संक्रमणकालीन न्याय विधेयकलाई अन्तर्राष्ट्रिय समुदायको स्वागत
प्रतिनिधि सभाबाट संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित भएकोमा संयुक्त राष्ट्रसंघ, यूरोपियन युनियन, संयुक्त राज्य अमेरिका, स्वीट्जरल्यान्ड लगायतले नेपाललाई बधाई दिएका छन्।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाबाट पारित भएकोमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनले सामाजिक सञ्जाल एक्स मार्फत नेपाल र नेपाली जनतालाई बधाई दिएका हुन्। ‘नेपालको शान्ति, समृद्धि र गणतान्त्रिक भविष्यका लागि यो महत्त्वपूर्ण कदम हो,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
यूरोपियन युनियनले पनि नेपाललाई बधाई दिएको छ। नेपालका लागि यूरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले एक्समा लेखेकी छन्, ‘पीडितलाई मध्यनजर राख्दै, नेपालले नेतृत्त्व गरेको र अपनाएको यो संक्रमणकालीन न्यायको ऐन संशोधन भएकामा बधाई। यूरोपले यो ऐनलाई स्वागत गर्छ र यसको कार्यान्वयनका लागि पूर्ण सहयोगको प्रतिबद्धता जनाउँछ।’
त्यस्तै, संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगरले पनि एक्स मार्फत नै बधाई दिएकी थिइन्। पीडितहरूलाई संलग्न गराउनु आवश्यक रहेको भन्दै सिंगरले संयुक्त राष्ट्रसंघको समर्थन रहेको जानकारी पनि समावेश गरेकी छन्। उनले लेखेकी छन्, ‘नेपाललाई बधाई! शान्ति प्रक्रियाका लागि संक्रमणकालीन न्याय ऐन संशोधन हुनु जरूरी थियो।’
नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत डा. डेनियल मउलीले विधेयक पारित भएकामा बधाई दिंदै कार्यान्वयनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएकी छन्।
त्यस्तै, चीनले यसलाई ‘माइलस्टोन’ भनेको छ। नेपालका लागि चिनियाँ राजदूत छेन सोङले भनेका छन्, ‘प्रतिनिधि सभाबाट सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित भएकोमा बधाई दिन चाहन्छु। यो शान्ति प्रक्रियामा पुग्न ऐतिहासिक उपलब्धि र माइलस्टोन हो।’
२०७१ सालमा बनेको संक्रमणकालीन न्याय सम्बन्धी ऐनको तेस्रो संशोधन प्रतिनिधि सभाबाट बहुमतले पारित भए लगत्तै उनीहरूले स्वागत गरेका हुन्। राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानूनको रूप लिन्छ।
यो पनि पढ्नुहोस् : सत्य निरूपण विधेयक पारित भएपछिका जिम्मेवारी