नेपाली स्वेच्छाले रूसी सेनामा भर्ना भएका हुन्, धेरैले फर्किन मानेका छैनन् : रूसी राजदूत
नेपालका लागि रूसका राजदूत अलेक्सेई नोभिकोभले नेपाली युवा स्वेच्छाले रूसी सेनामा भर्ना भएको र धेरैले फर्किन नमानेको बताएका छन्।
बुधबार अर्थमन्त्री वर्षमानसँगको भेटमा राजदूत नोभिकोभले रूसी सेनामा रहेका धेरै नेपाली फर्कने मनस्थितिमा नरहेको बताएका हुन्। द्विपक्षीय सम्झौता विनै रूसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा अर्थमन्त्री पुनले चासो राखेका थिए। रूसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्तीको वातावरण बनाउन राजदूत नोभिकोभलाई आग्रह गरे।
जवाफमा राजदूत नोभिकोभले नेपालीलाई बोलाएर सेनामा भर्ती नगरेको तर्क गरे। भारत र दुबई सहित विभिन्न मुलुकबाट गएका नेपाली स्वेच्छाले सेनामा भर्ती भएको उनको भनाइ थियो।
रूसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको खबर आफूले पाएको उनले सुनाए। “नेपालले पठाएर वा हामीले आह्वान गरेर उनीहरू रूसी सेनामा भर्ती भएका होइनन्,” राजदूत नोभिकोभले भने, “स्वेच्छाले भर्ती भएकाले स्वदेश फर्क भन्दा पनि धेरै नेपाली फर्कने मनस्थितिमा नरहेको खबर हामीले पाएका छौं।”
त्यस्तै, युक्रेनी सेनाले बन्धक बनाएका नेपालीलाई युद्धबन्दी साटासाट गरेर मुक्त गराउने तयारी भइरहेको उनले बताए। “हाम्रो सेनाको नियन्त्रणमा रहेका युक्रेनी फौजका सदस्यसँग साटेर भए पनि नेपालीलाई युक्रेनबाट मुक्त गर्ने तयारी छ,” राजदूत नोभिकोभले भने।
नवनियुक्त अर्थमन्त्री पुनलाई बधाई दिन अर्थ मन्त्रालय पुगेका रूसी राजदूत नोभिकोभसँग ठूला जलविद्युत् आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न आग्रह गरिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
“हामीले विद्युत् खपतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौं। अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपालमा जलविद्युत् उपयुक्त क्षेत्र हो,” अर्थमन्त्री पुनले भने, “सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने नीति लिएको छ। यसमा लगानी गर्न रूस इच्छुक भएमा त्यसको वातावरण बनाउन हामी तयार छौं।”
जवाफमा राजदूत नोभिकोभले अर्थमन्त्री पुनको प्रस्ताव सकारात्मक रहेको बताउँदै रूसी लगानीकर्तासँग कुरा गर्ने प्रतिबद्धता जनाएका छन्। भूराजनीतिक कारणले पनि नेपालमा रूसी लगानीका लागि अत्यन्तै सकारात्मक वातावरण रहेको उनको भनाइ थियो। -रासस