प्रथम श्रेणी क्रिकेटमा सन्दीप लामिछानेको शानदार डेब्यू, अन्यको निराशाजनक (भिडियो सहित)
प्रथम श्रेणीको क्रिकेटमा नेपालले पहिलो हार बेहोरेको छ । राष्ट्रिय टीमका नौ खेलाडीको डेब्यू रहेको तीन दिवसीय क्रिकेटमा नेपाल मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँग २०८ रनले पराजित भएको छ ।
कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिं ऐरी सहित नौ खेलाडीको डेब्यू रहेको खेलमा नेपालका ब्याटिङ लाइन चल्न सकेनन् । मल्ल, ऐरी, विनोद भण्डारी, आरिफ शेख लगायतको डेब्यू निराशाजनक रह्यो ।
छोटो फर्म्याटको अन्तर्राष्ट्रिय फ्रेञ्चाइजीका अनिवार्य सदस्य बनिसकेका सन्दीप लामिछानेको डेब्यू भने शानदार रह्यो । लेग स्पिनर सन्दीपले अलराउण्डर प्रदर्शन देखाए ।
प्रतियोगितामा सन्दीपले चार विकेट लिए भने ६४ रन जोडे । पहिलो दिन एमसीसीले ३६४ रन बनाउदा सन्दीपले तीन विकेट लिएका थिए । जवाफी ब्याटिङमा नेपालका लागि मल्ल, ऐरी, राजु रिजाल, शरष भेषावाकर लगायतले निराशाजनक प्रदर्शन गरे ।
फटाफट विकेट गुमिरहेका बेला बिनोद भण्डारीले ३६ रन बनाएका थिए । तर, दशैं नम्बरमा आएका सन्दीपले एकपछि अर्को बाउण्ड्री गरे । उनले चार छक्का र दुई चौकाको मद्दतमा २१ बलबाटै ३९ रन जोड्दै बिस्फोटक ब्याटिङ गरे । तर, ललितनारायण राजवंशी एलबीडब्लु भए पछि सन्दीप नटआउट पेभेलियन फर्किदा नेपालको १५३ रन मात्रै बन्यो ।
दोस्रो इनिङमा एमसीसीले १८१ रन जोड्न सन्दीपले एक विकेट लिए । सन्दीपले यो इनिङको ब्याटिङमा फेरि अघिल्लो दिनकै झल्को दिए । उनले २५ रन जोडे । तर, दोस्रो इनिङमा समेत १८४ रनमै नेपाल अलआउट भए पछि एमसीसी विजयी भयो ।
यसअघि तीन दिवसीय खेलिसकेका शरद भेषवाकरले प्रदर्शन समेत राम्रो नहुँदा अनुभवी अलराउण्डर सोमपाल कामीले भने अर्धसतक सहित नेपालका लागि उच्च स्कोर जोडे । तीन विकेट लिएका सोमपालले ७५ रन जोडेका थिए । राष्ट्रिय टीममा सोमपाल र शरद मात्रै तीन दिवसीय खेलिसकेका खेलाडी थिए ।
एमसीसी विरुद्धकै खेलबाट कप्तानी भूमिकामा आएका मल्लका लागि भने डेब्यू खेल सन्तोषजनक रहेन । पहिलो इनिङमा खाता खोल्न नसकेका कप्तान मल्लले दोस्रो इनिङमा ६ रन मात्रै जोडे । डेब्यू खेलका क्रममा उपकप्तान ऐरीले दुई इनिङमा जम्मा एक रन जोडे ।
अर्का अलराउण्डर करण केसीले रन नजोडे पनि ६ विकेट लिए । उनले पहिलो र दोस्रो इनिङमा समान तीन/तीन विकेट लिएका थिए । नेपाल भ्रमणमा रहेको एमसीसी सँगको हार नेपालका लागि प्रथम श्रेणीको पहिलो हार समेत बन्यो ।
नेपालले पछिल्लोपटक आइसीसी इन्टरकन्टिनेन्टल कप २००५ मा युएईविरुद्ध घरेलु मैदानमा तीन दिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपाल १७२ रनले विजयी भएको थियो ।
त्यसअघि सोही प्रतियोगिता अन्तर्गत किर्तिपुरमै भएको हङकङसँगको खेल भने बराबरीमा सकिएको थियो ।
त्यसअघि आइसीसी इन्टरकन्टिनेन्टल कप २००४ अन्तर्गत पनि नेपालले दुई खेल खेलेको थियो । ती मध्ये सारजाहमा भएको युएईविरुद्धको खेल बराबरीमा सकिएको थियो । किर्तिपुरमा भएको मलेसियाविरुद्धको खेलमा भने नेपाल ९ विकेटले विजयी भएको थियो ।
याे पनि