‘भारतमा बदलिएको सत्ता समीकरण नेपाललाई अडान बलियो पार्ने अवसर’ (भिडिओ)
भारतमा निर्वाचनपछि बदलिएको शक्ति समीकरण नेपालका लागि द्विपक्षीय सम्बन्धमा आफ्नो अडान बलियो बनाउने अवसर हुन सक्ने देखिन्छ।
हालै सम्पन्न लोक सभा निर्वाचनको परिणामबारे सोमबार ललितपुरमा आयोजित कार्यक्रमका वक्ताले भारतमा फेरि शुरू भएको गठबन्धन सरकारको अभ्यास नेपालका लागि आफ्ना चासो बलियोसँग राख्ने अवसर हुन सक्ने बताएका हुन्। कार्यक्रममा निर्वाचन परिणामबारे विश्लेषण गर्दै पत्रकार एवं लेखक सुधीर शर्माले स्पष्ट बहुमत ल्याउन नसकेकाले नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा)को नेपाल नीतिमा लचकता आउन सक्ने सम्भावना रहेको औंल्याए।
सन् २०१४ मा भाजपा सत्तामा आएदेखि नै मोदी नेतृत्वको सरकारको छिमेकसँग सम्बन्ध बिग्रिएको उल्लेख गर्दै शर्माले बदलिएको सन्दर्भमा भारतीय सरकार सम्बन्ध सुधार्ने दिशामा पनि जान सक्ने बताए। “त्यस्तो अवस्थामा भूटान र नेपाल प्राथमिकतामा पर्न सक्छन्,” शर्माले भने, “हाम्रा राजनीतिक दलहरूमा बहकिने समस्या छ, नबहकिने हो भने राम्रो अवसर सिर्जना हुन सक्छ।”
यद्यपि भाजपा शक्तिमा आएयताको एक दशकमा नेपाल-भारत सम्बन्ध जनस्तरमा बिग्रिएको र सांस्कृतिक हस्तक्षेप पनि बढिरहेको शर्माको भनाइ थियो।
अर्का वक्ता पत्रकार जेबी पुन मगरले भने भारतमा मोदीराजको प्रताप कमजोर भएकाले नेपालले आफ्नो पक्ष राख्न र त्यसमाथि अडान लिन सहज हुन सक्ने बतए। “तर त्यसका निम्ति नेपालले मोदी हारेको तथ्यलाई दिमागमा राख्नुपर्ने हुन्छ,” कार्यक्रममा पुनले भने, “अहिले मोदी हारेका छन्, तर भाजपा र राष्ट्रिय स्वयंसेवक संघले जितेको भाष्य बनाइरहेका छन्।”
तेस्रो चोटि प्रधानमन्त्री बनेका मोदी र उनको दलले प्राप्त गरेको मत प्रतिशतका आधारमा २०१३ र २०१९ मा बहुमतको शासन गरेका मोदी यसपालि गठबन्धनका कारण कमजोर भएको पत्रकार पुनको विश्लेषण छ।
मतदानको पूर्वसन्ध्यामा सिलगुडीदेखि बिहार र उत्तर प्रदेशसम्म चुनावको अवलोकन गरेका पुनले आफ्नो अनुभवका आधारमा चुनाव परिणामअघि ४ जेठमा भाजपाले बहुमत नल्याउने प्रक्षेपण गरेका थिए, जुन सत्य सावित भयो।
सहजकर्ता पत्रकार एवं लेखक कनकमणि दीक्षितले नेपाल-भारत सम्बन्धको मामिलामा स्पष्ट अडान राख्न राजनीतिक दलका नेता मात्र नभई नागरिक समाज पनि चुकेको तर्क गरे। “नेपालमा भारतीय हस्तक्षेप भइरहेको छ भन्ने सबैलाई थाहा छ, कोठामा हात्ती छ, तर कोही पनि बोलिरहेको छैन,” दीक्षितले भने।
कार्यक्रममा टिप्पणी गर्दै प्रतिनिधि सभा सदस्य रघुजी पन्तले भारतीय निर्वाचन परिणामले उसको विदेश नीतिमा तात्त्विक फरक नपर्ने तर्क गरे। नेपाल नीतिका सन्दर्भमा भाजपाभन्दा पनि कठोर भारतीय राष्ट्रिय कंग्रेस भएको पन्तको भनाइ थियो। “सन् २०१४ को निर्वाचन ताका भाजपाको घोषणापत्रमा सार्कलाई बलियो बनाउने भनिएको थियो, उनीहरू त्यसबाट पछि हटे। तर कंग्रेसको घोषणापत्रमा त नेहरूकालीन दृष्टिकोण नै दोहोर्याइएको छ, उनीहरू सुरक्षा छाताको मान्यतालाई नै निरन्तरता दिइरहेछन्,” पन्तले भने।
कार्यक्रममा अधिवक्ता सेमन्त दाहाल, पत्रकारहरू सुरेशराज न्यौपाने, दिनेश पन्त, पवन पौडेल, अधिकारकर्मी रिता परियार, विकास राैनियार, मुकेशप्रसाद जोशी लगायतले चुनाव परिणामपछिको दुई देशको सम्बन्धका विषयमा धारणा राखेका थिए।