ब्लग बुधबार, मंसिर ११, २०७६

सिंहदरबारका दुई चन्द्रबहादुर

भैरव रिसाल

२००७ सालको आन्दोलनमा दमन गर्ने प्रहरीका चन्द्रबहादुर थापालाई परिवर्तन लगत्तै बनेको सरकारले पदोन्नति गर्‍यो। गृहमन्त्री बीपी कोइरालाले भनेछन्, “हिजो राणाहरूको नूनको सोझो गर्थ्याे, अब हाम्रो नूनको सोझो गर्छ।”

श्री ३ चन्द्रशमशेरको पालामा १९६० सालमा निर्मित सिंहदरबार २००७ सालपछिको केही समय दुई चन्द्रबहादुरको सुरक्षा प्रबन्धमा रह्यो । एक थिए, नेपाल सरकारका मुख्य सेक्रेटरी चन्द्रबहादुर थापा । अर्का, हेड पियन चन्द्रबहादुर । उनको थर थाहा भएन ।

उतिवेला सिंहदरबारमा सबै मन्त्रालय एउटै भवनमा अटाउँथे । मन्त्रालयको संख्या पनि अहिले जति थिएन । अझ लोकसेवा आयोग, महालेखा परीक्षकको कार्यालय, प्रहरी प्रधान कार्यालय, भ्रष्टाचार निवारण कार्यालय, गुप्तचर जस्ता कार्यालयहरू पनि सिंहदरबारमै अटाएका थिए । दिउँसो तीन बजेपछि सर्वसाधारण पनि सिंहदरबारभित्र निर्वाध रूपमा पस्न पाउँथे ।

सिंहदरबारभित्र पस्ने मूल ढोका पश्चिमतिर थियो । जहाँ हेड पियन चन्द्रबहादुर एउटा छडी लिएर बस्थे । सेतो कमिज–सुरुवाल, कालो भादगाउँले टोपी र प्रायः वेष्टकोट लगाउने उनी जाडोमा भने कोट पनि लगाउँथे । गोटीवाला जुत्ता लगाउने उनी निकै फूर्तिला थिए ।

मुख्य सचिव चन्द्रबहादुर थापा भने सधैं दौरा–सुरुवाल, वेष्टकोट–कोट लगाउने, टोपी फेरी–फेरी लगाउने अग्ला कदका थिए । मुख्य सचिव हुँदा सिंहदरबारको दक्षिण ढोका माथिका तीन वटा कोठा उनको कार्यालय थियो ।

स्केच: भानु भट्टराई

नूनको सोझाे

काठमाडौंको गोकर्णेश्वर आसपास काँठ क्षेत्रका चन्द्रबहादुर थापाले राणा शासनमा प्रहरीको सानो दर्जाबाट नोकरी शुरू गरेका थिए । राणा शासनको अन्त्यतिर उनलाई कर्णेल दर्जा दिइएछ । त्यसवेला निजामती भन्दा सेनाका पद आकर्षक हुने भएकाले उनलाई त्यस्तो दर्जाले सम्मान दिइएको होला ।

राणाशासन विरुद्ध उठेको २००७ सालको आन्दोलन दबाउन यी थापाजी निर्मम ढङ्गमा उत्रिएछन् । क्रान्ति सफल भएपछि बनेको राणा–कांग्रेसको संयुक्त सरकारले उनै चन्द्रबहादुरलाई जर्नेल दर्जामा पदोन्नति गरेछ । क्रान्तिमा दमन गर्नेलाई नै सम्मान गरिएपछि कांग्रेसका नेता–कार्यकर्ताले गृहमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई भेटेर असन्तुष्टि प्रकट गरेछन् ।

जवाफमा विश्वेश्वरले भने रे, “प्रहरीको माथिल्लो तहमा त्यति योग्य अर्को मान्छे नै पाइएन । चन्द्रबहादुर थापा नूनको सोझाे गर्ने मान्छे हो । हिजो राणाशासनको नून खाएको थियो, उनीहरूकै सोझाे गर्थ्याे । आज हाम्रो सरकारको नून खाएपछि हाम्रै अनुकूल गर्छ ।”

यस्तो व्यक्तित्व भएका चन्द्रबहादुर पछि मुख्य सचिव पनि भए । २०१८ सालताका उनलाई महालेखा परीक्षक बनाइयो । सरकारी खर्च जथाभावी गर्ने र राष्ट्रिय सम्पत्तिको दुरुपयोग गरेको पाइएमा बेरुजु साबित गर्ने दायित्व समेत हुन्थ्यो महालेखा परीक्षकको । उनको कडा मिजास भएकाले अख्तियार दुरुपयोग गर्नेहरू थर्थर काँप्थे रे !

जिरेखुर्सानी जस्तै

सिंहदरबारका हेड पियन चन्द्रबहादुरको जिम्मा मूल भवनभित्र अवाञ्छित तत्व प्रवेश नगरोस् भन्ने मात्र थियो । काम सीमित भए पनि आफ्नो जिम्मेवारीमा उनी कडा थिए, जिरेखुर्सानी झैं तिक्खर !

भेषबहादुर थापा अमेरिकाको क्यालिफोर्नियाको एउटा विश्वविद्यालयमा पढिरहेका थिए । त्यसै ताका सन् १९५९ मा राजा महेन्द्र अमेरिका भ्रमणमा जाँदा त्यो विश्वविद्यालयमा राजाको सम्मानमा दिवाभोज राखिएछ । त्यहाँ भेषबहादुर थापासहित तीन नेपाली विद्यार्थी अध्ययनरत थिए ।

भेषबहादुरका प्रोफेसरले राजासँगको कुराकानीमा नेपाली विद्यार्थीले अमेरिकी विद्यार्थीहरूलाई समेत उछिनेको सुनाएछन् । त्यसपछि राजाले भेषबहादुरलाई भेटेर अध्ययन सकिनासाथ नेपाल फर्कनु भनेछन् । फर्कनु अगावै उनलाई राष्ट्रिय योजना आयोगको सचिव बनाइएछ ।

२०१८ सालमा भेषबहादुर नेपाल फर्किए । विमानस्थलबाट सोझै सिंहदरबार पुगेछन् । टाई–सुट लगाए पनि टोपी नलगाएका उनलाई सिंहदरबारको मुख्य गेटमा रहेका चन्द्रबहादुरले पस्नै दिएनछन् । भेषबहादुरले म सचिव भनेपछि चन्द्रबहादुरले उल्टै सातो लिएछन्, “म सबै सचिवलाई चिन्छु, के फाल्तु कुरा गरेको ! टोपी नलगाएको मान्छे पनि सचिव हुन्छ कहीं !”

भेषबहादुरले वरिष्ठ सचिव प्रेमनरसिंह प्रधानलाई फोन गर्न लगाएछन् । प्रेमनरसिंहले उपसचिव भरतबहादुर प्रधानलाई लिन पठाएपछि मात्र चन्द्रबहादुरले भेषबहादुरलाई सलाम गरेर भित्र पठाए रे ! यी चन्द्रबहादुरले भने सुवेदार भएपछि अवकाश पाएका थिए ।

 

प्रतिकृया दिनुहोस