‘बागमतीलाई पुनर्जीवन दिन समुदायकै जिम्मा लगाउनुपर्छ’
बागमती नदीलाई पुनर्जीवन दिन स्थानीय बासिन्दालाई नै सरसफाइ तथा व्यवस्थापनको जिम्मा दिनुपर्ने विज्ञ तथा अभियन्ताले बताएका छन्।
प्रदूषणको चपेटामा परेका बागमती लगायत अन्य नदीका खण्डहरू सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दालाई हस्तान्तरण गर्ने अवधारणा ल्याउनुपर्नेमा उनीहरूको जोड छ। यसका लागि सामुदायिक वन उदाहरण भएको उनीहरूको भनाइ छ। सामुदायिक वन जस्तै संरक्षण र व्यवस्थापनको जिम्मेवारी सम्बन्धित क्षेत्रका बासन्दालाई दिंदा उनीहरूले पनि नदीबाट आयआर्जन गर्दै दिगो संरक्षण गर्ने सरोकारवालाले बताएका छन्।
विश्व नदी दिवसको अवसरमा शनिबार बागमतीको उद्गम क्षेत्र सुन्दरीजल नदी किनारमा आयोजित सफाइ तथा संवाद कार्यक्रममा बोल्दै नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले नदी जोगाउन स्थानीय बासिन्दालाई नै अग्रसर गराउनुपर्ने सुझाव दिए। “बागमती र अन्य नदी जोगाउने हो भने अब नदी संरक्षणको जिम्मेवारी स्थानीयवासीलाई दिने कानूनी व्यवस्था गर्नुपर्छ,” आलेले भने, “स्थानीयले आआफ्नो क्षेत्रमा नदीलाई सफा राख्न र पर्यटकीय वा अन्य क्रियाकलाप गरेर सामुदायिक वनबाट जस्तै आयआर्जन गर्न सक्छन्।”
आले नेतृत्वको नेपाल नदी संरक्षण संस्थाले गत २४ वर्षदेखि बागमती सफाइ कार्यक्रम गर्दै आएको छ। बागमती धार्मिक रूपमा पनि महत्त्वपूर्ण छ। बागमती किनारमा ३० भन्दा बढी हिन्दू तथा बौद्ध तीर्थस्थल छन्।
काठमाडौं उपत्यकावासीले प्रशोधन नगरी ढल विसर्जन गर्दा बागमती लगायत अन्य नदीमा जलचर बाँच्न मुश्किल हुँदै गएको छ। दाताको सहयोगमा विभिन्न स्थानमा निर्माणाधीन प्रशोधन केन्द्र लामो समयदेखि अधूरै छन्।
पछिल्लो समय नदीमा फालिएका प्लास्टिकले विकराल रूप लिएर माइक्रो अर्थात् अति साना प्लास्टिकका टुक्रा माछाले समेत खाने क्रम डरलाग्दो भइसकेको त्रिभुवन विश्वविद्यालयको वातावरण विभागका अध्येता दीपनारायण शाहले बताए। काठमाडौंवासीले घर घरबाटै सफाइ अभियान थाले मात्रै बागमतीमा सफा पानी बग्न सम्भव हुन शाहको भनाइ थियो।
झन्डै ६०० सातादेखि बागमती सरसफाइ गरिंदै आएको छ। बागमती सफाइ महाअभियानले यति लामो समयदेखि सरसफाइ गर्दै आएको भए पनि यसमा स्थानीय बासिन्दालाई नै जोड्नुपर्नेमा उनले जोड दिए।
त्यस्तै, अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थाकी नेपाल प्रतिनिधि डा. मनोहरा खड्काले नदीनालाको संरक्षण गरे मात्रै दिगो भविष्य सम्भव हुने बताइन्। बागमती सफाइ तथा सौन्दर्यीकरणका लागि अभियानकर्मीसँगै तीनै तहका सरकार र स्थानीय बासिन्दा जुट्नुपर्नेमा जोड दिइन्।
बागमती किनारमै अवस्थित ओख्रेनी माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज भट्टराईले समुदायलाई अघि सारेरै सफाइ अभियान थाले मात्रै राम्रो परिणाम दिने र नदीको दिगो संरक्षण गर्न सकिने बताए। सुन्दरीजलस्थित बीपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले शिवपुरी निकुञ्जभित्र पर्ने बागमतीको मुहान क्षेत्र समेत प्रदूषित हुन थालेकामा चिन्ता व्यक्त गरे।
बागमती नदीको सफाइ तथा संरक्षण अभियानलाई मुहान रहेको बागद्वार क्षेत्रबाट थाल्नुपर्ने नेपाली कांग्रेसको वातावरण विभाग प्रमुख कल्याण गुरुङले बताए। यसमा सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो।
२२ सेप्टेम्बरमा संसारभर विश्व नदी दिवस मनाउने गरिन्छ। नेपालमा एक दिनअघि नै मनाइएको नदी दिवसका अवसरमा सुन्दरीजलको पुल नजीकै बागमती सफाइ गरिएको हो। बागमती सफाइमा ओख्रेनी माविका विद्यार्थी सहभागी थिए।
यो पनि पढ्नुहोस् :