रेसुंगा र मदानेमा भेटिए आठ नयाँ प्रजातिका चरा
गुल्मीको रेसुंगा र मदाने वन संरक्षित क्षेत्रमा चराका नयाँ आठ प्रजाति फेला परेका छन्।
नेपाल पन्छी संरक्षण संघले गरेको सर्वेक्षणमा मदाने र रेसुंगा संरक्षित वन क्षेत्रमा नयाँ प्रजातिका चरा फेला परेको संघका परियोजना अधिकृत भरत पन्थीले बताए।
मदाने वन क्षेत्रमा भेटिएका नयाँ प्रजातिका चरामा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, कालो बुंगेचरी, आली चुइँया र हिमाली लेकचरी छन्।
त्यस्तै, रेसुंगा वन क्षेत्रमा सानो सेतो बकुल्ला नामको नयाँ प्रजाति फेला परेको पन्थीले बताए। उनका अनुसार वर्षमा दुई पटक म्याकिनन्स लिस्टिङ मेर्थड विधिको माध्यमबाट गुल्मीमा चराको सर्वेक्षण गरिंदै आएको छ।
विश्वमा पाइने दुर्लभ प्रजातिका चरामध्ये गुल्मीमा मात्र ६ किसिमका चरा पाइन्छन्। रेसुंगा र मदाने वन संरक्षण क्षेत्रमा दुर्लभ प्रजातिका चरामध्ये रेसुंगा वन संरक्षित क्षेत्रमा चिरकालिज, रणमच्च महाचिल, डंगर गिद्ध, सोतो गिद्ध, सुन गिद्ध र गोमायो महाचिल पाइन्छन्।
रेसुंगा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर पाइन्छ। नेपालमा पाइने ८९२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशत चरा पाइन्छन्।
एक सर्वेक्षण अनुसार रेसुंगामा २६३ र मदानेमा २८६ प्रजातिका चरा फेला परेका हुन्। मदानेको वन क्षेत्र ९७५ मिटरदेखि दुई हजार ६९० मिटर र रेसुंगा वन क्षेत्र ५७५ देखि दुई हजार ३४५ मिटर उचाइसम्म रहेको छ। वनको क्षेत्रफलको हिसाबले रेसुंगाले १९ हजार २८१ हेक्टर र मदानेले १३ हजार ७४३ हेक्टर ओगटेका छन्।
रेसुंगा र मदाने संरक्षित वनमा दुर्लभ प्रजातिका चराको संख्यामा वृद्धि हुँदै गएको पन्थीले बताए। विश्वमा नेपालमा मात्र पाइने काँडे भ्याकुर रेसुंगा वन क्षेत्रमा मात्र पाइने भएकाले यसको संरक्षणका लागि संकटापन्न अवस्थामा रहेका चराको वासस्थानलाई जोगाइराख्न स्थानीय पालिकाको भूमिका महत्त्वपूर्ण हुने डिभिजन वन कार्यालयका प्रमुख जीवन पंगेनीले बताए। -रासस