स्नातक तह पहिलो वर्षका विद्यार्थीको परीक्षा भएको वर्ष दिनपछि त्रिभुवन विश्वविद्यालयले फेरि परीक्षा लिन लागेको छ।
त्रिविले गत वैशाखमा स्नातक तह पहिलो वर्षको परीक्षा लिएको थियो। वैशाख ८ गते बीएड पहिलो वर्षको ‘फाउन्डेशन अफ एजुकेशन-४१२’ विषयको परीक्षा भएको थियो।
परीक्षाफल प्रकाशित भइसक्नुपर्ने वेला स्नातक तहका विद्यार्थीले फेरि परीक्षा दिनुपर्ने भएको छ। उत्तरपुस्तिका हराएपछि त्रिभुवन विश्वविद्यालले फेरि परीक्षा लिन लागेको हो।
मंगलसेनस्थित अछाम बहुमुखी क्याम्पसमा कायम भएको परीक्षा केन्द्रबाट परीक्षा दिएका विद्यार्थीको उत्तरपुस्तिका हराएको जनाइएको छ। उत्तरपुस्तिका फेला नपरेपछि त्रिवि परीक्षा नियन्त्रण कार्यालयले पुनः परीक्षा गर्न क्याम्पसलाई निर्देशन दिएको छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयको निर्देशन अनुसार फेरि परीक्षा गर्न लागिएको अछाम बहुमखी क्याम्पस प्रमुख छत्रबहादुर विष्टले जनाएका छन्। क्याम्पस प्रमुख विष्टले बिहीबार परीक्षा सम्बन्धी सूचना प्रकाशित गरेका छन्। फेरि परीक्षा गर्न सूचना प्रकाशित गरिएको उनले बताए।
“उत्तरपुस्तिका हराएकाले पुनः परीक्षा गर्न परिपत्र आएको छ, त्यही अनुसार फेरि परीक्षा गर्न लागेका हौं,” क्याम्पस प्रमुख विष्टले हिमालखबरसँग भने। उनका अनुसार अछाम क्याम्पसका १५१ जना विद्यार्थीको उत्तरपुस्तिका हराएको छ।
अछाम बहुमुखी क्याम्पसले जारी गरेको सूचनामा चैत २१ गते पुनःपरीक्षा हुने जनाइएको छ। बिहान ७ देखि १० बजेसम्म हुने परीक्षामा सामेल हुन विद्यार्थीलाई सूचित गराएको छ।
क्याम्पसले प्रकाशन गरेको परीक्षा सम्बन्धी सूचनामा अछाम बहुमुखी क्याम्पसका नियमिततर्फका सिम्बोल नं. ९०३३०००१ देखि ९०३३००१५८ सम्मका विद्यार्थीको पुनःपरीक्षा हुने उल्लेख छ। वैशाखमा परीक्षा दिएका स्नातक तह पहिलो वर्षका विद्यार्थीलाई तत्काल क्याम्पसमा सम्पर्क राख्न भनिएको छ।
छाम बहुमुखी क्याम्पसले निकालेको पुन:परीक्षा सम्बन्धी सूचना :
![tu.jpg](https://www.himalkhabar.com/uploads/editor/Education/tu/tu.jpg)