पहिलो श्रेणीको क्रिकेटको पहिलो सेसनः नाराबाजी गर्नेदेखि नेपाल नै नचिन्ने दर्शक
नेपालले १४ वर्षपछि फस्ट क्लास क्रिकेट खेलिरहँदा किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा रमाइला दृश्य देखिए । बिहान साढे ८ बजेपछि मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) का खेलाडी फिल्डिङको अभ्यास गर्न ड्रेसिङ रुमबाट मैदान आए । त्यति नै वेला नेपाली खेलाडी भने गोलो घेरा बनाएर शारीरिक अभ्यास गर्न थाले ।
टस हुँदा पाँच सात जना दर्शक मात्र खेल हेर्न पुगेका थिए । ती दर्शक विनोद भण्डारी, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लको नाम लिएर कराइरहेका थिए । विनोद वेला वेला दर्शकतिर फर्किएर हात उठाउँथे ।
खेल सुरु हुँदा दर्शक आउने क्रम बढेको थियो । पहिलो तीन ओभर मेडन भएपछि भर्खर आइपुगेका एक दर्शकले भने, “यस्तै खेल्यो भने नेपालले टेस्ट राष्ट्रलाई पनि जित्छ ।” अर्का दर्शले थपे, “हाम्रा खेलाडीले मौका नपाएर मात्र हो ।”
यही बीचमा सन्दीप लामिछाने फाइन लेग बाउन्ड्रीमा फिल्डिङका लागि आए । उनलाई दर्शकले ‘करोड’ भन्दै जिस्काएका थिए । तर, उनी दर्शकतिर फर्किएनन् । जब फाइन लेगमा आएको बल उनले नियन्त्रण गरे दर्शकले ’करोडको बल’ भन्दै जिस्काएका थिए ।
सोमपालले नेपाललाई पहिलो सफलता दिलाए । त्यसपछिको ओभरमा करण केसीको बल विल रोड्सको ब्याटको किनार लिँदै सेकेण्ड स्लिपमा रहेका विनोद भण्डारीको हातमा पुग्यो । तर, उनले तस्रो प्रयासमा पनि बल समाउन सकेनन् । त्यसपछि दर्शकले विनोदलाई निकाल्न भन्दै नारा लगाएका थिए ।
करिब ११ बजेतिर एक महिला पानी र चाउचाउ लिएर आइन् । उनले अर्की व्यापारीलाई सोधिन्, “नेपालको खेल भनेको होइन, खोइ त ?” अर्की महिला अकमक्क परिन् । केही वेरपछि उनले फेरि त्यसरी नै सोधिन् । छेउमा भएका पुरुषले जवाफ दिए, “निख्खर सेतो लगाएको चाहिँ नेपाल, अलि मैलो चाहिँ विदेशी हो रे ।”
नेपालका खेलाडीको सेतो जर्सी यही प्रतियोगिताका लागि बनाइएकाले निकै चम्किलो देखिइरहेको थियो । ब्याटिङ गरिरहेका एमसीसीका खेलाडीको जर्सी भने फुस्रो थियो ।
नेपालका पवन सर्राफको जर्सीमा नम्बर र नाम लेखिएको थिएन । उनलाई चिन्न नसकेर दर्शकहरु खुल्दुली पोखिरहेका थिए । बलिङमा आएपछि मात्र कसैले उनी पवन सर्राफ भएको बताएका थिए ।
पवनविरुद्ध रोड्स आक्रामक देखिए । उनले लगातार दुई चौका हाने । उनले हानेको चौका मैदानको तारजाली नाघेर बाहिर आयो । बल फाल्न पुगेका दर्शकलाई अर्का दर्शकले भने, “बल गह्रौँ छ कि छैन तौली त पहिला ।” ती दर्शकले बल मैदानमा फालेपछि भने, “हलुका रै’छ, यत्तिको बल फाल्न गाह्रो हुन्न ।”