टिप्पणी आइतबार, जेठ ११, २०७७

पहिलो विश्वयुद्धमा नेपाली नौजवान पठाउने चन्द्रशमशेरको त्यो सनद

हिमालखबर

पहिलो विश्वयुद्धमा नेपाली नौजवान पठाउने चन्द्रशमशेरको त्यो सनद
पहिलो विश्वयुद्ध (सन् १९१५) मा भर्ती हुन तत्कालीन ब्रिटिश इण्डियामा पठाइनुअघि काठमाडौंको टुँडिखेलमा पंक्तिवद्ध नेपाली युवा र चन्द्र शमशेर ।
राजकुमार दिक्पाल

राणा प्रधानमन्त्रीहरू वीरशमशेर र चन्द्रशमशेरले सत्ता जोगाउनकै लागि रिक्रुट भर्ती मार्फत नेपाली नौजवानहरू अंग्रेजलाई समर्पण गरे । त्यहींबाट शुरू भयो, नेपाली दुःखको जग अर्थात् लाहुर जाने परम्परा ।

अंग्रेजसँगको युद्ध (वि.सं. १८७१–७२) मा हार व्यहोरेपछि सुगौली सन्धिसम्म आइपुग्दा नेपालले एक तिहाइ भूभाग गुमाउनु पर्‍यो । युद्धमा अंग्रेजसँग बल, छल, धन र जन यथेष्ट थियो ।

पूर्वको टिष्टामा सिमाना कायम गरी पश्चिमको काँगडालाई चार वर्षसम्म घेरेर राखेका सैन्य अनुभवले खारिएका बडाकाजी अमरसिंह थापाले अंग्रेजसँगको युद्ध तत्काल टार्न केन्द्रसित संवाद पनि कायम गरे । तर केन्द्रका सर्वेसर्वा जनरल भीमसेन थापाले यसबारे कुनै चासो देखाएनन् ।

युद्धका कारण नेपालको एक तिहाइ भूभाग मात्र गुमेन, नेपाली दुःखको परम्पराको जग पनि बस्यो । त्यो हो, लाहुर जाने परम्पराको शुरूआत ।

युद्ध सकिनेबित्तिकै अमरसिंह थापाका छोराहरू अर्जुनसिंह थापा, भूपालसिंह थापा र एक नाति पञ्जाबकेशरी रणजित सिंहको फौजमा सामेल हुन लाहोर (हालः पाकिस्तान) पुगे । उनीहरूले आफ्ना भाञ्जा चर्चित नालापानी युद्धका सेनानायक बलभद्र कुँवरलाई पनि उतैतिर बोलाए ।

प्रथम विश्वयुद्ध चलिरहेका वेला रिक्रुटका रूपमा नेपाली नौजवान संकलन गरी भर्तीमा पठाउन मुलुकका विभिन्न क्षेत्र र मौजामा छरिएर रहेका जिम्मावाल तालुकदारहरूको नाममा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले जारी गरेको एक सनदको छायाँप्रति ।

बलभद्रले पनि ‘मुलुकभित्र खुकुरीको शान र अवसर या अवस्था नभएको देखिएकोले अन्य मुलुकमा जाने’ इच्छा देखाएका थिए भन्ने तथ्य रामराजा कुँवर र डा. धनबहादुर कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ (२०६९ः५१–५२) पढ्न पाइन्छ । यसबाट बलभद्र जस्ता सीमित स्रोतसाधनका भरमा अंग्रेजसँग युद्ध लडी फर्केका वीर योद्धाहरू भीमसेन थापाबाट उपेक्षित थिए भन्ने बुझ्न सकिन्छ । युद्धपछि कतिपय भगौडा नेपाली सेनाका जवानहरू पनि नेपाल नआई अंग्रेज फौजतिरै भर्ना भई वृत्ति चलाउन थाले ।

अहिले भने लाहुर जाने ठाउँ र स्वरुप विस्तारित भएको छ । बेलायत र भारत मात्रै लाहुरको गन्तव्य रहेन । नेपाली नौजवानहरू अहिले संसारका विभिन्न ठाउँमा जोखिमपूर्ण र कष्टसाध्य श्रममा पसिना बगाउन पुग्नु परेको छ । यतिखेर उनै परम्परागत र रूपान्तरित लाहुरेहरूबाट प्राप्त रेमिटेन्स नेपाली अर्थतन्त्रको मूल आधार बन्न पुगेको छ ।

तर अहिले कोरोनाभाइरसबाट उत्पन्न विश्वव्यापी महाविपत्तिले रेमिटेन्स ठप्प हुन पुगेको छ । यसबाट पनि लाहुर भर्तीबाट सिर्जित परनिर्भरताले मुलुकमा समग्रमा कति ठूलो असर पर्ने रहेछ भन्ने देखापरेको छ ।

नेपालसँगको युद्धमा अंग्रेजले नेपाली युवाको वीरता, साहस र सौर्यको परख गरेको थियो, कतिपय भोगेर, कतिपय देखेर । देहरादुनमा अंग्रेजहरूले नालापानीका सेनानायक बलभद्र कुँवरको नाममा त एउटा स्मारक नै राखे ।

युद्ध भइरहने हुँदा त्यसवेला अंग्रेजलाई इमानदार र सुरवीर नौजवानको आवश्यकता पथ्र्यो । यसका लागि उनीहरूले नेपालका तालुकदारहरूको मुख ताक्नु स्वाभाविकै थियो ।

जंगबहादुर राणाले आफ्नो दुनो सोझ्याउन अंग्रेजको जतिसुकै चाकरी गरे पनि नेपाली नौजवानलाई त्यसतर्फ रिक्रुटमा पठाउन भने कडाइ गरेका थिए । रणोद्दीपसिंहको पालामा नेपाली रिक्रुट अंग्रेजलाई पठाउन केही उदारता देखाइयो ।

आफ्नै ठूलाबुवा उनै रणोद्दीपसिंहको प्राण हरण गरेर सत्तारोहण गर्न पुगेका वीरशमशेरले नेपाली नौजवानलाई अंग्रेजका लागि रिक्रुट भर्तीमा पठाउन आफ्नो छाती उदात्त बनाए । उनी गोत्रहत्यापछि प्राप्त सत्तालाई अंग्रेज शासक मार्फत मान्यता दिलाउन चाहन्थे । सोही कारण रिक्रुट भर्ती मार्फत उनले अंग्रेजलाई नेपाली नौजवानहरू समर्पण गरे ।

चन्द्रशमशेरको पालामा त पहिलो विश्वयुद्ध (सन् १८१४–१९१८) नै भयो । त्यसवेला अंग्रेजलाई सैन्य भर्नामा अधिक सङ्ख्यामा रिक्रुट आवश्यक पर्ने भइहाल्यो ।

‘नेपालको सैनिक इतिहास’ (२०४९ः२४४–२५३) अनुसार विभिन्न ठाउँबाट भारतीय अंग्रेज सेनामा ५ लाख १ हजार सेना भर्ना भएका थिए । तीमध्ये ५५ हजार त नेपाली नै थिए । यसरी रिक्रुट मार्फत विश्वयुद्धमा होमिने नेपालीमध्ये २० हजार जवानले विदेशी भूमिमै ज्यान गुमाए । कैयौं घाइते, अपाङ्ग र बेपत्ता पनि भए ।

पहिलो विश्वयुद्ध शुरू भएको एक वर्षपछि अर्थात् विश्वयुद्ध चलिरहेका वेला रिक्रुटका रूपमा नेपाली नौजवान संकलन गरी भर्तीमा पठाउन मुलुकका विभिन्न क्षेत्र र मौजामा छरिएर रहेका जिम्मावाल तालुकदारहरूको नाममा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले जारी गरेको एक सनदको छायाँप्रति यो लेखकको हातमा परेको छ।

पूर्वप्रशासक तथा इतिहासकार भगिराज इङ्नामको सौजन्यबाट लेखकले उक्त छायाँप्रति प्राप्त गरेको हो । यो सनद १९७२ सालमा जारी गरिएको हो । खुइलिएको र धमिलो भएकोले महीना, गते र बार भने स्पष्ट रूपमा देख्न सकिन्न ।

सनद मार्फत तत्कालीन जिम्मावाल तालुकदारहरूलाई रिक्रुटमा नौजवान संकलन गरी पठाउन सके सङ्ख्या अनुसारको इनाम दिइने र नसके सरकारलाई असहयोग गरेको ठहर गरी तजविज बमोजिम हालसम्म भोगचलन गर्दै आएको तालुकदारी नै खोसिदिनेसम्मको आश र त्रास चन्द्रशमशेरले तालुकदारहरूलाई देखाएका थिए ।

पहिलो विश्वयुद्धका क्रममा फ्रान्समा जर्मन ट्रेञ्च भत्काउँदै गोर्खाली सेना । तस्वीरः इम्पेरियल वार म्युजियम

युद्धको भयबाट मुक्त बनाउने प्रयास
सनदमा सबैभन्दा पहिले अंग्रेजका लागि रिक्रुट भर्ती गरी पठाउनुको औचित्य पुष्टि गर्न खोजिएको छ ।

‘बृटिस सर्कार र नेपाल सर्कारको अघिदेखि दोस्तना रहि आयाको तिमीहरू सबैलाई थाहै छ ...पल्टनमा आफूखुसी भर्ना गर्न आउने रिक्रुट थोर थोरै मात्र भई येक बखत पुरा गर्न नपुगेको हुनाले नेपाल सरकारलाई बन्दोबस्तमा पुरा रिक्रुट चाडो भर्ना हुदो हो भन्या दोस्तिका हिसावले बृटिस सर्कारका तर्फबाट लेखि आयाको...’ भन्ने सनदमा उल्लेख छ ।

यसबाट स्पष्ट हुन्छ, खुल्ला रूपमा भर्नाका लागि आफूखुशी नौजवानले खासै इच्छा देखाएका थिएनन् । त्यसैले अंग्रेजका लागि नेपाल सरकार नै लागेर नौजवान संकलन गरेर रिक्रुट भर्ती गरी पठाउनु परेको देखिन्छ । जबरजस्ती रिक्रुटका लागि नौजवान संकलन गरिन्थ्यो भन्ने आधार मिल्छ ।

सनदमा रिक्रुटमा भर्ती हुन आउन चाहनेलाई आकर्षित गर्न लोभलालच पनि देखाइएको छ । सनद अनुसार भर्तीमा लागेर जानेलाई सबै सुविधा र कदर पनि मिल्ने भनिएको छ । तीन वर्ष नोकरी गरिसकेपछि छाडी आउने मनसुवा भएकाले छाड्न सक्ने मात्रै होइन, पूरा नोकरी गरी पेन्सन पकाई आउनेले त इच्छा भए नेपालमा सैन्य सेवामै सरकारी जागिर पाउने ग्यारेन्टी पनि गरिएको छ ।

विश्वयुद्धको विभीषिकाको समय त्यस्तो लडाइँमा होमिने चाहना नेपाली नौजवानलाई के हुन्थ्यो होला र ? नेपाली नौजवानलाई युद्धको भयबाट मुक्त गराउन धेरै समय युद्ध लड्नु त के, सकेसम्म युद्धै लड्नु नपर्नेसम्मको कुरा पनि सनदमा गरिएको छ ।

सनदमा तालिम नदिई युद्धमा नपठाइने, तालिम लिंदा एक दुई वर्ष लागिहाल्ने र त्यतिवेलासम्म युद्ध पनि सकिसक्ने उल्लेख छ । र भरसक युद्धमा जानु पनि नपर्ने भन्ने समेत कुरा आफ्ना गाउँठाउँमा राखी गाउँलेलाई सम्झाई–बुझाई गरी नौजवान रिक्रुटका लागि संकलन गर्न तालुकदारलाई आदेश दिइएको थियो ।

पहिलो विश्वयुद्धका क्रममा फ्रान्समा गोर्खाली सेनाका युद्धसामग्री निरीक्षण गर्दै बेलायती सेना ।

रिक्रुटको योग्यता र छनोट प्रक्रिया
सनद अनुसार जिम्मावाल तालुकदारहरूले आफ्ना मौजाको गाउँ–गाउँबाट एक दुई जना नघटाई सकेसम्म धेरै नौजवान रिक्रुटका लागि खोज्नुपर्ने भयो । रिक्रुटका लागि योग्यताको कसीमा निरोगी, बलिया, हात, खुट्टा, आँखा, कान सद्दे भएका मापदण्ड राखिएको थियो ।

यसैगरी उँचाइ पाँच फुट दुई इञ्चदेखि माथि र न्यूनतम ३२ इञ्च चौडा छाती तथा १८ वर्षदेखि २५ वर्षसम्मका नौजवान रिक्रुट भर्तीका लागि योग्य ठह¥याउन चन्द्रशमशेरले तालुकदारहरूलाई आदेश दिए ।

जिल्ला गौंडा गोश्वाराबाट ‘रिक्रुटका लागि नौजवानलाई ल्याउनू’ भन्ने उर्दी आएपछि संकलन गरिएका नौजवानलाई ल्याउनुपर्ने सनदमा उल्लेख छ । त्यहीं हाजिर गराई जाँचपास गर्नू भन्ने आदेश पनि तालुकदारहरूले पाए ।

रिक्रुटमा भर्ना हुने नौजवानलाई निश्चित जातिबाट ल्याउनका लागि जातिगत सीमाको सूची पनि सनदमा किटान गरिएको थियो । ठकुरी, घले, सुनुवार, मतवाली खस, क्षत्री, मगर, रानाभाट, तामाङ, गुरुङ, लिम्बू किराती राई, नगरकोटी र श्यार्पालाई रिक्रुट भर्तीका लागि योग्य जाति भएको पनि सदनमा उल्लेख गरिएको थियो ।

अचम्म के भने यसअघि ‘मूर्मी भोट्या’ भनी हेलाँहोचो गरी लाहुर भर्ती जान नदिइएका तामाङहरूका लागि पनि विश्वयुद्ध जस्तो गाह्रो अप्ठ्यारोको वेला रिक्रुट भर्ती खुलाइएको छ । युद्धको समयबाहेक सामान्य अवस्थामा भने तामाङहरूले चाहे विदेशको, चाहे स्वदेशको हतियारधारी सैन्यमा भर्ना पाएका देखिंदैन।

तालुकदारलाई आश र त्रास
त्यो वेला रिक्रुटका लागि नौजवान बटुल्नु अंग्रेजको एक मित्र भएकोले नेपाल सरकारको कर्तव्य भई आउँदा सरकारको काम सफल पार्नुपर्ने जिम्मा जिम्मावाल तालुकदारहरूको कर्तव्य हुनआएको भनी सनदमा स्मरण गराइएको थियो।

यो कर्तव्य पूरा गर्नेलाई सरकारबाट कदर गरिने तर नौजवानहरू संकलन गरी पु¥याउन नसके त्यस्तो कार्य अटेर गरेको ठहरिने चेतावनी पनि चन्द्रशमशेरले दिएका थिए।

‘रिक्रुट तसल्लह गरी पु¥याउन सकेनौं भने अटेर गरेको ठहरि तजविज माफिक सजाय र तिमीहरूले तालुकदारी समेत चलाउन नसकेको ठहरि तालुकदारि समेत झिकिनेछ’ भन्नेसम्मको चेतावनी सनद मार्फत दिइएको थियो।

रिक्रुटका लागि नौजवानहरू संकलन गरी बुझाएको अवस्थामा रिक्रुटको सङ्ख्या हेरी उनीहरूलाई नगद इनामको समेत व्यवस्था गरिएको जानकारी गराएर तालुकदारहरूमा हौसला बढाइएको थियो।

रिक्रुटका लागि आफैं मञ्जुर भई आउनेलाई तीन रुपैयाँको व्यवस्था गरिएको थियो । यस्तै एक जनादेखि १० जना पठाउनेलाई तीन रुपैयाँ तीन मोहर, ११ जनादेखि २४ जना पठाउनेलाई चार रुपैयाँ दुई मोहर र २४ देखि माथिको सङ्ख्यामा पठाउनेलाई पाँच रुपैयाँ इनामको व्यवस्था गरिएको थियो।

यसरी चन्द्रशमशेरले नेपाली नौजवानलाई विदेश पठाउने परम्पराको जग बलियो बनाएका थिए । परिणामतः उनको यो कदमले नेपालीको गरीबी र देशको अविकासका लागि ठूलो भूमिका खेल्न पुग्यो।

प्रतिकृया दिनुहोस