तारादेवीको पुण्यतिथिमा तीन स्रष्टा सम्मानित
![तारादेवीको पुण्यतिथिमा तीन स्रष्टा सम्मानित](https://www.himalkhabar.com/uploads/posts/800X600/photo1706011974-1706012617.jpeg)
तारादेवी स्मृति फाउन्डेशनले तारादेवीको १८औं पुण्यतिथिका अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा ‘सम्झनामा तारादेवी तथा सम्मान’ कार्यक्रम आयोजना गरेको छ।
फाउन्डेशनले संगीतकार दीपक जंगम, गीतकार विश्व बल्लभ र गायिका तारा थापालाई संगीत क्षेत्रमा उनीहरूले पुर्याएको योगदान स्मरण गर्दै सम्मान गरेको छ।
कार्यक्रममा विभिन्न गायकगायिकाले तारादेवीका डेढ दर्जनभन्दा बढी गीत गाएका थिए।
'आँखाहरुले रुन नखोजे', 'किन हो यति भरोसा', 'काली पारी दाई कति राम्रो', 'तिम्रा पाउहरुमा', 'कर्कलो गाभा' लगायत तारादेवीका गीतहरू गायकगायिका राजीव परियार, गीता पाण्डे, जिना रसाइली, संगीता थापा लगायतले गाएका थिए।
‘सम्झनामा तारादेवी तथा सम्मान’ कार्यक्रममा प्रस्तुति दिंदै कलाकारहरूफाउन्डेशनबाट सम्मानित गायिका तारा थापाले तारादेवीका गीतहरू सुनेर आफू रेडियो नेपालमा सहकार्य गरेका दिनहरू स्मरण गर्न पुगेको बताइन्। “फूलको थुँगा गीत सुन्दा रेडियो नेपालको प्रांगणमा मीरा र तारा दिदीसँग गीत गुनगुनाउँदै हिंडेका दिनहरू याद भए,” उनले भनिन्।
संगीतकार दीपक जंगमले फाउन्डेशनले तारादेवी स्मृति कार्यक्रम आयोजना गर्नाले नयाँ कलाकारहरूले गाउने अवसर पाएको बताए। “यस्ता कार्यक्रम नै पुराना गीतसंगीत र कलाकारहरूलाई स्मरण गर्ने माध्यम हुन्,” उनले भने।
पछिल्लो पाँच वर्षदेखि तारादेवीको पुण्यतिथिमा आयोजना गरिंदै आएको सम्झना र सम्मान कार्यक्रमले सधैं निरन्तरता पाउने फाउन्डेशनका अध्यक्ष दीपक केसीले वाचा गरे। “युग गायिका तारादेवी जस्ता हस्तीहरूको सम्झना गर्नु उहाँहरूको सम्मान मात्र होइन, विभिन्न समयको नेपाली सभ्यता र संस्कार झल्काउने गीतहरूको स्मरण गर्नु पनि हो। त्यसैले उहाँहरूको सम्झनामा यस्ता कार्यक्रम हुनुपर्छ र युगकालीन गीतहरू सम्झिरहनुपर्छ,” उनले भने।