एउटा विषय पढाउने भनेर भर्ना गरी अर्कै विषय पढाएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले महाराजगन्ज नर्सिङ क्याम्पसमा तालाबन्दी गरेका छन्।
एक महीना भयो महाराजगन्ज नर्सिङ क्याम्पसमा अध्ययनरत दिलमाया गुरुङले कुनै सैद्धान्तिक र प्रयोगात्मक कक्षा नलिएको। एउटा विषयमा भर्ना गरेको क्याम्पसले अर्कै विषय पढ्न दबाब दिएपछि उनी तनावमा छिन्।
यो समस्या समाधानका लागि विभिन्न निकाय धाइन्। उनीसँगै भर्ना भएका १४ विद्यार्थी यो समस्या भोगिरहेका छन्। कतैबाट सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनुपरेको उनी बताउँछिन्।
कलेजले गरेको त्रुटि थाहा पाएपछि समाधानका लागि विभिन्न निकाय पुगेर हारगुहार गर्न थालेको सात महीना भइसकेको छ। कतैबाट समस्या सुनुवाइ नभएपछि महाराजगन्ज नर्सिङ क्याम्पसमा तालाबन्दी गरेका छन्। जसले गर्दा चार दिनदेखि पठनपाठन ठप्प छ। “हाम्रो भविष्य अन्योलमा हुँदा कतैबाट पनि ठोस जवाफ नआएपछि आन्दोलन गर्न बाध्य भएका हौं,” गुरुङ भन्छिन्।
एक वर्षअघि उनले चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेकी थिइन्। पीसीएल नर्सिङ गरेकी उनको म्याचिङ महाराजगन्ज क्याम्पसमा ‘ब्याचलर इन मिडवाइफ्री साइन्स (बीएमएस)’ भएको थियो।
![maharajgunj nursing campus (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Education/maharajgunj nursing campus (1).jpg)
कक्षा शुरू भएपछि उनी र उनका साथीले कलेजसँग पाठ्यक्रम मागे। कलेजले इमेलमा अगाडिको पृष्ठभूमि लेखिएको पृष्ठ विना विषयसूची मात्र उपलब्ध गरायो। केही समय पढेपछि उनीहरूले पीसीएल नर्सिङमा पढेकै कोर्स दोहोरियो।
कलेज प्रशासनलाई सोध्दा कक्षा १२ मा विज्ञान पढेका विद्यार्थीले पनि पढ्न मिल्ने गरी कोर्स डिजाइन गरेको जवाफ आयो। जबकि त्यो तीनवर्षे पीसीएल नर्सिङ गरेका विद्यार्थीले मात्र पढ्न पाउने कोर्स थियो।
कक्षा शुरू गरेको तीन महीनापछि क्याम्पसमा प्रयोगात्मक अभ्यास शुरू भयो। त्यो वेला क्याम्पसले विद्यार्थीलाई आफूले पढ्ने विषयमा के के गरिन्छ भन्ने जानकारी समेटेको ‘लग बूक’ दियो। लग बूकमा प्रस्ट रूपमा ‘ब्याचलर साइन्स इन मिडवाइफ्री (बीएस्सी मिडवाइफ्री)’ कोर्स लेखिएको थियो। जुन उनीहरू भर्ना भएको कार्यक्रम नै थिएन। अर्थात्, त्यो पीसीएल नर्सिङ नगरेका तर कक्षा १२ मा विज्ञान पढेका विद्यार्थीका लागि डिजाइन गरिएको कोर्स थियो।
त्यसपछि उनीहरूले चिकित्साशास्त्र अध्ययन संस्थान, डीन कार्यालयका एकेडेमिक काउन्सिल प्रमुख डा. प्रेम ज्ञवालीलाई भेटे। डा. ज्ञवालीले यो कोर्स बीएमएस मिडवाइफ्री नभएर बीएस्सी मिडवाइफ्री भएको बताए।
डा. ज्ञवालीको कुरा सुनेपछि उनीहरूको बेचैनी झनै थपियो। नर्सिङ काउन्सिलले लाइसेन्स नदिने समस्या आउन सक्थ्यो। तर कलेजले लाइसेन्स दिलाउन सहयोग गर्ने वचन दियो।
त्यसपछि उनीहरू नर्सिङ काउन्सिल पुगे। काउन्सिलकी अध्यक्ष सरला केसीले कक्षा १२ मा विज्ञान नपढेकालाई बीएस्सी मिडवाइफ्रीको लाइसेन्स दिन नमिल्ने सुनाइन्।
![maharajgunj nursing campus (4).jpg](https://www.himalkhabar.com/uploads/editor/Education/maharajgunj nursing campus (4).jpg)
त्यसपछि उनीहरू चिकित्सा शिक्षा आयोग पुगे। आयोगबाट पनि ठोस जवाफ आएन। फेरि कलेज प्रशासनलाई गुहारे। “यो कुरा कसैलाई नभन्नु, हामी पछि मिलाउँछौं भनेका थिए,” गुरुङ सुनाउँछिन्, “त्यसपछि केही न त केही त गडबडी छ भन्ने लाग्यो।”
यसरी एक निकायबाट अर्को निकायमा भागदौड गर्दागर्दै पहिलो सेमेस्टरको परीक्षा आयो। परीक्षा दिए तर कलेजले समस्या समाधान गर्न पहल गरेन।
त्यसपछि उनीहरूले आधिकारिक पाठ्यक्रम उपलब्ध गराउन, आफूले पढेको कोर्सको प्रमाणीकरण गर्न र लाइसेन्स दिलाउन सुनिश्चितताको माग राखेर चैत ४ मा ज्ञापनपत्र बुझाएका थिए। त्यसको भोलिपल्ट पाठ्यक्रम दिइयो तर त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक प्रतिष्ठानको आधिकारिक छाप थिएन।
त्यो पाठ्यक्रमको आधिकारिकता बुझ्न विश्वविद्यालयको प्राज्ञिक प्रतिष्ठान पुगे। “त्यो पाठ्यक्रम पारित नै भएको रहेनछ,” उनी भन्छिन्, “हामीलाई चूप लगाउन रातारात फर्जी पाठ्यक्रम बनाएर दिइएको रहेछ।”
महाराजगन्ज नर्सिङ क्याम्पसले बीएमएस होइन, बीएम पढाउन मात्र अनुमति लिएको थाहा पाएको गुरुङ बताउँछिन्। “कलेजले गरेको त्रुटिले गर्दा हाम्रो एक वर्ष त्यसै खेर जान लागेको छ,” गुरुङ भन्छिन्।
आन्दोलनरत विद्यार्थीले पढेको विषय प्रमाणीकरण र लाइसेन्स पाउने सुनिश्चितता माग गरेका छन्। त्यसका लागि चिकित्सा शिक्षा आयोग, नर्सिङ काउन्सिल, डीन कार्यालय र क्याम्पस लगायत निकाय बसेर निर्णय गर्नुपर्ने माग गरेका छन्। माग सुनुवाइ नभएपछि तालाबन्दी गरेका छन्। “कलेजले गरेको त्रुटिको सजाय हामीले भोग्न नपरोस्, हाम्रो एक वर्ष खेर नजाओस् भनेर आन्दोलन गरेका हौं,” अर्की विद्यार्थी सविना लम्साल भन्छिन्।
![maharajgunj nursing campus (6).jpg](https://www.himalkhabar.com/uploads/editor/Education/maharajgunj nursing campus (6).jpg)
चिकित्साशास्त्र अध्ययन संस्थानकी डीन डा. दिव्या सिंह शाह विद्यार्थीले कुरा नबुझी आन्दोलन गरेको बताउँछिन्। दुई फरक पृष्ठभूमिबाट विद्यार्थी आउन मिल्ने किसिमको कोर्स डिजाइन गरेको शाहको भनाइ छ। “पछिल्लो समय पीसीएल नर्सिङ पढेर भन्दा कक्षा १२ मा विज्ञान पढेर मिडवाइफ्री पढ्ने प्रचलन संसारभर छ, हामीले पनि अन्य देशको अभ्यास हेरेर यो पाठ्यक्रम निर्माण गरेका हौं,” डीन शाह भन्छिन्, “यो विषय पढ्न इन्ट्री लेभल फरक भयो भन्दैमा समस्या हुँदैन, आन्दोलन गर्नुपर्ने विषय होइन।”
महाराजगन्ज नर्सिङ क्याम्पस प्रमुख मुना राना यो समस्या समाधान भइसकेको बताउँछिन्। “आन्दोलन गर्नुपर्ने विषय होइन, हामीले उहाँहरूलाई रिकग्नाइज गर्न र लाइसेन्स लिन समस्या हुन्न भनेर सुनिश्चित गरिसक्यौं,” राना भन्छिन्।
आन्दोलनरत विद्यार्थी भने डीन र कलेज प्रमुखले मौखिक रूपमा मात्रै समस्या हुँदैन भन्ने गरेको र लिखित रूपमा आश्वस्त पार्न नखोजेको बताउँछन्। आन्दोलन गरेको देखेर मात्रै समस्या समाधान गर्ने आश्वासन आएको उनीहरू बताउँछन्। “नर्सिङ काउन्सिल, चिकित्सा शिक्षा आयोग, डीन कार्यालय र कलेजले लिखित रूपमा सुनिश्चित नगरी हामी आन्दोलन तोड्दैनौं,” आन्दोलनरत विद्यार्थी गुरुङ भन्छिन्।