टिप्पणी शनिबार, असार २७, २०७७

कुँवरबाट कसरी राणा बने जङ्गबहादुर?

हिमालखबर

कुँवरबाट कसरी राणा बने जङ्गबहादुर?

कोतपर्व र भण्डारखालपर्वमार्फत जङ्गबहादुरले आफ्नो अधिनायकत्वका व्यवधान सबैलाई पन्छाए । असन्तुष्ट राजा राजेन्द्रले उनलाई ‘निमकहराम’ समेत भने । तर, जङ्गबहादुरले आफ्ना पूर्वजहरुले देशका लागि देखाएको वीरता र सौर्यको बयान गरेर उनलाई मुखभरी जवाफ दिए ।

राजकुमार दिक्पाल

दन्त्यकथाको पात्रजस्ता लाग्छन्, जङ्गबहादुर राणा। अनेक तिकडम, दुस्साहस, बल र छलले उनले स्थापित गरेको जहाँनिया राणा शासन एक सय चार वर्षसम्म टिक्यो। उनी एक्लैले लगातार तीन दशक एकछत्र शासन चलाए।

यो पनि पढ्नुहोस्— पहिलो विश्वयुद्धमा नेपाली नौजवान पठाउने चन्द्रशमशेरको त्यो सनद

तर, उनकै कान्छा भाइ धीरशमशेरका छोराहरुले पर्व मच्चाएर उनका दरसन्तानमध्ये रोलवाला जेठा छोरा जगतजंग लगायतको प्राण हरे, कतिपयलाई डाँडा कटाए। र, रणोद्विप सिंहपछि धीरशमशेरकै छोरानातिले २००७ सालसम्म ६५ वर्ष लगातार एकछत्र शासन चलाए।

जङ्गबहादुरका पुर्खा

जङ्गबहादुर राणाका पुर्खा अहिराम कुँवर पहिले कास्की राज्यसँग नजिक थिए। तर, कास्कीका राजासँग खटपट परेपछि उनी गोरखासँग निकट भए। गोरखामा उनले प्रतिष्ठित भारदारका रुपमा नाम कमाए।

अहिरामका छोरा रामकृष्ण कुँवर पृथ्वीनारायण शाहका मुख्य सरदार थिए। पृथ्वीनारायण शाहको राज्यविस्तारको अभियानका क्रममा उपत्यका वरपर र पूर्वी क्षेत्रमा विजय हासिल गरेर आफ्नो नाम चम्काए।

रामकृष्णका छोरा रणजित, रणजितका छोरा बालनरसिंह र बालनरसिंहका छोरा जङ्गबहादुर। जङ्गबहादुरअघिका उनका सबै पुर्खाको थरमा कसैकोमा कवर, कुँवर लेखिएको पाइन्छ। तर जङ्गबहादुरको पालादेखि सन्तानले आफ्नो नामपछाडि ‘राणा’ लेखाए। अझ जङ्गबहादुरका सन्तानको सत्ता पूर्ण रुपमा हरण गरेपछि धीरशमशेरका सन्तानले शमशेरको पछाडि ‘जंगबहादुर राणा’ (जबरा) पनि थपे।

एकै वंशमा राणा र रैती
जङ्गबहादुर अनेक छल र बलले प्रधानमन्त्रीको रुपमा सर्वशक्तिमान भएपछि पनि जातिगत रुपमा तीन डोरे क्षत्री भएकाले आफूलाई उपेक्षित महशुस गर्थे। ६ डोरे राजपुत र चौतारिया खलकसँग जङ्गबहादुर खलकको भातभान्सा र बिहेवारी चल्दैनथ्यो।

इतिहासकार ज्ञानमणि नेपालको ‘नेपाल निरुपण’ (२०५५ः१२१–१२४) अनुसार, त्यसका लागि विजयराज लगायतका राजपुरोहितले जङ्गबहादुरलाई कुँवर वंशावली तयार गर्न प्रस्ताव गरे। उच्च र प्रसिद्ध राजघरानासँग वंश जोड्ने कुरामा दत्तचित्त उनले आफ्ना प्रसिद्ध पुर्खा अहिराम र रामकृष्णलाई हेरेर मात्र चित्त बुझाएनन्। जङ्गबहादुरले वंशावलीमा भारतमा मुगल बादशाहलाई समेत टक्कर दिने चितौढका महाराणा प्रतापको वंशसँग आफ्नो वंश जोड्न लगाए। ‘कुँवर’ ब्युत्पत्ति कुमार हुने हुँदा ‘श्रीमद्राजकुमारात्मज’ अर्थात् राजाको छोराका छोरा भन्ने उपपत्ति दिएर भारतको उच्च राजघरानाका वंशवृक्षसँग जङ्गबहादुरको वंश जोड्ने काम भयो।

जङ्गबहादुरका छोरा पद्मजङ्ग राणाले पनि ‘जङ्गबहादुरको जीवनयात्रा’ (२०७४ः१)मा ‘राणा परिवारको वंशावलीका सम्बन्धमा आफूसँग रहेको एउटा पुस्तकमा अति प्राचीन पौराणिक आख्यानमा वर्णित पूर्वजदेखि वर्तमान कालसम्मका राणा परिवारको वंशावलीको विस्तृत रुपमा वर्णन गरिएकाले आफ्ना युगका बहादुर नायक (जङ्गबहादुरको जिजुबुवा (रामकृष्ण) को इतिहासभन्दा पर जान आफूहरुलाई आवश्यक नभएको’ उल्लेख गरेका छन्।

यो पनि पढ्नुहोस्— जंगबहादुर राणाको आदेश– कामी, सार्की र दमाईको जागिर नखोस्नू !

यसबाट जङ्गबहादुर र यताका उनका सन्तानले अहिराम कुँवरको नाम समेत लिन कञ्जुस्याइँ गरेको स्पष्ट हुन्छ।

राणा (कुँवर)को वंशावलीअनुसार अहिराम कुँवरका दुई भाइ छोरा रामकृष्ण र जयकृष्ण देखिन्छन्। रामकृष्णपछिका वंशमा रणजित, बालनरसिंह र जङ्गबहादुर देखिन्छन्। यता जयकृष्णतिर चन्द्रवीर, बलभद्र कुँवर देखिन्छन्। तर, जयकृष्णका सन्तान राणा कहलाएनन्। उनीहरुलाई राणा लेख्ने अधिकार दिइएन। त्यसैले एउटै पुर्खाका सन्तान राणा अर्थात् श्री ३ राजखान्दान भए भने अर्को चाहिं कुँवर अर्थात् रैती।

इतिहास शिरोमणि बाबुराम आचार्यले ‘पूर्णिमा’को पूर्णाङ्क २७ (२०२९ असोजः१७७)मा ‘राजेन्द्रविक्रमको शासनकाल’ शीर्षकको तिथ्यावलीमा जङ्गबहादुरले राणाजीको पदवी र राजपुतसँग विवाहको अधिकार वि.सं. १९०५ जेठ बदी ५ मा लालमोहर लगाई लिएको उल्लेख गरेका छन्।

तिमाल कोटको युद्धकथा
तामाङ बाहुल्य क्षेत्र तिमालमा स्थानीय शासकका रुपमा रिन्जिन दोर्जे सक्रिय थिए। पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’को अंक ९१ (२०४२ पुस–माघः६)मा चन्द्रप्रसाद त्रिपाठीका अनुसार मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेनले हरिहरपुरगढीबाट वि.सं. १८१९ भाद्र सुदीमा रिन्जिन दोर्जेको नाममा एक ताम्रपत्र जारी गरेबाट उनी त्यहाँको स्थानीय शासक भएको प्रमाणित हुन्छ।

तिमाल हातमा लिन पृथ्वीनारायण शाहले विशेष तयारी गरेका थिए। पलाञ्चोकका बगाले थापामध्ये परशुराम थापालाई आफूसँग मिलाएर सेनानायक बनाई विभिन्न लडाइँमा खटाइसकेका थिए।

यो पनि पढ्नुहोस्— पहिलो विश्वयुद्धमा नेपाली नौजवान पठाउने चन्द्रशमशेरको त्यो सनद

पृथ्वीनारायणले पलाञ्चोके थापामध्ये अर्का लछिमन थापालाई पनि हात लिन १८१९ भाद्र सुदी १ रोज ६ मा एक पत्र पठाए। मोहनप्रसाद खनालको ‘पृथ्वीपत्र’ सङ्ग्रह भाग १ (२०१८ः१०)मा पृथ्वीनारायणले लछिमन थापालाई पठाएको पत्र प्रकाशित छ। पत्रअनुसार वीरे धामी नामका व्यक्तिलाई यसअघि लछिमन थापाले नेल काटी भगाइदिएका थिए। पछि उनले गोरखालीसँग मिल्न लालायित भई तिमालमा काज पुर्‍याइदिने आश्वासन दिए।

पत्रमा ‘तैलेई कपट घाली विर्‍या धामिको नेल काट्न लाईस् तेरै भर परि नेल काट्यां आज उ पारिको भोट्या उठाई चमक्या छ’ भन्ने परेबाट भोट्या अर्थात् तिमालका तामाङहरु त्यतिखेरको अवस्थामा आवश्यक युद्ध लड्न तयारी गरिरहेको अनुमान सहजै गर्न सकिन्छ। पत्रमा भदौ नसकी ज्योतिषीले युद्धका लागि साइत नदिएको र त्यतिञ्जेलसम्म तिमालका भोट्या अर्थात् तामाङहरुलाई सम्झाईबुझाई गर्दै गर्न लछिमन थापालाई पृथ्वीनारायण शाहले अह्राएका छन्।

हालकाे तिमाल गाउँ । तस्वीर: भिजिट तिमाल काभ्रे ।

यसरी तयारी गर्दै गर्दा १८१९ असोज २ गते गोरखालीहरुले तिमाल कोट आक्रमण गरे। ‘पूर्णिमा’ को पूर्णाङ्क ५० (२०२४ भाद्र–आश्विनः१४४)मा देवीप्रसाद भण्डारीले ‘श्री ५ पृथ्वीनारायण शाहका निश्चित संवत् र तिथि–मितिहरु’ शीर्षकको लेखमा ‘भाषा वंशावली’लाई उद्धृत गर्दै तिमालकोटको युद्ध वर्णन प्रकाशमा ल्याएका छन्। यसमा ‘आफ्ना मन्त्रीवर्गसँग सल्लाह गरी तिमाल हान्न भना सर्दार दलजित् शाह, काजी वंशराज पाँडे, जीव शाह, रुद्र शाही, जेठाबुढा रामकृष्ण कुँवर प्रभृति, नजिकी, द्वार्‍या, उमराव गैह« थरघर भला मानिससमेत फौज विदा गर्नुभयो। लश्कर लिई भाईभारदारले तिमालकोट हान्या। हान्दा ३०० गीड पर्‍याका’ भन्ने परेको छ।

भाषा वंशावलीको यो वर्णन हेर्दा स्वयम् पृथ्वीनारायण शाहका भाइ दलजित शाहसमेत संलग्न यो युद्धमा साह्रै सजिलो गरी गोरखालीले तीन सय जना शत्रु सेनालाई काटी तिमाल हात पार्न सफल जस्तो देखिन्छ।
तिमाल क्षेत्रमा अनुश्रुतिगत इतिहास भेला गरेर लिलाबहादुर दोङले ‘तेमाल दरबार र तामाङ राजाहरु’ (२०६०ः३०–३४)मा गोरखालीहरुले राजा रिन्छिन दोर्जेलाई शान्ति सम्झौता गर्न सुनकोशी किनारमा निशस्त्र आउन बोलाएर अघिल्लै दिन बालुवाभित्र लुकाएर राखेको हतियार झिकी मारेको भन्ने लेखेका छन्।

इतिहास शिरोमणि बाबुराम आचार्यले ‘पूर्णिमा’ को पूर्णाङ्क ५० (२०३८ भाद्रः८–१०)मा १८१७ सालमा पलाञ्चोक आक्रमण गर्दा बाघ भीमसेन थापा (बडाकाजी अमरसिंह थापाका पिता)घेरामा परी मारिएका र उनको कमान रामकृष्ण कुँवरले सम्हाली त्यहाँ अधिकार जमाई केही दिनपछि काभ्रे गढीमा पनि अधिकार जमाएपछि १५ वर्षसम्म यस प्रदेशको हाकिम भई रामकृष्ण बसेको उल्लेख गरेका छन्।

यस्तै १८१९ भाद्र १० मा गोरखालीले मकवानगढी कब्जा गरेका, तिमालकोटमा मकवानी सेनाले एक महीनासम्म रामकृष्णलाई रोक्दा भयङ्कर लडाइँ भएको, उनका एक भाइका साथ तीन सय गोरखाली सेना परेका र त्योभन्दा धेरै मकवानी सेना परेको उल्लेख भएबाट भाषा वंशावलीमा जस्तै सजिलै गोरखालीहरुले तिमालकोट लिन सकेको भन्नेमा शंका उब्जने ठाउँ रहेको छ।

यो पनि पढ्नुहोस्— किन दुखिरहन्छ सुगौली सन्धि रु किन बल्झिरहन्छ कालापानी ?

तिमालमा तामाङहरुको बाहुल्य रहेको र पृथ्वीनारायण शाहकै भाषामा पनि युद्ध हुने बेलामा ‘तिमालका भोट्या चमक्या छन्’ भन्ने उल्लेख भएबाट आचार्यले भनेको मकवानी सैन्यमा तामाङ सेनाकै बाहुल्य रहेकोमा शंका मान्ने ठाउँ छैन।

काभ्रेपलाञ्चोक क्षेत्रको हाकिम भएर बस्दा गोरखाली सरदार रामकृष्ण कुँवरले वरपरका तामाङहरुलाई मीठोमसिनो गर्दै रिझाएर राख्नुपर्ने जिम्मा पनि पृथ्वीनारायण शाहबाट पाएका थिए। ‘पृथ्वीनारायण शाहको उपदेश’ (२०२५ः९८८–९८९)मा छापिएको १८२० असार वदी ७ को एक पत्रमा पृथ्वीनारायणले रामकृष्णलाई ‘पनौतीका भोटेहरुको कुरो गर सजा कोटको जागिर मोहर गरी पठाएको छु। त्यो मोहर र लेय मिझार्‍याका भाई छोरा वलक पनि झिकी हाम्रो काम पुर्‍याएपछि सये तीन सिक्का सुन चुरा घोडा सिरोपाउ बक्सौंला...’ भन्ने आदेश तथा आश्वासन दिएको परेबाट तामाङहरुलाई गोरखाली राज्यमा गाभ्नका लागि रामकृष्णले ठूलो जिम्मेवारी पाएका रहेछन् भन्ने पुष्टि हुन्छ।

काभ्रेपलाञ्चोकको हाकिम भएर रहँदा रामकृष्ण भमरकोटमा घरबास गरी त्यहींका स्थायी बासिन्दा भएका बाबुराम आचार्यको ‘श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ः२६३) पढ्दा थाहा हुन्छ।

पुर्खाको मृत्यु
तिमालकोटको लडाइँमा रामकृष्ण कुँवरका एक जना भाइको मृत्यु भएको थियो। अहिराम कुँवरकै सन्तान भएकाले यसरी मृत्यु हुने रामकृष्णका भाइ जङ्गबहादुरका पुर्खामध्ये एक हुने नै भए।

पृथ्वीनारायण शाहले किरात हान्नका लागि उत्साहित गर्दै रामकृष्ण कुँवरलाई आश्विन बदी ५ मा लेखेको पत्र रेग्मी रिसर्च सिरिजको वर्ष ४ अंक ५ (सन् १९७२ डिसेम्बरः९४–९५)मा छापिएको छ।

बाबुराम आचार्यको संकलन रहेको यस पत्रमा ‘किरात फत्ते गर्न तिम्रै भर परेको छु। कालु पाँडे मारिदा साह«ै दुःखी भएको थिएँ। यतिखेर मलाई तिम्रै बुद्धि र तरबारको भर रहेको छ। धुलिखेलमा जस्तै सिम्वु (स्वयम्भु)को जग्गा दिन्छु। तिम्रो भाई तिमालका मारिएकोमा म धेरै दुःखी छु’ भन्ने भाका परेको छ।

आचार्यले किरात जित्न भनी १८२९ भदौ १३ गते रामकृष्ण दूधकोशी तरिसकेको हुनाले यो पत्र १८२९ अघिनै लेखिएको हुने विचार व्यक्त गरेका छन्।

हालसम्म प्रकाशमा आएको तथ्यअनुसार अहिराम कुँवरका छोरा रामकृष्ण र जयकृष्ण मात्रै रहेको देखिन्छ। अहिरामका अन्य दाजुभाइको चर्चा पढ्न पाइएको छैन।

रेग्मी रिसर्च (उही) ले रणबहादुर शाहले १८४३ सालमा जारी गरेको एक पत्रमा रामकृष्णका भाइ जयकृष्ण फेला परेकोमा रामकृष्णका नाम नचलेका कुनै भाइले तिमालको युद्धमा ज्यान गुमाएका हुन सक्ने टिप्पणी गरेको छ।

गोरखालीले तिमाल फत्ते गरेको १७ वर्षपछि पनि रामकृष्णका एक भाइ जयकृष्ण (बलभद्र कुँवरका हजुरबुवा) सोमेश्वर (चितवन)को युद्धमा खटिएको देखिन्छ। इतिहासकार दिनेशराज पन्तले ‘पूर्णिमा’को पूर्णाङ्क ५८ (२०४० चैतः३६)मा प्रकाशमा ल्याएको रणबहादुर शाहका नौ अप्रकाशित लालमोहरमध्ये १८३६ वैशाख सुदी १५ रोज ६ मा ‘वैशाख दिन १२ जादा बुढा दलमर्दन शाह, बन्दु राना, पारथ भण्डारी, अम्बरसिंह रानासहित जयकृष्ण कुँवर’ थिए भन्ने परेको छ।

पहिले गोरखा अधीनस्थ भइसकेको सोमेश्वर तनहुँले कब्जा गरिदिंदा उसबाट गोरखालीले पुनः खोस्नुपरेको थियो। ं

तर तिमालमा भएको युद्धमा तामाङ सेनाको हातबाट मारिने जङ्गबहादुरका पुर्खाको नाम भने इतिहास अध्ययनका क्रममा नपाइने होइन, त्यो पनि जङ्गबहादुरकै शब्दमा।

१९०३ आश्विन वदी ९ (१९०३ भाद्र ३१ गते) कोतपर्व मच्चियो। जङ्गबहादुरले आफ्नो प्रगतिको मूल तगारो पन्छाए। १९०३ कात्तिक सुदी १२ मा भण्डारखालपर्व मात्र उनले आफ्नो अधिनायकत्वको यात्राको बाटोको सबै व्यवधान पन्छाए।

यो पनि पढ्नुहोस्— को हुन् लिम्बू रु के भन्छ मानवशास्त्र ?

असामान्य शक्तिमा आएका जङ्गबहादुरसँग आफ्नो शक्ति क्षीण हुँदै गएका राजा राजेन्द्र सन्तुष्ट थिएनन्।

राजा राजेन्द्रले कोतपर्वको सबै दोष जङ्गबहादुरमाथि लगाउने उद्देश्यले तत्कालीन परिस्थितिमा उनलाई ‘निमकहराम’ भनेका थिए। तर, जवाफमा जङ्गबहादुरले आफ्ना पूर्वजहरुले देशका लागि देखाएको वीरता र सौर्यको समेत बयान गरेका छन्।

राजा राजेन्द्रले जङ्गबहादुरका नाममा १९०४ प्रथम जेष्ठ वदी १३ रोज ३ मा जारी गरेको लालमोहरमा जङ्गबहादुर राणाले राजालाई पठाएको अर्जीमा उल्लेख भएको भाका प्रशस्त मात्रामा परेको छ। यो पत्र इतिहासकार ज्ञानमणि नेपालको ‘नेपालको महाभारत’ (२०५२ः२७१–२७४)मा प्रकाशित छ।

यो पत्रमा जङ्गबहादुरले पठाएको अर्जीको एक अंशमा ‘मेरा जिज्यू रामकृष्ण कुवरले गोर्षादेषि मेचिसम्म लड्दै गयोको निमक हरामी अमर्सिं कुवर्ले तिमाको लडात्रिमा जिउ दियाको श्रीकृष्ण कुवरले झुगामा जिउ दियाको रणजित कुवर्ले जुमलामा कूल् गर्दा फत्य गर्‍याको संसारचन्द सित कागडामा लडाञिमा छातिले गोली षायाको गाथमा तरवार चलाउँदा सेर्‍या चंडाललाई मेरा वावाले मार्‍याको वीरभद्र कुवरले झ्याम्टोले लडाञिमा मीहिनेत गर्‍याको नालापानिका लडाञिमा बलभद्र कुवर्ले मीहिनेत गर्‍याको जंगबहादुरले गर्‍याका निमकहरामिको...’ भन्ने परेको छ।

विभिन्न युद्धमा पौरख देखाउने आफ्ना पितापुर्खाहरुमध्ये उनले तिमालको युद्धमा ज्यान गुमाउने आफ्ना पुर्खाको नाम पनि लिएका छन्। पत्रमा खुलेअनुसार सरदार रामकृष्ण कुँवरका अर्का भाइको नाम अमरसिंह कुँवर रहेको देखिन्छ, जसको तिमालकोटमा भएको युद्धमा ज्यान गुम्यो।

प्रतिकृया दिनुहोस