विमानस्थलका कर्मचारीले जब पासपोर्ट फ्याँकिदिए…
नेपालको विमानस्थलबाट अवहेलना सहँदै बाहिरिएकी म बेल्जियममा भने ससम्मान भित्रिएँ।
यूरोपियन युनियनले आफ्नो ७५औं वार्षिकोत्सवको अवसरमा नेपालबाट तीन जना पत्रकारलाई ‘मानव अधिकार पत्रकारिता पुरस्कार’ प्रदान गर्दै एक साताका लागि बेल्जियमको राजधानी ब्रसेल्स भ्रमणमा लगेको थियो।
गोरखापत्रबाट चाँदनी हमाल र आशिष मिश्र सहित म उक्त पुरस्कारका लागि छनोट भएका थियौं। हमाल र मिश्र दुवैको कार्यक्षेत्र काठमाडौं हो। मैले सुदूरपश्चिम प्रदेशबाट पत्रकारिता गर्दै आएकी छु। हामी तीनै जना आफूले लेखेका समाचार सामग्रीका आधारमा छनोट भएका थियौं।
पुरस्कार पाउँदा एकछिनका लागि त मैले पत्रकारिता पेशामा १७ वर्ष बिताउँदा गरेको संघर्ष पनि बिर्सें। आफ्नो कर्मप्रति पनि गर्व महसूस गरें। खुशीले शरीर फूल जस्तै हलुका भएको थियो।
अन्तर्राष्ट्रिय विमानस्थलको तीतो अनुभव
२०८० असोज १९ गते। पहिलो पटक म अन्तर्राष्ट्रिय विमानस्थलमा उभिएकी थिएँ।
सात वर्षअघि नै पासपोर्ट बनाएको भए पनि यसबीच विदेश जाने अवसर जुरेको थिएन। यसपालि भिसा लागेको थियो। आफ्नै भूमिमा भएकाले कागजात हेरेर सहज तरीकाले भित्र छिर्न दिन्छन् भन्नेमा म ढुक्क थिएँ।
तर विमानस्थलमा मैले सोचेभन्दा विपरीत र तीतो अनुभव भोग्नुपर्यो। बोर्डिङपासका लागि जब मैले पासपोर्ट देखाएँ, टिकट काउन्टरका कर्मचारीले मेरो पासपोर्ट फ्याँकिदिए। “यस्तो पनि पासपोर्ट हुन्छ? सबै खाली छ, यो हुँदैन,” उनले मलाई ठूलो स्वर गर्दै भने।
बेल्जियममा सबैले एकअर्कालाई सम्मान गरेको देखें। संसद् बैठकमा पनि को नेता कुन तहको भन्ने विभेद नै थिएन। सबैको बस्ने कुर्सी समान थियो। नेपाल र बेल्जियमबीचको खास अन्तर मैले त्यहाँ महसूस गरें।
यस वेला मलाई निकै हीनताबोध भयो। नेपालमा त संवेदनशीलता भन्ने कुरै छैन जस्तो आभास भयो। सात सात वर्षसम्म पनि भिसा लगाउन नसकेको देखेर होला ती कर्मचारीले मलाई विदेश भ्रमणमा जानलायकै देखेनन्।
मेरो आत्मसम्मानमा चोट पुग्यो। तर पनि आफूलाई संयमित पार्दै यूरोपियन युनियनले पठाएको टिकटको प्रति देखाएँ। “म एक हप्ताका लागि बेल्जियम जाँदै छु। म पत्रकार हुँ (प्रेस कार्ड देखाउँदै)। मलाई ईयूले नै पठाएको हो,” यति भनेपछि ती कर्मचारी मत्थर भए र मलाई बोर्डिङपास दिए।
ब्रसेल्स पुगेपछि
असोज २० गते बिहान हामी ब्रसेल्सको विमानस्थलमा अवतरण भयौं। त्यो सफा र फराकिलो विमानस्थलमा हजारौं मानिसको भीड थियो। तर रोचक त के भने त्यस्तो भीडमा पनि वातावरण शान्त थियो।
हामी आगमन कक्षतिर अघि बढ्यौं। चेकिङको लाइन एकदमै लामो थियो। तर सबै अनुशासित भई उभिएका थिए। एक-डेढ घण्टापछि हाम्रो पालो आयो। हामीले पत्रकार हौं भन्नासाथ जाँचमा खटिएका कर्मचारीले ‘वाउ, नाइस’ भन्दै पासपोर्ट हेरेर पठाए। यो वेला मैले आफ्नै देशमा भोगेको व्यवहार सम्झिएँ। नेपालको विमानस्थलबाट अवहेलना सहँदै बाहिरिएकी म बेल्जियममा भने ससम्मान भित्रिएँ।
ब्रसेल्स निकै सुन्दर शहर रहेछ। हावापानी र मौसम पनि निकै मन पर्यो। ईयूको कार्यतालिका अनुसार हामी त्यहाँका विशिष्ट व्यक्तिहरूसँग भेट्यौं। त्यहाँ पत्रकार सम्मेलन हुने स्थान, संसद् बैठक लगायत अवलोकन गर्यौं। हरेक कुरा व्यवस्थित थियो त्यहाँ।
बेल्जियममा सबैले एकअर्कालाई सम्मान गरेको देखें। संसद् बैठकमा पनि को नेता कुन तहको भन्ने विभेद नै थिएन। सबैको बस्ने कुर्सी समान थियो। नेपाल र बेल्जियमबीचको खास अन्तर मैले त्यहाँ महसूस गरें।
साताव्यापी यूरोप भ्रमणले धेरै कुरा सिकायो। सबैभन्दा धेरै आफ्नो पहिचान र अस्तित्वको महत्त्व कति रहेछ भन्ने महसूस भयो।
यूरोपमा कसैसँग पनि हाम्रो चिनजान थिएन। त्यहीं पुगेपछि एक जना नेपाली सोम थारूसँग भेट भयो। उनले हामीलाई ओस्टेन्डो घुमाए। ब्रसेल्सबाट ओस्टेन्डो पुग्न तीन घन्टा मेट्रोमा यात्रा गर्नुपर्यो। यात्रा अवधिमा सोमले यूरोपको इतिहासबारे पनि जानकारी दिए।
यूरोपको इतिहासबारे थप कौतूहल जागेर हामी संग्रहालय छिर्यौं। त्यहाँ पुगेर हेरेपछि लाग्यो, हाम्रो देशका इतिहासलाई यसैगरी संरक्षण र दस्तावेजीकरण गर्न सकेको भए कस्तो हुँदो हो!
नेपाली खानाको तलतल
यूरोप पुगेको पाँचौं दिन हामी नेपाली दूतावास पुग्यौं। त्यहाँ राजदूत दिलेन्द्रराज भण्डारीसँग भेट भयो। दूतावासको भित्ता नेपाली हस्तकलाले भरिएका थिए, नेपालकै झल्को दिने खाले।
राजदूत भण्डारीले कफीको प्रस्ताव गरे। तर मलाई नेपालकै स्वाद सम्झाउने चिया खान मन लागेको थियो। मैले मुख खोलिहालें- ‘नेपाली स्वाद मिसिएको चिया खाऔं है सर’।
नेपाली खाना नखाएको पनि पाँच दिन भइसकेको थियो। चियागफमै उनले ‘नेपाली खाना पनि खाऔं न’ भन्दै नेपाली रेस्टुराँबाट खाना मगाए। त्यस दिन थपीथपी नेपाली खाना खायौं। साँच्चै भन्नुपर्दा मलाई विदेशी खानाले त्यति आकर्षितै गरेन।
बेल्जियम ३० हजार ६८९ वर्ग किलोमिटरको सानो देश हो। तर त्यहाँ १० हजार नेपाली रहेछन्। राजदूत भण्डारीका अनुसार बेल्जियममा प्रायः नेपालीले रेस्टुराँ व्यवसाय गरेका छन्। धेरैको राम्रो भएको छ। कोही कोही समस्या लिएर दूतावास पुग्छन्। “यहाँ बस्ने नेपालीहरू प्रायः रमाएर नै बसेका छन्,” राजदूत भण्डारीले सुनाए।
सातौं दिन हामी फ्रान्सको पेरिस गयौं। त्यस वेला एक जना साथीसँग भिडिओ कलमा कुरा भयो मेरो। उनीसँग मैले थारू भाषामा संवाद गरें। त्यति वेला मलाई आफ्नो भाषा निकै प्यारो लाग्यो। वरिपरि सबै विदेशी थिए, छेउमा उभिएर मातृभाषामा संवाद गर्न पाउँदा पेरिस यात्रामा सुनमा सुगन्ध थपियो।
साताव्यापी यूरोप भ्रमणले धेरै कुरा सिकायो। सबैभन्दा धेरै आफ्नो पहिचान र अस्तित्वको महत्त्व कति रहेछ भन्ने महसूस भयो।