कला/साहित्य शनिबार, कात्तिक ३०, २०७६

मिस वर्ल्डका लागि ‘मिस नेपाल’ अनुष्काको नेपाल चिनाउने भिडियो

हिमालखबर

अनुष्का श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०१९’ डिसेम्बर १४ मा लन्डनमा आयाेजना हुने मिस वर्ल्ड प्रतियाेगितामा भाग लिनका लागि बुधबार जाने तयारीमा छिन् । मिस वर्ल्डमा प्रस्तुत हुने उनको परिचयात्मक भिडियो सार्वजनिक भएको छ।

मिस नेपाल वर्ल्डको परिचयात्मक भिडियोमा नेपालका हिमाल, पहाड र तराईका सुन्दर दृश्यहरु समेटिएको देख्न सकिन्छ । अष्ट्रेलियामा समेत खिचिएको यो भिडियोमा श्रेष्ठले आफ्नो कथा मार्फत नेपाल बाहिर बसेका नेपालीलाई पनि अपनत्व हुने किसिमले बनाएको दाबी गर्छिन् ।

श्रेष्ठ भन्छिन्, ‘यो भिडियोमा देशका हरेक क्षेत्रलाई त समेटिएकाे छ नै, साथै मेरो आफ्नै कथा मार्फत देश बाहिर बस्दाको अनुभव पनि साटेकी छु, जसलाई नेपाल बाहिरका नेपालीले रिलेट गर्न सक्नुहुन्छ ।’

भिडियो अनुष्काको युट्युब च्यानलबाट सार्वजनिक भएको दुई दिनमा साढे ६ लाख भन्दा बढीले हेरिसकेका छन् । नेपाल पर्यटन बोर्डको सहयोग र दर्शन पोख्रेलको निर्देशनमा विकास पाण्डे, दर्शन पोख्रेल र आदित्यजंग राणाले छाया‌ंकन गरेका छन् ।

मिस वर्ल्डमा हुने १५ वटा विधामा तयारी गरिरहेकी श्रेष्ठले ट्यालेन्ट राउन्डमा गीत गाउने छिन् । उनले यसपटक टप २० मा आफूलाई पार्न मंगोलिया र मेक्सिकोका प्रतियोगीभन्दा बढी भोट ल्याउनुपर्ने हुन्छ । यसका लागि उनले भोटको पनि अपिल गरेकी छिन् ।

उनलाई भोट गर्नका लागि मोबाइल एप मोबस्टारमा गएर उनको पोष्टलाई लाइक गर्नुपर्ने छ । भोटको अपिल गर्दै अनुष्काले भनिन्, ‘मलाई बढी भन्दा बढी भोट दिएर नेपाललाई चिनाउने अवसर दिनुहोला ।’

प्रतिकृया दिनुहोस