परराष्ट्रमन्त्री राणा दिल्ली प्रस्थान
परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतको औपचारिक भ्रमणमा दिल्ली प्रस्थान गरेकी छन्।
भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री राणा आइतबार दिल्ली प्रस्थान गरेकी हुन्। नेतृत्व सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
परराष्ट्र मन्त्रालयका अनुसार उनले भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। दुई देशको आपसी हित, सहकार्य र थप सम्बन्ध विस्तारका विषयमा छलफल हुनेछ।
त्यस्तै, परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यक्रमका लागि गृहकार्य भइरहेको जनाइएको छ।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले मन्त्री राणालाई बिदाइ गरेकी छन्। उनी भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।