टिप्पणी सोमबार, असार १५, २०७७

को हुन् लिम्बू ? के भन्छ मानवशास्त्र ?

हिमालखबर

को हुन् लिम्बू ? के भन्छ मानवशास्त्र ?
जातीय भेषमा लिम्बू युवती । तस्वीर: हिमाल आर्काइभ

झण्डै २५० वर्ष अघिदेखि नै लिम्बू जातिको मानवशास्त्रीय अध्ययनमा विदेशी अध्येताको चासो देखिए पनि मुन्धुम यसको केन्द्रविन्दु बन्न सकेन । यता आएर राज्यले पनि लिम्बूका ऐतिहासिक र पुरातात्विक सम्पदा संरक्षणमा चासो दिइरहेको छैन ।

अर्जुनबाबु माबुहाङ

मानवशास्त्रको उत्पादन र उपभोग गर्ने श्रेय युरोपेलीहरूलाई जान्छ । पन्ध्रौं शताब्दीदेखि युरोपेली घुमन्ते (नाविक), पादरी, सरकारी कर्मचारी (सैनिक) हरूले आफ्नो व्यापार विस्तार अभियान शुरू गरे ।

त्यही क्रममा स्पेनका क्याथोलिक शासकको सहयोगमा सन् १४९२ मा एशिया हिंडेका इटालियन नाविक कोलम्बस उत्तर अमेरिकाको बाहामाहा टापुमा पुगे । उनले त्यहाँ क्यानोइस, टाइनो, आरावाक आदिवासीहरूलाई पक्रिएर कतिलाई स्पेनकी महारानी इजाबेलाका दास बनाए त कतिलाई सुनखानी उत्खनन् गर्न हिस्पोनिओला पुर्‍याए।

अन्ततः पोर्चुगलका भास्को डि गामाले युरोपदेखि एशिया आउने सामुद्रिक नाका पत्ता लगाएरै छोडे । उनी सन् १४९८ मा भारतको केरलाको कालिकट आइपुगे।

सन् १६६१ मा अल्बर्ट डि अर्बेल्ला जर्मनीको ब्रसेल्सबाट र जोहान ग्रोबर अष्ट्रियाबाट नेपाल आइपुगेका थिए । उनीहरूलाई पनि राजा प्रताप मल्लले भव्य स्वागत गरेका थिए । तर तिब्बतको राजधानी ल्हासा जाने उपयुक्त वातावरणको अभावमा उनीहरू भारतको आगरा फर्किएका थिए।

भारत आउने बाटो खुलेपछि युरोपेली क्रिश्चियन धर्मावलम्बीले तिब्बतमा धर्म प्रचार गर्न मिसन बनाए । सन् १६२८ मा भारत हुँदै पोर्चुगलका क्याथोलिक जेसुइट जुआन क्याब्रेल्ला नेपाल आए । उनलाई कान्तिपुरका राजा लक्ष्मीनरसिं मल्लले स्वागत गरेका थिए।

सन् १६६१ मा अल्बर्ट डि अर्बेल्ला जर्मनीको ब्रसेल्सबाट र जोहान ग्रोबर अष्ट्रियाबाट नेपाल आइपुगेका थिए । उनीहरूलाई पनि राजा प्रताप मल्लले भव्य स्वागत गरेका थिए । तर तिब्बतको राजधानी ल्हासा जाने उपयुक्त वातावरणको अभावमा उनीहरू भारतको आगरा फर्किएका थिए।

सन् १७०७ मा कापुचिनहरू पादरीद्वय फ्रान्चिस्को मारिया र गिसेप्पे दि रोभाटोको टोली नेपाल आइपुग्यो । कीर्तिपुर र गोरखाको लडाईंमा पृथ्वीनारायण शाहका भाइ सुरप्रताप शाहको आँखा फुट्दा यही टोलीका सदस्य माइकल एञ्जेलोले औषधिमूलो गरेका थिए।

तर जयप्रकाश मल्लले गोर्खालीहरूसँग लड्न अंग्रेजको सहायता मागेको थाहा पाएपछि पादरीहरूको भूमिका शंकास्पद ठानी पृथ्वीनारायण शाहले फादर गिसेप्पे दि रोभाटो लगायतलाई सन् १७६९ मा नेपाल खाल्डोबाटै निकाला गरेका थिए । उनी पूर्वको बाटोहुँदै बेतिया फर्केका थिए । उतिवेला पूर्वमा स्वतन्त्र किरात राज्य भएको कुरा 'एन अकाउन्ट अफ द किङडम अफ नेपाल — सन् १७८६' शीर्षकको आफ्नो लामो लेखमा लेखेका छन्।

तस्वीरहरु बायाँबाट क्रमशः ताप्लेजुङको छिरुवानी/लुङइक्वामा सुसुवेङ लालावेङले खोङसोलुङजङ माथि काँढ रेटेको डोब, बाको थत्थरप्पा याक्केक/भीरमा खोङलिसो अयासक्पाले लुकाएका खन्ती/लक्चोहरू, तमोर र मिवा खोलाको दोभानस्थित लालेखाँद ओढारमा खोङलिसो अयासक्पा।

व्यापार विस्तारमा मानवशास्त्र

अठारौं शताब्दीको अन्त्यतिर गैरपश्चिमा मुलुकहरूमा व्यापारिक कोठीहरू उपनिवेशका रूपमा स्थापना हुन थाले । व्यापार गर्न कुनै पनि जातिको इतिहास, भाषा, संस्कृति र जीवनशैली जान्नै पर्ने भयो । पश्चिमाहरूले आफ्नो व्यापार विस्तार गर्न गैर–पश्चिमाहरूका समाज र संस्कृतिलाई अध्ययन–अनुसन्धान गर्ने क्रममा मानवशास्त्रको विकास भयो।

नेपालमा पनि युरोपेलीहरूले नेपाल र विभिन्न जातजातिबारे अध्ययन गर्न थाले । विदेशीहरूले लिम्बू जातिमा पनि अध्ययनको चासो देखाए।

नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले लिम्बूहरूसँग सम्झौताको नीति लिएकाले पनि लिम्बू जातिका बारेमा अध्ययन गर्न विदेशीहरूको चासो बढेको हुनसक्छ। लिम्बू जातिको सम्बन्ध पहिले सिक्किम र तिब्बतसँग राम्रो भएकाले विदेशीहरूको नीति पूर्वका लिम्बूलाई सचेत बनाएर गोर्खाली विरुद्घ उकास्न सकिन्थ्यो कि भन्ने पनि हुनसक्छ ।

लिम्बू जाति बारे अध्ययन गर्ने पहिलो विद्वान ब्रिटिश इष्ट इण्डियाका कर्णेल विलियम कर्कप्याट्रिक थिए । उनी सन् १७९३ मा नेपाल र तिब्बतको युद्धका क्रममा नुवाकोटसम्म आएका थिए । सन् १८११ मा प्रकाशित उनको पुस्तक 'एन एकाउन्ट अफ दि किङडम अफ नेपौल'मा जम्मा पैंसठ्ठी लिम्बू शब्द संकलित छन् । बाघलाई ‘थिरिङबा’ र कुकुरलाई ‘ख्याबा’ लेखेकाले उनलाई लिम्बू शब्दहरू टिपाउने पान्थरेमूलको लिम्बू भएको अनुमान गरिएको छ।

सन् १८०२ मा स्कटिस चिकित्सक फ्रान्सिस ब्यूकानन् ह्यामिल्टन काठमाडौं आसपास आइपुगे । भारतमा मुस्लिम वादशाह टिपु सुल्तानको पराजय र मैसुर राज्यको पतन पश्चात् उनलाई दक्षिण भारतको सर्भे गर्न लगाइयो । उनले नै बंगालको पनि सर्भे गरे । सर्भे गर्ने क्रममा उनले नेपालको पूर्वी बोर्डरमा रहेर पनि काम गरेका थिए । सन् १८१९ मा उनको पुस्तक 'एन अकाउन्ट अफ किङडम अफ नेपाल' प्रकाशनमा आयो।

ह्यामिल्टनको लेखनीमा भरपर्दो स्रोतव्यक्ति तत्कालीन गोर्खा—खम्बुवान—लिम्बुवान युद्धकालका चौदण्डी राज्यका चौतरिया अगमसिंह खम्बू रहेको देखिन्छ । जो गोर्खालीले धपाएर इष्ट इण्डिया कम्पनी राज्यको सीमामा लुकिछिपी आफ्नी आमासँग बसेका थिए । अगमसिंहले बताए अनुसार विजयपुरका राजा विजयनारानका पुर्खाहरू मोरङ राज्यको उत्तर पहाडबाट झरेका थिए।

यहाँनेर विजयनारानका पुर्खाहरू र तेह्रथुम फेदापका लिम्बूहरूको वंश जोडिएको देखिन्छ । २०६३ सालमा प्रकाशित तुम्बाहाङफे वंशावली मा संवत् १८१४ को टिपोटमा फेदापका सात राय (लिम्बू प्रमुख) हरूका पुर्खा सिदिइङका सन्तान फेदापमा नै रहेका र साङलाइङका सन्तानहरू क्रमशः याम्बेनारांन, आपनारांन, कृइन नारांन, चारै नारांन, ईतवी नारांन, विज्या नारांनसम्म जम्मा सात पुस्ताले मोरङमा राज्य गरेको उल्लेख छ । साङलाइङपछिका यम्बेनारांनले हिन्दू मत ग्रहण गरेका थिए, त्यसैले उनको नामको पछाडि विष्णु भगवान्लाई भनिने ‘नारायण’ शब्द ‘नारांन’ जोडिएको बताइन्छ।

वंशावलीमा सेनहरूको पालामा विजयपुर दरबारमा वानहाङफुङ रहँदा उनकी श्रीमती उनकै कमारा कोचोपङ्गेसँग लहसिएर जन्मिएको सन्तानसँग अंसी र निरअंसी भएको पन्जनसिं र मन्जितबीच भएको झगडाको कागज छापिएको छ । ह्यामिल्टनले लेखेका कुरा र वंशावलीका कागजात मेल खाएको देखिन्छ।

ह्यामिल्टनका अनुसार, विजयनारानले हिन्दू महिलासिंग लसपस गरेको आरोपमा आफ्ना चौतरिया सिंग रायलाई मृत्युदण्ड दिन्छन् । त्यसपछि सिंग रायका छोरा बाजु रायले मकवानपुरका राजा लोहाङसेनको सहयोगमा विजयनारानको हत्या गर्छन् । वंशावलीमा पनि ‘विज्या नारान’ अथवा विजयनारानको पुस्तामा राज्य भंग भएको चर्चा छ।

वंशावलीमा सेनहरूको पालामा विजयपुर दरबारमा वानहाङफुङ रहँदा उनकी श्रीमती उनकै कमारा कोचोपङ्गेसँग लहसिएर जन्मिएको सन्तानसँग अंसी र निरअंसी भएको पन्जनसिं र मन्जितबीच भएको झगडाको कागज छापिएको छ । ह्यामिल्टनले लेखेका कुरा र वंशावलीका कागजात मेल खाएको देखिन्छ।

ब्रिटिश मेजर जनरल आर्चीबल्ड क्यामबेलको सन् १८४० मा ‘एसियाटिक सोसाइटी आफ बंगाल’ जर्नलमा ‘नोट्स अन द लिम्बुज एण्ड अदर हिल्स ट्राइब्स हिदरतो अनडिस्क्राइब्ड’ लेख प्रकाशित भयो । उनले लिम्बू जातिलाई गोर्खालीले ‘लिम्बू’ र लिम्बूले चाहिं ‘याक्थुङ्बा’ भनेको टिपोट गरेका छन् । ३११ लिम्बू शब्द र २१ लिम्बूका थर संकलन गरेका उनले लिम्बू जातिको विवाह, जन्म र मृत्यु संस्कारको पनि चर्चा गरेका छन्।

जर्नलकै अर्को अंकमा छापिएको ‘नोट अन द लिम्बू अल्फाबेट अफ द सिक्किम हिमालय’ शीर्षकको क्यामबेलकै लेखमा लिम्बू अक्षर, वर्णमालाहरूको संकलन छ।

क्यामबेल लिम्बूबारे तत्कालीन सिक्किमका छोग्याल दिवान इलामासिंबाट आफू प्रभावित भएको बताएका छन् । सम्भवतः प्रकाशनका हिसाबले उनी नै सिरिजङ्गा लिपि (लिम्बू वर्णमाला) का प्रथम संकलनकर्ता हुन्।

चिकित्सक समेत रहेका क्यामबेल दार्जीलिङका प्रथम सुपरिटेन्डेन्ट पनि थिए । दार्जीलिङमा चिया खेतीको शुरूआत गर्ने श्रेय उनलाई नै जान्छ । दार्जीलिङका हालसम्मका गिर्जाघरका डिजाइन पनि यिनैले गरेका थिए । यिनकै नाममा वनस्पतिविद् सर जोसेफ डाल्टन हुकरले सिक्किममा पाइने चाँप प्रजातिको नाम ‘म्याग्नोलिया क्याम्पबेली’ राखेका थिए । हुकर सन् १८३२ मा नेपालका लागि ब्रिटिश रेजिडेन्ट ब्रायन हटन हज्सनको सहयोगी पनि नियुक्त भए।

विलियम कर्कप्याट्रिक, फ्रान्सिस ब्यूकानन् ह्यामिल्टन र सर जोसेफ डाल्टन हुकर ।

हज्सनसँगको साइनो

नेपालका पशुपक्षी, बोटबिरुवादेखि समग्र जैविक विविधता र विभिन्न जातजातिहरूको धर्म, संस्कार, संस्कृति, भाषा, वंशावली, इतिहासमा सबैभन्दा बढी काम गर्ने स्वदेशी वा विदेशी विद्वान् हरुमा ब्रायन हटन हज्सन नै हुन् । उनी राम्रा कालिगड र अब्बल कूटनीतिज्ञ थिए । उनी १७ वर्षकै उमेरमा इष्ट इण्डिया कम्पनीको लेखनदासको रूपमा कलकत्ता आएका थिए । नेपाल र अंग्रेज युद्घताका उनलाई कुमाउ पठाइएको थियो ।

सन् १८१६ को सुगौली सन्धिपश्चात एडवार्ड गार्डेनर १८२० मा नेपालका लागि रेजिडेन्ट भएर आउँदा हज्सन सहायक भएर आएका थिए । बीचैमा पर्सियन क्यालेण्डरले उनलाई कलकत्ता झिकाए । फेरि सन् १८३३ मा नेपालका लागि रेजिडेन्ट बनाएर पठाइयो । उनी सन् १८३३ देखि १८४३ सम्म नेपाल बसे । त्यसपछि १८५८ सम्म दार्जीलिङमा बिताए।

यिनले नेपालमा रहँदा बुद्ध धर्मका महायान ग्रन्थदेखि भेटिएसम्मका विभिन्न जातजातिका वंशावली, इतिहास, लिपि—भाषा, संस्कृति टिपोट गराएका थिए । गोर्खालीले जारी गरेका लालमोहोर, सनद, रुक्का लगायतका कागजपत्रहरू पनि संकलन गरे । लिम्बूका हकमा भने सिक्किम र दार्जीलिङमा भेटिएका सिरिजङ्गाका लेखोटहरू संकलन गरेका थिए।

हज्सनले नै गोर्खा—खम्बुवान—लिम्बुवान र सिक्किम युद्ध वर्णन चैनपुर मैदानेका जोभानसिं फागो वनेमलाई लेख्न लगाएर लिम्बू इतिहास लेखन र च्याङ्गे्रसिङ फेदाङमाबाट मुन्धुम अभिलेखनको शुरुआत गराएका थिए। छथरका गुनमान खजुम लगायतकाहरूबाट लिम्बू शब्दहरू संकलन गरेका थिए । उतिवेला इष्ट इण्डिया कम्पनीमा बुझाइएको उनको संकलन अहिले ‘हज्सन कलेक्सन’ का रूपमा ब्रिटिश लाइब्रेरीमा सुरक्षित छन् ।

हज्सन संकलनका आधारमा पुस्तकहरू पनि प्रकाशित भए । सन् १८७४ मा ‘एस्सेज एन ल्याङ्ग्वेज लिटरेचर एण्ड रिलिजन अफ नेपाल एण्ड टिबेट’ र १८८० मा ‘मिस्सेलेनियस एस्सेज रिलेटिङ टु इण्डियन सब्जेट्स’ । तर, हज्सनलाई पुस्तकबाट भन्दा ‘हज्सन कलेक्शन’ बाटै अध्ययन गर्नुपर्ने हुन्छ ।

हज्सन पछि लिम्बू जातिको अध्ययनमा बेलायती वनस्पतिविद् सर जोसेफ डाल्टन हुकरको नाम आउँछ । हुकर सन् १८४८ मा पाँचथर र दार्जीलिङको सिमाना फालेलुङको फालोटको बाटोहुँदै इलाम, साखेजुङ; धनकुटाहुँदै तमोरै—तमोर, ताप्पेथोक, लुङधुङदेखि ओलाङचुङ गोलाहुँदै याङमासम्म पुगेको देखिन्छन् ।

सन् १८५५ मा उनको पुस्तक ‘हिमालयन जर्नल’ प्रकाशनमा आयो । उनले तमोर खोलाको ताप्पेथोकमा भेटेका लिम्बूहरूमा जात विभाजन नभएको तर बौद्ध धर्म मान्ने गरेको लेखेका छन् । ओलाङचुङका गोवाहरूले नेपाल र सिक्किमलाई दुईतिर तिरो तिरेको पनि लेखेका छन् । जंगबहादुर राणाले लिम्बूहरूलाई सैन्यमा भर्ती गर्न लगेको तर बाटोमा (अमलेखगञ्ज ?) औलो लागेर भागेको रोचक प्रसंग पनि उप्काएका छन । यात्रामा गुराँसको परिचय दिने पहिलो वनस्पतिशास्त्री यिनै हुकर हुन् ।

काप्लानको देन
उन्नाइसौं शताब्दीमा आइपुग्दा मानवशास्त्र एउटा सैद्धान्तिक विधाको रूपमा स्थापित हुन पुग्यो । सन् १९५० देखि नेपालमा मानवशास्त्रीहरूको प्रवेश हुन थाल्यो । ब्रिटिश मानवशास्त्री लायोंनेल काप्लान सन् १९६४ (संवत् २०२१) मा नेपाल आइपुगे । उतिवेला नेपालको पूर्वी लिम्बूवानमा सरकारले किपट उन्मूलन घोषणा गरेर कानून बनाइरहेको थियो । उनले तत्कालीन इलाम गौंडाको आङबुङ, भारप्पा, चित्तोक र दोरुम्बामा बसेर जम्मा १३ महीना क्षेत्रकार्य गरे ।

सन् १९७० मा काप्लानको पुस्तक ‘ल्याण्ड एण्ड सोसल चेन्ज इन इष्टर्न नेपालः अ स्टडी अफ हिन्दु रिलेसन’ प्रकाशनमा आयो । पुस्तकमा हिन्दूहरू लिम्बू बस्तीमा बसाइँसराइ गरी कसरी आए, हिन्दू र लिम्बूबीच सांस्कृतिक भिन्नताहरू कसरी महसूस हुन थाल्यो, लिम्बूहरूको पुर्ख्याैली भूमि किपट कसरी हिन्दूहरूको स्वामित्वमा पुग्यो र यो कार्यमा सरकारले कसरी सहयोग गर्‍यो भनी प्रष्ट्याउन खोजिएको छ ।

उनको एउटा ‘केस स्टडी’ यस्तो छ: लिम्बूको खेतमा हालिएको कुलो बाहुनले घुराएपछि लिम्बूले बाहुनलाई पिट्छ । पञ्चायतमा मुद्दा चल्दा बाहुनले ‘म बाहुन हुँ’ भनी बारम्बार भनिरहन्छ । पञ्चायतले ‘बाहुनलाई कुट्न मिल्दैन’ भन्दै अन्ततः लिम्बूमाथि नै जरिमाना गर्छ ।

काप्लानले उतिवेलाको समाजमा खस–बाहुनप्रतिको सामाजिक हेराइलाई यसरी प्रस्तुत गरेका छन्ः

टिप अफ द सुगरकेन रुट अफ द र्‍याडिस (उखुका लाक्रा जस्ता देखिन्छन् गाजरको जरा जस्तो स्वाद दिन्छन ।)

किपिङ अ सर्भेन्ट इज द रुइन अफ हाउस (नोकरचाकर बस्छन्, घर बिथोल्छन् ।)

लेट इन द बार्न हि ड्रिङ्स द क्रिम (गोठमा छोड्यो नौनी सबै खाइदिन्छन् ।)

लेट इन द होम हि टेक्स योर स्पाउस (घरमा छोड्यो श्रीमती भ्याइदिन्छन् ।)

सन् १९९६ मा उनको पुस्तक ‘द डोजिङ शामनः द लिम्बूज अफ इष्टर्न नेपाल’ सार्वजनिक भयो । यो पुस्तकले लिम्बू जातिको हिजो र आजको जीवनशैली, हिन्दू धार्मिक अतिक्रमण, राजनीतीकरण, लिम्बू देवारीहरू फेदाङ्मा, साम्बा र येवा/येमाहरूको प्रस्तुति बारे अध्ययन पाइन्छ ।

काप्लानले सरकारले लिम्बूहरूको जातीय भूमि किपटलाई खोस्दै लगेको (रैकर) तथ्य अगाडि सारेका छन् । सरकारले किपटलाई रैकर, अमालको ठाउँमा पञ्चायत र सुब्बाको ठाउँमा पञ्चको व्यवस्था गरेको उनले लेखेका छन् । उनले, ‘लिम्बू देउताले सुनचाँदीको मान्छे बनाएको तर बोलाउँदा नबोलेको, खरानी र सुली मुछेर बनाएको मान्छे भने बोलेको’ मिथक प्रस्तुत गरेर लिम्बूहरूको सांस्कृतिक विशिष्टता प्रस्तुत गरेका छन् । लेखकले लिम्बूका परम्परा र संस्कार/संस्कृतिहरूले किपटको संरक्षण गर्नमा सहयोग पुगेको देखाएका छन् ।

फ्रान्सेली मानवशास्त्री फिलिप साँ गान्त सन् १९६६ र १९६९ मा दुईचोटि नेपाल आए । उनले ताप्लेजुङको लिवाङ र ताप्केगोलामा बसेर लिम्बूजातिको संस्कार बारे अध्ययन गरे । सन् १९९६ मा उनको पुस्तक ‘द डोजिङ शामनः द लिम्बूज अफ इष्टर्न नेपाल’ सार्वजनिक भयो । यो पुस्तकले लिम्बू जातिको हिजो र आजको जीवनशैली, हिन्दू धार्मिक अतिक्रमण, राजनीतीकरण, लिम्बू देवारीहरू फेदाङ्मा, साम्बा र येवा/येमाहरूको प्रस्तुति बारे अध्ययन पाइन्छ ।

लेखक साँ गान्त उवेलाका संरचनावादी मानवशास्त्री लेभी स्ट्रसको प्रभावमा परेका छन् । स्ट्रसले मानिसहरूबीचको अन्तरसम्बन्ध भाषाको प्रयोगबाट मात्र सम्भव हुने र स्वयं भाषाको आधारभूत संरचना/अर्थहरूको फरकपन सम्भावनाहरूबाट सम्भव भएको बताएका छन् । साँ गान्तले पूर्व (नाम्गेत) र पश्चिम (नाम थाः) विपर्याय शब्दहरू उदाहरणका रूपमा लिएका छन् । पूर्व शब्दले लिम्बू जातिको जीवन, फलिफाप र पश्चिम शब्दले मृत्यु र विनाश जनाउँछ । यी भाषिक संरचनाहरूले सामाजिक संरचनालाई अक्षुण्ण राख्नमा जोड दिन्छ ।

अमेरिकी मानवशास्त्रीद्वय रेक्स एल जोन्स र शिर्ले कुर्ज जोन्सले सन् १९६७–१९६९ ताका तेह्रथुमको म्याङलुङ, तम्फुला, साप्ला आसपास आएर अनुसन्धान गरेका थिए। उनीहरूको पुस्तक ‘द हिमालयन वुमन: अ स्टडी अफ लिम्बू वुमेन इन म्यारिज एण्ड डिभोर्स’ सन् १९७६ मा प्रकाशनमा आयो । लैंगिक महिलावादी दृष्टिकोणबाट लेखिएको यो पुस्तकमा लिम्बू समाजमा जारी विवाह, विधवा विवाह अर्थपूर्ण भएको तर्क गरिएको छ ।

मानवशास्त्रीहरूले लिम्बू जाति अध्ययनका क्रममा लिम्बूदेवारीहरू फेदाङ्मा, साम्बा, येवा/येमाहरूको पहिरन (येसामा), प्रस्तुति मात्र अध्ययन गरेको देखिन्छ । देवारीहरूले बोल्ने मुन्धुम (पितृ बोली), मुन्धुममा ब्रह्माण्डको उत्पत्ति र सञ्चालन बारे अध्ययन हुनसकेको छैन ।

मुन्धुममा गोब्रे च्याउमा ओत लाग्नेहरू (होः पत्ते ? यो वाः केइम्सिङबाहाः), बाख्राको बड्कौंलामा भारी बिसाउनेहरू (मेदा हिः सम्दो कक केनाम्बा हाः), उन्युका बोटमा भारी बिसाउनेहरू (कात्ताक्वा कुबुङ पेःना केदाङबाहाः), जस्ता मान्छेहरूको शारीरिक बनोटको चर्चा हुन्छ ।

तर, मुन्धुममा वर्णित मुख्य पात्र तागेरा निङ्वाफुमा बसेको फक्ताङलुङ गापाको लेलेपको निङखुरी फुक्कु ओढार, छिरुवानीको खोङसोलुङजङमा सुसुवेङ लालावेङले आफ्नोतिर साँध लगाएको ढुङ्गो, मिक्वाखोलाका साँबाको थत्थरप्पा भीरमा खोङलिसो अयासक्पाले राखेका काठका खन्ती (लक्चो), अयासक्पाले नै तमोर र मिवा खोलाको दोभान लालेखाँदको ओढारमा अयासक्पा आफैंले बनाएको आफ्नो तस्वीर जस्ता लिम्बू जातिका आस्था विश्वाससँग जोडिएका शिल्पकला/पुरातत्वबारे अध्ययन भएकै छैन । मुन्धुममा लिम्बूका भाषिक व्यवहारहरू पनि भेटिन्छन् ।

ताप्लेजुङको लिबाङमा फ्रान्सेली मानवशास्त्री फिलिप साँ गान्तले क्षेत्रकार्यको क्रममा लिम्बूहरूसँग खिचाएको तस्वीर ।

बिर्सनुहुन्न मुन्धुम

मुन्धुममा पोरोक्मि यम्फामिले मालिङ्गोको खरानी र चराको विष्टा मुछेर बनाएको मान्छे बोलाउँदा बोल्दैनन् । पोरोक्मि नव निर्मित मनुष्यलाई बोकेर हिंड्छन् । लिङिखमको पान्दोलुङमा पुगेपछि चराको बोली सुनेर नवनिर्मित मनुष्य (मेन्छाम याप्मि) बोल्छन् । मान्छेको उत्पत्तिसँग चरा र मालिङ्गोको खरानीको भूमिका देखिनुले यो ब्रह्माण्ड बन्नु र सञ्चालन हुनुमा मनुष्य, पशुपक्षी, बोटबिरुवाको उत्तिकै भूमिका रहेको छ भन्ने आदर्श/दर्शन भेटिन्छ ।

मुन्धुममा संकेत/अर्थ/प्रतीक (कुगुसिङ) भेटिन्छन् । प्रतीकको सामाजिक, सांस्कृतिक प्रक्रियासँग समुदायको घनिष्ठ सम्बन्ध रहन्छ। प्रतीकले व्यवहार, घटना, क्रियाकलाप, विचार, आदर्श, भाषाको अप्रत्यक्ष रूपमा प्रतिनिधित्व गर्छ ।

देवारी/साम्बाको खड्गो काट्ने (लाःहि नाम्हिः इःङमा), थानमा घुङरिङको चारकिल्ला गाडेर धागो टाँगेर काउलोको पात टाँसेर बनाइएको थान, जसले सिङ्गो ब्रह्माण्डको उपस्थिति र निरन्तरता देखाउँछ । मुन्धुममा लाहादङ्ना र सुहाम्फेबाको यौन क्रियाकलापमा इष्र्या/आँखीडाही (तिङदिङ नाहेन) भएपछि उनीहरूलाई अलग्याइन्छ र परिवारको उत्पत्ति हुन्छ ।

उवेला लिम्बू गाउँघरमा गाडिएका अग्ला/लाम्चा ढुंगाहरूलाई आजसम्म पनि श्रद्धा गरिन्छ। पवित्र ठानिन्छ। किन भने हिजोका पितृहरूले हाडनाता छुट्याएर, झै–झगडा मिलाएर, साँध–सिमाना मिलाएर साक्षी/बाचा स्वरुप त्यस्ता ढुंगाहरू (का?इलुङ/चुम्लुङ/इन्दोलुङ) गाडेका हुन् । मरेपछि चिहान माथि सुत्लुङ गाडेका हुन् । त्यस्ता ढुंगाहरूमा पितृको आत्मा बसेको हुन्छ भन्ने विश्वास हुन्छ। लिम्बू जातिको जन्मदेखि मृत्युपर्यन्त ज्ञान, विश्वास, नैतिकता, कानून, प्रथासँग जकडिएका संस्कार/संस्कृतिको ज्ञान मुन्धुमलाई आधार मानेर अध्ययन गरे मात्र थाहा पाउन सकिन्छ। वास्तवमा कुनै पनि रैथानेको मौजूदा भौतिकपनलाई सांस्कृतिक अर्थहरूसँग जोड्न सकिएमा मात्र त्यस जातिको मानवशास्त्रीय दृष्टिकोण बनाउन सकिन्छ।

तर आज लिम्बू जातिका यस्ता आस्था र विश्वाससँग जोडिएका पुरातत्व र शिल्पकला अतिक्रमणमा परेका छन् । मुन्धुमसँग जोडिएका ठाउँहरूमा जोसमनी पन्थी सत्यहाङमाहरूले झण्डा गाड्ने, मन्दिर बनाउने र फाल्गुनन्दका मूर्ति राख्ने अभियान नै शुरू गरेका छन् । केही महीना अघि मात्र लिम्बू जातिका पितृदेव तागेरानिङ्वाफु उत्पत्ति भएको भनिएको फक्ताङलुङ गाउँपालिकाको लेलेपको निङखुरी फुक्कुस्थित ओढारमा फाल्गुनन्दको मूर्ति राख्न खोज्दा स्थानीय लिम्बूहरूले असहमति जनाए । पितृहरूको शिर उठाउने ठाउँ मानिने फक्ताङलुङकै नाहाङमा यकमा पनि स्थानीय सरकार र प्रदेश सरकारले बजेट नै छुट्याएर फाल्गुनन्दको मूर्ति बनाइने भनिएको छ।

सरकारले विकासका नाममा भौतिक पूर्वाधारहरू निर्माण गर्दा थुप्रै यस्ता ठाउँ जोखिममा परेका छन्, जुन लिम्बू जातिका सांस्कृतिक धरोहर हुन् । लिम्बू जातिका ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरू विकासको नाममा विनाश गर्न नमिल्ने भन्दै २०७४ साल, कात्तिक ८ गते सर्वोच्चको परमादेश जारी पनि भएको छ। कानूनी उपचार खोज्ने ठाउँ पनि बनेको छ ।

आज त हाम्रै त्रिभुवन विश्वविद्यालयमा समेत मानवशास्त्र विभाग छ । तर, संसारभरबाट लिम्बू जाति बारे थुप्रै अनुसन्धानकर्ता आइरहे पनि स्वयं हामीले भने सम्बन्धित मुन्धुम स्थलहरूलाई संरक्षण गर्न सकिरहेका छैनौं । यस्ता स्थलहरूको ऐतिहासिक र पुरातात्विक महत्व बचाइराख्ने सघन बहस/पैरवी र सिकाइ हुन जरूरी छ ।

(लेखक माबुहाङ तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर हुन् ।)

प्रतिकृया दिनुहोस