खेलकुदसोमबार, १८ कार्तिक , २०७६

ज्ञानेन्द्रले कप्तानी गरेको पहिलो खेलमै नेपालको जित, विनोद र पवनको उत्कृष्ट प्रदर्शन

हिमालखबर

नेपाल टूरमा रहेको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध नेपालले शानदार जित निकालेको छ ।

 दीपेन्द्रसिंह ऐरी ।

विनोद भण्डारीको बिस्फोटक ब्याटिङ र पवन सर्राफको उत्कृष्ठ अलराउण्डर प्रदर्शनमा नेपालले जित निकालेको हो ।

२०२ रनको लक्ष्य पछ्याएको नेपालले ३७ ओभरमै लक्ष्य भेटाउँदै एमसीसीलाई पाँच विकेटले पराजित गरेको छ । जित दिलाउन भण्डारीले ५२ रन जोड्दै अर्धसतकीय पारी खेले । भण्डारीसँग नटआउट साझेदारी गरेका सर्राफले बिस्फोटक ब्याटिङ गर्दै ३३ रन जोडे।

विनाेद भण्डारी ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि इशान पाण्डे ४ र कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट भए पछि ओपनिङ लाइन धर्मराउन पुगेको थियो ।

यसपछि शरद भेषवाकर २४ र दीपेन्द्रसिंह ऐरीले २३ रन बनाउदै नेपालको स्कोर ८१ बनाए । तर, लगातार एकपछि अर्को बलमा दुवै आउट हुन पुगे ।

आरिफ शेख र बिनोद भण्डारीको साझेदारीमा नेपालको १३६ रन पुग्दा आरिफ आउट भए । आरिफले २३ रन जोडे । आरिफ आउट भएपछि बिनोदसँग साझेदारी गर्न आएका पवन सर्राफले बिस्फोट ब्याटिङ गरेका हुन् ।

एमसीसीले टस जितेर ब्याटिङ रोजेपछि नेपाल फिल्डिङको निम्तो पाएको थियो । नेपालका लागि पवन सर्राफ र ललितनारायण राजवंशीले उत्कृष्ठ बलिङ गर्दै एमसीसीलाई अलआउट गरे ।

करण केसी र अबिनास बोहोराले एक-एक विकेट लिए । ३९ ओभरमै अलआउट भएको एमसीसीले २०१ रन जोडेको थियो । यो खेलमा पारस खड्का र सन्दीप लामिछाने थिएनन् ।

प्रतिकृया दिनुहोस