खेलकुदबुधबार, २० कार्तिक , २०७६

नेपाल प्रथम श्रेणी क्रिकेटमा अपराजित देश

प्रकाश गुरागाईं

नेपालले अहिलेसम्म प्रथम श्रेणी क्रिकेटमा हारको सामना गर्नु परेको छैन । १४ वर्षपछि मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग प्रथम श्रेणी क्रिकेट खेलिरहँदा नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई त्यो साख जोगाउने चुनौती छ ।

तस्वीर : विक्रम राई 

नेपालले खेलेका चार प्रथम श्रेणी क्रिकेटमध्ये दुईमा जित हासिल गरेको छ भने दुई वटा बराबरीमा टुंगिएका छन् । नेपालले पछिल्लोपटक आइसीसी इन्टरकन्टिनेन्टल कप २००५ मा युएईविरुद्ध घरेलु मैदानमा तीन दिवसीय खेल खेलेको थियो ।

उक्त खेलमा नेपाल १७२ रनले विजयी भएको थियो । त्यसअघि सोही प्रतियोगिता अन्तर्गत किर्तिपुरमै भएको हङकङसँगको खेल भने बराबरीमा सकिएको थियो ।

त्यसअघि आइसीसी इन्टरकन्टिनेन्टल कप २००४ अन्तर्गत पनि नेपालले दुई खेल खेलेको थियो । तीमध्ये सारजाहमा भएको युएईविरुद्धको खेल बराबरीमा सकिएको थियो । किर्तिपुरमा भएको मलेसियाविरुद्धको खेलमा भने नेपाल ९ विकेटले विजयी भएको थियो ।

उक्त प्रतियोगिता खेलेका शदर भेषवाकर मात्र अहिले नेपाली टिममा छन् । उनले चारै प्रतियोगिता खेल्दै १७० रन बनाएका थिए । धेरै रन बनाउनेमा उनीभन्दा अघि शक्ति गौचन मात्र थिए, जसले १७१ रन बनाएका थिए ।

शरदबाहेक अहिलेको राष्ट्रिय टोलीमा सोमपाल कामीसँग मात्र प्रथम श्रेणी क्रिकेटको अनुभव छ । तर, उनले नेपालको राष्ट्रिय टोलीबाट भने बुधबार मात्र प्रथम श्रेणीमा डेब्यु गरेका हुन् । यसअघि उनले डिसेम्बर २०१५ र जनवरी २०१६ मा श्रीलंकाको सारासेन्स स्पोर्टस क्लबबाट दुई वटा प्रथम श्रेणी क्रिकेट खेलेका थिए ।

बुधबार एमसीसीविरुद्ध मैदानमा उत्रिँदा नेपालका ९ खेलाडीले एक साथ प्रथम श्रेणी क्रिकेटमा डेब्यु गरे । जसमा कप्तान ज्ञानेन्द्र मल्ल पनि छन् ।

मल्लसँग तीन दिवसीय क्रिकेटको अनुभव भने छ । उनले नेपालको राष्ट्रिय टोलीमा डेब्यु नै सन् २००६ मा मलेसियाविरुद्धको तीन दिवसीय खेलबाट गरेका थिए । तर, उक्त खेललाई प्रथम श्रेणी मान्यता थिएन ।

नेपालले पछिल्लो पटक सन् २०१४ मा पनि श्रीलंकामा त्यहाँका दुई क्लबविरुद्ध तीन दिवसीय खेल खेलेको थियो । पहिलो खेलमा कुरुनेगला कम्बाइन्ड–११ सँग नेपाल ८७ रनले पराजित भएको थियो । श्रीलंका क्रिकेट कम्बाइन्ड–११ विरुद्धको खेल भने बराबरीमा सकिएको थियो । तर, यी खेललाई प्रथम श्रेणी मान्यता थिएन ।

पहिलो श्रेणीको मान्यता पाउन कम्तीमा तीन दिन दिवसीय खेल हुन जरुरी छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेस्ट मान्यता प्राप्त देशको राष्ट्रियस्तरको घरेलु प्रतियोगितालाई प्रथम श्रेणीको मान्यता दिन्छ । त्यसबाहेक अन्य देशको घरेलु र अन्य प्रतियोगिताको पनि स्तर, मैदानको सुविधा र व्यवसायिकता हेरेर आईसीसीले प्रथम श्रेणीको मान्यता दिने गरेको छ ।

प्रथम श्रेणी प्रतियोगिता र टेस्ट क्रिकेटमा एकै नियम लागू हुन्छ । यो सेतो लुगा लगाएर रातो बलले खेलिने खेल हो । सेतो लुगा क्रिकेटको परम्परागत पोशाक हो । कुनै समय एक दिवसीय पनि सेतो लुगामा नै खेलिन्थ्यो ।

बुधबार सेतो लुगामा नेपाली क्रिकेट खेलाडी मैदान प्रवेश गर्दा दर्शकमा बेग्लै उत्साह थियो । पहिला तीन ओभर सोमपाल कामी र करण केसीले मेडन फालेका थिए । क्रिकेटर विनोद भण्डारी वेला वेला आफ्ना बलरलाई ‘एक दुई चौका खाए पनि केही फरक हुँदैन, विकेट चाहियो’ भनेर सम्झाइरहेका थिए ।

हुन पनि टेस्ट र प्रथम श्रेणीलाई बलरको खेल मानिन्छ । ब्याट्स्म्यानले जति रन बनाए पनि बलरले विकेट लिन सकेन भने जित्ने संभावना हुँदैन ।

बुधबार पहिलो दिनको खेल खराब प्रकाशका कारण स्थगित हुँदा नेपालले औषत प्रदर्शन गरेको छ । एमसीसीले ८६ ओभर खेल्दा ६ विकेटको क्षतिमा ३११ रन बनाएको छ । नेपालका तर्फबाट सोमपाल कामी, शरद भेषवाकर र सन्दीप लामिछानेले दुई दुई विकेट लिएका छन् ।

एमसीसीका तर्फबाट विल रोड्स, माइल्स हामोन्ड र विलियम भान्डर्सपारले अर्धशतक पूरा गरे । बेलायतबाट टेस्ट क्रिकेट खेलिसकेका रोड्सले ७३, हामोन्डले ५२ र भान्डर्सले ५३ रन बनाए । क्रिजमा पाकिस्तानबाट टेस्ट खेलिसकेका आसिर अराफात ३५ र एलेक्स थोम्सन २२ रन बनाएर खेलिरहेका छन् ।

प्रतिकृया दिनुहोस