खेलकुदशुक्रबार, २२ कार्तिक , २०७६

प्रथम श्रेणीको क्रिकेटमा नेपालको पहिलो हार

एमसीसी २०८ रनले विजयी

हिमालखबर

प्रथम श्रेणीको क्रिकेटमा नेपाल पहिलो पटक पराजित भएको छ । यसअघि नेपालले खेलेको चार वटा प्रथम श्रेणीको क्रिकेटमा नेपालले दुईमा जित र दुई खेल बराबरी गरेको थियो ।

तर, नेपाल भ्रमणमा आएको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँगको प्रथम श्रेणीको तीन दिवसीय क्रिकेटमा नेपाल २०८ रनले पराजित भएको छ । किर्तिपुर मैदानमा भएको खेलमा नेपालका ब्याट्सम्यान चल्न नसक्दा नेपाल फराकिलो अन्तरले पराजित भयो ।

एमसीसीले पहिलो सेसेनमा ३६४ र दोस्रोमा १८१ रन बनाएको थियो । तर, नेपालले पहिलोमा १५३ रन बनायो भने दोस्रोमा १८४ रनमै अलआउट हुन पुगे । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरी दुवै सेसनमा चल्न सकेनन् ।

नेपालका लागि बलिङ र ब्याटिङ दुवैमा सन्दीप लामिछोने र सोमपाल कामीले राम्रो प्रदर्शन गरे । अलराउण्डर करण केसी ब्याटिङमा नचले पनि दुई सेसनमा ६ विकेट लिए ।

कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीको खेल निराशाजनक रह्यो । दुवै सेसन गरी मल्लले ६ रन र दीपेन्द्रले जम्मा एक रन जोडे । सन्दीप लामिछानेले ४ विकेट लिए भने ६४ रन जोडे । ३ विकेट र ७४ रन जोडे । सोमपालले अर्धसतक नै गरे ।

शरद भेषवाकर र सोमपाल बाहेक नेपालका नौ जना खेलाडीका लागि प्रथम श्रेणीमा यो खेल प्रतियोगिता डेब्यू थियो भने मल्लको कप्तानीमा भएको दोस्रो खेल । तर, यही दोस्रो खेलमा नेपालले पहिलो पटक प्रथम श्रेणीको क्रिकेटमा पराजय भोग्नु परेको छ ।

नेपालले पछिल्लोपटक आइसीसी इन्टरकन्टिनेन्टल कप २००५ मा युएईविरुद्ध घरेलु मैदानमा तीन दिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपाल १७२ रनले विजयी भएको थियो ।

त्यसअघि सोही प्रतियोगिता अन्तर्गत किर्तिपुरमै भएको हङकङसँगको खेल भने बराबरीमा सकिएको थियो ।

त्यसअघि आइसीसी इन्टरकन्टिनेन्टल कप २००४ अन्तर्गत पनि नेपालले दुई खेल खेलेको थियो । ती मध्ये सारजाहमा भएको युएईविरुद्धको खेल बराबरीमा सकिएको थियो । किर्तिपुरमा भएको मलेसियाविरुद्धको खेलमा भने नेपाल ९ विकेटले विजयी भएको थियो ।

 

प्रतिकृया दिनुहोस