जन्मदिनमा धरानमा गुन्जिए दीप श्रेष्ठ
![जन्मदिनमा धरानमा गुन्जिए दीप श्रेष्ठ](https://www.himalkhabar.com/uploads/posts/800X600/deep-shreesth-1702883959.jpg)
गायक दीप श्रेष्ठले आफ्नो जन्मदिन धरानका दर्शकसँग गीत गाउँदै मनाएका छन्।
७३औं वर्षमा प्रवेश गरेका श्रेष्ठले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियममा जन्मदिनको केक काटेर सांगीतिक प्रस्तुति दिए। खचाखच भरिएको अडिटोरियममा ‘हर रात सपनीमा...’ बाट उनले गायनको शुरूआत गरे। पहिलो गीतमै मन्त्रमुग्ध दर्शकले श्रेष्ठसँगै स्वर मिलाए।
सिल्भर इन्टरटेनमेन्ट र धरान संगीत प्रतिष्ठानले आयोजना गरेको कन्सर्टमा गायक श्रेष्ठले ‘भन्थिन् मेरी उनी...’ सँगै ‘मेरो आँखामा हरदिन...’ सुनाए। त्यसपछि ‘साइलीबरी चियाबारीमा...’ मा सँगै नाचेका दर्शकले ‘मेरी मायालु...’ लाई त दोहोर्याएर गाउन लगाए।
![deep shresth (2).jpg](https://www.himalkhabar.com/uploads/editor/Music/deep shresth/deep shresth (2).jpg)
उनलाई ‘जति हाँसौं भन्छु...’ मा मेरिना राईले साथ दिएकी थिइन्। त्यस्तै, अर्को चर्चित गीत ‘मेरो सपनाको सागरमा तिमी....’ मा उनकी छोरी दृष्टि श्रेष्ठले साथ दिइन्।
दर्शकको हूटिङबीच गायक श्रेष्ठले ‘म त दूरदेखि आएँ...’ गाएर कन्सर्ट समापन गरेका थिए। कन्सर्टको शुरूआतमा धरानका गायक नवराम राई, कृष्णराजा श्रेष्ठ, डा. मञ्जिल श्रेष्ठ, मनोहर शाक्य, किरण श्रेष्ठले पनि गायक श्रेष्ठका गीत गाएका थिए।
![deep shresth (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Music/deep shresth/deep shresth (1).jpg)
काठमाडौंको बसाइ भए पनि उनी जन्मदिन मनाउन धरान आउने गरेका छन्। गायक श्रेष्ठको ७३औं जन्मदिनको अवसरमा उनका गुरु रामचन्द्र बनेपालीलाई सम्मान गरिएको छ।
धरान संगीत प्रतिष्ठानका अध्यक्ष रमेश राई, मेयर हर्क साम्पाङ, सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ लगायतले बनेपालीलाई दोसल्ला ओढाएर सम्मानपत्र र नगद रुपैयाँ सहित सम्मान गरेका हुन्।