के कृत्रिम वर्षाले दिल्लीको प्रदूषण हटाउला?
![के कृत्रिम वर्षाले दिल्लीको प्रदूषण हटाउला?](https://www.himalkhabar.com/uploads/posts/800X600/DelhiPollution-1699957323.jpg)
चीन र यूएई जस्ता देश तथा केही भारतीय राज्यले पनि वर्षाको अवधि लम्ब्याउन वा खडेरीको सामना गर्न कृत्रिम वर्षाको प्रयोग गर्ने गरेका छन्।
गत साता दिल्लीको आकाशमा विषाक्त हावा व्याप्त थियो। त्यति वेला दिल्लीका वातावरण मन्त्रीले प्रदूषण पखाल्न कृत्रिम वर्षा गराउनेबारे सोचिरहेको बताएका थिए।
दिल्लीको प्रदूषण हटाउन कृत्रिम वर्षाको सम्भावनाबारे यसअघि पनि चर्चा भएको थियो। तर केही विज्ञले यो काम त्यति सजिलो नभएको तर्क गर्दै आएका छन्। एक त यो महँगो प्रविधि हो र अर्को यो विधिको प्रामाणिकता पुष्टि भइसकेको छैन। यो प्रविधिको दीर्घकालीन वातावरणीय प्रभावबारे पनि थप अध्ययनको आवश्यकता छ।
तर दिल्लीको वातावरणीय अवस्थाले विकराल रूप लिंदै जाँदा राजनीतिक नेतृत्व यो समस्याको कुनै न कुनै समाधान निकाल्न व्यग्र देखिन्छ।
दिल्लीमा पार्नी छर्कन उपयोगमा ल्याइएको ‘एन्टिस्मग’ बन्दूकगएको दुई सातामा दिल्लीको ‘एअर क्वालिटी इन्डेक्स’ स्वस्थ हुन चाहिने मापदण्डभन्दा १० गुणाले बढेर ४५० भन्दा बढी पुगेको थियो। गत हप्ता परेको हल्का वर्षाले प्रदूषणलाई सफा गर्न केही योगदान गरे पनि आइतबार साँझ मनाइएको दीपावलीको अवसरमा गरिएको आतसबाजीले सोमबारदेखि प्रदूषण ह्वात्तै बढेको थियो।
दिल्लीमा सवारीसाधन र औद्योगिक उत्सर्जनका कारण प्रदूषणको समस्या वर्षैभरि हुने गरेको छ। तर हिउँदमा छिमेकका राज्यका किसानले खेतमा परालका ठुटा लगायत रहलपहल बाल्दा दिल्लीको प्रदूषण उच्च हुने गरेको छ।
दिल्ली सरकारले निर्धारित समयअघि नै विद्यालयमा हिउँदे बिदा दिएको छ भने निर्माण गतिविधिलाई रोकेको छ। सर्वोच्च अदालतले दिल्लीको विषाक्त हावाबारे सनुवाइ हुँदा कृत्रिम वर्षाका लागि अनुमति दिन्छ भन्ने अपेक्षा गरिएको छ।
के हो क्लाउड सिडिङ?
क्लाउड सिडिङले बादलमा आर्द्रताको मात्रा बढाउँछ, जसले वर्षा गराउन मद्दत गर्दछ। यसका लागि विमानको सहायताले बादलमा सिल्भर आयोडाइड वा क्लोराइड जस्ता लवणका कणहरू छर्कने गरिन्छ। यसले बादलमा रहेको आर्द्रतालाई वर्षामा परिणत गराउने काम गर्छ। तर सधैं यस प्रक्रियाले काम गर्छ भन्ने हुँदैन।
यसका लागि वायुमण्डलीय अवस्था पनि मिल्नुपर्ने वायु गुणस्तर तथा स्वास्थ्यविज्ञ पोलास मुखर्जी बताउँछन्। “हिउँ बन्नका लागि बादलमा आर्द्रताको मात्रा सही हुनुपर्छ,” उनले भने। यसका लागि हावाको गति पनि मिल्नुपर्छ तर यति वेला दिल्लीमा हावाको गति बढी छ।
क्लाउड सिडिङले काम गर्ने तरीका। तस्वीर: बीबीसीलवणका कणहरू पनि एक प्रकारको बादलमा छर्कनुपर्ने मौसम वैज्ञानिक जेआर कुलकर्णीले सन् २०१८ मा डाउन टु अर्थ पत्रिकालाई बताएका थिए। यस्तो खालको कृत्रिम वर्षाबारे दशकौंदेखि चर्चा र प्रयास भइरहेको छ। भारतका मौसम विभागका पहिलो महानिर्देशक एसके बनर्जीले सन् १९५२ मा यस्तो वर्षा गराएका थिए।
सन् १९६० मा अमेरिकी सेनाले भियतनाम युद्धका वेला यस्तो कृत्रिम वर्षाको माध्यमबाट भियतनामका केही ठाउँमा मनसुनलाई लम्ब्याएको थियो।
चीन र यूएई जस्ता देश तथा केही भारतीय राज्यले पनि वर्षाको अवधि लम्ब्याउन वा खडेरीको सामना गर्न यस्ता कृत्रिम वर्षाको प्रयोग गर्ने गरेका छन्।
भारतको एक शीर्ष इन्जिनीयरिङ कलेज ‘इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजी’, कानपुरका इन्जिनीयरहरूले कृत्रिम वर्षा कसरी गर्ने भन्नेबारे एउटा विस्तृत योजना तयार पारेका छन्।
सो योजना अनुसार पहिलो चरणमा झन्डै ३०० वर्ग किलोमिटर क्षेत्रफल रहेको आयोजना दुई चरणमा पूरा गरिने लक्ष्य छ। सो समयमा मौसम अनुकूल हुने भएकाले आगामी नोभेम्बर २० र २१ मा आयोजना कार्यान्वयन गर्न सकिने विज्ञहरूको सुझाव छ।
परियोजनालाई नेतृत्व गरिरहेकी वैज्ञानिक मीनाक्षी अग्रवालले रोयटर्सलाई बताए अनुसार सो समयमा दिल्लीलाई पूरै ढाक्ने बादलको अपेक्षा नगरिए पनि केही सय किलोमिटर भए राम्रो हुनेछ।
साँच्चै प्रदूषण नियन्त्रण हुन्छ त?
यस्तो वर्षाले वायुमण्डलमा भएका कणहरू पखाल्न मद्दत गर्न सक्छ, जसले हावालाई सफा र श्वासप्रश्वासका लागि उपयुक्त बनाउँछ। शुक्रबार र शनिबारको वर्षाले प्रदूषणको स्तर न्यून बनाउँदा पनि दिल्लीमा गत साता राहतको अनुभव गरिएको थियो।
विज्ञहरू भने अझै पनि कृत्रिम वर्षा कत्तिको सहयोगी हुन्छ भन्ने कुरामा विश्वस्त छैनन्।
मुखर्जीका अनुसार अन्य देशहरूले हावाको गुणस्तर व्यवस्थापन गर्न र धूलो हटाउन कृत्रिम वर्षाको विधि अपनाउने गरेको छन् तर यो काम समयको अन्तरालमा मात्र गर्नु राम्रो हुन्छ।
“वर्षाले वायुको गुणस्तरलाई कस्तो बनाउँछ भन्ने हेर्ने हो भने वर्षा हुने बित्तिकै प्रदूषण एकदमै नियन्त्रणमा आउँछ तर अर्कातिर नियन्त्रित भइसकेको प्रदूषणको तह ४८ देखि ७२ घण्टामा उस्तै हुन पुग्छ,” मुखर्जी भन्छन्।
त्यसैले उनको धारणा के छ भने यस्तो कृत्रिम वर्षा एक त ज्यादै महँगो प्रविधि हो भने अर्कोतिर पूर्ण भरपर्दो नहुने हुँदा यो समस्याको पूर्ण समाधान भने होइन।
“अहिले गर्न लागिएको यो कृत्रिम वर्षाले वायुको गुणस्तर राम्रो हुन्छ भन्ने कुनै ठोस आधार छैन,” जलवायुविद् अविनाश मोहन्ती भन्छन्, “जे भने पनि आखिरमा हामीले प्राकृतिक परिवर्तन गर्न खोजिरहेका छौं र यसमा सीमितता त हुन्छ नै।”
उनका अनुसार वर्षा र हावाको गति जस्ता मौसमी अस्त्र प्रयोग गरेर मात्र प्रदूषणको समस्याको समाधान हुन सक्दैन। “हामीले विभिन्न परीक्षण गरेर विभिन्न प्रयोग मार्फत वायु प्रदुषणलाई रोक्न ठोस काम गर्न आवश्यक छ,” मोहन्ती भन्छन्।
- बीबीसीबाट अनुवाद गरिएको।