वाणिज्य ब्यांकहरूको नाफा घट्यो, कसको कति?
वाणिज्य ब्यांकहरूको नाफामा उल्लेख्य गिरावट आएको छ।
ब्यांकहरूले दिएको कर्जा नउठेपछि यस आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा घटेको हो। कम्तीमा एक दर्जन वाणिज्य ब्यांकको नाफा गत वर्षको यही अवधिका तुलनामा घटेको छ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमास (चैत)सम्म वाणिज्य ब्यांकहरूको नाफा १३ प्रतिशतले घटेको छ। ब्यांकहरूको कर्जाको सावाँ-ब्याज नउठेको, कर्जाको माग कम भएको तथा अर्थतन्त्रमा शिथिलता देखिएको असर ब्यांकहरूको नाफामा परेको हो।
सञ्चालनमा रहेका २० वटा वाणिज्य ब्यांकमध्ये सात वटाको नाफा बढेको छ भन बाँकी १३ वटाको नाफा घटेको छ। यस अवधिमा सबैभन्दा धेरै नबिल ब्यांकले चार अर्ब ६७ करोड रुपैयाँ नाफा कमाएको छ।
दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई ब्यांकले तीन अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ। नबिल ब्यांकको नाफा गत वर्षको यही अवधिका तुलनामा ८.७६ प्रतिशतले घटेको छ। ग्लोबल आईएमई ब्यांकको नाफा २४.१३ प्रतिशतले घटेको छ।
गत वर्षको तुलनामा यस वर्ष सर्वाधिक धेरै नाफा गुमाउनेमा एनआईसी एशिया ब्यांक पर्छ। यसको नाफा गत वर्षको तुलनामा यस वर्षको तेस्रो त्रैमाससम्म ५२.३१ प्रतिशतले घटेको छ।
गत वर्षभन्दा यस वर्ष नाफा बढाउनेमा कृषि विकास, नेपाल इन्भेष्टमेण्ट, प्राइम, एभरेस्ट, हिमालयन, सिद्धार्थ र लक्ष्मी सनराइज ब्यांक छन्। यीमध्ये सर्वाधिक कृषि विकास ब्यांकको नाफा ९७.२७ प्रतिशतले बढेको छ।