दस्तावेज बुधबार, जेठ २१, २०७७

किन दुखिरहन्छ सुगौली सन्धि ? किन बल्झिरहन्छ कालापानी ?

हिमालखबर

किन दुखिरहन्छ सुगौली सन्धि ? किन बल्झिरहन्छ कालापानी ?
सन् १८१६ मा भएको सुगौली सन्धीको काल्पनिक स्केच । स्रोतः विकिपिडिया

इतिहास पर्गेल्दा देखिन्छ, तत्कालीन इष्ट इण्डिया कम्पनीसँग नेपाली शासकले थोरैमात्र सुझबुझ र रणनीतिक सम्बन्ध स्थापित गर्न सकेको भए आज नेपालीले कालापानीजस्तो बल्झिरहने घाउ बोकेर बाँच्नुपर्ने थिएन ।

राजकुमार दिक्पाल

एउटा स्वतन्त्र देश भएर पनि आकुल व्याकुल हुँदै नेपालले आफ्नो अस्तित्व कायम गर्नुपरेको छ । नाकाबन्दीको समयमा ‘हाम्रो देशले समुद्र छोएको भए यस्तो हालत व्यहोर्नु पर्ने थिएन’ भन्दै तड्पिन विवश थिए, नेपालीजन । कहिले मानेभञ्ज्याङ, सुस्ता र फालेलुङ दुख्छ। र, आज फेरि नेपाली छातीमा कालापानी बल्झन पुगेको छ ।

पृथ्वीनारायण शाहले आफ्नो अन्तिम समयमा नुवाकोट दरबारमा आफ्ना विश्वासिला भारदारहरुलाई जम्मा गरी ‘...यो राजे दुई ढुङ्गाको तरुल जस्तो रहेछ. चीन वादशाहसित ठूलो घाहा राष्नु. दषिनको समुन्द्रका बादशाहसित घाहा ता राषनु. तर त्यो महाचतुर छ. हिन्दुस्थाना दबाई राषेछ.’ भन्ने सन्देश छाडेको इतिहास शिरोमणि बाबुराम आचार्य र योगी नरहरिनाथले सम्पादन गरेको ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश’ (२०६१ः४५)मा पढ्न पाइन्छ । 

तर, उनको यो सन्देशको मर्मलाई उनका उत्तराधिकारी वा मुख्तियारहरुले नियतवश वा भूलवश ख्याल गर्न सकेनन् । यसैको परिणाम, आज छिमेकीले दिएका अनेकौं हण्डर सहेर नेपालीले बाँच्नुपरेको छ ।

त्यो सुगौली सन्धि
कुनै वेला नेपालको पूर्वमा टिस्टा नदीसम्म साँध लागेको थियो । पश्चिममा किल्ला काँगडालाई बडाकाजी अमरसिंह थापाको सैन्य नेतृत्वमा चार वर्षसम्म घेरा गरी राखियो । किल्लाभित्र थुनिएका राजा संसार चन्दको छलकपटलाई अमरसिंहले बुझ्न नसक्दा किल्ला काँगडा नेपालीको हातबाट फुत्कन पुग्यो ।

तर, त्यसपछि पनि नेपालको सिमाना पश्चिममा सतलज नदीपूर्व कायमै थियो । बडाकाजी अमरसिंह र चौतारिया बम शाहहरुले पश्चिमको मोर्चाबाट अनेकौं प्रयत्नबाट कुमाउ गढवालका भूभागहरु थामिरहेकै थिए । 

नेपाल र अङ्ग्रेजबीच सीमा विवाद हुँदा अङ्ग्रेजले बुटवल–स्युराज क्षेत्र नेपालले छाडिदिनुपर्ने प्रस्तावका साथ १३ चैत १८७१ मा खलितापत्र पठायो । यो क्षेत्र छाड्ने वा नछाड्ने विषयमा राजा गीर्वाणयुद्ध विक्रम शाहको रोहबरमा भीमसेन थापाले भारदारी सभा आयोजना गरे । त्यहाँ रङ्गनाथ पण्डित, दलभञ्जन पाँडे र रणध्वज थापाहरु युद्ध विरोधी देखिए । उनीहरुले अङ्ग्रेजलाई बुटवल–स्युराज छाडिदिए आफूहरुको कल्याण हुने राय राखे, तर भीमसेनले यो राय सुन्न चाहेनन् । 

उता भीमसेनका बुबा अमरसिंह थापा (साना) त्यसबेला पाल्पाका तैनाथवाला हाकिम थिए । त्यतिखेरसम्म अङ्ग्रेजले बुटवल र स्युराजमा आफ्नो ठाना राखिसकेको थिए । नेपाली सेना पहाडी क्षेत्रमै अडिइराखेको देखेर आफ्नो थोरै सेना ती ठाउँमा छाडेर अङ्ग्रेज सेना गोरखपुरतिर फर्केको थियो । 

त्यही मौकामा बुटवलका फौजदार मनिराजले १८ जेठमा आक्रमण गरी अङ्ग्रेज पक्षका १८ जना पुलिसलाई मारिदिएपछि नेपाल–अङ्ग्रेजबीच युद्ध अनिवार्य हुन पुगेको इतिहास शिरोमणि आचार्यले ‘पूर्णिमा’ को पूर्णाङ्क ८४ (२०५० वैशाखः१५–१६) मा उल्लेख गरेका छन् ।

यदि बुटवल–स्युराज छाड्ने वा नछाड्ने विषयको भारदारी सभामा बडाकाजी अमरसिंह तथा चौतारिया बम शाहजस्ता अनुभवी भारदार सहभागी हुन पाएका भए, उनीहरुले पक्कै सही सल्लाह दिने थिए होलान् । तर पनि भीमसेन कसैको कुरा सुन्ने खालका थिएनन् ।

कुनै पनि युद्धमोर्चामा नखटेका जनरल भीमसेन थापालाई अङ्ग्रेजको बढ्दो शक्तिका बारेमा कुनै ज्ञान थिएन ।

आचार्य (उहीः१८)का अनुसार उनीहरु अल्मोडा र आर्कीमा तैनाथ भएकोले काठमाडौंको भारदारीमा सहभागी हुन सकेनन् । उनीहरुको रायविनाको भारदारीपछि राजा गीर्वाणको नामबाट ‘युद्धका निम्ति तयार होओ’ भन्ने वडा पत्र जारी गरियो ।

युद्ध रोक्ने अमरसिंहको प्रयास
आफ्नो सम्पूर्ण जीवन युद्धमैदानमा बिताएका बडाकाजी अमरसिंहलाई अङ्ग्रेजको बढ्दो शक्ति र प्रभावबारे ज्ञान थियो । त्यसैले उनी सकेसम्म युद्ध टार्ने प्रयासमा थिए । 

आचार्य (उहीः१७–१८) अनुसार बुटवलको हत्याकाण्डपछि अमरसिंहले आफ्नो रोवलाई थामेर अङ्ग्रेजहरुको मर्यादा राखी जनरल अक्टरलोनी मार्फत युद्ध छेक्न अङ्ग्रेजलाई पत्र पठाएका पनि थिए । तर, युद्ध गर्ने निर्णयमा पुगिसकेका अङ्ग्रेजले उनको यो कुरा वास्ता गरेनन् ।

युद्धमा होमिनुपर्ने राजाको आज्ञापछि अमरसिंहले राजा गीर्वाणको हजुरमा पत्र लेख्दा पनि “...हजुरका हुकुमबमोजिम शत्रुसँग लडौंला । ईश्वरका अनुग्रहले र हजुरको प्रतापले जितौंला पनि तर यो समय युद्ध गर्नु अनुकूल थिएन । युद्ध गर्नुपर्छ भन्ने राय दिने जो हो, महलमा बढेको अनुभवविहीन मानिस हो” भन्दै अङ्ग्रेजसँग युद्ध गर्नु समय प्रतिकूल भएको धारणा व्यक्त गरेको देखिन्छ ।

युद्धमा होमिनुपर्ने राजाको आज्ञापछि अमरसिंहले राजा गीर्वाणको हजुरमा पत्र लेख्दा पनि “...हजुरका हुकुमबमोजिम शत्रुसँग लडौंला । ईश्वरका अनुग्रहले र हजुरको प्रतापले जितौंला पनि तर यो समय युद्ध गर्नु अनुकूल थिएन । युद्ध गर्नुपर्छ भन्ने राय दिने जो हो, महलमा बढेको अनुभवविहीन मानिस हो” भन्दै अङ्ग्रेजसँग युद्ध गर्नु समय प्रतिकूल भएको धारणा व्यक्त गरेको देखिन्छ ।

इतिहास शिरोमणि आचार्यका अनुसार, अमरसिंहले यस्तो अनुभवहीन मानिस भनेर भीमसेन थापालाई व्यङ्ग्य गरिएको पाद टिप्पणीमा उल्लेख गरेका छन् ।

बडाकाजी थापाले बरु बुटवल–स्युराज क्षेत्र अङ्ग्रेजलाई छाडिदिएकै भए उत्तम थियो भन्ने आशय पनि व्यक्त गरेका थिए । योगी नरहरिनाथले सम्पादन गरेको ‘इतिहास प्रकाशमा भाग १’ (२०२२ः६३५)मा यी बडाकाजीले राजा गीर्वाणलाई लेखेको पत्रमा ‘कमिस्नरले ठहराया बमोजिम बुटवल र सिवराजका तप्पाहरु अगि अमनको बेला छोडि दियाको भयो अवस्था पन्र्या थिएन’ भन्ने परेबाट पनि यो स्पष्ट हुन्छ ।

यसरी बुटवल–स्युराज जस्तो सानो क्षेत्र नेपालले छाडिदिएको भए नेपालले त्यतिखेर कायम राखेको पूर्व टिस्टादेखि पश्चिम सतलजसम्मको क्षेत्रमा नेपालको नक्शा कायम हुने थियो र अहिलेको यो कालापानी लगायतका विषयमा टाउको पनि दुखाइरहनुपर्ने थिएन ।

युद्ध टार्ने अमरसिंहको प्रयास विफल हुन पुग्यो । इस्ट इण्डिया कम्पनीको तर्फबाट १८ कात्तिक १८७१ मा लखनऊबाट गभर्नर जनरल लर्ड हेस्टिङ्सले नेपालसँग विधिवत युद्धको घोषणा गरिदिए । इतिहासकार महेशराज पन्तले ‘पूर्णिमा’को पूर्णाङ्क १ (२०२१ वैशाखः४८) मा उल्लेख गरेअनुसार युद्धको घोषणाको १२ दिनअगाडि देखि नै नेपालको पश्चिम भागमा अङ्ग्रेजहरु घुसिसकेका थिए । नेपालीको ठूलो चाड दशैंको मौका छोपी युद्धको घोषणा हुनु ८ दिनअगाडि नै उनीहरुले युद्ध खोलिसकेका थिए । पूर्व मोरङदेखि पश्चिम हण्डुरसम्मको पूर्ण नेपाल राज्य दख्खल गर्ने अभिप्रायः ले ३४ हजार अङ्ग्रेजी फौज ५ भागमा बाँडिई अघि बढेको थियो ।

युद्धमा भीमसेन थापाले नेपाली फौजमा पनि समान व्यवहार पनि गरेनन् । आधुनिक हतियार बनाउने कारखाना खोल्ने, सैनिकहरुलाई कवायद खेलाउने जस्ता कामको शुरुआत गरेका भीमसेनले नवगठित कम्पु पल्टनहरुको जनरल आफैलाई घोषित गरेका थिए । आफ्ना बुबा काजी अमरसिंह थापा (साना)लाई जनरल, कान्छा भाइ रणवीरसिंह थापालाई कर्णेल पद दिए । यिनको नातेदार बाहेकका अन्य व्यक्तिहरुले भने सैनिक सेवामा अफिसर पाउने सौभाग्य पनि प्राप्त गर्न नसकेको इतिहास शिरोमणि आचार्यको ‘जनरल भीमसेन थापाः यिनलाई मैले जस्तो देखें’ (२०६५ः३३) पढ्दा थाहा पाउन सकिन्छ ।

तर, टिस्टादेखि काँगडासम्मको युद्ध लड्ने बडाकाजी अमरसिंह जस्ता योद्धाहरुलाई जनरल, कर्णेल आदि पद दिइएन । अनुभवी राजखलकका सदस्य बम शाहले पनि चौतारा पदमै चित्त बुझाइरहनु परेको थियो ।

तत्कालीन प्रधानमन्त्री भीमसेन मनमौजी अधिनायक थिए । आफूभन्दा पाका र पुराना भारदारहरुले आफ्नो काममा हस्तक्षेप गर्लान् भन्ठानेर राजधानीबाहिर दुर्गम ठाउँका जिम्मेवारी तोकिदिएका थिए । यस क्रममा बडाकाजी अमरसिंहलाई बाह्रठकुराईमा, चौतारा बम शाहलाई कुमाउमा र बख्तावरसिंह बस्न्यातलाई जुम्लामा हाकिम गराएर राखेको इतिहास शिरोमणि आचार्यले ‘पूर्णिमा’ पूर्णाङ्क ७९ (२०४७ फागुनः३०)मा उल्लेख गरेका छन् ।

तस्वीर स्रोत: इतिहास प्रकाशमा भाग १ (२०२२)

अङ्ग्रेजी शक्तिको तुलनामा धन, जन, शक्ति र बन्दोबस्तीका अनेकौं पक्षका अभावका बाबजुद नेपाली वीरहरुले युद्धमा आफ्नो बुताले भ्याएसम्म सक्दो प्रयत्न गरे । तर, आधुनिक अस्त्रशस्त्रले सुसज्जित अङ्ग्रेज फौजसँगको युद्ध नेपालले थेग्न सक्ने अवस्था थिएन । त्यसैले नेपाल अङ्ग्रेजसँग आफ्नो एक तिहाइ भूभाग गुमाएर सन्धि गर्न बाध्य हुनुपर्‍यो । अन्ततः २४ फागुन १८७२ मा नेपालले सुगौली सन्धिको शर्त स्वीकार गर्‍यो । ‘पूर्णिमा’ पूर्णाङ्क ८४ (२०५० वैशाखः४१) मा उल्लेख भएअनुसार सुगौली सन्धिको सार यस्तो छः
• कम्पनी सरकार र नेपाल सरकारले आफ्ना आफ्ना राजधानीमा परस्पर एक–एक राजदूत राख्ने ।
• नेपाल सरकारले कुनै यूरोप र अमेरिकाका गोरा बासिन्दालाई नोकरीमा लिनु पर्‍यो भने अङ्ग्रेज राजदूतको मञ्जुरी चाहिने ।
• महाकाली पश्चिमका कुमाउ आदि पहाडी प्रदेशको दाबा नेपाल सरकारले छाडिदिने । सुखिमको आधिपत्य छाडेर सिंगलिला र मेची नदीदेखि पूर्वपट्टिको पहाडी र तराईबाट समेत गोरखाली सेना उठाइदिने र कम्पनी सरकारका सैनिकले दख्खल गरिलिएको (खास बुटवल) बाहेक सारा बाहिरी तराई नेपाल सरकारले कम्पनी सरकारलाई सुम्पिदिने ।

जङ्गबहादुरले फर्काएको ‘नयाँ मुलुक’
जङ्गबहादुर राणाले इस्ट इण्डिया कम्पनीसँग विशेष मित्रता कायम गरेका थिए । राणा शासन लामो समय टिकाउ हुनुमा उनीहरुप्रति अङ्ग्रेजको विशेष निगाहले पनि काम गरेको थियो । 

जङ्गबहादुरले अङ्ग्रेजलाई रिझाउन कतिसम्म गरे भने भारतमा फैलिएको सैनिक विद्रोह दबाउन आफू मातहतका सैन्य अफिसरको नेतृत्वमा नेपाली सैनिक पठाएर मात्रै उनलाई चित्त बुझेन, उनी स्वयं आफ्ना विश्वासिला भाइहरुसहित अङ्ग्रेजको सेवा गर्न भारत पुगे । देशको एउटा शक्तिशाली प्रधानमन्त्री अर्काे देशको आन्तरिक विद्रोह दबाउन सैन्य नेतृत्व गर्न पुगेको संसारकै लागि दुर्लभ घटना हुनुपर्छ । 

पुरुषोत्तमशमशेर राणाको ‘श्री ३ हरुको तथ्यवृत्तान्त’ (२०६५:११२–११८)अनुसार १९१४ साल असारमा कर्णेल पहलमानसिंह बस्नेतको नेतृत्वमा ६ हजार सैनिक भारत पठाइएको थियो । त्यसपछि जङ्गबहादुर १४ हजार सेनासहित आफ्ना भाइहरुसमेत लिएर माघको अन्तिम साता भारत प्रस्थान गरेका थिए । र, सैनिक विद्रोह शान्त पारेर १३ वैशाख १९१५ मा स्वदेश फर्केका थिए ।

जंगबहादुरले सैनिक विद्रोह दबाएर अङ्ग्रेजलाई लगाएको गुनवापत सुगौली सन्धिबाट गुमेका केही भूभाग फिर्ता गर्न सफल भए । ‘नयाँ मुलुक’ भनी चिनिएका ती भूभाग हुन्, अहिलेका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला ।

जंगबहादुरले सैनिक विद्रोह दबाएर अङ्ग्रेजलाई लगाएको गुनवापत सुगौली सन्धिबाट गुमेका केही भूभाग फिर्ता गर्न सफल भए । ‘नयाँ मुलुक’ भनी चिनिएका ती भूभाग हुन्, अहिलेका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला ।

माटोभन्दा तक्मा ठूलो !
सत्ता टिकाउने अभिप्रायले पनि जङ्गबहादुरले शुरु गरेको अङ्ग्रेज रिझाउने मेलो अरु राणा प्रधानमन्त्रीहरुले पनि जारी राखे । वीरशमशेर र चन्द्रशमशेरले अङ्ग्रेज सैन्य सेवामा भर्नाका लागि नेपाली नौजवानलाई रिक्रुट पठाउन डिपो खोल्न ठूलो सहयोग गरे । पहिलो विश्वयुद्धमा चन्द्रशमशेरले विभिन्न मौजाका तालुकदारहरुको नाममा पत्र पठाएर नेपाली नौजवानलाई रिक्रुट पठाउन बाध्यकारी सनद नै जारी गरे ।

जुद्धशमशेरको समयमा दोस्रो विश्वयुद्ध भयो । अङ्ग्रेजका लागि खोजी खोजी नेपाली नौजवानलाई रिक्रुट पठाउने परम्परा नै थियो, जो अहिलेसम्म कायमै छ । (अघिल्लो लिंक राख्ने)

जुद्धशमशेरले दोस्रो विश्वयुद्धको समय अङ्ग्रेजलाई सघाउन कालीबहादुर, महेन्द्र दल र शेर पल्टन मार्फत ८ हजार नेपाली सेना आसाम तथा बर्माको रणभूमिमा लड्न पठाएको प्रमोदशमशेर राणाको पुस्तक ‘राणाशासनको वृत्तान्त’ (२०६५:२६२–२६३)मा पढ्न पाइन्छ । यसरी नेपाली सेनालाई त्यसतर्फ खटाइए वापत् अङ्ग्रेज सरकारले नेपाललाई वार्षिक २० लाख रुपैयाँ दिन शुरु गरेको राणाले उल्लेख गरेका छन् ।

जुद्धशमशेरलाई २२ वैशाख १९९० मा इटाली सरकारले ‘मारिसियन अर्डर अफ् दी नाइट हुड’ र भदौमा ब्रिटिश—भारत सरकारले ‘अनररी नाइट ग्राण्ड कमाण्डर मोस्ट एमिनेन्ट अर्डर अफ् दी इन्डियन इम्पायर’ उपाधि र सम्मान गर्‍यो । तक्मा पाएको खुशियालीमा जुद्धशमशेरले त्यो वर्षको तिहारपछि पनि दुई दिन बाहिर र पाँच दिन सिंहदरबारभित्र जुवा फुकाएका बालकृष्ण समले ‘मेरो कविताको आराधना’ (२०५४ः२५४)कृतिमा मा उल्लेख गरेका छन् ।

पहिलो विश्वयुद्धमै नेपालीहरुले बहादुरी देखाएको प्रति अङ्ग्रेजलगायत यूरोपियन देशहरु परिचित थिए । दोस्रो विश्वयुद्ध आउन लागेको बेला जुद्धले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरेका थिए । राणा (उहीः२५६) अनुसार जुद्धलाई इटाली, फ्रान्स, बेल्जियम, हल्याण्ड, जर्मनी, चीन आदिबाट नेपाल आएका दूतमण्डलले उच्चस्तरीय मानपदवी र विभूषण समेत प्रदान गरेका थिए ।

जुद्धशमशेरलाई २२ वैशाख १९९० मा इटाली सरकारले ‘मारिसियन अर्डर अफ् दी नाइट हुड’ र भदौमा ब्रिटिश—भारत सरकारले ‘अनररी नाइट ग्राण्ड कमाण्डर मोस्ट एमिनेन्ट अर्डर अफ् दी इन्डियन इम्पायर’ उपाधि र सम्मान गर्‍यो । तक्मा पाएको खुशियालीमा जुद्धशमशेरले त्यो वर्षको तिहारपछि पनि दुई दिन बाहिर र पाँच दिन सिंहदरबारभित्र जुवा फुकाएका बालकृष्ण समले ‘मेरो कविताको आराधना’ (२०५४ः२५४)कृतिमा मा उल्लेख गरेका छन् ।

जुद्धशमशेरको छाती अङ्ग्रेज लगायत विभिन्न देशहरुले प्रदान गरेको तक्मा र विभूषणहरुले भरियो। तर, यदि उनले चाहेको वा मागेको भए अङ्ग्रेजले भारत छाड्ने बेला सुगौली सन्धिमा नेपालले गुमाएको भूभाग नेपाललाई नै फिर्ता दिन सक्ने सम्भावना पनि थियो भन्ने तर्क पनि गरिन्छ, जसरी जङ्गबहादुरले नयाँ मुलुक फिर्ता ल्याउन सफल भएका थिए ।
 
तर, जंगबहादुरका उत्तराधिकारीमा यो आँट गर्न सकेनन् र आफ्नो छातीमा टाँस्न पाएको विभूषण र तक्मामै उनीहरुले चित्त बुझाए । 
परिणामस्वरुप नेपाली छातीमा सुगौली सन्धिको घाउ बेलाबेलामा दुखिरहन्छ, बल्झिरहन्छ ।

प्रतिकृया दिनुहोस