पश्चिमी पहाडमा अत्यधिक वर्षाको प्रक्षेपण
मनसुन सक्रिय रहेकाले पश्चिमी पहाडमा आगामी तीन दिन अत्यधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार असार २१ देखि २३ गतेसम्म पश्चिमी पहाडमा अत्यधिक वर्षा हुने सम्भावना छ। न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिण भूभाग तथा सिमाना आसपास नै रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
विशेष गरेर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा वर्षा हुने आकलन छ। गण्डकीका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र मुस्ताङमा अत्यधिक वर्षाको सम्भावना छ।
त्यस्तै, लुम्बिनीको कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्वमा अत्यधिक वर्षा हुने विभागले जनाएको छ। कर्णालीका जाजरकोट, दैलेख, रुकुम पश्चिम, कालीकोट, जुम्ला र हुम्ला तथा सुदूरपश्चिमका डडेल्धुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरामा आगामी तीन दिन अत्यधिक वर्षाको सम्भावना छ।
यससँगै कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा पनि अत्यधिक वर्षाको सम्भावना छ। अत्यधिक वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ।