हिउँ पहिरोमा अपनाउनुपर्ने सजगता
गूगल अर्थमा उपलब्ध तस्वीरहरू हेर्दा मुस्ताङको बोक्सीखोला क्षेत्रमा विगतमा पनि बाढी उर्लेर ढुंगामाटो थुपारेको देखिन्छ।
प्रा. नरेन्द्रराज खनाल
गत शुक्रबार धौलागिरि हिमालको आइसफल क्षेत्रबाट खसेको हिउँ पहिरोले मुस्ताङको थासाङ गाउँपालिका-२ मा बोक्सीखोला थुनियो र ताल बन्यो। हिउँ पहिरो खसेपछि बाढीसँगै बगेर आएको गेग्रान तलसम्म खोला र किनारमा थुप्रिएको छ। (चित्र १ र २)
उक्त खोलाको जलाधार क्षेत्रमा घना बस्ती नभएकाले हिउँ पहिरो र त्यससँग सम्बन्धित बाढीले धनजनको क्षति भने गरेको छैन। खोलाले बगाएर थुपारेको ढुंगा र माटोले नाउरीकोट जाने सडक र खोला वारिपारिका चरन क्षेत्रमा क्षति पुर्याएको छ।
उक्त क्षेत्रको गूगल अर्थमा उपलब्ध तस्वीरहरू हेर्दा बोक्सीखोलामा १० वर्षअघि सन् २०१४ मा पनि बाढी उर्लिएर ढुंगामाटो थुपारेको देखिन्छ। घट्टेखोला र बोक्सीखोला दोभानदेखि तल बनेको भू-आकृति (नदीले बगाएर ल्याएको ढुंगामाटो थुप्रिएर बनेको टार) हेर्दा त्यस ठाउँमा २०१४ भन्दा अगाडि पनि यस्तै घटना भएको हुन सक्ने अनुमान हुन्छ।
चित्र १ : क) धौलागिरि हिमाल, हिमनदी तथा आइसफल र नदी थुनिएको ठाउँ (रातो त्रिकोण), ख) घट्टेखोला, बोक्सीखोला र घट्टेखोलाको बाढीले ल्याएका गेग्रान थुप्रेर बनेको बाँध (मोटो रातो रेखा), ग) घट्टेखोला र बोक्सीखोलामा सन् १९९५ भन्दा अगाडि नै ढुंगामाटो थुप्रिएर बनेको भू-आकृति र अहिले बनेको बाँध (रातो रेखामा), घ) अहिले ढुंगा, माटो र बरफ थुप्रिएर बनेको बाँध एवम् नदीको पिंध र बाँध (रातो रेखामा)
अहिलेको बाढी सन् २०१४ को भन्दा निकै ठूलो र ढुंगामाटोको रङ पनि भिन्न देखिन्छ। अहिले थुप्रिएको ढुंगामाटोको रङ सेतो छ भने सन् २०१४ मा थुप्रिएको पदार्थको रङ फिक्का नीलो देखिन्छ। (चित्र ३)
चित्र २: चित्र १ जस्तै गूगल अर्थमा देखिने इमेजहरू।
उच्च हिमाली क्षेत्रमा हिउँ पहिरो जाने र बाढी आउने प्रक्रिया भइरहेको हुन्छ। तर विगतको घटनाभन्दा अहिलेको घटना तुलनात्मक रूपमा ठूलो देखिन्छ र त्यसबाट हुने क्षति पनि बढ्दै गएको छ।
चित्र ३ : विभिन्न समयमा गूगल अर्थमा उपलब्ध इमेजहरू र वेबसाइटबाट डाउनलोड गरिएका हालसालै खिचिएका फोटोहरू।
यस्तो क्षति कम गर्न त्यस्ता घटनाको विस्तृत अध्ययन गर्नुका साथै जोखिमयुक्त क्षेत्रमा लगानी घटाउनुपर्छ। अर्थात् सडक, भवन जस्ता भौतिक पूर्वाधार निर्माणमा रोक लगाउनुपर्छ वा सम्भावित घटना अनुकूलको संरचना डिजाइन र निर्माण गरिनुपर्छ।