इलाममा हाब्रे वासस्थान संरक्षण क्षेत्र घोषणा
इलाममा रेडपान्डा (हाब्रे) को वासस्थान जोगाउन बिहीबार ‘रेडपान्डा संरक्षण क्षेत्र’ घोषणा गरिएको छ।
इलाम नगरपालिकाले पुवामाई सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको ११६ हेक्टर क्षेत्र रेडपान्डा संरक्षण क्षेत्र घोषणा गरेको हो। स्थानीय सरकारस्तरमा संरक्षण क्षेत्र घोषणा गरिएको यो पहिलो हो।
अध्ययन गर्दा पुवामाई सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वनमा रेडपान्डाको वासस्थान रहेको देखिएपछि स्थानीय संरक्षणकर्मीले यो क्षेत्र जोगाउन लागिपरेका छन्। इलाम–३ स्थित यो क्षेत्रमा रेडपान्डाको स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने वातावरण बनाउने र प्राकृतिक प्रजनन केन्द्र विकास गर्ने लक्ष्य राखिएको छ।
योे क्षेत्र इलामको सन्दकपुरसम्म फैलिएको छ। संरक्षण क्षेत्र घोषणा भएपछि स्थानीय समितिले यो क्षेत्रमा रेडपान्डालाई असर पर्ने कुनै पनि कार्य गर्न गराउन रोक लगाइने जनाएको छ।
रेडपान्डा संरक्षण क्षेत्रलाई प्राथमिकतामा राखेर संरक्षण क्रियाकलाप अघि बढाउने डिभिजन वन कार्यालयका अधिकृत दानबहादुर श्रेष्ठले बताए। “पालिकास्तरबाट संरक्षण क्षेत्र घोषणा गरिनु आफैंमा राम्रो कुरा हो,” श्रेष्ठले भने, “रेडपान्डा संरक्षणलाई सरकारले नै प्राथमिकतामा राखेको सन्दर्भमा संरक्षण क्षेत्रको यो काम आफैंमा नमुना र सह्रानीय काम हो।”
इलामका प्रशासकीय अधिकृत गणेश खड्काले गत वर्ष समिति गठन गरेर सचेतनामूलक कार्यक्रम गरेको बताए। यससँगै नगरपालिकाले पुवामझुवा सामुदायिक रेडपान्डा संरक्षण तथा व्यवस्थापन कार्यविधि पनि पारित गरिसकेको उनले जानकारी दिए।
संरक्षण क्षेत्र स्थापनामा रेडपान्डा नेटवर्कले सहयोग गरिहरहेको छ। कुनै पनि संरक्षणको काम सफल बनाउन स्थानीयसँगको साझेदारी महत्त्वपूर्ण हुने बताउँदै नेटवर्कका राष्ट्रिय निर्देशक आङफुरि शेर्पाले भने, “इलाममा १५ वर्षदेखि गरिरहेको कामको प्रतिफलको रुपमा यसलाई लिएको छौं।”
कालपोखरी थामडाँगा सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष मानसिंग राईले पुवामाइ र कालपोखरी सामुदायिक वन क्षेत्र जोडिएकाले दुवै मिलेर संरक्षण क्षेत्र घोषणा गरिएको बताइन्। सामुदायिक वन समितिका दुई जनाले रेडपान्डा संरक्षणमा हेरालुको काम गर्दै आएको उनले बताएन्। अब रेडपान्डाले खाने मालिंगो र निगालो रोप्ने योजना रहेको अध्यक्ष राईले सुनाइन्।