कला/साहित्य बुधबार, असोज १, २०७६

पलेँटीमा गीति गुञ्जनसँगै तीन पुस्तक विमोचन हुने

हिमालखबर

‘पलेँटी श्रृङ्खला’ मा एक गीति गुञ्जनसँगै तीन वटा पुस्तकको विमोचन हुने भएको छ ।

यही असोजको १०, ११, र १२ (सेप्टेम्बर २७, २८ र २९ तारिख) गते आयोजना हुने सो सांगीतिक कार्यक्रमकै क्रममा साहित्यकारहरू तीर्थ श्रेष्ठको कविता सँग्रह ‘धर्सैधर्साको चक्रव्यूह’, कालीप्रसाद रिजालको संस्मरण ‘काँडामा हाँसेको जिन्दगी’ र मञ्जुलको गीति यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक हुने भएको छ ।

यी तीनै जना श्रष्टाहरु सहभागी हुने शुक्रबार, शनिबार र आइतबारको पलेँटीमा उनीहरुले रचना गरेका संगीतवद्ध गीतहरू समेत सुनाइने नेपालयले जनाएको छ ।

पहिलो दिन कवि तीर्थ श्रेष्ठ प्रस्तुत हुनेछन् । कार्यक्रममा तीर्थ श्रेष्ठले सिर्जना गरेका गीत, कविता बारे चर्चा र उनीसँगको अन्तरसंवाद पनि प्रस्तुत हुनेछ ।

दोस्रो दिनको पलेँटीमा कवि तथा गीतकार कालीप्रसाद रिजाल प्रस्तुत हुनेछन् । साहित्यकार रिजालको नयाँ कृति ‘काँडामा हाँसेको जिन्दगी’ पनि पलेँटीको सांगीतिक माहोल बीच सार्वजनिक गर्नुको साथै उनको गीति लेखनको यात्रा र नव प्रकाशित पुस्तकका सन्दर्भसँग सम्बन्धित रहेर अन्तर संवाद गरिने कार्यक्रम रहेको छ ।

घटस्थापनाको साँझ हुने अन्तिम पलेँटी श्रृङ्खलामा अर्का कवि तथा गीतकार मञ्जुल प्रस्तुत हुनेछन् । नेपालय पब्लीकेसन्सले ‘नेपालय क्यासिक’ शीर्षक अन्तरगत मञ्जुलको गीति यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’लाई पुनः प्रकाशित गरेको छ ।

यो पुस्तकमा मञ्जुल र रामेशको चर्चित सांगीतिक जोडीले पूर्वी नेपालको सांगीतिक भ्रमण गर्दाको यात्रा विवरण समेटिएको छ । कार्यक्रम नेपालयको कार्यक्रमस्थल ‘आर.शाला’ मा प्रस्तुत हुनेछ ।

प्रतिकृया दिनुहोस