल्यायो । उसले त्यसको लुङ्गी तानिदियो । त्यसले त्यसको धोती च्यातिदियो । कति महिलाका चोलो च्यातिए । कतिका चुरा फुटे ।

पूरा गाउँ अखाडामा परिणत भयो ।

•••

रामलालले हस्तक्षेप नगरेका भए त्यो दिनको महाभारतमा धेरैलाई चोटपटक पनि लाग्न सक्थ्यो । अन्त्यमा उनैले निर्णय सुनाएः ‘यसरी रार मच्चाएर केही हुँदैन । परस्परमा मिलेर बस्नुपर्छ । समझदारीले काम गर्नुपर्छ । लछिमी मैयाले असर्फी दिइन् भने त्यो असर्फी सारा गाउँलेलाई बराबर बाँड्नुपर्छ ।’

अनि रामनरेशतिर हेरेर आदेश दिए, ‘गाउँकै सिधासाधा मनई होस् तँ । तँलाई पनि हामी सबैको दुःखदर्द थाहा छ । त्यसैले तँ धनी भइस् भने हामीलाई विना ब्याजमा उधारी दिनुपर्छ ।’

सबैले रामलालको प्रस्तावको समर्थन गरे ।

सतिया र रामनरेशले भने बडो दुःखपूर्वक यो प्रस्ताव स्वीकार गरेका थिए । सतिया त उदासै भइन् । घर आएर रामनरेशले भकभकाउँदै सम्झाए, ‘घाटा लाग्ने भयो भनेर किन मन दुखाउँछेस् ? मैयाले किरिपा गरेर हामीलाई दस असर्फी दिइन् भने हामीले अरूलाई दुइटा मात्र दिइन् भनिदिउँला । बातै खत्तम ।’

सतियाले चित्त बुझाए जस्तो त गरिन् । तर, मन शान्त भएको थिएन । उनी सबैभन्दा बढी नैनी र रमैयासित रिसाएकी थिइन् । हिजोसम्म तिनीहरू सतियाका सबैभन्दा मिल्ने साथी थिए । तर आज तिनैले उनलाई पञ्चैतीसम्म पुर्‍याए । हातै हाले । सतिया फत्फताइन्, ‘नाश होस् तिनीहरूको ।’

यति सराप्दा पनि सतियाको मन शान्त भएन । रात छिप्पिएपछि उनी कसैले नदेख्ने गरी नैनीको घरपछाडि गइन् । नैनीले रोपेको फर्सी गजबले सप्रिएको थियो र त्यसको झ्याङ छाप्रो माथि–माथि चढेको थियो । भर्खर स–साना बतिलाहरू लाग्न थालेका थिए । गाउँमा चोर औंलाले देखायो भने सबै बतिलाहरू कुहिएर झ्र्छन् र फर्सी राम्ररी फल्न पाउँदैन भन्ने भनाइ थियो । सतियाले त्यही गरिन् । फर्सीका हरेक बतिलातिर उनले चोर औंला देखाइन् । रमैयाको घरपछाडि गएर पनि त्यसै गरिन् ।

नभन्दै केही दिनपछि नैनी र रमैयाका घरका फर्सी राम्ररी बढ्नै नपाई कुहिएर फुतुफुतु झर्न थाले । सतियाको मनको अग्नि शान्त हुँदै गयो ।

तर, एउटा अर्को चिन्ताले भने उनलाई अझै छाडेको थिएन । उनले र रामनरेशले पञ्चैतीमा आधा असर्फी गाउँलेहरूलाई दिने वाचा त गरेका थिए । तर, त्यो वाचा झूटो थियो । त्यसैले उनलाई आफ्नै झूटले कुटुकुटु खाइरहेको थियो । उनले झूटो बोल्यो भने विपत्तिहरू आउँछन् भन्ने सुनेकी थिइन् । त्यसैले उनले आफूलाई कौवाले टोकेको र गधाले दैलोमा पिसाब फेरिदिएको सपना देख्न थालिन् ।

रामलालले कुनै दिन भनेका थिए, ‘खराब सपनाले परेशान गर्‍यो भने तुलसी मैयालाई आफ्नो सपना सुनाउनुपर्छ ।’

सतियाको घरमा तुलसी मठ थिएन । सवितरी र रामलालको घरमा मात्र थियो । तर, क्यालेण्डर काण्डपछि उनको तिनीहरूसित मन मरेको थियो । उनले बजारमा फोहोर बटुल्न जाँदा सुर्खेतरोडको एउटा घरको आँगनमा तुलसीको सुन्दर मठ देखेकी थिइन् ।

उनी त्यहीं गइन् । बिस्तारै गेट खोलिन् । सोचिन्, मैयाको दर्शन गर्न आएकोमा कसले पो हकार्ला र ! ढुक्क भएर तुलसी मठनिर पुगिन् । ‘तुलसी मैया नमो नमो’, भन्दै तुलसीलाई प्रणाम गरिन् र आफूले देखेका खराब सपनाहरू एक एक गरेर सुनाउन थालिन् ।

त्यो घरकी मालिक्नीले बरण्डाबाट तुलसी मठमा उभिएर आफ्नै सूरमा फत्फताइरहेकी सतियालाई देखिन् । उनी बरण्डाबाटै चिच्याइन्, ‘लौ न, मदिसेनी पसी । बौलाही जस्ती छे । तुलसी मठनिर उभिएर के के फलाक्दै छे ।’

मालिक्नीको होहल्ला सुन्ने बित्तिकै नोकरचाकर आएर सतियालाई च्याप्प समाते र लछार्दैपछार्दै घरबाट निकाले । सतियाको देब्रे हात मर्कियो ।

बजारबाट हात मर्काएर आएको थाहा पाएर नैनी र रमैया सतियाको घरमै आए । नैनीले मर्किएको हातमा लगाउन आफ्नो घरमै पिसेको शुद्ध बेसार ल्याइदिइन् । रमैयाले तातो पानीसित खान एक साल पुरानो सक्खर ल्याइदिइन् ।

सतियाको दुखेको हात चाँडै निको भयो । दुखेको मन झन चाँडै निको भयो । यसरी समाजबाट एक्लिएका रामनरेशहरू फेरि समाजका हिस्सा बने ।

•••

सतिया र रामनरेशलाई कुनै न कुनै दिन लक्ष्मी मैयाको हातबाट निस्केका असर्फी आफ्नो घरमा झर्छ भन्ने विश्वास अझै थियो । सतिया हरेक दिन बिहान अरहरको बढनीले झडबुखार गर्नुअघि असर्फी खस्यो कि खसेन भनेर भुइँमा हेर्थिन् । अरू बेला पनि सतिया र रामनरेश लक्ष्मी मैयातिर आशापूर्ण नजरले हेरिरहन्थे । यो गाउँको इतिहासमा रामनरेश र सतिया नै त्यस्ता पहिला दम्पती थिए, जो खाना खानुअघि हात जोडेर देवी मैयाको प्रार्थना गर्थे ।

निर्धन के घर पधारो मैया

हमरो जीवन सम्हारो मैया ।।

तर, उनीहरूको प्रार्थनाको कुनै असर भएन । लक्ष्मी मैया उनीहरूको घरमा आइनन् । उनीहरूको जीवन सुधारिदिइनन् । मैयाको हातको असर्फी कहिल्यै उनीहरूको घरमा झरेन ।

एकदिन छुचुन्द्रोले लक्ष्मी मैयाको क्यालेण्डर खाइदियो । सतिया केही दिन उदास भइन् तर उनले अब बुझेकी थिइन्, परेको बेला लक्ष्मी मैया हैन, गरीब गाउँलेहरू नै काम लाग्छन् । राति सतियाले महुवाको रोटी आगोमा सेक्दै रामनरेशसित भनिन्, ‘देउतासित जति हात पसारे पनि उनीहरूबाट हामीले सलाईको एउटा काँटी पनि पाउँदैनौं । हामीले चुल्हो बाल्न त गाउँलेसितै आगो माग्नुपर्छ । जिनगीभर दागा धरेर केही फाइदा छैन । एकदिन झगडा गरे पनि सौ दिन यिनीहरूसितै गलबहिँया गरेर हिंड्नुपर्छ । हामीले आफ्नो मनलाई साधुबाबाको कछाड जस्तो मैला बनाउनुहुँदैन ।’

•••

आफूबाट गरीबहरूको कल्याण हुन नसक्ने भएपछि लक्ष्मी फेरि स्वर्ग फर्किइन् र शेषनागमा मस्त निदाइरहेका भगवान विष्णुसँगै बसिन् । विष्णुले निद्रामा बर्बराउँदै लक्ष्मीलाई सम्झाए, ‘धनी–गरीबको राजनीतिमा हामी देउताहरू फस्नुहुँदैन ।’

भगवान विष्णुले यसो भनिरहँदा नापी कार्यालयमा प्रधानमन्त्रीको सरकारी निवासको अन्तिम कित्ता जग्गा पनि कुनै व्यापारी, माफिया या नेताको नाममा नामसारी हुने कागजात तयार हुँदैथियो । प्रधानमन्त्री मन्त्रिमण्डलका सदस्य, केही न्यायाधीश र वरिष्ठ सरकारी कर्मचारीहरूसित असर्फी गनिरहेका थिए ।

ठीक त्यही बखत रामनरेश सतियासित भनिरहेका थिए, ‘हामीसित जमीन छैन । त्यसैले हाम्रो ठेगाना छैन । विना ठेगाना लक्ष्मी मैयाले पठाएको असर्फी हाम्रो घरमा कसरी आउँछ ? त्यसैले अरू केही नभए पनि हामीलाई हाम्रो जमीन जरूरी छ । झगडा गरेर, रार मच्चाएर भए पनि हामीले हाम्रो भागको जमीन लिनै पर्छ ।’

प्रतिकृया दिनुहोस