कार्यालय सहयोगीको जागीर र पढाइलाई सँगसँगै अघि बढाएका काभ्रेका मणिराम दाहालको सपना स्नातकसम्म पढ्ने छ।
कहाँबाट शुरू हुन्छ जिन्दगी?
जहाँबाट रहर र इच्छा शुरू हुन्छ।
काभ्रेको अनेकोटका मणिराम दाहालको जीवनकथाले यस्तै भन्छ। उमेरले ४१ वर्ष टेकेका मणिले यस वर्ष आफ्ना छोरा र छोरीसँगै एसईई दिएका छन्। साथै, आफ्नो अपूरो रहर पूरा गर्न कम्मर कसेका छन्। जुन रहरमा २८ वर्षअघि विराम लागेको थियो जब उनकी आमा दमको रोगले बितेकी थिइन्।
आठ जहान तर आम्दानीको माध्यम खेती मात्र भएकाले मणिको परिवारमा हातमुख जोर्नै समस्या थियो। मणिका दाजुभाइले मेलापातबाट फुर्सदै पाउँदैनथे। “त्यस्तो संकटको समयमा आमा बितेपछि घरमा समस्या थपियो। त्यसैले पढाइ रोकेर खेतीपाती गर्न थालेको थिएँ,” उनी पढाइ छाड्न बाध्य हुनुको कारण खुलाउँछन्। त्यस वेला मणि १४ वर्षका थिए र अनेकोटकै ज्ञानेश्वर माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्थे।
२०५९ सालमा पनौतीकी १४ वर्षीया मैयाँ अधिकारीसँग उनको विवाह भयो। मैयाँका बुबाआमाको आर्थिक अवस्था पनि नाजुक थियो, कक्षा ६ पढ्दापढ्दै उनी बिहे गर्न बाध्य भइन्। “बिहेपछि त हामी बूढाबूढीले अरूको खेत लिजमा लिएर काम गर्न थाल्यौं, त्यसपछि छोराछोरी पनि भए। झनै पढ्ने अवस्था थिएन,” मणि विगत कोट्याउँछन्।
तर यसबीचमा मणिको जीवनले नसोचेको फड्को मार्यो- उनले कक्षा ५ पढ्दापढ्दै छोडेको ज्ञानेश्वर माविबाटै एसईई दिए। “मैले एसईई मात्र दिइरहेको अरूलाई सामान्य लाग्ला तर मेरा लागि सबैभन्दा ठूलो सपना पूरा भइरहेको छ,” प्रफुल्ल भावमा उनी सुनाउँछन्।
विद्यालयको जागीर र परिवारको प्रेरणा
हुन त ज्ञानेश्वर माविमा उनको पुनरागमन २०६६ सालमै भएको थियो- अस्थायी कार्यालय सहयोगीका रूपमा। शौचालय र कक्षाकोठा सरसफाइ गर्ने, घन्टी बजाउने, चिठीपत्र बुझ्ने, शिक्षकशिक्षिकालाई चियाखाजाको व्यवस्थापन गर्ने उनको काम थियो। यो काम पाउँदा पनि मणि निकै खुशी भएका थिए। “त्यस वेला स्कूलमा घन्टी बजाउने पियनको काम पाए पनि मेरा लागि विद्यालयभित्र जागीर खानु ठूलो उपलब्धि थियो,” उनी भन्छन्।
विद्यालयकै जागीरले मुर्झाइसकेको सपना पुनः फक्रिएको उनी ठान्छन्। यस बाहेक श्रीमती र छोराछोरीको प्रेरणाले पनि उत्तिकै सहयोग पुर्याएको उनलाई लाग्छ। हुन पनि, तीन वर्षअघि जेठी छोरी मनीषा र माइला छोरा मनीषले मणिलाई आफूहरूसँग कक्षा ८ मा भर्ना हुन जोर गरेका थिए। मनीषाले त बुबाको दाह्री मुसार्दै भनेकी थिइन्, “बुबा हामीसँगै पढ्नु न! ममीले तपाईंको पढ्ने रहर छ भन्नुभएको छ। हामीसँगै पढ्नुभयो भने तपाईं ट्यूशन पनि जानु पर्दैन।”
मणिलाई छोरीको यो भनाइले त्यति वेलै भर्ना हुन नउक्साएको होइन तर एकातिर विद्यालयको सरसफाइ, घन्टी बजाउने लगायत जिम्मेवारी, अर्कातिर आर्थिक भार। त्यसमाथि पढाइ खर्च धान्न नसकेरै सहयोगको याचना गरेपछि जेठी छोरी मनीषालाई मित्रता फाउन्डेशनले छात्रवृत्तिमा पाँचखालको सरस्वती शिक्षा गृह माध्यमिक विद्यालयमा पढाएको छ। यस्तोमा आफ्ना लागि पनि कापीकलमको जोहो गर्न उनले आँट गरेनन्।
तर श्रीमान्को पढ्ने रहर पूरा गरिदिन मैयाँले हिम्मत कसिन्- पढाइ खर्च जसरी पनि भरथेग गरौंला भनेर साहस दिइन्।
मैयाँले ज्ञानेश्वर माविमै क्यान्टिन सञ्चालन गर्दै आएकी थिइन्। श्रीमान्को जिम्मेवारी पनि वहन गरिदिने अठोट गरिन्। “मैले उहाँलाई घन्टी बजाउने काम मात्र गर्नु, बाँकी म सघाउँली, खर्च पनि मिलाउँली भनें,” मैयाँ भन्छिन्, “त्यसपछि उहाँ विद्यालय भर्ना हुनुभयो।”
त्यसअघि कुचो लिएर कक्षाकोठा छिर्ने मणि त्यस उप्रान्त किताब, कापी र कलम लिएर छिर्न थाले। उनी ७ बजे विद्यालय पुगेर सरसफाइ र गोडमेलको काम सक्थे, विद्यालय समय शुरू भएको घन्टी बजाउँथे अनि कक्षामा हाजिर हुन्थे। हरेक कक्षा ४० मिनेटको हुन्थ्यो, कक्षा सकिएपछि पुनः घन्टी बजाउन पुग्थे।
कहिलेकाहीं कामको चापका कारण कक्षामा उपस्थित हुन नपाउँदा घरमै छोराछोरीले छुटेको पाठ पढाउँथे। “बरु कक्षामा पढाएको कति बुझ्दिनँ तर छोराछोरीले पढाएको सबै बुझिरहेको हुन्छु,” उनी भन्छन्।
छोराछोरीका उमेरका विद्यार्थीसँग पढ्न बस्दा उनलाई रमाइलो पनि लाग्छ। “बच्चाहरूले साथी/दाइ भनेर मेरो आधा उमेर नै घटाइदिएका छन्। पढ्न गाह्रो मात्र कहाँ हुन्छ र!, रमाइलो पनि हुन्छ नि,” उनी खित्का छोड्दै सुनाउँछन्।
मणिका अनुसार विद्यालयका प्रधानाध्यापक राजन राईले जागीर खाँदै पढ्ने वातावरण बनाइदिएका हुन्। साँझबिहान विद्यालयको काम गरेर दिउँसो पढ्ने सुझाव राईले नै दिएका हुन्।
प्रधानाध्यापक राई पनि मणिराम जस्तो मेहनती कर्मचारी र जेहेनदार विद्यार्थी पाएकोमा खुशी छन्। “मणिराम भाइ यस विद्यालयको विद्यार्थी हुनाले पूरै अनेकोट र विद्यालय परिवारलाई नै प्रेरणा मिलेको छ। समयको व्यवस्थापन गरे र उमेरलाई वास्तै नगरे जहिल्यै, जस्तो अवस्थामा पनि पढ्न सकिने उदाहरण हुन्, मणि भाइ,” राई भन्छन्।
स्नातकसम्म पढ्ने योजना
हुन त यो उमेरमा छोराछोरीसँगै उनीहरूकै जस्तो शर्ट, पाइन्ट, टाई लगाएर विद्यालय जाँदा आफन्त र छरछिमेक छक्क परेका थिए। कतिपयले त ‘नमच्चिने पिङको सय झट्का’ भनेर दुर्वचन पनि लगाएका थिए। तर मणिलाई त्यस्ता अभिव्यक्तिले फरकै पारेन। “पढ्ने त आफ्ना लागि पो हो। अरूले के भने भनेर पढ्ने वा नपढ्ने होइन। यो बुद्धि पहिल्यै आएन। आएको भए अभावबीच पनि नलजाई, अझै ठूलो सपना देखेर पढ्थें,” उनी भन्छन्।
मैयाँ पनि शिक्षित मान्छेलाई सबैले सम्मान गर्ने बताउँछिन्। “पढेर के हुन्छ भन्नेहरू त हुन्छन् तर पढेको मान्छेलाई सबैले गन्दा रहेछन्। पढेपछि राम्ररी घरव्यवहार चलाउन, हिसाब गर्न, मान्छेले ठग्न नपाउँदो रहेछ,” उनी भन्छिन्।
हुन त पढेर डाक्टर, इन्जिनीयर वा अरू ठूलो ओहदामा रहेर काम गरुँला भन्ने सोच छैन मणिको। तर एसईई उत्तीर्ण भए मानविकी संकायमा स्नातकसम्म पढ्ने र आकर्षक जागीर खाने उनको योजना छ। “सबै विषयको परीक्षा राम्रै भएको छ। पास हुन्छु भन्ने लागेको छ। हेरौं अब यसैको नतीजापछि अरू योजना बनाउँछु,” उनी सुनाउँछन्।
मणि आफ्ना सबै सपना पूरा नभए पनि कम्तीमा पढाइले धर्म, समाज, विज्ञान र नैतिकताबारे सिकाएको बताउँछन्। हिजोआज त उनलाई नजिकको साथी नै पुस्तक हो जस्तो लाग्छ। “पुस्तक भन्ने अचम्मको चीज रहेछ। पढ्दै गएपछि रस बस्दो रहेछ। अहिले मेरो छोराछोरीपछिका साथी यिनै हुन्,” उनी भन्छन्।
तर आँसु आउने र नजिकको नदेख्ने समस्याले उनी ग्रस्त छन्। आधी-एक घन्टा किताब हेरेपछि उनको आँखा पोल्छ। यद्यपि उनको पढ्ने रहरलाई रोगले रोकेको छैन, केही बेर आराम गर्छन् अनि फेरि पढ्न थाल्छन्।
मणिलाई नेपाली, सामाजिक र विज्ञान विषयसँग विशेष लगाव छ। गणित र अंग्रजीमा भने त्यति भिज्न सकेका छैनन्। तर मनीषा र मनीष यिनै विषयमा तेज छन्। “घरमै छोराछोरीले ट्यूशन जत्तिकै गणित र अंग्रेजी पढाएका छन्। तर पनि बोधो दिमाग भएर होला, सजिलै टिप्दैन,” उनी भन्छन्। एसईईमा पनि मणिलाई यी दुई विषयकै चिन्ता छ।
आजभोलि मणिलाई घरव्यवहारको पनि चिन्ता थपिएको छ- २०७२ सालको भूकम्पमा घर भत्किएपछि उनले साना किसान सहकारी, पाँचखालबाट पाँच लाख रुपैयाँ ऋण लिएर दुईकोठे घर बनाएका थिए। जसको मासिक किस्ता पाँच हजार रुपैयाँ तिर्दै आएका थिए। तर सन्तान सहित आफ्नो अध्ययन खर्चका कारण किस्ता तिर्न नपाएको धेरै भयो।
त्यसमाथि पढाइकै कारण पछिल्लो तीन वर्षयता खेतीपातीको काम समेत हुन सकेको छैन, आम्दानीको स्रोत खुम्चिएको छ। विद्यालयको मासिक १४ हजार तलबले पाँच जनाको परिवार धान्न कठिन छ।
त्यसैले उनलाई आजभोलि लाग्न थालेको छ- छोराछोरीको भविष्य बनाउने वेला आफ्नो पढ्ने रहर कतै गलत सावित त हुँदैन?
तर मणिको परिवार उनको सपना पूरा गरिदिन दत्तचित्त छ। पढ्ने बाहेक अन्य इच्छा नभएकाले श्रीमान्को सपनामा सधैं मलजल गर्ने मैयाँ बताउँछिन्। उनी भन्छिन्, “पढन कहिल्यै अल्छी गर्नुहुन्न। त्यसैले उहाँको रहर मार्दिनँ। उहाँ (एसईई)पास हुनुभए त सबैभन्दा धेरै खुशी म नै हुन्थें। यति खुशी हुन्थें भन्ने पनि सीमा छैन।”