किमाथांका सहित चीनसँगका नाका पुनःसञ्चालन
संखुवासभाको किमाथांका सहित चीनसँग जोडिएका नाका पुनःसञ्चालनमा आएका छन्।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा शनिबार आयोजित एक समारोहबीच किमाथांका सहित नेपाल-चीन सीमामा रहेका नाका पुनःसञ्चालनमा आएको संयुक्त रूपमा घोषणा गरेका छन्। कोभिड-१९ महामारीका कारण संक्रमण फैलिने डरले चीनले २०७६ माघ ५ गतेदेखि नेपालसँगका नाका बन्द गरेको थियो।
नाका सञ्चालनको घोषणा कार्यक्रममा चीनको छेन्ताङ पुगेर फर्किने क्रममा संखुवासभाको तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत नाका सञ्चालनमा आएको औपचारिक रूपमा घोषणा गरिएको बताए। उनका अनुसार सात नाका आजैदेखि सञ्चालनमा आएका छन् भने अन्य सात नाका चाँडै खुला हुनेछन्।
नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि किमाथांका सहित १४ वटा व्यापारिक नाका खुलाउन सफल भएको उनले बताए। गत वर्ष चैतमा चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमाक्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमशः खुलाउने समझदारी भए अनुसार नै नाका पुनःसञ्चालन गरिएको श्रेष्ठको भनाइ छ।
किमाथांका नाका खुलेपछि भोटखोलावासी उत्साहित छन्। विगतमा यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए। तर नाका बन्द भएपछि उनीहरूलाई समस्या भएको थियो।
किमाथांकामा २०३५ सालमा भन्सार कार्यालय स्थापना भएको थियो। सशस्त्र द्वन्द्वपछि भोटखोलाको हटियास्थित सीमा भन्सार कार्यालय २०५७ सालमा सदरमुकाम खाँदबारीमा सारिएको थियो।
भोटखोलावासीलाई तिब्बत प्रवेश गर्न स्थानीय स्तरमा अनुमतिपत्र वितरण गरिएको छ। किमाथांका नाका सदरमुकामदेखि १६२ किलोमिटर टाढा पर्छ।