अधिकारकर्मी प्याकुरेलद्वारा राजदूत पद अस्वीकार
दक्षिण कोरियाका लागि राजदूत सिफारिश भएका मानव अधिकारकर्मी सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन्।
मन्त्रिपरिषद्को असार ७ गते बसेको बैठकले उनलाई राजदूतमा सिफारिश गरेको थियो। प्याकुरेलले नाम फिर्ता लिन अनुरोध गरिएको पत्र आइतबार प्रधानमन्त्रीको सचिवालयमा दर्ता गराएका छन्।
“आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिश फिर्ता लिइदिनुहुन विनम्र अनुरोध सहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवत् दर्ता गराइसकेको छु,” प्याकुरेलले भनेका छन्।
नाम सिफारिश गर्नुअघि परराष्ट्र मन्त्रालय र मन्त्रिपरिषद्को सचिवालयबाट आफूलाई कुनै सम्पर्क वा संकेत नगरिएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले लेखेका छन्, “राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु।”
राजदूत नियुक्ति सम्बन्धमा विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत विमर्श आवश्यक रहेको उनले उल्लेख गरेका छन्।
